• हङकङ-ग्वाङझाउ हाइस्पिड रेल : पत्रकारहरुको अनुभव

  •  

    कजवे बेस्थित एससिएमपीको प्रधान कार्यालयबाट सेप्टेम्बर ११ मा पाँच जना पत्रकार एकाबिहानै ट्रेन, कोच, बस र विमानबाट १ सय १९ किलोमिटर लामो यात्रामा निस्किए । बहुप्रतिक्षित ‘हाई-स्पिड रेल लिंक’ सेप्टेम्बर २३ देखि सञ्चालन हुँदै थियो । उनीहरुको गन्तव्य थियो : ग्वाङझाउको शपिङ र व्यावसायिक कम्प्लेक्स – ताईकु हुई । गन्तव्यसम्म सबैभन्दा छिटो को पुग्छन् र कति खर्च लाग्छ, हामी जान्न चाहन्थ्यौं ।

    हाई-स्पिड रेल लिंकको उद्घाटनको दिन, केही पत्रकारले सोही रेलमार्फत् हङकङदेखि ग्वाङझाउसम्मको यात्रा गरे । यसले तुलना गर्न सहज पनि भयो ।

    सुम लोक-केईले एमटिआर र त्यसपछि मूलभुमिको इन्टरसिटी हार्मनी ट्रेनबाट यात्रा गरे । ड्यानी ली विमानस्थल गए र विमान चढे । कनिस ल्योङले रेल मार्फत् काउलुन-क्यान्टोन इन्टरसिटी समातिन् । जेन झाङले अन्तर-सीमा कोच र मिसेल वोङले कोच र ट्याक्सीबाट यात्रा गरे । त्यसपछि सेप्टेम्बर २३ मा कनिस ल्योङ र पिस चिउले हाई-स्पिड रेलबाट क्रमश: बिसौनीमा रोक्ने र कतै पनि नरोक्ने नन-स्टप रेलको यात्रा गरे ।

    सुम लोक-केई

    यातायातको माध्यम : एमटिआर र रेल

    जम्मा लागेको समय : ३ घण्टा ४१ मिनेट

    कुल खर्च: १ सय ४१ हङकङ डलर

    ग्वाङझुसम्मको रेल यात्रामा मलाई दुई जना फोटोपत्रकार मित्रहरुले साथ दिए । हामी बिहान ६:३५ बजे कजवे बे एमटिआर स्टेशनतिर लाग्यौं ।

    मोङ कोकसम्मको अन्तर-बन्दरगाह यात्रा बिहानको व्यस्त समयभन्दा अघि र तुलनात्मक रुपमा तनावरहित रह्यो । तर काउलुन तोङ स्टेशन पुगेपछि हाम्रो तनाव बढ्न थाल्यो । हामीले त्यहाँ लो वु जाने ईस्ट रेल लाइन चढ्नुपर्ने थियो जसको कम्पार्टमेन्टहरु कामदार र विद्यार्थीले खचाखच थिए ।

    मुलभूमि सीमास्थित लो वु पुग्दा बिहानको ८ बज्यो । सप्ताहन्तको दिन नपरेकोले अध्यागमन नाका पार गरेर शेन्जेन प्रवेश गर्न हामीलाई मात्रै १० मिनेट लाग्यो । यतिबेला यात्रा गर्नेहरु पनि कमै मात्र हुन्छन् ।

    नजिकै रहेको शेन्जेन एक्प्रेस रेल स्टेशनसम्म हामी सजिलै पुग्यौं र छिटोछिटो गरी  ग्वाङझाउ जाने पहिलो हाई-स्पिड ट्रेनको टिकट काट्यौं । ट्रेन ८:३२ मा छुट्थ्यो । त्यहाँ खासै भीड त थिएन तर सुरक्षा जाँच गरेर हाम्रो ट्रेनको प्लेटफर्मसम्म पुग्नलाई हामीसँग १० मिनेट मात्रै थियो ।

