• काठमाण्डौमा एक दिन: गम्भीर विषय, हतारोमा अन्त्य 

  • शिवानी सिंह थारुद्वारा लिखित बहु-प्रतिक्षित पुस्तक “काठमाण्डौमा एक दिन” पढ्ने मौका जुर्यो । पढिसकेपछि  कथा काल्पनिक हो वा यसका पात्रका नामहरु मात्र काल्पनिक हुन्, बुझ्न गाह्रो छ । लाग्छ यो सत्य घटना र सत्य पात्रहरुमा आधारित छ ।

    विषयवस्तु पात्रहरु

    यसको कथा नेकपा माओवादीद्वारा संचालित उनीहरुकै शब्दमा “जनयुद्ध”लाई विसर्जन गरेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि तराई-मधेशमा मौलाएको सशस्त्र गतिविधिलाई विषय बनाएर लेखिएको छ । माओवादीहरु शान्तिपूर्ण राजनीतिमा अवतरित हुन एकाध वर्ष अघि जातीय-क्षेत्रीय  हक-अधिकारको लडाइँलाई मुख्य माग (कतिपय अवस्थामा पृथकतावादको माग) राखेर सुरु भएको गतिविधि पछि गएर राजनितिक भन्दा पनि अपराधिक हुन गएको भनेर पनि बुझिन्छ । त्यसो त, तराई-मधेशमा जरा गाडेको छुवाछुत, उच-नीच र त्यसविरुद्धको सुषुप्त विद्रोह पनि यो पुस्तकको मुख्य विषय हो ।

    यसका मुख्य पात्र घुर्ना राम हुन्, जो मधेशको मुसहर जाति भित्रका पर्दछन्, र पहाडी शासकद्वारा तराईमा शोषण गरिएको भनेर मधेशी मुक्तिको लागि खोलिएको विभिन्न हतियारबन्द समूहहरुमा आबद्ध भएर आफ्नो दलित समुदायको पनि मुक्तिको कल्पना गर्दछ । सानो हुँदै देखि नै छोईछिटो, होची-अर्घेली सहेका कारण घुर्ना मधेशको क्षेत्रीय मुक्ति सँग-सँगै आफ्नो जातीय मुक्तिको लागि भनेर पनि लाग्दछन् । आफ्नै एउटा दलित सशस्त्र समूह खडा गरी क्रान्तिको सपना देख्दछन् । अर्का पात्र हुन्, संग्राम सुतिहार, जो मधेश मुक्तिको लागि माओवादीबाट चोइटिएर आफ्नो अलग्गै समूह “जनतान्त्रिक मधेश मुक्ति” खडा गरेका हुन्छन् । संग्राम सुतिहारका दाहिने हात हुन् झबर पासवान, जो पछि सुतिहारसँग मनमुटाव भएर “जनतान्त्रिक मधेश मुक्ति (सुर्जा समूह) खडा गर्छन् । अर्का छन्, मधेश जनतान्त्रिक सेनाका अगुवा ललन अर्थात त्रिकाल । घुर्नाले आफ्नै समूह दलित प्यान्थर मोर्चा खडा गरे पछि दुवैको सहकार्यमा काठमाण्डौमा बम पड्काउने मिसनमा लाग्दछन् । यीनै समूहहरुमा लागेका अरु पनि छन् ।

