भव्य रुपमा मेरो गुरु पूर्णिमा
किशोरावस्थासम्म खासगरी दशैं तिहार शब्द सुन्दै मात्र पनि मन उत्सवमय हुन्थ्यो । जब किशोरावस्था पार गरियो, त्यसपछि कुनै पनि चाडपर्वमा मेरो सहभागिता केवल औपचारिकतामा सिमित हुँदै आएको छ । तर यो वर्ष मैले गुरु पूर्णिमा भव्य रुपमा मनाएँ । गुरु पूर्णिमाको यस भव्यताले गौरव महसुस भइरहेको छ । उत्सवमय भइरहनेछ मेरो मन, जतिखेर यो वर्षको गुरु पूर्णिमाको सम्झना आउनेछ ।
कुरा, केही वर्षअघिको गरौँ । त्योबेला धनकुटा बहुमुखी क्याम्पस शिक्षाशास्त्र अध्ययनका लागि पूर्वाञ्चलमै प्रख्यात थियो । धेरै ठाउँका विद्यार्थीहरु त्यहाँ शिक्षाशास्त्र पढ्न आउँथे । यसरी पढ्न आउनेहरु हाम्रो टोल (पहिले भोटेचौतारा, अहिले स्कूलडाँडा)मा पनि डेरा बस्न आउँथे । हाम्रो घरको कोठा पनि कहिलेकहीँ भाडामा लाग्थ्यो । म हाम्रो घरको आँगनतिरको कोठामा सुत्थेँ । हाम्रो घरको अगाडीको एउटा पुरानो घरमा पनि प्रशस्तै विद्यार्थीहरु डेरामा बस्थे । उनीहरु रातभर पढ्थे । एक जना चाहिँ अलि स्वर निकालेरै पढ्थे । उनको पढाई म मज्जाले सुन्थेँ । समयक्रममा पढाई सकिसकेपछि त्यहाँ डेरा गरी बस्ने अधिकाँश विद्यार्थीले धनकुटा छाडे । तर स्वर निकालेर पढ्ने ती विद्यार्थीले त्यो घर त छाडे, तर धनकुटा र त्यसमा पनि मेरै टोलको सेरोफेरो मार्न छाडेनन् । त्यो बेला म कक्षा ५ बाट भर्खरै ६ मा पुगेको थिएँ, सेकेण्ड ब्वाईको हैसियतमा ।
धुरी नचढ्ने बानी
२०३६ सालमा रेख ब्लोनले गुच्चा खेलिरहेका हामी केटाकेटीलाई हातगोडा धुन लगाई भेडाबाख्राको बथानजस्तै गराएर हाम्रै टोलको गणेश प्राथमिक विद्यालयमा नाम लेखाई दिनुभयो । कक्षा १ बाट कक्षा २ मा चढ्दा म कक्षामा दोस्रो भएको थिएँ । त्यहीँबेला धनकुटा बजारमा दुईवटा बोर्डिङ स्कूल खुले । मसँगै पढ्ने मेरै टोलका र तल्लो टोलका सहपाठीहरुलाई उनीहरुका अभिभावकले सरकारी स्कूलबाट टपक्क टिपेर थपक्क निजी क्षेत्रको बोर्डिङ स्कूलमा हुलिदिए । मलाई थाहा थियो, बोर्डिङ स्कूलमा पढाउने सामथ्र्य मेरो अभिभावकसँग छैन । ती साथीहरु टाइयुक्त सुकिला युनिफर्ममा खुट्टामा टिलिक्क पालिस लगाइएको कालो छालाको जुत्ता लगाएर काँधमा स्कूल ब्याग र हातमा टिफिन क्यारियर बोकेर बोर्डिङ जान्थे । उनीहरुलाई लिन र पु¥याउन एक जना “ब्रदर” पनि आउँथे । ती मेरा केही साथी जसरी ठाँटका साथ “बोर्डिङ” जान्थे, म चाहिँ पुरानै पाराले धुस्रोमुस्रो शैलीमा “स्कूल” जान्थेँ । “मलाई पनि बोर्डिङ पढ्ने मन भयो, मलाई पनि त्यहीँ हालिदिनुप¥यो” भनेर कहिल्यै पनि मैले मेरा अभिभावकसमक्ष माग वा घुर्कि देखाइनँ । न ती साथीहरुको इष्र्या गरेँ । सायद त्यहीँ बेलादेखि अरु हात्ती चढ्दा आफू चाहिँ धुरी चढ्ने बानीको