मदन भण्डारीले प्रशिक्षण दिएको घर *
आफूले अपनाएको पेशालाई अलि विस्तारित रुप दिन प¥यो भन्ने लाग्यो । अर्कोतिर पढाई पनि अधुरो नै थियो, त्यसलाई पनि पुरा गर्न मन लाग्यो ।
त्यसपछि मैले धनकुटामा खाँदै गरेको एउटा सानो जागिर छाड्ने निर्णय गरेँ । जिल्ला विकास समिति, धनकुटामा केही दातृनिकायको सहयोगमा एउटा रेडियो कार्यक्रमको उत्पादकका रुपमा कार्यरत थिएँ । तर स्वप्नजिवी परियो, त्यसैले निर्णय गरेँ, राजधानी सहर काठमाडौं गएर अधुरो अध्ययनलाई पुरा गर्ने, अनि एक राष्ट्रिय दैनिक अखबारमा काम गर्ने ।
परिवारबाट बिदा भएर म एउटा बसमा चढेँ, धरानका लागि । धरान हुँदै काठमाडौं थियो, मेरो गन्तब्य ।
बस चढियो, धरानका लागि । सीटहरु खाली खाली नै थिए । एउटा यस्तो सीट रोजेँ, जसको छेउ पर्दा पनि आफूलाई आनन्द मिल्ने । उहाँ एक शिक्षक, माथि कागतेबाट धरानका लागि बस चढ्नुभएको थियो भने म चाहिँ स्कूलडाँडाबाट ।
“सर नमस्ते ।”
“ओहो, राजकुमार भाइ, नमस्ते” आदरणीय अग्रजको मप्रतिको सप्रेम सम्बोधन ।
नयाँ र पुराना कुरा हुँदै थिए । मैले सोधेँ, “समीर र सचीनलाई कस्तो छ सर ?”
उहाँले भन्नुभयो,“सचीन डिप्लोमा पढिरहेको छ, समीरले मास्टर डिग्री सक्यो । उसले चाहिँ पीएचडी गर्छु भन्दैछ ।”
उहाँले यसो भनिरहँदा आफू भन्दा जुनियर भाइले पीएचडी गर्ने सुरसार गरिरहेको खबरले ममा अर्को तरङ्ग फैलियो । म आफू चाहिँ मास्टर डिग्रीको अध्ययन अधुरो रहेकोमा पछुताउँदै काठमाडौंतिर दौडिरहेको थिएँ, त्यो बेला ।
तर ममा एउटा गौरव पनि जोडियो, समीर भाइसँगको सन्दर्भमा ।
जतिखेर म तत्कालिन भाषा निमावि (हालः भाषा क्याम्पस)मा कक्षा ४ देखि पढ्न गएँ, समीर त्यतिखेर कक्षा २ मा पढिरहेका थिए । म कक्षा ५ बाट कक्षा ६ मा चढ्दा दोस्रो भएको थिएँ, समीर पनि दोस्रो हुँदै कक्षाको उकालो चढिरहेका थिए ।
म काठमाडौंमा रहेर पत्रकारिता गरिरहेको बेला समीर त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभागमा रहेर प्राध्यापन गरिरहेका थिए, त्यहीँ बेला उनले फोन गरेर भने,“दाइ, हामी भेटौँ न ।”
अनामनगरको एक चियापसलमा चिया पिउँदै आफूभन्दा स्कूले जीवनमा दुई ब्याच जुनियर भाइसँग विगतका कुरा कोट्याइरहेको थिएँ ।
“दाइ, म तपाईँसँगको एउटा कुरा जिन्दगीमा कहिल्यै पनि भुल्दिनँ”, उनले भने ।
“के कुरा हौ, भाइ ?” मेरो जिज्ञासा ।
