ती जुझारुलाई सम्झने कस्ले ?
“…मुर्दावाद, …अमर रहून्, …हत्यारालाई कारवाही गर् ।”
एउटा जुलुशले धनकुटा नगर परिक्रमा गर्ने क्रममा बिहीबारे हाटलाई पनि एक फन्को मा¥यो । हाटमा टहलिरहेको थिएँ । जोशिला युवा विद्यार्थीहरु थिए, हातमा प्लेकार्ड बोकेर नाराजुलुश गर्दै अगाडी बढिरहेका । त्यो जुलुशलाई एकजना महिलाले नेतृत्व गरेकी थिइन् । ती महिलालाई मैले नचिन्ने कुरै भएन । बारम्बार हाम्रो घरमा आउने, मलाई पनि मायालु पाराले भाइको रुपमा व्यवहार गर्ने ती महिलालाई जुलुशको अग्रभागमा देख्नासाथ म चिच्याएँ, “…..दिदी !”
जुलुशमा मेरा टोलका दाइहरु मात्रै होइनन्, मेरै घरकी एक दिदी पनि सहभागी थिइन् । म पनि जुलुशलाई पछ्याउँदै तल्लो टुँडिखेलको खुल्ला मञ्चमा पुगेँ । जुलुश छोटो सभामा परिणत भयो ।
त्यहाँ धेरै भाषण भएन, भन्नुपर्ने कुरा तिनै महिलाबाट व्यक्त भयो, उद्घोषणका क्रममा । बहुत जोशिलो पारामा । त्यसपछि रेख ब्लोनको नेतृत्वमा कलाकारको एउटा टोलीले गीत गाउँदै नृत्य देखायो । गीत थियो,
छैनन् आँखा तर हामीलाई अन्धा नभन
देशको लागि के गर्नेछौँ, धन्दा नमान
नशाभित्र तातो खुन छ कसले पिउन सक्छ ?
सत्य बोल्ने हाम्रो मुखलाई कसले सिउन सक्छ ?
देश बनाउने हाम्रा यी हात दही जमेका छैनन्
हिड्छन् हाम्रा पाइला पनि ढुङ्गामुढा होइनन्
हियाएर हामीलाई अन्धा नभन
देशको लागि के गर्नेछौँ धन्दा नमान…
यो गीतमा हाम्रै टोलका दाइहरु नगेन्द्र ब्लोन, सन्तोष तामाङ र बलबहादुर ब्लोन नाच्नु भएको थियो ।
त्यो समय म कक्षा ३ मा पढिरहेको एक फुच्चे थिएँ, जो दाइ र दिदी पुस्ताले निकालेको जुलुश पछ्याउँदै हिड्यो । जुलुश मात्रै होइन, उनीहरुको विचार पनि पछ्याएर हिँड्यो । त्यहीँ विचार पछ्याएर अहिले पनि हिडिरहेकै छ । त्यो जुलुश थियो, महेन्द्र मोरङ क्याम्पस, विराटनगरका तत्कालिन विद्यार्थी नेता फडिन्द्रराज तिमिल्सिनाको हत्याको विरोधमा निकालिएको । छिन्ताङमा मच्चाइएको हत्याकाण्डको रगत आलै थियो । सिद्धान्त र निष्ठाप्रतिको समर्पणमा ज्यानको आहुति दिनेहरुको ताती लागिरहेकै थियो । शहीदको सपनालाई साकार पार्न बलि चढ्न तयार हुनेहरु यसरी नारा घन्काएर जुलुश गरिरहेका थिए । अहिले मलाई गर्व लाग्छ, यो जुलुश पछ्याउँदै हिँडेको आफ्नै विगतको सम्झना गर्दा पनि ।
टुँडिखेलको त्यहीँ खुलामञ्चमा यस्ता जुझारु महिलालाई मैले दोस्रो पटक देखिरहेको थिएँ । पहिलो पटक त मैले त्यो मञ्चमा गायिका लोचन भट्टराईलाई एक वर्षअघि मात्र देखेको थिएँ, जुझारु महिलाको रुपमा । हातमा गिटार लिएर जोशिलो पारामा यस्तो गीत गाउँदै गरेको अवस्थामा,