विकास भएन ममा । तर मेरा ती साथीहरुमध्ये प्राय सबैजसो ड्रपआउटजस्तै भए । (क्षमा गर्नुहोला, त्यसबेला बोर्डिङ पढ्ने मेरा टोलका समकालिन साथीहरु ।) तर मेरो भने निरन्तर चलिरह्यो, शिक्षा प्राप्तिको गन्तव्यको यात्रा । मेरो पढाई झन् राम्रो हुन थाल्यो । कक्षामा पहिलो पो हुन थालेँ । मेरा बुबा मलाई देखाउँदै अरुलाई भन्नुहुन्थ्यो,“यसलाई आजसम्म मैले कहिल्यै पढ् भन्नु परेको छैन, बनको काँडालाई तिखार्नु पर्दैन भनेको हो रहेछ ।”
मेरो भागका परेको पैतृक अंश
कक्षा ४ देखि कक्षा ७ सम्म म तत्कालिन भाषा निमाविको विद्यार्थी थिएँ । मैले सेकेण्ड ब्वाईको रुपमा त्यहाँ रामप्रसाद वाग्ले (हालः नेपाल सरकारका उपसचिव)लाई पछ्याइरहेँ । म पढेको त्यो विद्यालय हाल भाषा क्याम्पसका रुपमा सञ्चालित छ ।
कक्षा ६ मा पढिरहेको बेला हामी दाजुभाइबीच अंशवण्डाको कुरा चल्यो । खासगरी जेठा दाजुको घरबार पहिल्यै सुरु भइसकेकोले उहाँले अंश दावी गर्नु स्वभाविकै थियो । त्यसपछि बुवाले अंश तोकिदिनु पनि भयो । म परेँ, घरको कान्छो छोरो । त्यो पनि त्यसबेलाको बालकै । सामान्यतय कान्छो छोरोको रोजाईलाई अंश छनौटमा प्राथमिकता दिइन्छ । तर त्यो बेला बुबाको कुरालाई काट्न सक्ने हिम्मतको कसको थियो र ? बुबाले जे दिनुभयो वा जता तोक्नुभयो, सबैले त्यसलाई स्वीकार गरि पनि हाले । यसको अर्को वर्ष अर्थात् म कक्षा ७ मा पढिरहेको बेला बुबा बिति पनि हाल्नुभयो ।
बुबा आफैले त्यसबेला पैतृक सम्पति बाँडफाँडको बेला भन्नुभएको कुरा अहिले पनि सम्झन्छु म । भन्नुभएको थियो,“सबैभन्दा कमसल र थोरै जग्गा कान्छाको भागमा परेको छ, त्यो म आफैले जानी जानी गरेको हुँ ।” बुबाको सबैभन्दा प्रिय छोरा मेरै कानमा पर्नेगरी उहाँले यस्तो वाक्य व्यक्त गर्नुभयो । बुबाले किन यसो गर्नुभयो होला ? यो प्रश्न मेरो मनमा खेल्दै खेलेन । बुबाको यो कुरा सत्य रहेछ । दाजुहरुको जग्गा भएर मोटर गुड्छ, तर मेरो अंशमा परेको जग्गा बाटोले भेट्दैन ।
अचम्मको मेरो आफ्नो पक्ष पनि के छ भने, त्यो मेरो जग्गा कसले कमाउँदैछ, त्यहाँबाट के कति आम्दानी हुन्छ, केही थाहा छैन, मलाई । रेखदेखको जिम्मा चाहिँ साहिला दाजुको भागमा परेको छ । तर बुबाको एउटा अर्को वाक्य पनि मेरो स्मृतिमा अझै ताजा छ । भन्नुभएको थियो,“यसलाई बाउको अंश पनि चाहिँदैन, आफै पढिलेखी खान्छ । त्यसैले यसको भागमा थोरै र कमसल खालको राखेको ।”
बुबाको यो भनाईपछि मेरा लागि किताव, कलम र कापी थप प्रियकर वस्तु लाग्न थाले । प्रज्ञाका पुजारीहरु थप प्रियजन लाग्न थाले । पाठशालाका परिसर त तीर्थस्थलझैँ लाग्न थाल्यो मलाई । बुबाको त्यो उत्प्रेरक बाक्य जति अरु ठूलो पैतृक सम्पति मेरा लागि अरु के हुन सक्ला ?
