• क्यासलेस पेमेन्ट शुरु

  • सप्ताहन्तदेखि महत्वाकांक्षी “फास्टर पेमेन्ट सिस्टम” कार्यान्वयनमा आएपछि हङकङका प्रमुख ऋणदाताहरु नयाँ डिजीटल पेमेन्ट ग्राहक आकर्षित गर्न तँछाडमछाड गरिरहेका छन् । नयाँ प्रणाली अन्तर्गत मोबाईल फोनमा भएको एउटा क्विक रेस्पोन्स (क्युआर) कोड स्वाईप गरेर पैसा पठाउन र बिल भुक्तान गर्न सकिनेछ ।

    शहरलाई भविष्यमा अत्याधुनिक स्मार्ट बैंकिङ प्रणालीको प्रभुत्व हुने नगदरहित समाजमा रुपान्तरण गर्ने प्रयास स्वरुप यसलाई हङकङ मनिटरी अथोरिटी (एचकेएमए) को हालसम्मकै निर्भीक निर्णय मानिएको छ । मोबाईल फोन नम्बर वा ईमेल ठेगानालाई आफ्नो बैंक वा ई-वालेट सञ्चालकमा दर्ता गरेपछि व्यक्ति, कम्पनी र सबैभन्दा महत्वपूर्ण, खुद्रा बिक्रेताले मोबाईलमा स्वाईप गरेर पैसा पठाउन सक्नेछन् ।

    यो प्रणाली मार्फत् ग्राहकहरुले आफ्नो बैंक खाता वा ई-वालेट प्रयोग गरेर पसल, रेस्टुरेन्ट र खुद्रा पसलहरुमा खर्च गर्न, र विभिन्न महशुल भुक्तानी गर्न सक्नेछन् । यो प्लेटफर्मले सेप्टेम्बर १७ देखि दर्ता शुरु गरे पनि, आईतबारदेखि मात्रै पैसा पठाउन शुरु भएको थियो ।

    एचकेएमएका कार्यकारी प्रमुख नोर्म्यान च्यान ताक-लामले ४ लाख ५० हजारभन्दा धेरै व्यक्तिले सेवा दर्ता गरेको बताएका छन् । तीमध्ये ३ लाख भन्दा धेरै मोबाईल र ७० हजार जति ईमेल मार्फत् दर्ता भएको उनले बताए । करिब ५८ हजार कर्पोरेट दर्ताहरु पनि भएका छन् ।

    एचएसबीसी, सिटीबैंक, र बैंक अफ चाईना (हङकङ), अलिपे, विच्याट पे, र हङकङमा भुक्तान गर्न जहींतहीं प्रयोग हुने अक्टोपस लगायत हङकङका सबै प्रमुख कम्पनी सहित २१ वटा बैंक र १० वटा ई-वालेट सञ्चालकहरु पनि प्रणालीमा समावेश भएका छन् ।

    चीनका दुई प्रभावशाली नगदरहित भुक्तान सेवा सञ्चालक, अलिपे र विच्याट पेका हङकङेली ग्राहकहरुले पहिलो पटक एकअर्कालाई पैसा पठाउन सक्नेछन् । ग्राहकहरुका लागि नि:शुल्क रहेको नयाँ भुक्तान सेवा प्रयोग गरेको शुल्क सहभागी व्यापारीहरुले भुक्तान गर्नेछन् । उनीहरुले बैंकबाट शुल्क असुल्नेछन् । क्रेडिट कार्डभन्दा केही थोरै सेवा शुल्क हुने भए पनि, यस्ता व्यापारीहरुले कारोबार मुल्यको आधारमा १.५ देखि २.५ प्रतिशत सेवा शुल्क लिनेछन् । मुलभूमि चीन र अन्य धेरै बजारमा, स्वाईप पेमेन्ट लाखौं मानिसका लागि सामान्य बनेको छ । तर हङकङमा यो प्रक्रिया भर्खर शुरु हुँदैछ ।

    “नयाँ भुक्तान प्रणाली प्रयोग गर्ने व्यापारीका लागि बैंकहरुले प्रतिस्पर्धा गर्नुपर्छ । भुक्तानबाट हुने आम्दानी बाहेक, अन्य उत्पादनहरुको बिक्री गरेर बैंकहरुले पनि लाभ लिन सक्छन्,” ओरिएन्टल प्याट्रोन फाईनान्सियल ग्रुपका संस्थापक साझेदार जेफ्री च्यान लाप-टाकले भने ।

    “व्यापारीहरुसँग सम्बन्ध राख्न नसक्ने बैंकहरुले प्रतिस्पर्धीहरुसँग हार्नुपर्नेछ ।

    नयाँ ग्राहक दर्ता गराउने सन्दर्भमा, शहरको सबैभन्दा ठूलो ऋणदाता एचएसबीसीलाई सबैभन्दा आक्रामक मानिन्छ । एचएसबीसीले हङकङ ईलेक्ट्रिक, गोगोभ्यान (माग बमोजिम भ्यान भाडामा लिने सेवा), जेटुर ट्राभल, ईजीएल टुर्सजस्ता ट्राभल कम्पनी र चुङ युएन ईलेक्ट्रिकलजस्ता खुद्रा व्यवसायी लगायत नाम चलेका र ठूला कम्पनीसँग सहकार्य थालिसकेको छ ।

    “हाम्रो समूहले एक हजारभन्दा धेरै व्यापारीलाई भेटेको छ र उनीहरु सबै जना फास्टर पेमेन्ट सिस्टम प्रयोग गर्न ईच्छुक छन्,” एचएसबीसी हङकङको कमर्शियल बैंकिङका प्रमुख टेरेन्स चिउले भने ।

