वीच्याटकी रिभेरा
‘आर्टिफिसियल इन्टेलिजेन्स’ बारे पढिरहेको थिएँ । एउटा हल्ला छिर्यो टाउकोमा । चेतनायुक्त रोबोटको विकास बारे वैज्ञानिक र दार्शनिकहरू विमर्श गरिरहेका छन् ।
एकजना वैज्ञानिक भन्छन्- ‘चेतनायुक्त रोबोटको विकास सम्भव छ ।’ एकजना दार्शनिक भन्छन्- ‘यस्तो रोबोटको आविष्कार भयो भने मान्छेलाई उनीहरूले दास बनाउँछन् ।’ अर्को दार्शनिक भन्छन्- ‘अहिलेका चेतनाहीन प्रविधिले मान्छेलाई दास बनाइरहेका छन् । मलाई लाग्छ चेतनायुक्त रोबोट, कम्प्युटर र मोबाइलहरू बनायौं भने उनीहरूले आफ्नो रचनाकार मान्छेलाई ईश्वर मान्नेछ्न् ।’ उनीहरूको बहसमा नेपाली दार्शनिक खाहोङ छिरेर भन्छन् – ‘हरेक कम्प्युटर एक व्यक्ति सरह हो । तर, हामी कम्प्युटरको एक व्यक्तित्वलाई अनेक व्यक्तित्वहरूमा विभाजन गर्न सक्छौं । ‘भर्चुलाइजेसन’ एउटा विधि हो । चेतनायुक्त रोबोटको मस्तिष्कलाई पनि भर्चुलाइजेसन गर्न सकियो भने मान्छेमाथि ऊ सङ्कटका रूपमा उठ्न थाल्यो भने हल गर्न सकिन्छ । भर्चुलाइजेसनद्वारा उसको व्यक्तित्व परिवर्तन गर्न सकिन्छ ।’
उनीहरूको कुरा सुनेर छपनीको जाँडको छोक्रा जस्तो मेरो गिदी ‘थङ्थङ्’ हल्लियो । छेउमै लडिरहेको चंखमानको डायरी टिपेर गिदीलाई छोप्न थालें ।
वीच्याटकी रिभेरा – चंखमान परदेशी । सन् २०१७, पेङ्चाउ ।
अचानक वीच्याटमा भेट भएको थियो हाम्रो, वीच्याटमै घनिष्ठ भयौं र वीच्याटमै छुट्टियौं । उसको नाम थियो रिभेरा ओलिभिया गालातुन । यो शहरमा ऊनी फिलिपिन्सबाट घरेलु कामदारका रूपमा आएकी थिइन् ।
‘हाइ ! रिभेरा !’ वीच्याटमा उसको प्रोफाइल हेरेर मैले नै बोलाएको थिएँ सुरुमा । उसले तुरुन्तै उत्तर फर्काएकी थिइन् – ‘हेलो ! डब्लु !’ वीच्याटमा मैले आफ्नो निकनेम ‘डब्लु’ बनाएको थिएँ ।
मैले धेरै फिलिपिनो युवतीहरूसँग अन्तरक्रिया गरेँ तर रिभेराको कुरा गर्ने शैली र विषय भिन्नै थियो । उसको कुरा गर्ने शैलीमा दार्शनिकता झल्किन्थ्यो, अन्य फिलिपिनो युवतीहरूको भन्दा जीवन र जगत बारे उसको बुझाइ गम्भीर थियो ।
मलाई सुरुमा ‘रिभेरा’ कुनै परिपक्क मान्छेले चलाएको ‘फेक अकाउन्ट’जस्तो लागेको थियो । म फेक आइडी चलाइरहेको थिएँ । त्यसकारण पनि मैले गरेँ-
‘रिभेरा ! तिम्रो उमेर बीस वर्ष मात्रै हो र ? मलाई विश्वास लागेन । किनभने तिम्रा कुराहरू चालीस वर्षे मान्छेको जस्तो छ ।’
‘विश्वास आफ्नो मात्रै गर डब्लु । तर कहिलेकाहीँ त आफ्नै पनि विश्वास हुँदैन ।’ रिभेराले यसो भनेकी थिइन् । उसका कुराहरूमा म यसरी डुब्दै थिएँ जसरी महमा अल्झेर बिस्तारै डुब्छ कुनै लोभी झिङ्गा ।
सिल्भिया थिइन् एकजना । उसले भनेकी थिइन् – ‘प्लीज ! प्लीज ! मलाई विश्वास गर ! म अरु फिलिपिनो केटीहरू जस्तो हैन ।’
