• बक्सर दाइको सम्झना

  • अस्तिको हप्ता चंखमानसँग भेट भयो । नेपालबाट आएको अकबरे खुर्सानी र राँगाको सिकुटी लिन बोलाएको थियो उसले ।

    उसले भेट्नेबित्तिकै भन्यो- ‘हङकङको पासपोर्ट बनाउनु गाको कि मेरो नेपाली पासपोर्टमा त जन्ममिति नै रैन छ । त्यै पासपोर्ट बोकेर जापान गएँ, कोरिया गएँ । बल्ल अहिले पो थाहा भो, पासपोर्टमा त जन्ममिति नै रैन छ ।’

    मैले सोधेँ – ‘अनि दियो त हङकङ इमिग्रेसनले पासपोर्ट ?’

    चंखमानले भन्यो- ‘हाउ काँ दिनु ? हाँस्यो पो खिसिसी । तिम्रो त स्कुलको सर्टिफिकेटहरू पनि सप्पै इन्डियाको रछ । तिमी मन्छे फ्रड रछौ अरे ? मेरो पालो झोंक चल्यो र भनें यो उमेरमा न म जागिर खाने हो, न केही बन्छु भन्ने सप्ना छ, के काम यो सर्टिफिकेटहरूको । पासपोर्ट नदिने भए नदे ।’

    हैट् ! यस्तो पनि हुन्छ र ?
    जन्ममिति नलेखिएको पासपोर्ट बोकेर विश्व डुलिरहेको रहेछ चंखमान ।

    ‘आज चैं तपाईंसँग सेल्फी खिच्नुपर्‍यो । तपाईं फेक मान्छे हो भनेर पाठकहरूले भन्न थाले । फेसबुक्मा तपाईं र मेरो फोटो अपलोड गर्नुपर्ने भो ।’ मैले भनें ।

    तर चंखमानले फोटो खिच्नु मानेन, भन्यो- ‘फोटो खिच्ने र बाहिर पाठकहरूसँग प्रत्यक्ष भेट्ने भए मेरो डायरी तपाईंलाई किन दिन्थें ? बरू नियमित रूपमा मेरो डायरीका कुराहरू पाठकहरूसम्म पुर्‍याइदिनुस् । मलाई तपाईंहरू जस्तो नाम कमाउनु छैन । मेरो मनको कुरा पाठकहरूसम्म पुग्न सकोस्, तेति नै मेरो सन्तुष्टि !’

    ‘हेर्नुस् कि अस्तिको टाइफूनमा मालिकहरू निराश थिए, इन्सुरेन्स कम्पनीहरू उदास थिए तर ठेकेदारहरूको अनुहारमा चमक थियो, सिसा ब्यापारीहरू खुशी थिए । जीवन यस्तै रहेछ ।’ चंखमानले थप्यो ।

    एकछिन कुराकानी गरेर म घर फर्किएँ । मनमा चंखमानको कुरा खेलिरह्यो । उमेर र अनुभवले मभन्दा बूढो रहेछ ऊ । घर फर्केर कम्प्युटर खोलें । चंखमानले इमेल गरिदिएको ‘हङकङ ब्लुज’ खोलेर पढ्न थालें ।

    बक्सर दाइको सम्झना-
    चंखमान परदेशी
    लान्ताउ टापुको किनार, सन् २०१२

    दानी मान्छेहरू सदा संस्मरणयोग्य हुन्छन् । बलिहाङले वामनदेवलाई आफ्नो सम्पूर्ण राज्य दिए । विष्णुको अवतार वामनदेवले त्यतिमा चित्त बुझाएनन्, विचरा बलिहाङको प्राण पनि लिए । कर्ण थिए उस्तै दानी । उनले आफ्नो मृत्यु कवच नै दानमा दिएर मृत्युवरण गरे । आहा ! त्यो युगका मान्छेहरू कति दानी थिए, हगि ! अहिले त लोभलालचको युग हो केरे ! लोभ गरेन भने ‘हल्दिराम’ भैन्च केरे !

    सायद ‘बक्सर दाइ’ले बलिहाङ र कर्णको कथा पढेनन् । पढे होलान् तर उसले उल्टो शिक्षा लिएको हुनुपर्छ- ‘दानी भैयो भने प्राण जाने रछ !’ कि भने उसले कुबेरको कथा मात्रै पढे, कुबेर जसले सडकमा पोखिएको तोरीको एकएक दाना औंलाको टुप्पोमा थुक दल्दै टिपे । उसको खास नाम चैं बालकुमार तर उसले पैसा सधैं मुट्ठी पार्ने । तेसो र हामीले नाम राखिदिएका थियौं – बक्सर !

