• भूमिगत नेताको गुहुमूत सोहर्दा

  • गुरुरु… एउटा ल्याण्डरोभर गुड्दै आयो ।

    ‘ड्वाङ्ग…’ आवाज आयो । त्यसतर्फ ध्यानाकर्षित भएँ, मेरो आँखा पर्यो एउटा दृश्यमा । ल्याण्डरोभर रोकियो । त्यसपछि ड्राइभर उत्रिए, उनी एउटा बालकलाई खेद्न थाले । आक्रोशित ड्राइभरले बालकलाई समातिहाल्यो र भकुर्न थाल्यो । त्यसपछि सुनियो, ती बालकको कहालीलाग्दो रोदन । त्यो दृश्य देखिरहेको थिएँ म ।

    त्यो समय बिहानको थियो । म गाई चराउन चिहाने पाखा पुगेको थिएँ । बिहान गाईको स्याहारसुसार गर्नु पर्दा म सकभर चराउन लान्थेँ । चराउन नलगे त घाँस काट्न जानुपर्ने हुन्थ्यो । त्यस्तो अवस्थामा पढ्ने कसरी, लेख्ने कसरी ? गाईलाई चराउन लगियो भने त पढ्न पनि सकियो, लेख्न पनि सकियो । गाई पनि अघाउने, घरले सुम्पिएको जिम्मेवारी पनि निर्वाह हुने । अनि त्यहीँ समय पढ्न पनि पाइने ।

    यस्तै गरिरहेको बेला माथि उल्लेखित दृश्य देखेँ । त्यो बेला म कक्षा ९ मा पढ्थेँ । कुरा प¥यो, २०४४ सालको ।

    अब भएन, ती ड्राइभर र बालकलाई छुट्याउन पर्यो भन्दै म त्यसतर्फ दौडदै थिएँ । त्यहीँ बेला एक जना भद्रभलाद्मी बटुवाले उनीहरुलाई छुट्याइहाले । तत्काल घटेको एउटा समस्या समाधान भइहाल्यो ।

    धनकुटामा सञ्चालित एउटा परियोजनामा कार्यरत राज गुरु नामका ती ड्राइभरले ती भद्रका कुरा सुन्नासाथ ती बालकलाई भकुर्न छाडिदिए, र भने,“अबदेखि गुडिरहेको गाडीलाई कहिल्यै पनि लौरोले हान्ने नगर् है !”

    म त्यो दृश्य देखिरहेको थिएँ, ती बालक हिक्का मात्र छाडिरहेका थिए, मैले बालकलाई चिनिहालेँ ।

    ती सवारी चालकसँग मेरो पनि राम्रो चिनजान थियो । कता के कस्तो हालतमा हुनुहुन्छ कुन्नि यतिखेर ?

    ती बालक हरेक दिन दूध पु¥याउन वारी पात्लेबाट धनकुटा बजारतिर झर्थे, मेरो टोल हुँदै । मेरो टोल प¥यो पात्ले, कागते र धनकुटा बजारबाट बीचको ठाउँ । मास्तिरको टोलदेखि बजारतिर र बजारदेखि मास्तिरको टोलतिर त्यहीँ बाटो भएर ओहोरदोहोर गर्नेको दृश्यको द्रष्टा हुने नै भइयो । त्यसैले त्यो बालकलाई पनि दूध बेच्न भरिएको ट्यामी बोकेर बजारतिर झरिरहेको र खाली ट्यामी बोकेर घरतिर उक्लिरहेको देख्थेँ । उनको हातमा एउटा लौरो पनि हुन्थ्यो । त्यहीँ लौरोले ल्याण्डरोभरको पछाडीतिर हानिदिएछन्, र त्यो घटना हुन पुग्यो । मलाई लाग्छ, लौरो टेक्नुपर्ने उमेर वा अवस्थाका नभए पनि ती बालकले बिहान झिसमिसेमै दूध पु¥याउन बजार क्षेत्रतिर झर्नुपर्ने भएकोले भुस्याहा कुकुरहरुले आफूलाई झम्टलान् भनेर तिनीहरुको प्रतिकार गर्न लौरो बोकेको हुनुपर्छ ।