    यथार्थ अड्कल
    तराई-मधेशमा हतियारबन्द आन्दोलनको नाममा झण्डै १४ वर्ष अघि सुरु भएर अहिले लगभग सेलाइसकेका ती घटनाहरु हामी धेरैको मस्तिष्कबाट विस्मृत भइसकेका छन् । ती परिघटनाहरु जसको मनमा ताजा छन्, उनीहरुले यो उपन्यासका पात्रहरुलाई खुट्याउन सक्दछन् । पात्रहरु काल्पनिक हो वा होइन, त्यो नभनिएका कारण ती यथार्थ हुन् भन्ने तर्कमा दम हुनसक्छ । पुस्तकका संग्राम सुतिहार यथार्थमा तिनै जयकृष्ण गोईत हुन् जसले माओवादी अन्तर्गत गठित मधेशी मुक्ति मोर्चाको प्रमुख आफूलाई नबनाइएर मातृका यादवलाई बनाएको झोंकमा वि. सं. २०६१ साल तिर माओवादीबाट छुट्टिएर “जनतान्त्रिक तराई मुक्ति मोर्चा” भन्ने समूह गठन गरेका थिए । उनीसँग झगडा परेका कारण २०६२ सालमा छुट्टिएर “जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह)” गठन गर्ने पुस्तकका उनका दाहिने हात भनिएका झबर पासवान नै ज्वाला सिंह उर्फ नागेन्द्र पासवान हुन् । कथामा भनिए झैं, सप्तरीका गोईतको आफ्नै जिल्लामा राम्रो पकड थियो भने ज्वाला सिंहको पकड सिरहातिर धेरै थियो । पछि एक-अर्काको समूहलाई नै सिध्याउन मारामारको कृयाकलापमा लागि परेको दुई टोलीहरुको माओवादीहरुसँग पनि द्वन्द थियो । कथामा भनिए झैं वास्तविक जीवनमा पनि पासवान पत्रकारिता गर्दा-गर्दै गोईतसँग नै माओवादी विद्रोहमा लागेको कुरा यथार्थ हो ।

    कथामामा झैं, मुसहरहरुले वि. सं. २०५६ सालमा उठाएको सिनो बहिष्कार आन्दोलन र मुसहरहरु माथि ठुला भनिएका जातहरुद्वारा भएका आक्रमण र बहिष्करण सत्य घटनाहरु हुन् । त्यही सेरोफेरोमा झबर पासवानले उपन्यासका मुख्य पात्र घुर्नालाई भेटेको र भारतका संविधानका निर्माता भीमराव आम्बेडकर, भारतको दलित आन्दोलन, अमेरिकाको पिङ्क प्यान्थर मुभमेन्टको बारे सुनाएर आफूसँगै हतियारबन्द “क्रान्ति”मा लाग्न प्रेरित गरेको भनिएका कुराहरु कति सत्य हुन सक्छन् । यदि प्रमुख पात्र घुर्ना सत्य हो भने निस्केला । स्वतन्त्र भारतको संविधान निर्माणका प्रमुख आर्किटेक्ट भिमराव आम्बेडकरले अघि सारेको दलित मुभमेन्टको सम्मान स्वरुप “जय भिम” भन्ने चलन स्थापित भएको मानिन्छ ।

    पछिका दिनहरुमा “जनतान्त्रिक” फुर्का जोडेर धेरै समूहहरु खोलिए । साथै, मधेशी भाईरस किलर्स्, तराई कोब्रा, रणवीर सेना लगायतहरु अपराधिक मनोवृतिको आडमा अपहरण-फिरौती र चन्दा असुलीको लोभमा पलाए । कथाको प्लटमा भनिएका कटुवा पेस्तोल, थ्री-फिप्टी, सकेट बम, टाईम बम, जिलेटिन लगायत त्यतिखेर प्रयोग प्रमुख हतियारहरु हुन्, जो सिमापारबाट सहजै आउँथ्यो । फिरौतीको नाममा हुने आतङ्क, फिरौती उठाएर समूहबाट भाग्ने, अर्को समूह खोल्ने प्रवृति त्यतिबेला व्यापक मौलाएको थियो । पुस्तकमा उल्लेखित मधेश आन्दोलन, गौर काण्ड आदि पनि वास्तवमा नै भएका घटनाहरु हुन् । कतिपय अरु घटनाहरु पनि सत्य खोजी गर्दा, भएका यथार्थ घटनाहरुसँग मेल खाने देखिन्छ । गोबरगाडा, कोशी टप्पु, राजविराज लगायत ठाउँहरु पनि यथार्थ नै हुन् ।

