दुई सय वर्षअघि लाहुरेको त्यो तलब
अहिले ब्रिटिश र भारतीय गोर्खा सैनिक पल्टनमा राई, लिम्बू, मगर र गुरुङको संख्या अधिक देखिँदा यस्तो लाग्न सक्छ, ब्रिटिश तथा भारतीय गोर्खा सैनिक पल्टन यी चार जातका नेपालीहरुका लागि मात्र खोलिएको हो कि ?
तर इतिहास हेर्दा पल्टनको सुरुआतमा क्षेत्रीहरुलाई भर्ना लिइएको देखिन्छ । खासगरी नालापानीको युद्धमा बाध्यतावश किल्ला छाडेका कप्तान बलभद्र कुँवर पञ्जावकेशरी रणजीत सिंहको फौजमा भर्ना भएपछि नेपालीहरु विदेशी सेनामा भर्ना हुन थालेको इतिहास सुरु भएको भनिए पनि बलभद्र कुँवर पहिलो लाहुरे होइनन् । उनी नालापानीको युद्धपछि काठमाडौं फर्किएका थिए । त्यसपछि उनी दैलेखको दुल्लुमा केही समय कार्यरत रहे । पछि आफ्ना मामाहरु भुपालसिंह थापा र अर्जुनसिंह थापासँगको सरसल्लाह अनुसार उनी लाहोर अर्थात लाहुर गए, पञ्जावका राजा रणजीत सिंहको फौजमा भर्ना हुन ।
त्यसबेला कुँवर, थापा, पन्त, खत्री, भण्डारी, खवास, ठाकुरजस्ता क्षेत्रीहरु लाहोरमा भर्ती हुन थालेपछि लाहोर शब्दको उच्चारण गर्दा गोर्खाली जिब्रोले ‘लाहुर’ भन्न थाल्यो । त्यसपछि त्यहाँ अर्थात् लाहोर पुगेर सैनिक बन्नेहरु लाहुरे कहलाए । पछि सुरो र लडाकु जातिको रुपमा राई, लिम्बू, मगर र गुरुङहरुको लडाकु प्रतिभाको परख अङ्ग्रेजहरुले गरेपछि उनीहरुलाई पनि सैनिकका रुपमा भर्ना गर्न थालियो । पछि गोरखा रेजिमेन्ट भनी राई, लिम्बु, मगर र गुरुङका लागि छुट्टाछुट्टै पल्टन अँग्रेजहरुले खोलिदिए ।
नेपाल–अङ्ग्रेज युद्ध (विक्रम संवत् १८७१–७२)
व्यापारको सिलसिलामा भारत आइपुगेको अङ्ग्रेजले अधिकांश एसियाली मूलुकलाई आपनो उपनिवेशमा पारिसकेको थियो । भारतको गर्मी छल्ने ठाउँको खोजी र चीन तथा तिब्बतसँग व्यापार बढाउने मनसुवा बोकेको अङ्ग्रेजले नेपाली भूभागमा आँखा लगाइरहेको थियो । नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिममा काँगडा पुगिसकेको अवस्थामा पहाडी नाका हुँदै तिब्बत र चीनतर्फ बढ्ने आाफ्नो पहाडी मार्ग अवरुद्ध भइरहेको महसुस भइरहेको थियो अङ्ग्रेजलाई । त्यसै कारण बुटवलको स्यूराजमा उसले सानो निहुँमा बखेडा झिक्दै गयो । विवाद बढ्दै जादा अङ्ग्रेजले नेपालविरुद्ध युद्धकै घोषणा ग¥यो । इस्ट इण्डिया कम्पनीका गभर्नर जनरल लर्ड हेस्टिङ्सले नेपालविरुद्ध लखनउबाट युद्धको घोषणा गरे । हेस्टिङ्सका तर्फबाट युद्धको घोषणा गर्ने इस्ट इन्डिया कम्पनीका सचिव जे. एडमले हस्ताक्षर गरेको युद्ध घोषणामा ‘नेपाल सरकारले बुटवल, स्युराज र रौतहटमा अतिक्रमण गरेको, कम्पनी सरकारलाई अनादर गरेको र आपसी सद्भावको बेवास्ता गरेको कारण युद्ध निर्विकल्प भएको’ उल्लेख छ । (हिमाल खबरपत्रिका पुस ७, २०७०)