    सिट भेटेपछि राहतको सास फेर्दै म थ्याच्च बसे र रेल पनि तुरुन्तै अघि बढ्यो । रेल समयभन्दा दुई मिनेट छिटो साढे आठ बजे छुट्यो ।

    रेल भरिभराउ थियो । व्यापारिक भ्रमणमा हिंडेका यात्रु पनि सवार थिए । अन्तिम बिसौनी  ग्वाङझाउ तियान्हे व्यापारिक केन्द्र नजिकै छ ।

    हाम्रो यात्रा अधिकांश शहरी इलाकाबाट हुने भएकोले बाटोमा खासै मनमोहक दृश्य देखिएन । मैले एउटा कफी मगाए तर बेस्वादको पाएपछि मन खिन्न भयो । जम्मा ३५ युआन (४० हङकङ डलर) मा पानीजस्तो कफीभन्दा राम्रै दिन सकिन्छ । कागजको कपको त्यो कफी पनि एकछिनमा चुहिन थाल्यो ।

    ग्वाङझाउ पुग्न अघि झाङमुतो, चाङपिङ र दोङग्वान गरी हाम्रो रेल तीन पटक रोकियो । हामी बिहान पौने दश बजे पुग्यौं । यात्रा पुरा गर्न हामीलाई जम्मा १ घण्टा १५ मिनेट लाग्यो ।

    हङकङबाट जाने नयाँ एक्सप्रेस रेल रोकिने  ग्वाङझाउ साउथ स्टेशनभन्दा फरक, ग्वाङझु ईस्ट स्टेशन शहरको मुटुमा छ । तर यो यात्रा पूरा गर्न हामीले ताईकु हुई पुग्नुपर्ने थियो । त्यसैले हामीले  मेट्रो ग्वाङझाउ चढ्ने निधो गर्‍यौं । एक बिसौनी पर ओर्लेर केही बेर हिड्दा हामीलाई जम्मा ११ मिनेट लाग्यो ।

    एमटीआर, मेट्रो र रेल लाईन परिवर्तन गरिरहनु पर्दा यात्रा झन्झटिलो भयो । गह्रौं लगेज भएका यात्रुलाई एउटा प्लेटफर्मबाट अर्को जानु निकै कठिन भईरहेको थियो ।

    नयाँ वेस्ट काउलुन टर्मिनसमा संयुक्त सुरक्षाजाँच गर्ने नाका छ । यसो गर्दा मुलभूमि अध्यागमन पार गर्न छिटो हुने हङकङ सरकारले जनाएको छ ।

    हाम्रो यात्राको क्रममा, हङकङ वा मुलभूमिको अध्यागमन सुरक्षाजाँच नाकाहरुमा कुनै ढिलाई भएन । हङकङको इ-च्यानलजस्तो विद्युतीय सुरक्षाजाँच प्रभावकारी र विश्वसनीय रह्यो ।

    समग्रमा,  ग्वाङझाउसम्म सस्तो यात्रा गर्न चाहने यात्रुका लागि रेल मात्रै चढेर यात्रा गर्नु सन्तोषजनक हुने मेरो अनुभव रह्यो ।

    ड्यानी ली

    यातायातको माध्यम: विमान, एमटिआर र ट्याक्सी

    जम्मा लागेको समय: ३ घण्टा ४३ मिनेट

    कुल खर्च: १ हजार ८ सय ४१ हङकङ डलर

    कागजी हिसाबले हङकङदेखि  ग्वाङझाउसम्म एक घण्टाको उडानले यो दौडमा मलाई अरुभन्दा धेरै लाभ थियो ।

    तर यसका केही कमजोरी पनि थिए : दैनिक दुई उडान मात्रै हुने; टिकट खर्च; र प्रत्येक विमानस्थल जाने र निस्कने झन्झट ।

    मेरो जितको सम्भावना बढाउन मैले ‘ह्यान्ड लगेज’ मात्रै बोकेको थियो । हवाई यात्राको टिकट मैले फोनमा डाउनलोड गरेको थिएँ, र छिटो निस्कनलाई ‘इकोनोमी क्लास’ मा अगाडिको लहरको सीट रोजेको थिएँ ।

