• हङकङका रोजगारदाताहरु उदार बन्दै

  • हङकङका घरेलु कामदारहरुले शहरलाई गतिशिल राख्न महत्वपूर्ण भूमिका खेल्दछन् । अघिल्लो वर्ष घरेलु कामदारको जनसंख्या ३ लाख ७० हजार थियो । तर धेरैलाई मासिक ४ हजार ४ सय १० हङकङ डलर बराबरको वैधानिक न्युनतम पारिश्रमिकले गुजारा चलाउन हम्मे छ ।

    घरेलु कामदारलाई रोजगारदातासँग नि:शुल्क जोड्ने हेल्पर च्वाईस नामक एउटा अनलाईन मञ्चले यो महिना पारिश्रमिक सम्बन्धि एउटा सर्वेक्षणको निष्कर्ष निकालेको छ ।

    संस्थाले अक्टोबर १, २००७ देखि जुलाई ३१, २०१८ सम्म आफ्ना प्रयोगकर्ताहरुले पोस्ट गरेका २ हजार रोजगार विज्ञापन विश्लेषण गरेको छ । निष्कर्ष उत्साहजनक छ:  लगातार दोश्रो वर्ष पनि, शहरका रोजगारदाताहरुले प्रस्ताव गरेको औसत पारिश्रमिक वैधानिक न्युनतम पारिश्रमिकभन्दा छिटो वृद्धि भएको छ ।

    रोजगारदाताहरुले औसत ४ हजार ७ सय ९९ हङकङ डलर पारिश्रमिक प्रस्ताव गर्ने गरेको सर्वेक्षणले पत्ता लगाएको छ । सन् २०१७ को सर्वेक्षणभन्दा यो ५.५ प्रतिशत वा २ सय ५४ हङकङ डलर बढि हो । वैधानिक न्युनतम पारिश्रमिक अघिल्लो वर्ष अक्टोबर मा २.३ प्रतिशतले वृद्धि भएको थियो । सोही अवधिमा उपभोक्ता मुल्य सूचकांक २.५ प्रतिशतले वृद्धि भएको थियो ।

    सर्वेक्षणले हङकङका विभिन्न डिस्ट्रिक्टमा विद्यमान पारिश्रमिक बीचको भिन्नता पनि खुलाएको छ । ह्याप्पी भ्याली र साइ यिङ पुनका केही रोजगारदाताहरु मासिक ८ हजार ५ सय हङकङ डलरसम्म प्रस्ताव गर्छन् भने, क्वुन तोङका अधिकांश रोजगारदाताहरु न्युनतम पारिश्रमिक ४ हजार ४ सय १० हङकङ डलरभन्दा बढि दिन चाहदैनन् ।

    साउदर्न, सेन्ट्रल र वेस्टर्न, द आइल्यान्ड्स, साइ कुङ र वान चाई सबैभन्दा धेरै पारिश्रमिक दिने पाँच शीर्ष डिस्ट्रिक्ट हुन् । यी डिस्ट्रिक्टको औसत पारिश्रमिक ४ हजार ८ सय ८१ हङकङ डलर छ । न्युनतम पारिश्रमिकभन्दा यो ४ सय ७१ डलर बढि हो । सेन्ट्रल सबडिस्ट्रिक्टको औसत पारिश्रमिक ५ हजार ५ सय ९२ हङकङ डलर छ । तोकिएको न्युनतम पारिश्रमिकभन्दा यो २७ प्रतिशत बढि हो ।

    सर्वेक्षणले सबैभन्दा थोरै पारिश्रमिक दिने पाँच वटा डिस्ट्रिक्ट पनि अनुसन्धान गरेको छ । अघिल्लो वर्ष सिउ साइ वानले सबैभन्दा थोरै औसत पारिश्रमिक प्रस्ताव गरेको थियो भने यो वर्ष युनलङ, नर्थ डिस्ट्रिक्ट, वोङ ताइ सिन, चुन वान र क्वुन तोङले सबैभन्दा कम पारिश्रमिक दिईरहेका छन् । यी डिस्ट्रिक्टको औसत सामुहिक पारिश्रमिक ४ हजार ५ सय ६२ हङकङ डलर अर्थात् न्युनतम पारिश्रमिकभन्दा मात्रै १ सय ५२ हङकङ डलर बढि छ ।

    हेल्पर च्वाईसले बसाइँको प्रबन्ध पनि अनुसन्धान गरेको थियो । अधिकांश घरेलु कामदारलाई (७० प्रतिशत) एउटा नीजि कक्ष उपलब्ध गराईएको, १६ प्रतिशतले एक जना बच्चासँग र १० प्रतिशतले अर्को घरेलु कामदारसँग एउटै कोठामा बस्नुपरेको पत्ता लागेको छ । वोङ ताइ सिन र क्वाई चिङमा सबैभन्दा धेरै घरेलु कामदारहरु कुनै अर्को व्यक्तिसँग एउटै कोठामा बसेका छन् ।

    हेल्पर च्वाईसकी कार्यकारी प्रमुख अलेक्सान्ड्रा गोलोभानोउले सर्वेक्षणको नतिजा उत्साहजनक रहेको बताईन् ।

    “औसत पारिश्रमिक वृद्धि निरन्तर दोश्रो वर्ष पनि न्युनतम पारिश्रमिक वृद्धिभन्दा बढि भएको देख्दा हामी खुशी छौं । यो एकदमै उत्साहजनक छ र यहि दिशामा अघि बढ्नेछ भन्नेमा आशावादी छौं ।”

    हेल्पर च्वाईसले नि:शुल्क सेवा दिने गरे पनि, शहरका रोजगार एजेन्सीहरुको शुल्क आकाशिएको छ । कामदारहरुले मासिक पारिश्रमिकको एक तिहाईभन्दा धेरै रकम कर्जा र शुल्क तिर्न खर्च गरिरहेको यसले देखाउँछ । पाँच वर्षअघिको तुलनामा यो दोब्बर बढि हो ।

    मिसन फर माइग्रेन्ट वर्कर्स नामक परोपकारी संस्थाले जनाए अनुसार, सन् २०१७ मा कामदारले पारिश्रमिकको ३६ प्रतिशत खर्चहरु, सम्बन्धित कर्जा र एजेन्सी शुल्क भुक्तान गर्न खर्चिने गर्थे । सन् २०१३ मा यो १३ प्रतिशत थियो । थप २३ प्रतिशत खाना, लत्ताकपडा र आवश्यक सामग्रीहरु, सञ्चार, यातायात, व्यक्तिगत सरसफाईका सामग्री, र अनुदानहरुमा खर्च हुन्थ्यो । सरकारी तथ्याङ्क अनुसार गत वर्ष हङकङमा भएका ३ लाख ७० हजार घरेलु कामदारमध्ये, ४८ प्रतिशत फिलिपिन्स, ४९.४ प्रतिशत ईन्डोनेशिया र १.३ प्रतिशत थाईल्यान्डबाट आएका थिए ।

    काइली नट/एससीएमपी

  • कमेन्ट गर्नुहोस्