युद्ध घोषणाको ४७ वर्षअघि मात्रै पौवागढीमा गोर्खाली सेनाबाट कप्तान किनलक नेतृत्वको फौजले धुलो चाटेको थियो । इतिहास शिरोमणि बाबुराम आचार्य (पूर्णिमा पूर्णाङ्क २७ः१६६)का अनुसार विक्रम संवत् १८२४ असोज ९ गते पौवागढीमा नेपालतर्फ अगाडि बढिरहेको कप्तान किनलक नेतृत्वको अङ्ग्रेज फौजलाई पृथ्वीनारायण शाहको सेनाले नराम्ररी पराजित गरेर लखेटेको थियो । यसको बदला लिने ताकमा पनि थियो, त्यसबेला अङ्ग्रेज । युद्ध घमासान भयो । ठूलो संख्या र आधुनिक हातहतियारसहितको अङ्ग्रेज फौजविरुद्ध परम्परागत हतियार र सानो संख्यामा रहेको नेपाली फौजले आनो बुँताले भ्याएसम्म लडे । अङ्ग्रेज पक्षको निक्कै ठूलो क्षति पनि गराए । विक्रम संवत् १८७२ फागुन २४ गतेको सुगौली सन्धिसम्म आइपुग्दा नेपालले एक तिहाई लोभलाग्दो भूभाग अङ्ग्रेजलाई सुम्पन प¥यो ।
नालापानी युद्ध र बलभद्रको पलायन
नेपालको इतिहासमा नालापानीको युद्ध निक्कै महत्वपूर्ण र चर्चित रहेको छ । नालापानी किल्ला त्यही किल्ला हो, जहाँ नेपाली फौजले अङ्ग्रेज सेनापति जिलेस्पीको ज्यान लिएको थियो । जिलेस्पीले नालापानीको युद्धमा विक्रम सम्वत १८७१ कात्तिक १७ गते वीरगति पाए । (पूर्णिमा, पूर्णाङ्क ३ः५९)
नालापानी किल्लामा बाहिरबाट पानी जान्थ्यो । अङ्ग्रेजहरुले त्यो पानी जाने ठाउँ बन्द गराए । त्यहाँ सवा सय जति घ्याम्पामा पानी सञ्चित गरिएको थियो । त्यो पनि अँग्रेजहरुले गोलाले हानी घ्याम्पा फुटाई दिए । नेपाली सेना भात पकाएर समेत खान नपाई काँचै चामल खान बाध्य भयो । पानीको समेत हाहाकार भएपछि उनीहरुले विक्रम सम्वत १८७१ मंसिर १६ गते राती बलभद्र कुँवरहरु नालापानी किल्ला छाडी बाहिर निस्के । (पूर्णिमा पूर्णाङ्क ३ः६३–६४)
यसरी किल्ला छाडेपछि अन्य मोर्चाहरुमा पुगेर लड्दालड्दै सुगौली सन्धिपछि बलभद्र कुँवर काठमाडौं फर्के र केही समय दैलेखको दुल्लुमा जागिर खाए । पछि पञ्जावकेशरी रणजीत सिंहको सेनामा भर्ना भए । पञ्जाव र अगफनिस्तानबीच पेशावरमा भएको युद्धमा लड्दालड्दै सुवेदार बमसिंह खड्का, जमदार ऐमान खवास, जमदार रुपसिंह खड्का, जमदार जिउनसिंह दुरासहित कप्तान बलभद्र कुँवरले विक्रम संवत् १८७९ चैत ३ गते वीरगति पाए । (पूर्णिमा पूर्णाङ्क ५ः६८–६९)
अमरसिंह थापाका छोरा नाती पनि लाहुरे
नेपाल–अङ्ग्रेजबीचको युद्धमा बहादुरी देखाउने बलभद्र कुँवरजस्तै अर्का वीर योद्धा अमरसिंह थापा पनि राष्ट्रिय विभूति हुन् । अमरसिंह थापाले मलाउको किल्लाबाट नेपाली योद्धाहरुको कमाण्ड सम्हालेका थिए । अमरसिंह थापा त्यस्ता दूरदर्शी योद्धा हुनु्, जसले अहिलेको अवस्थामा अङ्ग्रेजसँग युद्ध जित्न नसकिने हुँदा युद्ध रोक्न भीमसेन थापासमक्ष आग्रह गरेका थिए भने शान्ति कायम गर्न सकिन्छ कि भनी कुटनीतिक भूमिका निर्वाह गर्दै अङ्ग्रेज सेना कमाण्डर अक्टरलोनीका छोरासँग आनो छोरा रामदासको मित लगाइदिएका थिए । यो कुरा बुढाकाजी अमरसिंहले अर्का जनरल अमरसिंह थापा (भीमसेन थापाका बाबु)लाई सतजल इलाकाको बघाटबाट १८७० मंसिर १० गते लेखेको पत्रमा उल्लेख छ । (पूर्णिमा पूर्णाङ्क ९ः४८–४९) ।
तर अमरसिंहको कुराको कुनै सुनुवाई गरेनन् भीमसेन थापाले । आफ्नो कुरा सुनुवाई नभए पनि उनी अन्तिम समयसम्म लडिरहे ।