“तपाईँले मलाई सँस्कृतको परीक्षामा सिकाएर साह«ै ठूलो गुण लगाउनु भएको थियो”, उनले मलाई २०४२ सालतिर डो¥याए, जतिखेर उनी कक्षा ५ मा पढ्थे, म चाहिँ कक्षा ७ मा । जिल्ला स्तरीय परीक्षा भएकोले हामी सेकेण्ड ब्वाइहरु एउटै बेञ्चमा परेका थियौँ ।
सँस्कृतको कुन प्रश्नको उत्तर लेख्न मैले उनलाई सिकाएको थिएँ, त्यो त मैले भुलेँ, तर नेपाली विषयमा शुद्धसँग लेख्नुपर्ने ‘शीलस्वभाव’ शब्दलाई अशुद्ध गरेर शुद्धसँग लेख्न लगाइएकोमा समीरले ह«श्वदीर्घ मात्र परिवर्तन गरेर लेखेका रहेछन्, मैले उनको उत्तरपुस्तिका पुलुक्क चिहाउँदा यस्तै देखेँ । मिलाउनु पर्ने अरु पनि थियो । मैले ‘त्यो यस्तो होइन, यस्तो हुनुपछ’ भनी सिकाएको चाहिँ अहिले पनि सम्झना आउँछ ।
परीक्षामा छेउछाउका परीक्षार्थीमध्ये उनीहरुलाई परेको समस्या र आफूले सकेको समाधान गरिदिने मेरो बानी मास्टर्स डिग्रीको परीक्षासम्म छुटेन । “सार्क मिडिया” परीक्षामा एक जना सहपाठीलाई यसरी नै सिकाइरहेको बेला म आफै झन्डै कारवाहीमा परेँ ।
समीरसँगको भेटमा मैले खासगरी उनको घर र उनको बुबा कुशकेशर वाग्लेको सम्झना गरेँ, प्रशस्तै । उनको बुबा एक सामान्य शिक्षक । आफ्नो घर नजिकै विद्यालय भए तापनि कहिल्यै घरपायक माग्नु भएन, उहाँले । बरु तीन घण्टाको बाटो हिँडेर पढाउँदा पढाउँदै उहाँ सेवानिवृत्त हुनुभयो । सँगसँगै यो देशमा उज्यालो छर्नका लागि अध्यारोको जुनकिरीको भूमिका पनि बडो गौरवपूर्ण ढङ्गले निर्वाह गर्नुभयो ।
त्यो एउटा बेग्लै घर
भाषा निमाविमा म पढिरहेको बेला वारी पात्लेको एउटा टोल छिचोलेर जानुपथ्र्यो । त्यसलाई वाग्ले टोल भन्दा पनि हुन्छ । चार पाँच घर वाग्ले बाहुनहरुको घर थियो त्यो बेला । तीमध्ये एउटा घर चाहिँ मलाई अलि बेग्लै खालको घर लाग्थ्यो । घरको बान्की हेरेर भन्दा पनि त्यस घरमा बस्ने मानिसलाई सम्झेर म त्यो घरलाई यतिखेर सम्झना गर्न गइरहेको छु ।
त्यो घर समीरको बुबा कुलकेशर वाग्लेको घर । कुलकेशर सर बेलाबेलामा हाम्रो घरमा आउनुहुुन्थ्यो । त्यहाँ ठूलो जमघट हुन्थ्यो । बडो उत्साहका साथ हाम्रो घरमा पसेर उत्साह बोकेरै निस्कनुहुन्थ्यो र उकालो लाग्नुहुन्थ्यो, आफ्नो घरतिर ।
पछि थाहा पाएँ, उहाँको घरले पनि हाम्रो घरलेजस्तै भूमिगत नेताहरुलाई आश्रय दिने गर्दो रहेछ । तर अचम्मको कुरा के भने हाम्रो घरमा चाहिँ प्रगतिशील लेखक कलाकार संघको नाममा दाइहरु खुला गतिविधि गर्थे । हाम्रा टोलका बासिन्दा सोझासिधा भएर पनि होला, त्यहाँ कुनै असुरक्षा महसुस हुँदैनथ्यो, भूमिगतहरुलाई पनि । कसैलेकसैलाई पोलझोस लगाउँदैनथे हाम्रो टोलमा त्यो बेला ।