सिल्भिया भन्थिन् – ‘इन्डियन र पाकिस्तानी केटाहरू भन्दा नेपाली केटाहरू सोझो हुन्छन् । मलाई नेपाली केटाहरू मन पर्छ । कति दयालु हुन्छन् उनीहरू ।’
सिल्भियाले तेसो भन्दा मैले ‘हेहे’ गरेर मेसेजमा हाँसिदिएको थिएँ । मनमा चैं भन्दै थिएँ – ‘म कतिको सोझो छु भन्ने कुरा त एक महिनामै थाहा भैहाल्छ नि मोरी ! किनभने एकमहिनापछि म तँसँग कुरा गर्ने छैन ।’
च्याटमा कुरा गर्न आउने फिलिपिनो युवतीहरू ज्यादातर ‘डेटिङ र यौन’कै कुरा गर्थे । तर, रिभेराले कहिले पनि ‘डेटिङ र यौन’को कुरा गरिनन् । कलिलो उमेर भए पनि उसले आफूलाई बौद्धिक रूपमा प्रस्तुत गर्थिन् । फिलिपिनो घरेलु कामदार युवतीहरू बारे यो शहरको एकजना स्थानीय ठूला नेताले दिएको अभिव्यक्ति बारे मसँग असन्तुष्टि पोखेकी थिइन् – ‘हामीले यो शहरको यौनप्यास मेटाइरहेका छौं भन्नु हामीप्रतिको हेपायती व्यवहार हो ।’ ‘यी चिनियाँहरूले हामी इमिग्रेन्टहरू त्यसमा पनि साउथ एसियनहरूलाई त सारै हेप्छ्न् । बसमा अघिल्लो सिटमा बस्छन् र पछाडि फर्केर हामीलाई हेरेर नाक थुन्छ्न् ।’ मैले पनि थपिदिएको थिएँ ।
उसले एकदिन सोधिन् – ‘डब्लु ! मसँग च्याट गर्ने धेरै केटाहरू छन् साउथ एसियनदेखि युरोपियन र अमेरिकनहरू तर तिमी अर्कै ग्रहबाट आएको झैं लाग्छ । तिमी दर्शनशास्त्र पढ्छौ ?’
‘मलाई साहित्यमा रुचि छ । तर तिम्रा कुराहरूले मलाई दर्शनशास्त्रतिर तान्दैछ ।’ मैले उत्तर दिएको थिएँ ।
मलाई लाग्थ्यो- यो शहरको भीडभाडमा रिभेरा छुट्टै उभिएकी छिन् । उसले म्यासेसमा पठाएका हरेक शब्दहरू यति सुन्दर लाग्थ्यो कि बारम्बार म हाम्रा कुराकानीहरू दोहोर्याइतेर्याई पढ्ने गर्थें र एक्लै मुस्कुराउँथें ।
एकदिन सन्डे रिभेराले ग्रुप फोटो पठाइन् र लेखिन्- ‘आज म साथीहरूसँग बटरफ्लाई वीचमा छु । फुर्सद छ भने आऊ न प्लिज ।’
हरेक सन्डे घरेलुु कामदारहरूको छुट्टी हुन्छ । उनीहरू छुट्टी धुमधामसँग मनाउँछ्न् । यो शहरमा मुक्त हाँसो हाँस्नेहरू उनीहरू नै हुन् । कति दु:ख र अभावसँग बाँचिरहेका भए पनि उनीहरू खुशी छन् । यो शहरले विभेद गर्छ उनीहरूलाई तर पनि रमाइरहेकै छन् उनीहरू । त्यो सन्डे रिभेरा साथीहरूसँग छुट्टी मनाउन समुन्द्रको किनारमा पुगेकी रहेछिन् । मलाई उनीहरूको खुशीमा सरिक हुन निम्तो पठाएकी रहेछिन् । मैले उत्तर लेखें- ‘रिभेरा ! म त काममा छु, सरी डियर ! म आउन सक्दिनँ । तिमी छुट्टी इन्जोय गर्नु ।’
रिभेराले ‘बेखुसी’को इमोटिका पठाइन् । र, लेखिन् – ‘आई हेट यू !’
मनमा तूफान चल्यो । तर, सम्हालिदैं लेखें- ‘घृणा गर्नलाई प्रेम त गरेको हुनुपर्छ सुरुमा । न हाम्रो भेट भएको छ, न एकचोटि फोनमा कुरा भएको छ, हाउ क्यान यु हेट मि रिभेरा !?’