    बक्सर दाइ ! भनेर बोलाउँदा ऊ फुरुक्कै हुन्थ्यो । उहिले नेपालमा साँच्चिकै बक्सिङ पनि खेलेको रहेछ । ऊ भन्थ्यो- ‘हाउ केटा हो, बक्सिङ खेल्नु चैं मलाई नाकैले फेबर गरेको कि !’ उसको नाक अनुहारमै ल्याप्पै टाँसिएको थियो, यति थेप्चो नाक त देखेकै थिइनँ मैले ।

    उता दार्जिलिङतिरको साथी थियो लोर्केपार्टस् । ऊ भन्थ्यो- ‘अन्त कि दाज्जुले बक्सिङ चैं माइक टाइसनसँग नै खेलेर आको हो कि त ! आम्बो ! अनुहार त पुरै भित्ताजस्तो देखिन्छ क्या !’ म लोर्केपार्टस्को कानमा फुस्फुसाउँथें- ‘हैट् ! ब्रो, साँच्चिकै बक्सर पनि हो है ऊ, झोंक चल्यो भने हाम्रो अनुहार बिगारिदिन्छ है ।’ ‘कस्तो कन्चुस त नि यो बजिया, मर्ने बेला भैसक्यो कति लोभ गरेको !?’

    तर बक्सर दाइ रिसाउँदैनथ्यो । बरु गर्वसाथ हाँस्दै भन्थ्यो- ‘हाइट र वेट नमिलेर मात्रै हो केटा हो नत्र टाइसनलाई ढाल्ने मै हुन्थें । हहह !’

    एकदिन हामी हिँड्दै थियौं जोर्डनको टेम्पल स्ट्रीटमा । भुइँमा काँटी भेट्यो उसले र फूफू धुलो फुकेर काँटी गोजीमा राख्यो । लोर्केपार्टस् र मैले अनुहार हेराहेर गर्‍यौं । तब बक्सिङ दाइले भन्यो- ‘केटा हो, यो काँटी कुनै बेला काम लाग्छ ।’

    त्यही दिन उसको कोठामा बियर खानु जाऊँ भनेर जोर्डन वरिपरि हिँडाएकोहिँडाएकै गर्‍यो बक्सर दाइले । सेभेनलेभनको छेउछाउ पुग्दा एकछिन अडिने, कुरो बुझ्दा बियर चैं हामीले सेभेनलेभेनबाट किनेर बोकोस् भन्ने मनसाय रहेछ उसको ।

    यो कुरा स्वाँके दाइलाई सुनाएको त हामीलाई भन्दा धेरै थाहा रहेछ बक्सरको कथा उसलाई । ‘आपुई भाइ, त्यो बक्सरको त मैले नामै फेरिदिएको छु नि ! म त तेसलाई तिरतिरे भन्दा मात्रै चिन्छु हिजोआज त ! ब्लाक लेबलको खाली बोत्तलहरू बारमा काम गर्ने भाइहरूसँग मागेर घर ल्याउने कि अनि एकदुई थोपा रहेको हुन्छ नि, हो त्यो जम्मा गर्ने ! हैट ! १५ बोत्तलबाट एक क्वाटर निस्किन्छ अरे !’

    बक्सर दाइको एउटा सिद्धान्त थियो- ‘रक्सी किनेर खानु हुँदैन, मागेर पनि खानु हुँदैन, कसैले दियो भने नाइँ भन्नू हुँदैन, खानु नसकेको फ्याल्नु हुँदैन , बोत्तलमा भरेर घर लानुपर्छ, लाज मान्नु हुँदैन ।’

    उसले झोलामा सधैं सहयोग रसिद बोकेर हिँड्थ्यो । कहाँ भेट्यो कुन्नि ? ‘डोल्मा बचाऊ अभियान, सहयोग रसिद’ । एकदिन हामी बसिरहेका थियौं जोर्डनको ब्याट्री स्ट्रीटमा । त्यतिकैमा धरानका भाइहरू टिकट बेच्दै आइपुगे- ‘सहयोग गरिदिनुस् न दाइहरू, हामी भूकम्पले भत्काएको स्कुलको भवन बनाइदिदैं छौं नेपालमा, नामी कलाकारहरू नेपालबाट बोलाएका छौं, कार्यक्रम हलमा जाने बस पुरानो नाचघर अगाडि लाग्छ ।’

    मैले भने- ‘हाउ भाइ हो, हामी पाले काम गर्नेहरूसँग हरेक हप्ता कार्यक्रमको टिकट किन्ने पैसा हुँदैन । व्यापारीहरूसँग पो माग्नुपर्छ त सहयोग !’