    कजवे बेको समाचारकक्षबाट बिहान सवा छ बजे निस्किएँ । थोरै ट्राफिक भएकोले सेन्ट्रलस्थित एयरपोर्ट एक्सप्रेस स्टेसनसम्मको ट्याक्सी यात्रा सजिलो रह्यो, र रेलले मलाई हङकङ ईन्टरनेशनल एयरपोर्टमा बिहान ६ बजेर ५३ मिनेटमा पुर्‍यायो । उडान हुनु एक घण्टा अघि नै म विमानस्थल आईपुगेको थिएँ ।

    सुरक्षा जाँचमा केही बेरको अलमलपछि, टर्मिनलको अर्को कुनामा रहेको प्रस्थान गेट ४० जानु अघि मैले ब्रेकफास्ट खाने समय पाएँ ।

    हङकङबाट ग्वाङझाउ जाने म एक्लो यात्रु थिएँ । भरिभराउ विमानमा बाँकी सबै न्युयोर्क वा नयाँ दिल्ली र अन्यत्रबाट आएका थिए । कोही घर फर्किदैं थिए र केही व्यापार-व्यवसायको सिलसिलामा आएका थिए ।

    फ्लाईट केए७८२ बिहान ८:१३ बजे उड्यो र १५ मिनेट छिटो गरी अर्थात् ८:४० मिनेटमा  ग्वाङझाउ अवतरण भयो । उडानदेखि अवतरणसम्म जम्मा २७ मिनेट मात्रै लाग्यो ।

    ग्वाङझाउ विमानस्थलमा सबै कुरा ठिकै चल्दै थियो । “नथिङ टु डिक्लेयर” भन्सार क्षेत्रमा कम्तिमा दुई सुटकेस लिएर उभिएका मानिसहरुको भीड देखेपछि, मेरो हंसले ठाउँ छाड्यो । मलाई दौड हारेको अनुभव भयो ।

    भाग्यवश, भन्सार पार गराउने दोश्रो लाईन पनि खुल्यो । त्यसमा लामबद्ध भएँ, भन्सार छुटाए, टर्मिनलबाट बाहिर निस्किएँ र एउटा ट्याक्सीमा बसें । त्यसपछिको यात्रा ९:०९ मा शुरु भयो ।

    ट्याक्सी चालकले नियमको पालना गरे । उनले तोकिएको गतिभन्दा छिटो चलाउन मानेनन् । मेरो फोनले एउटा बाटो देखाउँथ्यो, तर ट्याक्सी चालक अर्कै बाटो लगे । भीडभाड, पटके कर र जथाभावी कुदाउने सवारी चालकहरुले हाम्रो गति अझ ढिलो बनायो ।

    म बिहान ९:५८ मा ताई हुई पुगें ।

    मैले क्याथे ड्रागनको एकतर्फी हवाई भाडावापत १ हजार ५ सय २५ हङकङ डलर; कजवे बेदेखि एयरपोर्ट एक्सप्रेस स्टेसनसम्म ट्याक्सी चढ्दा ३७.६० हङकङ डलर; हङकङ ईन्टरनेशनल एयरपोर्टसम्म जानलाई ट्रेन टिकट वापत १ सय १० हङकङ डलर; र ग्वाङझु बाईयुन एयरपोर्टदेखि गन्तव्यसम्म पुग्नलाज्ञ १ सय ४८ युआन (१ सय ६९ हङकङ डलर) गरी कुल १ हजार ८ सय ४१ हङकङ डलर र ६० सेन्ट खर्च गरे ।

    तीन घण्टा ४३ मिनेट समय लागेको मेरो यात्रा सबैभन्दा छिटो त भएन तर अचम्मै गरी एमटिआर र ग्वाङझु-शेन्जेन ईन्टरसिटी रेलभन्दा पनि दुई मिनेट ढिलो भयो । विमानको यात्रा सबैभन्दा महँगो भने पक्कै भयो ।

    कनिस ल्योङ

    यातायातको माध्यम : हुङ होमदेखि ग्वाङझाउ ईस्टसम्म रेल चढेर काउलुन – क्यान्टोन ईन्टरसिटी  