रिभेराले लेखिन् – ‘सायद तिमी मसँग रिसायौ होला । मैले तिमीलाई भनेको थिएँ म हरेक सन्डे छुट्टीमा पढ्न लाइब्रेरी जान्छु । आज समुन्द्रको किनारमा साथीहरूसँग पार्टी गरेको देखेर मप्रतिको तिम्रो दृष्टिकोण बद्लियो होला ।’
मैले भनें- ‘कहिलेकाहीँ रिफ्रेस हुनुपर्छ । ठीक छ त ।’
‘आज बर्थ डे हो मेरो छोराको । आजबाट ऊ सात वर्ष पुग्यो । छोराको बर्थ डे मनाउन म यहाँ आएकी हुँ । एकछिनमा भिडियो कल गरेर केक काट्छ्न् फिलिपिन्समा । त्यसपछि साथीहरूसँग एकैछिन बसेर म फर्किने ।’ रिभेराले म्यासेस गरिन् ।
म रोलरकोस्टरको उचाइबाट खसेझैं भएँ । सोधेँ – ‘अनि रिभेरा तिमीले त बिहे गरेकी छैनौ भनेकी हैन ?’
‘हो, मैले बिहे गरेकी छैन । सत्य कुरा बताएकी थिएँ तिमीलाई ।’
‘अनि छोरा ?’
‘मेरो छोराछोरी छ कि छैन भनेर तिमीले सोधेनौ । मौका आएपछि बताउँला भनेर बसेकी थिएँ । आज सर्प्राइज दिन तिमीलाई पनि बोलाएको थिएँ खासमा ।’ रिभेराले भनिन् ।
‘हेप्पी बर्थ डे रिभेरा !’ मैले भनें ।
‘मेरो छोरालाई वीस गर, मलाई हैन ।’ रिभेराले भनिन् । मैले भनें- ‘यही दिन तिमीले आमाको रूपमा जन्म लिएकी हौ रिभेरा, त्यसकारण सुरुमा तिमीलाई हेप्पी बर्थ डे ! अनि जुनियरलाई पनि हेप्पी बर्थ डे !’
‘थैङ्क यु डियर !’ उसले लेखिन् ।
एकछिन मेसेजको आदानप्रदान भएन । म काममा व्यस्त भएँ । मनमा कुरा खेलिरह्यो । ‘बोइफ्रेन्डबाट जन्मिएको छोरा हुनुपर्छ’ – मैले सोचें । जीवनमा सकारात्मक सोच राख्नुपर्छ भनेर मलाई बारम्बार भन्ने गर्थिन् रिभेराले ।
बिहे नै नगरी रिभेरा चौध वर्षको उमेरमा आमा भएकी रहेछिन् । साँझपख मैले रिभेरालाई मेसेज गरें- ‘छोराको बर्थ डे मनाइसक्यौ त ?’ ‘मनाइसकेर पनि म कोठामा आइसकें ।’ रिभेराले भनिन् ।
हामी दुवै मौन भयौं । केहीबेरपछि उनले लामो मेसेज लेखिन्- ‘डियर डब्लु ! आइ एम सरी ! मैले तिमीलाई मेरो बारेमा सप्पै बताएँ । तर छोराको बारे बताउन सकिनँ । छोराको बारे बताएपछि छोराको बुबाको बारे सोध्ने थियौ । बाबुबिना जन्मेको छोरा हो भन्दा तिमीले पत्याउने थिएनौ । तब मैले बाध्य भएर निको भैसकेको मेरो घाउ कोट्याउनु पर्थ्यो । तिम्रो मनको शान्तिको लागि आज अन्तिमचोटि म आफ्नो घाउ कोट्याउँदैछु । म कोठामा आएर धेरै रोएँ, यो शहरमा तिमीजस्तो एउटा साथी पाएँ । तिमीले मेरो शरीरलाई होइन, मेरो आत्मालाई प्रेम गरेको अनुभूत गरें । त्यसकारण म तिमीलाई मेरो छोराको जन्म बारे भन्दैछु- आई वाज ग्याङ रेप्ड ! ड्याम् इट् ! एन्ड आइ डोन्ट् नो हिज् फादर !’
उसको कुरा पढेर म झस्किएँ । म ग्लानीले अस्तित्वहीन भएर पग्लें । म पनि बाउले आमालाई बलात्कार गरेर जन्मिएको छोरा हुँ कि ? आफ्नै बाउप्रति शंका लाग्यो । तर, बाउलाई सोध्ने हिम्मत आएन । एकघण्टापछि मैले उसलाई उत्तर फर्काउन वीच्याटको मेसेसबक्स खोलें । तर, रिभेराले मलाई सधैंका लागि ‘ब्लक’ गरिसकेकी रैछिन् ।
यति पढिसकेर म निदाएँ । ब्यूँझिदाँ नयाँ साल लागिसकेको थियो उही पुरानो घामको आकाश टाँगेर ।