• क्याथे प्यासेफिकलाई हालसम्मकै ठूलो संकट

  • क्याथे प्यासेफिक एयरवेजले इतिहासकै गम्भिर संकटको सामना गरिरहेको बुधबार जनाएको छ । ९४ लाख यात्रु प्रभावित भएको ‘डाटा ब्रीच’ अर्थात् सूचनाको चोरी सम्बन्धमा कम्पनीलाई १५ देशका २७ नियामक संस्थाले प्रश्न गरिरहेको क्याथे प्यासेफिक एयरवेजले खुलाएको छ ।

    हङकङको व्यवस्थापिकामा सोधपुछको क्रममा कम्पनीका शीर्ष कर्मचारीहरुले प्रभावित अधिकांश शहर बाहिरका यात्रु भएको बताएपछि यस्तो खुलासा भएको हो । प्रभावको सीमाबारे बोल्दै, कर्मचारीहरुले हङकङका परिचयपत्रवाहक २ लाख ४५ हजार र शहरका ५५ हजार राहदानीवाहक प्रभावित भएको बताए । उनीहरुले विदेशी यात्रुको हिसाब गरेका छैनन् ।

    विधायकहरुले क्याथेलाई “दयनीय” भन्दै सूचना चोरी भएको घटना सार्वजनिक गर्न सात महिना लगाएपछि कम्पनीले घटना ढाकछोप गरेको आरोप लगाए । घटना मार्चमा भए पनि सूचना चोरी भएको समाचार अक्टोबर २४ मा मात्रै सार्वजनिक गरिएको थियो । क्याथेले “केही पनि ढाकछोप गर्ने प्रयास नगरेको” तथा थुप्रै आन्तरिक कमीकमजोरी  र त्रुटीहरु समाधान हुने जनाएको छ ।

    विधायकहरुले प्रभावित ग्राहकका लागी क्षतिपूर्तिको माग गरेका छन् । कम्पनीले घटनाका कारण व्यापारमा परेको वित्तिय प्रभाव निर्धारण गर्न नसकेको, तर युरोपेली संघको सूचनाको गोपनियता सम्बन्धी नयाँ कानुन उल्लंघन गरेको पाईए, विश्वव्यापी वार्षिक आयको ४ प्रतिशतसम्म जरिवाना हुनसक्ने बताएको छ ।

    जरिवाना सम्बन्धी प्रश्नमा “अहिले नै केही भन्न नसकिने” उनीहरुले बताए । क्याथेका अध्यक्ष जोन स्लोसरले व्यक्तिगत रुपमा क्षमायाचना गर्दै सूचना “अनुचित रुपमा चोरी भएको” स्वीकारे । कम्पनीले सो ‘ह्याक’ का लागी “जिम्मेवारी स्वीकार गरेको” पनि उनले बताए ।

    “यो घटना एउटा संकट हो,” स्लोसरले भने । “एयरलाइनले हालसम्म भोगेकोमध्ये सबैभन्दा गम्भिर संकट हो ।” आईटी सुरक्षा र तालीम सुधार्ने वाचा गर्दै उनले भविष्यमा कानुन नियामक निकाय अगाडी नै संलग्न गराईने बताए । आन्तरिक रिपोर्टिङ, बोर्डको सुशासन र जोखिम व्यवस्थापनमा पनि सुधार गर्ने क्याथेले प्रतिबद्धता जनाएको छ ।

    यस बाहेक अन्य थुप्रै सिकाइ पनि हुनसक्ने स्लोसरले बताए । एयरलाइनले “सुनिरहेको” पनि उनले बताए ।

    घटना सार्वजनिक गर्नलाई भएको ढिलाईबारे प्रष्ट्याउँदै बारम्बार भएका ह्याक र ठूलो परिमाणको सूचना संलग्न भएकाले घटना समाधान र सार्वजनिक गर्ने प्रयास निराश बनेको कम्पनीले बतायो ।

    एयरलाइनका प्रमुख कार्यकारी अधिकृत रुपर्ट होगले कम्पनीलाई यस क्रममा लागेको “समयावधी प्रति पछुतो” भएको तर चोरी भएको सूचनाबारे प्रत्येक ग्राहकलाई सही सूचना दिन क्याथेले संघर्ष गरिरहेको जोड दिए । नियत असल भएको बताउँदै कार्यान्वयनका लागी भने क्षमा मागेका छन् ।