तपाईंहरुको मायाले नै हामी यहाँ आयौँ
राइफलजस्तो बाजा समाई अभिवादन गर्छौँ…।
ती जुझारु महिला
केही दिनअघि पुराना बामपन्थी नेता तथा धनकुटा नगरपालिकाका पूर्व उपमेयर जीवप्रसाद पोखरेलले एक महिलाको श्यामश्वेत तस्बिर सार्वजनिक गर्दै उनलाई धनकुटाका हालः नेकपा (तत्कालिन एमाले)का नेता तथा कार्यकर्ताहरुले सम्झना गर्न पनि कन्जुस्याईँ गरिरहेको धारणा व्यक्त गर्नु भयो ।
“ओहो, कहाँ हुनुहुन्छ दिदी, २०३६ सालको आन्दोलनमा तपाईंलाई जेल हाल्दा हामी विद्यार्थीले आन्दोलन गरेको याद आयो मलाई”, मेरा छिमेकी दाइ विजय श्रेष्ठ (हालः काठमाडौं, बुढानिलकण्ठ) ले पहिलो कमेन्ट गर्नुभएको देखियो ।
अग्रज जीवप्रसाद पोखरेलले जवाफ दिनुभयो,“धेरै वर्ष भयो, उनी यो संसारमा छैनन् ।”
यी फेसबुकको संवाद पढेपछि मेरो मन च्वास्स घोच्यो । त्यो समयको एउटा जुझारु पार्टी कार्यकर्ताले गुमनाम अवस्थामा यो संसारबाट विदा लिनु परेको क्षणको सम्झना गर्नु पर्दा । ती जुझारु कार्यकर्ताको निधनको बारेमा म आफू चाहिँ बेखबर थिइनँ । उहाँको बारेमा चासो राखिरहन्थेँ । किन कि मेरा सम्झनाको सूचीमा उहाँको नाम पर्ने नै भयो ।
ती महिलाका नातेदार सञ्चारकर्मी मित्र गिरिश पोखरेल नेपाल हुँदा उनलाई भेट्नासाथ मेरो पहिलो जिज्ञासा हुने गथ्र्याे, “…दिदीलाई कस्तो छ ? के गर्दै हुनुहुन्छ ?”
ती महिलाको बारे जे जति खबर पाउँथेँ, खबर पाएर आनन्दित हुने गर्थेँ । समयक्रममा म कक्षा ८ मा पढ्दै गर्दा सहपाठीका रुपमा हरिहर पोखरेल र बसन्त पोखरेल बन्धु भेट भए । गिरिश भन्दा अघि नै उनीहरुलाई भेट्नासाथ पहिलो जिज्ञासा राखेको थिएँ,“…दिदी कहाँ हुनुहुन्छ हँ ?”
“उहाँ त नर्स हुनुहुन्छ । १४ वर्ष जेल परेको मान्छेसँग विवाह भएको छ”, पोखरेल बन्धुको जवाफ । यो प¥यो २०४३ सालको कुरा ।
ती जुझारु महिला अर्थात् दिवंगत शकुन्तला पोखरेल । उहाँ अहिले विस्मृतप्रायः हुनुहुन्छ । उहाँले नेपाली जनताको मुक्तिका लागि १४ वर्षको कारावास सजाय भोग्ने नारद वाग्लेसँग विवाह गर्नुभयो । आफै पनि सङ्घर्षको मैदानमा उत्रनु भयो । नर्सिङ पेशा अपनाउनु भयो । संखुवासभाको चैनपुरमा एउटा स्वास्थ्य शिविर सञ्चालन गरिरहेकै बेला मष्तिष्कघातबाट २०५८ सालमा उहाँको निधन भयो । यसबारे म जानकार नै थिएँ । उहाँसँग २०३९ सालपछि त प्रत्यक्ष रुपमा देखभेटै हुन पाएन मेरो । तर पनि उहाँको त्यो सक्रिय जीवनको सम्झनाको संगालो राखिरहेकै छु आजसम्म मैले ।
समाजको मुक्तिका लागि लड्ने भिड्ने उहाँको सामाजिक सेवाकै क्रममा निधन भयो । उहाँको जीवन सार्थक छ ।