    एकजना भाइले भन्यो- ‘दाजु ! व्यापारीहरू त स्पोन्सर हो नि, उहाँहरूले नै रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नुहुन्छ ।’

    आफ्नै टोलछिमेकका भाइहरूलाई मैले नाइँ भन्न सकिनँ । दुई सय डलरको एउटा टिकट किनिदिएँ । तर, बक्सर दाइले झोला खोतलेर एकबुङ सहयोग रसिद झिकेर एउटा रसिदमा लेख्यो- एक हजार एक डलर मात्रै ! र, भन्यो – ‘लु भाइहरू हामी तपाईंको ३ वटा टिकट किनिदिन्छौं भाइहरूले पनि यति चैं सहयोग गरिदिनु पर्‍यो । हामीलाई चार सय १ डलर र तीनवटा टिकट दिनुस् । यो सहयोग रसिद लिनुस् ।’

    भाइहरू ट्वाँ परे । एकजनाले भन्यो- ‘यसरी त हामीलाई घाटा हुन्छ नि दाइ ! बरु ठीकै छ हाम्रो टिकट पनि नकिन्नुस्, तपाईंहरूलाई सहयोग पनि नगर्ने !’

    तब बक्सर दाइले भन्यो- ‘हैट भाइ ! एकअर्कालाई सहयोग गर्नुपर्छ । हामीलाई ३ वटा टिकट दिनु र यो सहयोग रसिद राख्नु । सहयोग बराबर ! हगि त !’

    ती भाइहरू एकछिन आन्तरिक छलफलमा जुटे । अन्तिममा हामीलाई ३ वटा टिकट दिए, बक्सरले सहयोग रसिदमा छ सय डलर मात्रै लेखेर उनीहरूलाई दियो । ‘हस्त नमस्कार भाइहरू !’ बक्सर दाइले भन्यो । भाइहरू सांघाइ स्ट्रीटतिर अलप भए ।

    मैले भनें- ‘सन्डे छुट्टी नै हुँदैन । कार्यक्रम हेर्न टाइम मिल्दैन ।’

    बक्सर दाइले भन्यो- ‘हैट् चंखे ! यो टिकट म मेरो कामका भाइहरूलाई बेच्छु ।’ स्वाँके दाइ मुसुमुसु हाँसिरहेको थियो ।

    बक्सर दाइसँग भेट नभएको निकै वर्ष बितिसकेको थियो । हिजो खबर सुनें, ऊ त सुतेकोसुतेकै भएछ । रोग लागेर बुढेसकालमा छट्पटिदैं तड्पिदैं मर्नुभन्दा सुतेकोसुतेकै ओछ्यानमा मर्नु नै आनन्ददायी मृत्यु हो । अर्को हप्ता हुङहोमको ‘फ्युनरल पार्लर’मा उसको मलामी जानुपर्ने छ ।

    तर मेरो मनमा एउटा प्रश्न उब्जियो- उसले सोकेशमा सजाएका रक्सीहरू तेतिकै छन् कि ! ? मैले सोचें सेतो फूलभन्दा उसलाई ‘ब्लु लेबल’ नै मनपर्छ, एक बोत्तल ब्लु लेबल राखिदिनेछु उसको लास छेउमा । हार्दिक श्रद्धाञ्जली बक्सर दाइ !

    यति पढेर म चुपचाप समुन्द्रको किनारमा गएँ । टाइफूनले समुन्द्रको किनार भत्काएको थियो । बतास र छालहरू शान्त थिए तर मन अशान्त थियो । बक्सर दाइले अन्तिम भेटमा भनेको कुरा अझै मनमा गुन्जिन्छ- ‘हेर चंखमान भाइ ! जीवनमा मलाई बलिहाङ र कर्णभन्दा दानी हुने सपना छ । तर, अभावको अनुहारसँग मलाई डर लाग्छ जो मैले बाल्यकालमै देखेको छु ।’

     

  • कमेन्ट गर्नुहोस्