    जम्मा लागेको समय : ३ घण्टा ४४ मिनेट

    कुल खर्च : २ सय ६८ हङकङ डलर

    मैले क्रेडिट कार्ड प्रयोग गरेर २ सय १० र थप १२ हङकङ डलर डलर सेवा शुल्क सहित एक तर्फी टिकट अनलाईन किनें । दौडको एक दिन अघि, एडमिराल्टी एमटिआर स्टेशनबाट मैले टिकट लिएँ । म हुङ होम स्टेशनको लामो लाम छल्न चाहन्थें । म सामान्यतया करिब दुई घण्टा लाग्ने हुङ होमदेखि ग्वाङझाउ ईस्टसम्मको एमटिआरको डाईरेक्ट ईन्टरसिटी चढ्ने भएकी थिएँ ।

    दौडको दिन, म बिहान ६:२४ मा कार्यालयबाट निस्किएँ । हुङ होम स्टेशन जानलाई मैले अन्तर-बन्दरगाह बस भाडा वापत १६ हङकङ डलर बुझाएँ ।

    मलाई भीडको चिन्ता थिएन । पाँच मिनेटमै म सुरक्षा जाँच र स्थानीय अध्यागमनबाट बाहिरिएँ अनि झण्डै ६० जना यात्रु रहेको एउटा शान्त कम्पार्टमेन्टमा पसें ।

    रेल समय मै ७ बजेर २५ मिनेटमा छुट्यो ।

    ग्वाङझुस्थित आफ्नो कम्पनीको मुलभूमि कारखाना हिंडेका ४९ वर्षिय प्राविधिक प्रबन्धक केल्भिन ली किन-मानले हरेक दुई देखि तीन सातामा सिधा रेल सेवा प्रयोग गर्ने गरेको बताए । हङकङ र मुलभूमि दुवैतर्फ सीमा जाँचपास छिटै हुने, र ग्वाङझु ईस्टसम्म रेल पुग्नाले सहज भएको उनले बताए । उनले बताए अनुसार त्यहाँबाट शहरका अन्य स्थान जान सजिलो हुन्छ ।

    उनले वेस्ट काउलुनबाट जाने नयाँ हाई-स्पिड रेल प्रयोग नगर्ने बताए । कारण थियो – उक्त रेल ग्वाङझाउ साउथसम्म मात्रै जान्छ, जुन उनको कार्यस्थलबाट टाढा छ ।

    हाई-स्पिड रेल चढ्न चाहने यात्रुले प्रस्थान हुनु कम्तिमा ४५ मिनेट अघि नै टिकेट प्रि-अर्डर गर्नुपर्दछ । ट्रेन छुट्नु अघि टिकट लिन मात्रै पाँच मिनेट लाग्ने ली बताउँछन् ।

    अर्की यात्रु ज्युडी लियाङ दोङ-युए, वर्ष ६४, एक्सप्रेस रेल लिंक चढ्न उत्सुक छिन् । त्यो रेल कित छिटो चल्छ भन्ने उनलाई थाहा पाउनु छ ।

    “यदि छिटो र सजिलो छ भने, म त्यसमा यात्रा गर्नेछु । तर म सिधा रेल सेवा भने छोड्दिनँ,” घरायसी सहयोगीका रुपमा काम गर्ने लियाङले बताईन् ।

    दुई घण्टा चाँडै बित्यो । मुलभूमिका टेलिभिजन कार्यक्रमहरुले पर्दामा हङकङका स्टारहरु देखाईरहेका थिए । पर्ल रिभर डेल्टा आर्थिक क्षेत्रको अंश रहेको दोङग्वानका केही कारखाना पछि छाड्दै हामीले सवा आठ बजे सीमा पार गर्‍यौं ।

    हामी बिहान ९:२९ मा ग्वाङझाउ ईस्ट पुग्यौं । समयभन्दा चार मिनेट मात्रै ढिला भएको थियो । म भीडको पछिपछि मुलभूमिको अध्यागमन र भन्सार क्षेत्र पुगें, र केही मिनेटमै सबै पार पनि गरें ।