    ती बालकको घरको नजिकैको तत्कालिन भाषा निमावि (हालः भाषा क्याम्पस) मा मैले २०३९ देखि २०४२ सालसम्म अर्थात् चार वर्ष पढेँ । कक्षा ४ देखि कक्षा ७ सम्म मैले त्यो विद्यालयमा पढेको हुँ । त्यसैले ती बालक परिचित थिए मेरा लागि, सामान्य परिचयको सन्दर्भमा । उनी पनि सानो कक्षामा त्यहीँ विद्यालयमा पढ्थे । तर ती बालकका अभिभावकलाई म एउटा गौरवपूर्ण परिवारको रुपमा मनमनै सम्मान गर्थेँ ।

    त्यो परिवार : एउटा गौरव
    दूधको ट्यामी बोकेर फर्किरहेको बेला ल्याण्डरोभरको पछाडीको भागमा लौरोले हानेका कारण यातना भोग्ने, ती बालक थिए, वारी पात्ले निवासी गोपाल वाग्लेका कान्छा छोरा । गोपाल वाग्ले पर्नुभयो, मैले ठूलो सम्मानका दृष्टिले अहिलेसम्म हेरिरहेको एउटा औसत मानिस र मेहनती कृषक ।

    गोपाल दाइ त्यो समय कृषि कर्मचारी हुनुहुन्थ्यो । दिनभर कृषि कार्यालयमा काम गर्ने उहाँको रातभर भने अर्कै काम हुन्थ्यो । किसान र मजदूरको मुक्तिको दर्शन पढाउँदै, सङ्गठन गर्दै जिल्लाजिल्ला र गाउँगाउँमा छरिएका भूमिगत नेताहरुको सुरक्षा र स्याहारसुसारमा यो परिवारले ठूलो योगदान गरेको छ । उस्तै परे राज्यबाट त्यो समयमा जे पनि हुनसक्थ्यो यो परिवारमाथि ।
    गोपाल वाग्लेको परिवारले यस्तो चुनौतिपूर्ण काम गरिरहेको विषयमा म त्यसबेलै जानकार थिएँ ।

    एउटा फुसको छाना भएको पुख्यौैली झुपडी थियो, उहाँको त्यसबेला । त्यहीँ झुपडीमा हुने गथ्र्यो, देशलाई निरङ्कुशताबाट मुक्ति दिलाएर समानता र आत्मसम्मानका साथ बाँच्न सक्ने सपनाका कुरा । त्यो फुसको छानाले ओत दिन्थ्यो, छानाभित्र खानाको पनि बन्दोवस्त गर्नु पथ्र्यो । खाना खाएपछि त पाइखाना पनि चाहिन्छ । खुला दिशापिसावमुक्त थिएन, वारीपात्ले त्यो बेला । न थियो, पाइखानाको व्यवस्था घरभित्रै । त्यसैले उहाँको परिवारले त्यो बेला भूमिगत नेताहरुका लागि कोपारोको व्यवस्था गरेको थियो । त्यहीँ कोपारो बोकेर गोपाल दम्पतिले धेरै भूमिगत नेताहरुको मलमूत्र बोकेर खोलाखाल्सातिर विसर्जन गरेको छ ।

    बेलाबेलामा गोपाल दाइसँग मेरो कुराकानी हुने गरेको थियो पुरानो प्रसङ्गमा । उहाँले भन्नुभएको एउटा अर्को मननयोग्य कुरा थियो, “आम्मामा, कमरेडहरुको लुगामा त कति हो कति जुम्रा !”