त्यो बेला चित्र निरौला पार्टीको जिम्मेवार संगठकका रुपमा भूमीगत रुपमा धनकुटा आउनुहुन्थ्यो र अधिकाँश समय उहाँको आश्रयस्थल हाम्रै घरमा हुने गरेको थियो । अग्रज जीवप्रसाद पोखरेलले मलाई सम्झाउनु भए अनुसार त्यो समयमा निरौलाले शकुन्तला दिदीको नाम अनेरास्ववियूको कोशी अञ्चल कमिटीको कोषाध्यक्षका लागि सिफारिस गरेर पठाउनु भएको थियो । तर त्यो समय विद्या पाण्डे कोषाध्यक्षमा चयन हुनुभयो । उहाँ नै वर्तमान राष्ट्रप्रमुख विद्या भण्डारी हुनुहुन्छ भने नारद वाग्ले वर्तमान सरकार प्रमुख केपी शर्मा ओलीसँगै कारावासभोगी हुनुहुन्छ । दुवै झापा विद्रोहका सहयोद्धाहरु ।
ती सहयोद्धाहरु
धनकुटा लालकिल्लाको रुपमा स्थापित छ । २०४९ सालमा तत्कालिन विपक्षी दल एमालेका लागि प्रतिकुल र चुनौतिपूर्ण राजनीतिक परिस्थितिमा पनि जिल्ला विकास समितिको निर्वाचनमा एकल बहुमत मिलेको दुई जिल्लामध्ये एउटा भोजपुर हो, अर्को धनकुटा । त्यसमा पनि धनकुटा जिविसमा एमालेलाई प्रचण्ड बहुमत मिलेको थियो, २०४९ सालमा । २०५४ सालमा आइपुग्दा धनकुटाको एमाले विपक्षीविहीन हुन पुग्यो । पछिल्लो समयको स्थानीय निर्वाचनमा एमालेका लागि क्लिन स्वीप गर्ने एकमात्र जिल्ला त धनकुटा नै ठहरियो ।
यसमा गोपाल गुरागाईंको अभिभावकत्वमा उस बेलैदेखि खट्ने शकुन्तला पोखरेल र उहाँका सहयोद्धाहरुको भूमिकालाई क्रमशः विस्मृत बनाउँदै लगिएको अनुभूति गरिरहेको छु, यतिखेर म ।
हाम्रो एउटा घरमा सेल्टर दिइएको कारण जसजसलाई मैले देखेँ वा भेटेँ, धनकुटा नगर क्षेत्रमा, त्यो समय पार्टीका लागि खट्नेहरुको सूची म दिन सक्छु । भलै त्यो समय म बालकै थिएँ ।
त्यो बेला धनकुटा नगरको साविकको वडा नम्बर १ बाट कृष्ण थापा खट्नुहुन्थ्यो, वाङ्दी लामाको पनि नाम पनि चर्चामा आउँथ्यो । वडा नम्बर २ बाट भक्त थापा, पुष्प राई, गोपाल वाग्ले, कुलकेशर वाग्ले, शेरबहादुर विश्वकर्मा, राधा राई, गणेश राई, इन्द्र राई, लोकमान शाक्य, राजु शाक्य, गोकुल भण्डारी, अमर वाग्ले पार्टीका लागि खट्नुहुन्थ्यो । बेलहाराबासी भए पनि राजेन्द्र दाहालको कार्यक्षेत्र चाहिँ धनकुटा नगर नै थियो ।
वडा नम्बर ३ बाट जीवप्रसाद पोखरेल, लीलानाथ मिश्र, वीरबहादुर भुजेल र रमेश पोखरेल खट्नुहुन्थ्यो । शकुन्तला दिदी पनि यहीँ वडाको पर्नुभयो ।
वडा नम्बर ४ बाट रेख ब्लोन, डम्बर सुब्बा, दिलबहादुर बम्जन, चेतनाथ वाग्ले, कुलबहादुर ब्लोन, नगेन्द्र ब्लोन, सन्तोष तामाङ, गोवा पाख्रिन, विजय श्रेष्ठ, अर्जुन श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, कुमार उदाश, मसिन राई, रामप्रसाद वाग्ले, बलबहादुर ब्लोन, मानबहादुर लिम्बू, चन्द्र ब्लोन लगायतले पार्टीका लागि पसिना बगाएको प्रत्यक्षदर्शी म आफै हुँ । म यहीँ परेँ, यहीँ वडाको बासिन्दा ।