    डिडि च्युसिङ नामक मोबाईल एप्लिकेसन प्रयोग गरेर मैले एउटा ट्याक्सी मगाएँ, र केही बेरमै म ताईकु हुईतर्फ हुँईकिएँ ।

    यो यात्रा पूरा गर्न मलाई ३ घण्टा ४४ मिनेट लाग्यो । राम्रै गरे पनि, दौड भने जित्न सकिनँ ।

    जेन झाङ

    यातायातको माध्यम : ट्राम, अन्तरसीमा कोच र बस

    जम्मा लागेको समय : ४ घण्टा

    कुल खर्च : १ सय १४ हङकङ डलर ९० सेन्ट

    मध्य हङकङदेखि ग्वाङझाउसम्म जाने अन्तरसीमा कोचले मलाई खाना खान समयमै पुर्‍याउने वाचा गरेको थियो, र मलाई उचित पनि लागेको थियो ।

    बिहान ६:४० मा कजवे बेबाट निस्किएपछि वान चाई कोच स्टेशन पुग्दा ७ बज्यो । नजिकैको रेस्टुरेन्टमा खाजा खाने समय थियो, किनभने बस ७:४० मा छुट्ने थियो ।

    म ट्रान्स-आइल्यान्ड लिमोजिन सर्भिसले सञ्चालन गरेको कोचमा सवार भएँ । यसका लागि काउन्टर मै पुगेर टिकट लिनुपर्छ किनभने अनलाईन वा फोन मार्फत् टिकट बुक गर्न सकिदैंन । ग्वाङझाउसम्मको एक तर्फी भाडा १ सय १२ हङकङ डलर र ६० सेन्ट छ ।

    कोच ४५ सीट क्षमताको भए पनि हामी ९ जना मात्रै थियो, र सबै जना ग्वाङझाउ जाने थिएनन् । केही ग्वाङदोङ प्रान्तका झोङशान र दोङग्वानजस्ता शहर जाँदै थिए ।

    अवकाशप्राप्त ६६ वर्षिय विनि चु महिनामा एक पटक ग्वाङदोङका विभिन्न शहर घुम्छिन् तर ग्वाङझाउ कहिले गएकी छैनन् । उनी एक जना साथीसँग पर्ल रिभर डेल्टाको दक्षिणमा अवस्थित झोङशानको भ्रमणमा हिडेंकी हुन् ।

    “सीमा पार गरेपछि हामीलाई एउटा टुर बसले पर्खिरहेको हुनेछ । त्यसैले कोच चढ्न सहज भयो,” चुले भनिन्,”यदि भविष्यमा ग्वाङझु गएँ भने, म पक्कै पनि हाई-स्पिड ट्रेन चढ्नेछु ।”

    हाम्रो कोचले एक घण्टा लगाएर शेन्जेन बे पुर्‍यायो । मैले यहाँ ओर्लिनु थियो । त्यसपछि सुरक्षानाका पार गरेर अर्को कोच समात्नु थियो । ग्वाङझाउ जाने सबैभन्दा पहिलो कोचलाई मात्रै १० मिनेट कुर्नुपर्‍यो । यस्ता कोचहरु प्रत्येक आधा घण्टामा छुट्ने गर्छन् नभए कम्तिमा १४ जना यात्रु भए पनि हिडिंहाल्छन् ।

    यो कोच पनि खाली थियो । जम्मा १६ जना यात्रु थिए । त्यसैले ग्वाङशेन यान्जियाङ एक्सप्रेसवे तिरैतिर मनमोहक झुजियाङ नदीको मुहान हेर्न मैले चाहेको सीट रोजें ।

    तीन घण्टाभन्दा लामो समयको यात्रा सहज तर केही पट्यारलाग्दो भयो । यात्रुहरु संगीत सुन्दै, चलचित्र हेरेर वा निदाएर समय काटिरहेका थिए । कोचमा टेलिभिजन थिएन ।