    गोगोभ्यानका सहसंस्थापक रिभ क्वानले कम्पनीको धेरै चालकहरुले हाल नगद मात्रै लिने गरेको तर एचएसबीसीको फास्टर पेमेन्ट सिस्टममा जोडिएपछि ग्राहकरुले मोबाईल फोन प्रयोग गरेर भुक्तान गर्न सक्ने बताए ।

    “पहिलो वर्षमा ३० प्रतिशत प्रयोगकर्ताले फास्टर पेमेन्ट सिस्टम मार्फत् भुक्तान गर्ने र अझ बढी सहज भुक्तान विधिको फलस्वरुप यो संख्या २० प्रतिशत वृद्धि हुने हामीले अपेक्षा गरेका छौं,” उनले भने ।

    वान चाई र कजवे बेमा रेस्टुरेन्ट सञ्चालन गर्ने यिसिन क्याटरिङ ग्रुपका निर्देशक साल तो विङ-निनले सेवा शुल्क वास्तवमै क्रेडिट कार्डभन्दा कम भए फास्टर पेमेन्ट सिस्टम प्रयोग गर्नलाई उनी पनि एचएसबीसीसँग जोडिन तयार रहेको बताए ।

    “नयाँ पुस्ताका ग्राहकहरु क्युआर कोड स्क्यान गरेर भुक्तान गर्न रुचाउने छन् । हामीले उनीहरुको आवश्यकताको सम्बोधन गर्नैपर्छ । हाल, करिब ८० प्रतिशत ग्राहकहरु क्रेडिट कार्ड र बाँकीले नगदबाट भुक्तान गर्छन्,” उनले भने ।

    “नयाँ भुक्तान प्रणाली अन्तर्गत धेरैभन्दा धेरै ग्राहकहरुले क्युआर कोड स्क्यान गरेर भुक्तान गर्नेछन् ।”

    बैंक अफ चाईना (हङकङ), वा बीओसीएचके पनि नयाँ भुक्तान सेवा अन्तर्गत ४ सय व्यापारीसँग वार्ता गरिरहेको बताईएको छ । यसमा टाउनग्याँस र यसका १८ लाख ग्राहक बैंकको ठूला ग्राहकमध्ये एक हो । बैंकले व्यापारीलाई तीन महिनासम्म सेवा शुल्क लिने छैन र क्रेडिट कार्डजस्ता अन्य भुक्तान विधिभन्दा यसको अन्य खर्चहरु सस्तो हुने आवश्वासन पनि दिएको छ ।

    टाउनग्याँस सञ्चालन गर्ने हङकङ एन्ड चाईना ग्याँस कम्पनीमा कर्पोरेट ट्रेजरी एन्ड ईन्भेस्टर रिलेसन्नसका महाप्रबन्धक डब्ल्यु के लोले बीओसीएचकेसँगको सम्बन्धले “ग्राहकलाई घरबाटै महशुल भुक्तान गर्न र कम्पनीको भुक्तान प्रभावकारीतामा सुधार ल्याउने” बताए ।

    अबदेखि प्रणालीको प्रयोग गरी परोपकारी अनुदान पनि गर्न सकिनेछ । यसका लागि बीओसीएचकेले पो ल्योङ कुकको आवासिय स्याहार केन्द्रजस्ता थुप्रै संस्थासँग सञ्जाल निर्माण गरेको छ । बैंकले यस्ता कारोबारमा सेवा शुल्क मिनाहा गर्नेछ ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटीबैंक र बैंक अफ ईस्ट एशियाले पनि जडान गरिएको नयाँ क्युई भुक्तान विधि प्रयोग गर्न शहरभरका व्यापारीसँग वार्ता भईरहेको बताएका छन् ।

    यसै सन्दर्भमा शहरका प्रमुख क्रेडिट कार्ड सञ्चालकहरुले पनि आफ्नो बजार सुरक्षित राख्न सञ्जाल बढाईरहेका छन् । मास्टरकार्डले बिहिबार मात्रै शिक्षा सम्बन्धि एप निर्माता जीआरडब्ल्युटीएचसँग सम्झौता गरेको छ । अबदेखि अभिभावक र विद्यार्थीहरुले उनीहरुको मोबाईल फोनमा भएको एप मार्फत् शैक्षिक शुल्क र खाजा खर्च लगायत अन्य शुल्कहरु भुक्तान गर्न सक्नेछन् ।

    “शिक्षा, वित्तिय, र प्राविधिक क्षेत्रलाई जोडेर, हामी हङकङको डिजिटल भुक्तानको विकासलाई अघि बढाउन चाहन्छौं,” जीआरडब्ल्युटीएचका सहसंस्थापक तथा कार्यकारी प्रमुख एडम च्यानले भने ।

    हङकङ र मकाउका लागि मास्टकार्डकी प्रबन्ध निर्देशक हेलेना चेनले फास्टर पेमेन्ट सिस्टमले क्रेडिट कार्डको बजारमा कुनै जोखिम नहुने बताईन् ।

    “एचकेएमएको नयाँ भुक्तान सेवालाई हामी समर्थन गर्दछौं, यसले हङकङमा भुक्तान गर्ने नयाँ विधि प्रदान गर्नेछ,: च्यानले भने ।

    “मास्टरकार्डको प्रविधी प्रयोग गरेर, हामीले वास्तवमै हाम्रो आउने पुस्ताको भविष्यको जग बसाल्न सक्नेछौं, र एउटा स्मार्ट सिटीको रुपमा हङकङको विकासलाई पनि अघि बढाउन सक्नेछौं ।”

    इनोक यिउ

  • कमेन्ट गर्नुहोस्