• म्यान्डेटरी प्रोभिडेन्ट फन्डलाई झण्डै एक दशकपछि नाफा

  • म्यान्डेटरी प्रोभिडेन्ट फन्ड (एमपिएफ) ले यो वर्ष राम्रो सुरूआत गरेको छ । झण्डै एक दशकयताकै उत्कृष्ट त्रैमासिक नाफा भएको एमपिएफले जनाएको छ । हङकङ र मूलभूमि चीनको शेयर बजार वृद्धिका बावजुद फन्डले ७.५३ प्रतिशत नाफा गरेको छ ।

    ट्रष्टिहरूले व्यवस्थापन गरेको ४२६ एमपिएफ लगानी कोषको पहिलो त्रैमासिक प्रदर्शनले सन् २०१० को तेश्रो त्रैमासिकको ९.२५ प्रतिशत गरेदेखिकै बलियो प्रदर्शन गरेको लिप्परले जनाएको छ ।

    ग्रेटर चाइना इक्विटीको लगानी १४ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी अमेरिकी इक्विटीमा १३.७५ प्रतिशत र तेश्रो स्थानमा रहेको हङकङको इक्विटी फन्ड १३ प्रतिशतले बढे ।

    जापानबाहेकको एसिया प्रशान्त क्षेत्रमा केन्द्रित इक्विटी फन्ड र युरोपले पनि क्रमश: १०.२३ प्रतिशत र १० प्रतिशतको लाभ दिए ।

    हङकङको शेयर बजारका कारण वृद्धि सम्भव भएको हो । पहिलो त्रैमासिकमा हाङ सेङ इन्डेक्स १२ प्रतिशतले उक्लिएको थियो । सन् २०१८ को १४ प्रतिशत घाटामा यसले निकै राहत दिएको छ ।

    मूलभूमिका बजारले यो अवधिमा अझ राम्रो प्रदर्शन गरे । सांघाई कम्पोजिट इन्डेक्स २४ प्रतिशतले उकालो लाग्यो । अघिल्लो वर्ष २५ प्रतिशतको घाटा बेहोरेको इन्डेक्सलाई राहत मिल्यो । शेन्जेन कम्पोजिट इन्डेक्स ३४ प्रतिशतले वृद्धि भयो । बोन्ड र शेयरमा संयुक्त लगानी गर्ने मिश्रित सम्पत्ति कोषले पहिलो त्रैमासिकमा ७.२ प्रतिशत लाभ कमायो ।

    सबैभन्दा कमजोर प्रदर्शन गरेको हङकङ मनि मार्केट फन्डले पनि ०.५ प्रतिशत नाफा कमायो । कुनै पनि वर्गको कोषले घाटा बेहोरेन ।

    “पहिलो त्रैमासिकमा एमपिएफले शेयर बजारबाट फाइदा लिएको छ । बेइजिङले नगद सम्बन्धी नीति लचिलो बनाएको र अमेरिकाको फेडरल रिजर्भले ब्याज दरबारे यो वर्ष लिएको कुटनीतिक कदमले यस्तो सम्भव भएको हो‚” हङकङस्थित हानटेक प्यासेफिक नामक लगानी कम्पनीका प्रबन्ध निर्देशक गोर्डन चुइ लुयन–अनले बताए ।

    “एमपिएफ यो वर्ष नाफामा फर्किन सक्नुपर्छ ।”

    एमपिएफको लगानी कोषले पोहोर ‍औसत ८.२१ प्रतिशतले घाटा बेहोर्‍यो । सन् २०११ मा युरोपेली बोन्ड संकटयताकै यो सबैभन्दा तल झरेको थियो । त्यो वर्ष ८.९४ प्रतिशतले घाटा भएको थियो ।

    चुई भने यो वर्ष एमपिएफको नाफा सन् २०१७ कोजस्तै २०.९४ प्रतिशत पुग्ने विश्वास गर्छन् । त्यो वर्ष हाङ सेङ इन्डेक्स ३६ प्रतिशतले बढेको थियो ।

    सन् २००९ मा एमपिएफले २५.८९ प्रतिशत नाफा कमाएको थियो । केही ब्रोकर भने यसलाई लिएर सावधान छन् ।

    “हङकङ र चीनको शेयर बजारमा पहिलो त्रैमासिकमा भएको बलियो वृद्धि वर्षभरि नटिक्न सक्छ‚” सक्सेस युनिभर्स ग्रुपका उपाध्यक्ष टम च्यानले भने ।

    “अमेरिका र चीनबाट आइरहेको आर्थिक तथ्याङ्क त्यति राम्रो छैन । व्यापार युद्धका कारण अझै धेरै उद्योग थलिएका छन् । एमपिएफका सदस्यले पेन्सन पोर्टफोलियोमा केही सावधानी अपनाउनुपर्छ ।”

    एमपिएफमा हङकङका २९ लाख कर्मचारी र स्वरोजगार व्यक्ति आबद्ध छन् । म्यान्डेटरी प्रोभिडेन्ट फन्ड स्किम्स अथोरिटीको तथ्याङ्क अनुसार एमपिएफसँग डिसेम्बर अन्तिमसम्म आठ खर्ब १३ अर्ब हङकङ डलर बराबरको सम्पत्ति थियो ।

  • कमेन्ट गर्नुहोस्