    ५० वर्षिया गृहिणी एञ्जेला झाङ अघिल्लो वर्ष पाँच पटक ग्वाङझाउ पुगिन् र प्रत्येक पटक बस नै चढिन् । “चुन मुनमा बस्ने भएकीले मेरो लागि यो नै सहज छ । तर मौसम र ट्राफिकमा पनि भर पर्छ । पानी परेमा, म रेल चढ्ने गर्छु,” उनले भनिन् ।

    अन्तरसीमा कोचहरु हङकङका विभिन्न स्थानबाट छुट्छन्, र तियान्हे सिटि शपिङ सेन्टर, ग्वाङझाउ होटेल र गार्डेन होटेल ग्वाङझाउ लगायत ग्वाङझाउका विभिन्न स्थानमा यात्रु पुर्‍याउँछन् ।

    ग्वाङझाउको केन्द्रिय डिस्ट्रिक्ट प्रवेश गरेपछि मेरो कोच बिस्तारै चल्न थाल्यो, र तियान्हे सिटि शपिङ सेन्टर पुग्दा ११ बज्यो । त्यहाँबाट, एउटा बस चढेर २० मिनेटमा म ताईकु हुई पुगें ।

    समग्रमा, मेरो यात्रा ४ घण्टाको रह्यो । कम खर्चमा यात्रा गर्न चाहनेहरुका लागि, यो एकदमै राम्रो विकल्प हो ।

    मिसेल वोङ

    यातायातको माध्यम : कोच र ट्याक्सी

    जम्मा लागेको समय : ४ घण्टा १० मिनेट

    कुल खर्च : ६ सय ७४ हङकङ डलर र ८ सेन्ट

    मैले कोच र ट्याक्सी चढेर कजवे बेदेखि ताईकु हुई जाने योजना बनाएँ ।

    मैले अनलाईन मार्फत् वान चाईदेखि शेन्जेन बे पोर्ट जाने ७:४० को कोचमा एउटा सीट बुक गरें । टिकट लिनलाई ३० मिनेट अगाडि नै आउने निर्देशन थियो ।

    एससिएमपीको कार्यालयदेखि वान चाई कोच टर्मिनस हिंडेर पुग्न मलाई १५ मिनेट मात्रै लाग्यो । त्यसैले हामीले अझ अगाडि ७:४० मा छुट्ने कोच लिने निर्णय गर्‍यौं । खाजा खाने समय मिल्छ कि भन्ने लागेको थियो, तर टिकट काउन्टर बन्द थियो ।

    करिब १० मिनेटपछि कोच कम्पनीका एक कर्मचारीले ढोका खोले, तर टिकट प्रणाली बारम्बार क्रयाश हुने गरेकाले २० मिनेटपछि मात्रै मैले टिकट पाएँ । खाजा समय थिएन । तोकिएको प्रस्थान समयभन्दा पाँच मिनेट ढिलो गरी म कोच चढें ।

    दिनको पहिलो कोचमा १० जनाभन्दा थोरै यात्रु थिए । तीमध्ये, ५९ वर्षिय क्लर्क एडमन्ड हाउ एक थिए, काम गर्न ग्वाङदोङको फोशान समय-समयमा जाने गर्दछन् ।

    “मेरो लागि शेन्जेन बे पुग्ने यो नै सबैभन्दा सहज तरिका हो, र त्यहाँबाट मलाई मेरो ड्राईभरले लैजाने छ,” हाउले भने ।

    काउलुन वेस्टबाट शेन्जेन नर्थसम्म मात्रै २३ मिनेटमा पुर्‍याउने दाबी गरेको नयाँ हाई-स्पिड रेल चढ्ने उनको कुनै सोंच छैन ।

    “म हङकङ आईल्यान्डमा बस्छु र काउलुनको हाई-स्पिड रेल स्टेशनसम्म पुग्न एकदमै गाह्रो छ,” उनले भने ।

    अर्का यात्र, ६० वर्षिय परामर्शदाता फ्राङकी याउ पनि यही कारणले तिव्र गतिको रेल नचढ्ने बताउँछन् । उनी पनि काम लिएर शेन्जन गईरहनु पर्छ ।