    जुम्रा अर्थात् परजिवी । अरु र त्यसमा पनि मानिसको रगत चुसेर बाँच्नु पर्ने ।

    गोपाल दम्पति त्यो भूमिगत नेताहरुको जुम्रे लुगालाई तातोपानीमा उसिनेर जुम्रालाई कालगतितिर पठाउने कार्यमा बडो उत्साहपूर्वक जुट्थ्यो । जसरी शोषक र सामन्तहरुले देशलाई चुसिरहेको थियो वा छ, त्यसरी नै भूमिगत नेताहरुको रगत जुम्राहरुले चुसिरहेको थियो । गोपाल दम्पतिका लागि यो कुरा सह्य हुने सम्भावना नै भएन । त्यसपछि जुम्राको काल । गोपाल दम्पतिले त्यो बेला झल्झली देख्थ्यो, यस्तै चुसाहाहरुको अन्त्य हुनका लागि आउने कुनै दिनको सपना ।

    सुरक्षाका कारण कार्यकर्ता वा जनताले जता व्यवस्था ग¥यो, त्यतैतिर बास सर्दै आश्रय लिनु पर्ने भूमिगत कमरेडहरुको शरीरमा जुम्रा त सर्ने नै भयो । सुकिलामुकिलाहरुको घरमा उहाँहरुको बास हुने कुरा पनि भएन । यसरी भूमिगत कमरेडहरुको जुम्रासहितको लुगा उसिनेर जुम्रा सखाप पारिदिने गोपाल वाग्लेको परिवारलाई सम्झदैमा पनि गौरव महसुस गर्छु म ।

    गोपाल दाइ निर्भिक र बलिया पनि । उनै भूमिगत कमरेडहरुको सङ्गतको प्रतिफल हुन सक्छ, यस्तो आँट र उत्साह । त्यो बेला वारीपात्लेमा धेरै स्थानीय खुराफातीहरु थिए । प्रहरी प्रशासनमा पोलझोस लगाइ देलान् भन्ने अर्को डर । त्यसमाथि पनि उहाँ आफू सरकारी कर्मचारी । तर उहाँको निर्भिकता मैले भाषा निमावि पढ्दा पटकपटक देखेको छु । उहाँबारे पोलझोस गर्न स्थानीय खुराफातीहरु भयभित हुने गरेका थिए । उहाँले यस्तै आँट र उत्साहका साथ भूमिगत नेताहरुको मलमूत्र सोहर्नुभयो, उनीहरुको लुगाको जुम्रा सखाप पारिदिनुभयो ।

    गोपाल वाग्लेले दिनुभएको त्यो सेल्टरमा कस्ता कस्ता नेता गएका छन् दाजु ? मैले अग्रज जीवप्रसाद पोखरेलसमक्ष जिज्ञासा राखेँ । भन्नुभयो, “सबैखाले नेता त्यहाँ आश्रित हुनुभएको छ । मदन भण्डारी, अशोक राई लगायत धेरै ।”
    आहा, कति निष्ठापूर्ण आस्थाको त्यो भारी बोकाई !

    नसकिएको सङ्घर्ष
    बहुदल आयो, स्वप्नजिवी गोपाल वाग्लेहरुले देखेको सपना थियो त्यो । उहाँको सामान्य जागिरे जीवन चलिरहेकै थियो । छोराछोरी हुर्कदै थिए । बहुदल लगत्तै केही समय मैले गोपाल दम्पतिले धनकुटा हुलाक टोलको एउटा सडक किनारामा प्लास्टिक ओझ्याएर अति सामान्य सडक व्यापार गरिरहेको पनि देखेँ । सस्तो र सामान्य सामग्री हुने गरेको थियो, उहाँहरुको त्यो सडक पसलमा । तर पनि कुनै हीनताबोध थिएन, त्यो परिवारमा । न थियो, कुनै महात्वाकांक्षा । बरु हिजोको सङ्कटकालिन पञ्चायती कालरात्रीलाई भूमिगत कमरेडहरुको जुम्रा मारिदिए झैँ सखाप पार्न घरमा सेल्टर दिएर आफूहरु सफल भएको गौरव बोकेर हिडिरहेको देख्थेँ म उहाँ र उहाँको परिवारलाई । सडक व्यापार चाहिँ भाउजुले हेरिरहनुभएको देख्थेँ ।