वडा नम्बर ५ बाट चन्द्रकुमार श्रेष्ठ, देवकी श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, माणिक श्रेष्ठ, रुद्र श्रेष्ठ, मनका जोशी तथा इन्दु श्रेष्ठहरुलाई खटिरहेका देख्थेँ त्यो बेला । त्यो बेला यहीँ वडाको बासिन्दाजस्तो भएर तेह«थुमका चिरञ्जिवीमान श्रेष्ठले काम गर्नु भएको थियो । वडा नम्बर ६ बाट पूर्णकृष्ण श्रेष्ठ र दिलिप श्रेष्ठ पार्टीका लागि झोला बोक्थे भने वडा नम्बर ७ बाट मोहनकृष्ण, केशव पहाडी, थामबहादुर राई (सानो) र धनपाल राईहरु पार्टीका सारथी थिए ।
तीमध्ये कतिपय यो संसारमा छैनन्, शकुन्तला पोखरेलजस्तै ।
त्यो समयमा प्रमिला परियार, सीता थापा, विमला सुब्बा, मञ्जु परियार र रिता ब्लोनले कलाकारका रुपमा निर्वाह गरेको भूमिका कमजोर छैन, धनकुटा नगरपालिका पनि लालकिल्ला बन्नका निमित्त ।
त्यो बेला धनकुटा नगर क्षेत्रमा महिलाको सबैभन्दा अग्रभागमा रहेर नेतृत्व गर्ने चाहिँ शकुन्तला पोखरेल नै हुनुहुन्थ्यो । देखीजान्ने र सुनीजान्ने मेरो धारणा हो यो ।
त्यो समय गोपाल वाग्ले, कुलकेशर वाग्ले, गणेश राई र हाम्रो घरमा पार्टीलाई सेल्टर प्रदान गरिएको थियो । पार्टीको सबैभन्दा सक्रिय गतिविधि चाहिँ हाम्रो घरमा हुन्थ्यो, प्रगतिशील लेखक कलाकार संघको नाममा । त्यो समय पार्टी सचिवको नेतृत्व सम्हाल्ने राजेश बान्तवाले मलाई एक भेटमा बताउनु भए अनुसार हाम्रो घर त त्यो बेलाको जिल्लाको हेडक्वाटर अर्थात् पार्टीको कार्यालय पो रहेछ । त्यहीँ घरमा आएर मदन भण्डारी पनि बस्नुभएको छ, एउटा महत्वपूर्ण बैठकमा । छिन्ताङ हत्याकाण्डका समयमा होस् वा मदन भण्डारी धनकुटा आउनुभएको समयमा, सेल्टरको चाँजोपाँजो मिलाउने चाहिँ शकुन्तला पोखरेल नै हुनुहुन्थ्यो । त्यहीँ भएर उहाँ हाम्रो घरमा पनि बारम्बार आउनुहुन्थ्यो ।
हुन त अहिले कमरेडहरुमा आफ्नै भविष्यको भकारी भर्ने ब्याकुलताले सिर्जना गरेको बेफुर्सदी छ । त्यसैले शकुन्तला पोखरेलहरुको सम्झना गर्नेसम्मको फुर्सद छैन, उहाँहरुलाई । तर महत्वाकाँक्षा नभएका इतिहासदेखिका समर्पित जीवप्रसाद पोखरेलहरुलाई नातागोताको रुपमा नभई एउटी समर्पणले ओतप्रोत सहयोद्धा कमरेड शकुन्तला पोखरेलहरुको सम्झना आइरहन्छ । यस्तोबेला मलाई पनि त्यो इतिहासको दाहिने किनाराको साक्षी बन्न मन लाग्छ र भन्न मन लाग्छ, छातीभित्र मुटु छ, मुटुले कहिल्यै पनि छाती छुँदैन, तर हामीजस्ता इतिहासप्रेमीको मुटुले त शकुन्तला पोखरेलहरुलाई पो छोइरहन्छ ।