    “लामो दुरीको यात्रा गर्दा भने काउलुन जान ठीक होला,” उनले भने ।

    कोच खाली थियो त्यसैले मैले रोजीछाडी सीट पाएँ । छेउको सीटमा मेरो झोला राखें र झमक्क सुत्ने प्रयास गरें । कोचको सीट निकै फराकिलो र आरामदायी थियो ।

    हाम्रो कोचले बिहान सवा सातबजे वान चाई छाड्यो, र शेन्जेन बे पोर्ट पुर्‍याउन ४० मिनेट लगायो । हामी वान चाईको स्टेवार्ट रोडदेखि शेन्जेन बे पोर्टको हङकङ पोर्ट एरिया पुगेका थियौं । कोचबाट ओर्लिएपछि मलाई सीमा पार गर्न १५ लाग्यो ।

    गन्तव्य ताईकु हुईभन्दा म अझै पनि १ सय १६ किलोमिटर टाढा थिएँ । अब मैले ट्याक्सी लिनुपर्ने थियो । तर यो निकै चुनौतीपूर्ण रह्यो ।

    मैले ट्याक्सी स्टेशनमा ३५ मिनेट कुरें । एउटा नीलो रंगको विद्युती ट्याक्सी चालकले पर्याप्त विद्युत नभएकाले मलाई पुर्‍याउन मानेनन् । एउटा रातो रंगको डिजल ट्याक्सी चालकले धेरै टाढा भएको बताए ।

    गैरकानुनी ढंगले ट्याक्सी चलाउने केहीले मलाई ५ सय ५० युआन (६ सय २८ हङकङ डलर) दिए ग्वाङझाउ पुर्‍याईदिने बताए । मैले डिडि एप प्रयोग गरें र लगभग उत्तिकै मुल्यमा एउटा ट्याक्सी पाएँ ।

    डिडिको ट्याक्सी नआएसम्म मैले तेजिलो घाममा १० मिनेट पर्खिनुपर्‍यो । खासै ट्राफिक थिएन र त्यसको दुई घण्टापछि म मेरो गन्तव्यमा थिएँ ।

    कनिस ल्योङपिस चिउ

    यातायातको माध्यम : एमटिआर, हाई-स्पिड रेल र ट्याक्सी

    जम्मा लागेको समय : ३ घण्टा २८ मिनेट

    कुल खर्च : ३ सय ६९ हङकङ डलर

    अन्तत: समाचार लेख्न थालेको महिनौंपछि, नयाँ हाई-स्पिड रेल लिंकबाट वेस्ट काउलुनदेखि ग्वाङझाउ साउथसम्मको पहिलो यात्रा गर्ने अवसर जुरेको थियो ।

    बिहान करिब ७ बजे कजवे बेको समाचारकक्षबाट कनिसले बहुप्रतिक्षित यात्राको शुरुवात गरिन् । उनीसँगै हाम्रो भिडियोग्राफर पनि थिए । उनीहरुले ग्वाङझाउ साउथ जाने हङकङको स्वामित्वको पहिलो रेल, भाईब्रेन्ट एक्स्प्रेस साढे आठ बजे चढ्नु थियो । रेल छोटो समयका लागि शेन्जेन नर्थ र हुमेनमा पनि रोकिन्छ ।

    पिसले बेग्लै कतै पनि नरोकिने नन-स्टप रेलको परिक्षण गरिन् । यसो गर्दा दुई बीचको भिन्नता थाहा लाग्थ्यो । यो रेल परियोजनाको एउटा आकर्षण पनि थियो । यद्यपि, दैनिक ३४ मध्ये तीन वटा फर्किने भएकाले दुई गन्तव्यबीच नन-स्टप रेलको टिकट पाउन निकै कठिन छ ।

    कनिस र उनको सहकर्मी एमटिआर चढेर काउलुन स्टेशन गए । त्यसपछि ६ मिनेट हिडेंर वेस्ट काउलुन बस टर्मिनस पुगे । त्यहाँ बि१ तहमा यात्रु र सञ्चारकर्मीको खचाखच भीड थियो ।