फलामे ढोका छिर्दै गर्दा
ममा पढाईप्रति रुची मात्रै थिएन, मैले पढ्न जरुरी पनि थियो । त्यसैले म साधनामा तल्लिन थिएँ । साधना भएकैले त म पढाईमा राम्रो पनि थिएँ । तर साधनाका लागि स्रोत साधनको पनि उत्तिकै जरुरी थियो ।बुबाले आफू बित्ने बेलामा मेरो नाम लिएर आमासँग भन्नुभएछ, “कान्छालाई जसरी भए पनि एसएलसीसम्म पढाउनू है ।”
कक्षा ५ सम्मको निःशुल्क शिक्षा त ढुक्कैले पढियो, तर कक्षा ६ देखि १० सम्मको सशुल्क शिक्षाको समयमा पाएको कष्टपूर्ण मनोविज्ञानको कथा लामो बन्न सक्छ, त्यतातिर धेरै नजाऊँ, अहिले । उच्च शिक्षा त म आफैले कमाउँदै पढेँ ।
पितृवात्सल्यबाट भर्खरै विमुख भएको पीडा छँदैथियो । बुबाको लाहुरे जीवनले कमाएको आमाको नाममा आउने सिमित रकमको विधवा पेन्सनबाहेक घरमा नगदको अनुहार देख्ने अर्को कुनै बाटो थिएन । नातागोतामा पनि जोसँग धन छ, ममाथि लगानी गर्ने मन थिएन, जोसँग मन थियो, उनीहरुसँग ममाथि लगानी गर्ने धन थिएन । सिमित स्रोतसाधनको भरमा म साधना गरिरहेको थिएँ, बलभद्र कुँवरहरुले भरुवा बन्दुक र धनुकाँडको भरमा अँग्रेजको तोपगोलासँग नालापानीमा युद्ध लडेको इतिहासजस्तै ।
एसएलसी परीक्षाअघिको सेन्टअप आउनै लागेको थियो । हाम्रो समयमा सेन्टअप अहिलेजस्तो औपचारिकतामा सिमित थिएन, जिल्ला स्तरीय परीक्षा हुन्थ्यो र त्यो उत्तीर्ण गर्नै पथ्र्यो । फेरि हाम्रो समय सेन्टअप र एसएलसीमा कक्षा ९ र १० बाट प्रश्न सोधिन्थ्यो । अर्थात् सेन्टअप र एसएलसी परीक्षामा दुई वर्षे पढाई हुन्थ्यो । गाह्रै थियो । साथीहरुले अंग्रेजी, गणित र विज्ञान विषयमा ट्यूसन कक्षा लिन सुरु गरे । मलाई थाहा थियो, म ट्यूसन नपढे पनि एसएलसी पास गर्नसक्छु । त्योबेला सम्म ट्यूसन नपढि राम्रो विद्यार्थीका रुपमा स्थापित म त एसएलसीमा फेल हुने सम्भावना पो बढेर जान थाल्यो । ट्यूसन कक्षाले पढाई तिखार्न मात्र होइन, मेधावी विद्यार्थीको मनोविज्ञानलाई सुदृढ गर्न समेत सहयोगी भूमिका खेल्न सक्छ भन्ने मेरो बुझाई थियो त्यसबेला ।
मसँग कक्षा ४ देखि पढ्दै आएका मेरा अनन्य मित्रद्वय मुकुन्दप्रसाद भण्डारी र नेत्रप्रसाद रिजालले पनि ट्यूसन सुरु गरिसकेका थिए । उनीहरु मलाई भन्थे,“हामीले त सुरु गरिसक्यौँ त राजकुमार, तँ चाहिँ कहिलेदेखि सुरु गर्छस् ?” मसँग उनीहरुलाई दिने ठोस जवाफ हुँदैनथ्यो र जिब्रो लरबराउँदै भन्थेँ,“पख न एक दुई दिन ।” यस्ता “एक दुई दिन” बितिरहेको थियो ।
उनीहरुले धेरै कर गरे, आफूहरुसँगै ट्यूसन पढ्नका लागि । सोचेँ,“उनीहरु जहाँ गइरहेछन्, पढ्न म पनि त्यहीँ जान्छु । सके तत्कालै शुल्क तिरौँला, नसके कुनै दिन तिरौँला ।” एसएलसीभर ट्यूसन पढेँ । त्यो समय मासिक ७५ रुपैयाँ शुल्क तोकिएको थियो । तर मैले त्यो शुल्क तिरिनँ, तिर्नै नसकेर । मलाई सरले कहिल्यै माग्नु पनि भएन । तर शुल्क नतिरेवापत माया गर्न छाड्नु पनि भएन । सोचेँ, उहाँले मलाई निशुल्क शिक्षा दिनुभयो ।
शिक्षण पेशामा लामो समयको अनुभवको सँगालो छैन, मसँग । एउटा कलेजमा आठ वर्ष पढाएँ । मैले पढाएका केही विद्यार्थीहरुले यो वर्षको गुरुपूर्णिमामा मेसेज पढाउन थाले,“ह्याप्पी टिचर्स डे सर ।”
यी मेसेजहरुपछि मैले पनि यो वर्षको गुरुपूर्णिमा भव्य रुपमा मनाउने निर्णय गरेँ । र मलाई एसएलसीको समयमा निःशुल्क ट्यूसन पढाउनुहुने सरलाई गुरुदक्षिणा दिने निर्णय गरेँ । त्यो निर्णय हो, अहिले पनि शिक्षण पेशामा प्रतिवद्धताका साथ सक्रिय गुरु निलबहादुर बुढाथोकीको नाममा एक लाख रुपैयाँको शैक्षिक अक्षय कोषको घोषणा ।
माथि उल्लेख गरिएका मेरो घर अगाडीको घरमा डेरा गरी बस्ने अनि रातभर मलगायत वरपरकाले पनि सुन्ने गरी पढ्ने विद्यार्थी पनि उनै निलबहादुर सर हुनुहुन्छ ।