    हुनसक्छ, घुर्ना राम एक जिवित पात्र हुन् । यस उपन्यासको कथामा महत्वपूर्ण योगदान गर्नेमा मधेशमा तत्कालिन समयमा भएको हिंसाको समाचारहरु बुझ्ने/लेख्ने पत्रकार/हरु, सशस्त्र समूहमा सामेल भएकाहरु र यसमा प्रत्यक्ष र परोक्ष रुपमा संलग्नहरुले दिएको सूचनाको आधारमा यसको कथा बुनिएको जस्तो देखिन आउँछ । ज्वाला सिंहको आनीबानी विस्तृतमा लेखिएको हुनाले उनकै समूहमा आबद्ध र उनको नजिक भएर काम गरेको व्यक्तिको कथा पनि हुनसक्छ ।

    बलियो पक्ष
    धेरै कम लेखिएको मधेशी दलितहरुको उत्पीडनलाई पनि एक प्रमुख विषय बनाएर लेखिएको कारण यो एक राम्रो काम भएको छ । दूर भूतकालदेखि आजपर्यन्त दलितहरुप्रति भएको अमानवीय कार्यहरुलाई घुर्ना, उनको परिवार र दलित मुसहर बस्तीले भोगेको पीडामार्फत लेखक थारुले सजीव र मार्मिक ढंगमा प्रस्तुत गरेकी छन् । अझ, तराई-मधेशमा पनि पहाडमा झैं जातीय विभेदले जरा गाडेको कुरा सशक्त रुपमा प्रस्तुत भएको छ । पुस्तक पढ्ने धेरैलाई रामलिलामा अभिनय गर्दा, मालिकको छोराबाट घुर्नाले भोग्ने पीडा लगायत सबैतिरको घुर्नाको भोगाईले च्वास्स घोंच्न सक्छ । बहिष्कृत र सिमान्तकृत जिन्दगी भोग्न बाध्य पारिएका हरेक पात्रले घुर्नामा आफैलाई पाउन पनि सक्छ ।

    लेखकले घटना र दृष्यहरुलाई वयान गर्दा नाटकीय रुप दिन खोजेका छन् । पात्रहरु मात्र होइन, वरिपरिको दृष्यहरुलाई पनि मिहिन ढंगले केलाएर प्रस्तुत गरिएको छ ।

    भाषा; यस उपन्यासले मधेशमा बोलिने नेपाली र मधेशी लवजलाई पनि मुलधारमा स्थापित गर्ने चेष्टा गरिएको छ । मधेशी लवजहरुलाई ठेंट तरिकाले राखिएको छ । जुन पढ्दा मज्जा आउँछ । कतिपय ठाउँमा गाली-गलौजको शब्दहरुलाई पनि निर्धक्क ठाउँ दिइएको छ ।

    खट्किएको पक्ष
    पुस्तकको अन्त्य जसरी हुनपर्ने थियो, त्यो भएको झैं लाग्दैन । कसरी सकाउने भन्ने कुरामा अलमल र हतारो भएको देखिन्छ । पढ्नेहरुलाई पुस्तकको क्लाईमेक्सले त्यति मज्जा दिंदैन। केही दृष्यहरुको वयान गर्दा केही झिजोलाग्दो तरिकाले लम्बाउने कोसिश भएको छ । त्यसो नगर्दा अझ छरितो हुन सक्थ्यो ।

    लेखक सिके लालसँग गफको सिलसिलामा यो पुस्तकको प्रसंग निस्कँदा उनको बुझाई पनि यो पङ्तिकारसँग मिलेको पाइयो । उनको बुझाईमा पनि यो पुस्तक पहिले घटेका घटनाहरुको सङ्ग्रह गरेर बनाईएको एक काम हो ।

    अन्त्यमा, केही कमजोरीका बावजूद पनि यो एउटा पढ्न लायक काम भएको छ । विशेषगरी मधेशमा एक समय जरा गाडेको सशस्त्र र आपराधिक द्वन्द, पहिले रहेको र अदिअपि व्याप्त छुवाछुत र मधेशी समाजलाई बुझ्न मन लाग्ने कसैको लागि पनि यो एक खुराक हुनसक्छ ।

  • कमेन्ट गर्नुहोस्