    देशले निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाबाट मुक्ति त पायो, तर गोपाल वाग्लेहरुको सङ्घर्षले विश्राम लिन पाएन । र त सडकमा प्लाष्टिक ओछ्याएर खित्रिङमित्रिङ सामान बेच्न प¥यो । सामान्य जागिर छँदै थियो । घरबारीमा सागपात उमार्ने र बेच्ने काम पनि छँदै थियो ।

    त्यो बेला म पढेको भाषा निमाविदेखि एक मिनेट पनि लाग्दैन गोपाल दाइको घर पुग्न । तर उहाँका छोराहरुले त्यति राम्ररी पढ्न पाएनन् । बुबाआमा भूमिगत नेताहरुको व्यवस्थापनमै व्यस्त । त्यसैले कलिला छोरा बिहान झिसमिसेमै दूघको ट्यामी बोकेर बजारतिर झर्नुपर्ने, घाँसपात र बारीको काम सम्हाल्नुपर्ने भएपछि पढाईमा छोराहरुले सोचेजस्तो ध्यान केन्द्रित गर्न कसरी सक्ने ? त्यसैले दूध बोकेर एका बिहानै बजार झर्ने उहाँका कान्छा छोराले त्यो समय यातनासमेत भोगेको साक्षी मै हुँ ।

    यस्ता बकपत्रहरु अझै पनि लेखिदै जानेछु ।

    तर पनि गोपाल दाइले पार्टी र राज्यसँग केही माग्नुभएन । उहाँले निष्ठापूर्वक आस्थाको झोला बोक्नुभयो । मैले गोपाल वाग्लेहरुबाट सिकेको पाठ हो, निष्ठापूर्वक आस्थाको झोला बोक्नेले अवसरको झोला पार्टी र राज्यसँग कहिल्यै पनि फिजाउँदैन । साबिकको धनकुटा नगरमा भूमिगत नेताहरुलाई सेल्टर दिने गणेश राई, गोपाल वाग्ले, कुलकेशर वाग्ले र हाम्रो परिवारले पार्टी र राज्यसँग अवसर माग्न झोलाको मुख फिजाएको प्रमाण कसैसँग छ ?

    २०५५ सालको दशैँको बेला म अग्रज नेता गोपाल गुरागाईँको साथ लागेर गोपाल वाग्लेलाई भेट्न पुगेको थिएँ, वारी पात्ले । त्यो बेला उहाँले हामीलाई उहाँको बगैँचा घुमाउनुभयो । बाफरे बाफ ! त्यो त एउटा ठूलो प्रयोगशाला जस्तो । त्यसपछि म धनकुटा भएकै बेला उहाँ कहाँ बन्दाकोपीको बेर्ना किन्न गएको थिएँ । पछिल्लो समय उहाँ कहाँ मेरा साहिला दाजुलाई पठाएँ रुद्राक्षको बेर्ना किन्न ।

    उहाँ बोटविरुवालाई असाध्यै माया गर्नु हुन्छ । तर उहाँ अहिले पनि सबैभन्दा बढि त विचारको बिरुवालाई माया गर्नुहुन्छ । तर म पनि यतिखेर परदेशमा छु । उहाँसँग मेरो नियमित सम्पर्क छैन । चिन्ता लाग्छ, यस्ता विचारका बिरुवाको गोडमेल गर्नेलाई कसले सम्झना गर्ने होलान् ? गोपाल वाग्लेहरुमा विचारको विरुवा सार्ने चाहिँ गोपाल गुरागाईंहरु हुनुहुन्छ ।

    म चाहिँ परदेशबाटै गोपाल वाग्लेहरुलाई यसरी सम्झना गर्ने गर्छु, जसरी हाम्रो घरमा दिइएको सेल्टरमा रेख ब्लोनहरु गाउनुहुन्थ्योःहामीले गाउने गीत मजदुरहरुको…किसानहरुको…

  • कमेन्ट गर्नुहोस्