युद्ध हारिएको, सुगौली सन्धिपछि आफ्नो कुनै भूमिका नभएको अवस्थामा अमरसिंह नेपाल फर्के । उनी सिधै राजधानी काठमाडौं आएनन्, बरु दशहरा मेला भर्न भनी उनी गोसाइकुण्डतिर गए । उनी विक्रम संवत् १८७३ साल जेठ महिनामा गोसाइकुण्ड पुगी पूजापाठ गरेर बसेका र जनैपूर्णिमाको १० दिनअघि अर्थात् साउन १२ गते आइतबार राती पौने १२ बजे ६५ वर्षको उमेरमा परलोक भए । (पूर्णिमा पूर्णाङ्क ५८ः४६)
युद्ध हारेर अमरसिंह फर्के पनि उनका छोरा नाती भने पञ्जावकेशरीकै पल्टनमा लाहुरे बनेर बसे । उनका छोरा अर्जुन, भुपाल र अर्जुनका छोरा लाहुर लागेको देखिन्छ । (पूर्णिमा पूर्णाङ्क ५ः६५–६८)
अमरसिंह थापाका चार जना श्रीमती थिए । तीमध्ये अक्टरलोनीका छोरासँग मित लगाउने रामदास साहिँली श्रीमति धर्मदेवीकातर्फबाट जन्मेका ठाँहिला छोरा तथा अर्जुन र भुपाल चाहिँ कान्छि श्रीमति लालवतिकातर्फबाट जन्मेका क्रमश जेठा र कान्छा छोरा हुन् । (पूर्णिमा पूर्णाङ्क ५८ः४७)
त्यसबेलाको लाहुरेको तलब
त्यसबेला रणजीत सिंहले गोर्खालीहरु र त्यसमा पनि उपल्ला दर्जाका सैन्य अधिकृतलाई आकर्षक तलब दिएको देखिन्छ । उनीहरुको कामको आधारमा खुसी हुँदा रणजीतले तलब बढाइदिएको पनि देखिन्छ ।
इतिहास प्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णाङ्क ५ (पृष्ठ ६५–६९) मा नेपाली इतिहासका महत्वपूर्ण स्रोतका रुपमा लाहोरबाट आएका केही पत्रहरु छापिएका छन् ।
तीमध्ये सबैभन्दा बढि अमरसिंह थापाका छोरा भुपालको तलब देखिएको छ । उनको तलब पहिले दिनको १८ रुपैयाँ रहेको र पछि जुवाको लतमा ऋण परेको अनि काममा पनि लापरवाही गरेकोले उनको तलब घटेर दैनिक ११ रुपैयाँमा झरेको देखिएको छ ।
यस्तै जुवा खेल्ने गोर्खालीहरुलाई ‘सधैँ कति जुवा खेल्छौ’ भन्दै अर्जुन थापाले थप्पडले हिर्काउँदा त्यो देखी खुसी भई रणजीत सिंहले उनलाई कप्तान दर्जा दिएका पनि पत्रबाट बुझिन्छ । पहिले दैनिक ७ रुपैयाँ तलब बुझ्दै आएका उनको तलब बढाइदिएर दैनिक १० रुपैयाँ पुर्याएको थियो । यस्तै अर्जुनका छोराको तलब दैनिक ७ रुपैयाँ रहेको पत्रमा खुलेको छ ।
यसैगरी कप्तान बलभद्र कुँवरको तलब पहिले दैनिक १० रुपैयाँ रहेको र पछि ५ रुपैयाँ थपेर दैनिक १५ रुपैयाँ पुगेको देखिन्छ । उनलाई पुरानो गोर्खाली पल्टन पनि जिम्मा दिइएको थियो ।
लाहोरबाट भीमसेन थापालाई माघ सुदि १३ रोज ६ मा सुबेदार बलमालि पन्त, सुबेदार उमेदसिंह ठाकुर, सुबेदार म्वानासिंह खत्री, सुबेदार दलसिंह भण्डारी र अन्य जमदारहरुसहितले लेखेको पत्रमा सुबेदारको तलब दैनिक २ रुपैयाँ, जमदारको मासिक २५ रुपैयाँ र सिपाहिको मासिक ८ रुपैयाँ रहेको उल्लेख छ ।
अर्को एक पत्रअनुसार अमरसिंह थापाको छोरा कप्तान भुपाल थापामार्फत गोर्खाली सेना भर्ना हुने गरेको बुझिन्छ । रणजित सिंहले भुपालको नाममा जारी गरेको पर्वानामा लेखिएको छ, ‘…वर्सात सक्यापछि उम्दा उम्दा सिपाहीहरु दस्तुर बमोजिम जस्मा केही सन्देह छैन साथ लि तँ हाम्रा हजुरमा हाजिर हो ।’
यसबाट अहिलेको गल्लावालाको भूमिकामा भुपाल थिए भन्ने बुझिन्छ । उनीमार्फत रणजित सिंहले गोर्खाली सेना भर्ना गर्ने गरेका रहेछन् भन्ने स्पष्ट हुन्छ ।