    हामी भीड छिचोल्दै अघि बढ्यौं । टर्मिनस अधिकारीलाई दुई साता अघि किनेको हाम्रो टिकट र व्यक्तिगत कागजपत्र देखाएर हामी सुरक्षा जाँच हुने स्थल प्रवेश गर्‍यौं । धेरै लामो समय नपर्खि, हामी एक मिनेटमै सुरक्षा जाँच स्थलबाट बाहिरियौं र बि३ तह जानलाई एस्कलेटर चढ्यौं । त्यहाँ स्थानीय र मुलभूमि अध्यागमन र भन्सार काउन्टर राखिएका छन् ।

    स्थानीय सीमा पार जाने अनुमितपछि, धेरै यात्रुहरु सीमामा तस्बिर खिचाईरहेका देखिन्थे । उक्त सीमाचिन्हले स्थानीय र मुलभूमिको बन्दरगाह क्षेत्रलाई छुटयाउँछ । संयुक्त सुरक्षाजाँच नाकाको व्यवस्था अनुसार, मुलभूमि चीनियाँ अधिकारीहरुले टर्मिनलमा उनीहरुको निर्दिष्ट स्थानमा राष्ट्रिय कानुन कार्यान्वयन गर्दछन् ।

    छोटा लाम मात्रै भएकाले सीमा पार गर्ने अनुमति लिने प्रकृया अपेक्षा गरिएभन्दा छिटो भयो । बि३ तहमा मात्रै लामो लाम देखिन्थ्यो । यो प्रस्थान स्थल थियो जहाँ सयौं यात्रुहरु हाई-स्पिडको रेल लिंकको पहिलो सवारी गर्न व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका थिए ।

    हामी बिहान ८:२३ बजे बि४ तहको प्लेटफर्म पुग्यौं र अन्य धेरै यात्रुजस्तै नयाँ रेलसँग केही तस्बिर खिचायौं ।

    यात्राको क्रममा हामीले रेलको नि:शुल्क वाईफाई सेवा प्रयोग गर्ने तीन पटक प्रयास गर्‍यौं तर सफल भएनौं ।

    रेल सञ्चालक एमटिआर कर्पोरेसनको समय तालिकाभन्दा तीन मिनेट ढिलो गरी बिहानको ९:३१ बजे हाम्रो रेल ग्वाङझाउ साउथ आईपुग्यो । स्टेशनमा केही फोटो खिचेपछि, हामी हत्तपत्त एउटा ट्याक्सी चढ्यौं र १०:२५ बजे ताईकु हुई पुग्यौं ।

    यो यात्रा पूरा गर्न हामीलाई तीन घण्टा २८ मिनेट लाग्यो । हामीले प्रयोग गरेको यातायातको अन्य माध्यमभन्दा यो कम्तिमा १३ मिनेट छिटो थियो । यो आरामदायी र द्रुत सेवा त थियो नै तर महँगो पनि उत्तिकै भयो ।

    तुलनाका लागि,  पिस बिहान १० बजेपछि वेस्ट काउलुनदेखि ग्वाङझाउ साउथ जाने नन-स्टप हाई-स्पिड रेल चढिन् । यसले ४७ मिनेटमै यात्रा पूरा गर्ने दाबी गरेको थियो ।

    उनी सवार पहिलो नन-स्टप रेल, स्टेशनबाट छुट्न ढिलाई भयो । रेल बिहान १०:०२ छुट्यो र १०:५५ मा पुग्यो । यस क्रममा तय गरिएका समय १०:४७ भन्दा आठ मिनेट ढिलो भयो । रेलको १६ मध्ये कम्तिमा ६ वटा डब्बा खाली वा करिब-करिब खाली थियो ।

    सुम लोक-केई/ ड्यानी ली/ कनिस ल्योङ/ जेन झाङ/ मिसेल वोङ/ पिस चिउ 

  • कमेन्ट गर्नुहोस्