    क्षतिपूर्तिबारे घोषणा गर्न कम्पनी लजाएको हो कि भन्ने सञ्चार माध्यमको प्रश्नमा होगले भने,”पक्कै होईन ।” प्रभावित ग्राहकलाई एयरलाइनसँग सम्पर्क गर्न आग्रह गरिएको र घटनाका आधारमा क्षतिपूर्तिबारे विचार गरिने उनले बताए ।

    हङकङको संवैधानिक मामिला सचिव प्याट्रिक नीप ताक-क्वेनले सूचना चोरीका घटनाहरु सार्वजनिक गर्न बाध्य बनाउने सूचनाको गोपनियता सम्बन्धी कानुन पुनरावलोकन गर्ने अवधारणाप्रति अधिकारीहरु “सैद्धान्तिक रुपमा” खुला रहेको बुधबार बताएका छन् । गोपनियताको कानुनबारे सन् २०१० मा भएको एउटा सार्वजनिक परामर्श अभ्यासमा सहभागीमध्ये आधा जतिले स्वेच्छिक सूचना रोजेका थिए । तर समय फेरिएको र प्रविधीको विकासले शीघ्र पारदर्शिता आवश्यक भएको नीपले स्वीकारे । यद्यपि, यसबाट साना तथा मझौला उद्योगमा पर्ने भारबारे पनि सरकारले विचार गर्नुपर्ने उनले बताए ।

    बेग्लै बैठकमा बोल्दै, सरकारले आउने वर्षको पहिलो ६ महिनाभित्रै गोपनियताको कानुन सम्बन्धी एउटा प्रस्ताव अघि सार्ने आशा गरेको नीपले बताए ।

    प्रो-डेमोक्रेसी विधायक क्लाउडिया मो मान-चिङले कम्पनीलाई “दयनीय” भन्दै आलोचना गरिन् । क्याथेले प्रहरी, नियामक संस्था वा जनतालाई बताउन असफल भएको उनले बताईन् ।

    “जान्न पाउने मानिसको अधिकार के भयो ?” मोले प्रश्न गरिन् ।

    डेमोक्रेटिक पार्टीका लाम च्योक-तिङले यति ढिलो गर्नुको कारणबारे सोधिएको प्रश्नलाई क्याथेले छक्याएको बताए । यद्यपि, सूचनाको चोरी हुनासाथ सूचित गराउनुपर्ने बाध्यकारी योजना ल्याउन, र भावी उल्लंघनकर्तालाई निरुत्साहित गर्ने कडा सजायको व्यवस्था गर्न अबको ध्यान केन्द्रित हुनुपर्ने लामले बताएका छन् ।

    “सरकारले निश्चित जरिवाना प्रणाली प्रयोग गर्दै आएको छ । ठूला बहुराष्ट्रिय कर्पोरेसन विरुद्ध यो प्रभावकारी छैन,” उनले भने । “युरोपेली संघमा, कम्पनीहरुलाई उनीहरुको आम्दानीको अनुपातको हिसाबमा सजाय दिईन्छ ।”

    मालिकहरुले कम्पनीको शेयर मुल्यमा पर्ने प्रभावबारे विचार गर्नुपर्ने भएकाले रहस्योद्घाटन गर्दा सर्वसाधारण  र शेयरधनीको हितमा हुने लाभबीच “निर्णय गर्नु सधैं कठिन” हुने स्लोसरले बताए । यो संकटका लागी व्यवस्थापन समूहमा ठ्याक्कै कसलाई जिम्मेवार ठहर्‍याउने सम्बन्धमा क्याथेको बोर्डले निर्णय गर्ने होगले बताए ।

    बुधबार अपरान्ह क्याथेको शेयर मुल्य ४.१ प्रतिशतले माथि उक्लेर ११.१० हङकङ डलरमा (१.४२ अमेरिकी डलर) कारोबार भएको थियो । ह्याक भएको खुलासापछि शेयर मुल्य झरेको थियो । बुधबारको शेयर कारोबार मुल्य दुई महिना यताकै सबैभन्दा उच्च हो ।

    पछिल्ला केही वर्षहरुमा घाटा बेहोर्ने केही प्रमुख एशिया-प्रशान्त क्षेत्रीय एयरलाइनमध्ये क्याथे प्यासेफिक पनि एक हो । उच्च लागत र प्रतिस्पर्धीहरुले टिकट मुल्य घटाएका कारण अघिल्लो वर्ष घाटा बेहोरेको कम्पनीले सन् २०१६ मा १ अर्ब २५ करोड हङकङ डलर (१६ करोड अमेरिकी डलर) को नोक्सान उठाएको थियो ।

    कम्पनी हाल तीन वर्षे पुनर्संरचना अभ्यासको बीचमा छ ।

  • कमेन्ट गर्नुहोस्