उता बडो गोप्य रुपमा कुलकेशर सरको त्यहीँ घरमा मदन भण्डारीले १० दिन प्रशिक्षण दिनुभएको छ, २०३८ सालमा । त्यहाँ, १५ जना अगुवा कार्यकर्ताहरुले प्रशिक्षण लिएका थिए ।
यो घरको माथिल्लो तलामा प्रशिक्षण कार्यक्रम चलाइएको थियो । त्यसबेलाका धनकुटाका तत्कालिन मालेका सङ्गठक चित्र निरौलाले सहजिकरण गर्नुभएको थियो । चित्रको प्रायः हाम्रै घरमा बास हुने गथ्र्यो ।
त्यो बेला प्रशिक्षणमा सहभागी धनकुटाका अग्रजमध्ये एक जीवप्रसाद पोखरेलले बताउनु भए अनुसार मदनले चलाउनु भएको प्रशिक्षणमा धनकुटाका गोपाल गुरागाईं, जीवप्रसाद पोखरेल, उदय बस्नेत, चन्द्र बस्नेत, कृष्णकुमार राई, धरानका रमेश खनाल गरी संखुवासभाका समेत १५ जना नेता कार्यकर्ता सहभागी थिए । बडो गोप्य रुपमा चलाइएको यो प्रशिक्षणमा पिसाव फेर्नका लागि एउटा टीनको व्यवस्था गरिएको थियो । दिसा गर्न जानु परे बिहानको झिसमिसेमा जानु पथ्र्यो । त्यहाँ कोही नयाँ मानिस आए घरकाहरुले कुनै एउटा गीत गाएर माथि प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई संकेत गर्नुपर्ने ।
दिसापिसाव कम गर्नु परोस् भनेर कमै खाने निर्देशन थियो । खानाको प्रबन्ध वाग्ले खलकका एक भाञ्जा तत्कालिन अखिलका जुझारु कार्यकर्ता रमेश लुइटेलको जिम्मामा थियो ।
यस्तो ऐतिहासिक प्रशिक्षण भएको घरमा बेलाबेलामा अशोक राई र विद्या भण्डारीले पनि आश्रय लिनुभएको छ ।
यस्तो गतिविधि हुँदा म बालकै थिएँ, तर पनि सबै कुरा संवेदनशील भएर हेर्थेँ । त्यहीँ बेला हाम्रो घरमा पनि निक्कै महत्वपूर्ण बैठक बसेको थियो । चारपाँच दिन बसेको त्यो बैठकको समय हाम्रो छिमेकीकहाँ खानाको प्रबन्ध गरिएको थियो । धिपधिपे कुपीको उज्यालोमा उनीहरु खाना खानुअघि हात मिलाउँथे र लालसलाम गर्थे, चुपचाप खाना खान्थे र खाएको थाल आफै माझ्थे, अनि एकापसमा फेरि हात मिलाउँथे र लालसलाम गर्थे अनि आश्रयतिर फर्कन्थे ।
यस्तो दृश्य हेर्ने छुट म त्यो बेलाको फुच्चेलाई थियो ।
माननीयको भेषमा मदन
२०४० सालतिरसम्म मदन तत्कालिन मालेको कोशी अञ्चलको सचिव हुनुहुन्थ्यो भने नेकपाका नेता प्रदीप नेपालबाट पुष्टि भयो । मदनलाई कोशीको उकालो ओह«ालो गरिरहनु पर्ने ।
कवि अनिल पौडेलले एक दिन मलाई मदनको धनकुटा प्रवेशको कठितम दिनका बारेमा बताउनु भएको यहाँ स्मरण गर्न चाहन्छु ।
कुरा के परेछ भने, तत्कालिन राजा वीरेन्द्रको धनकुटा भ्रमण हुने, अनि त्यहीँ बेला मदनलाई चाहिँ धनकुटा प्रवेश गर्नु पर्ने । साथमा हुनुहुन्थ्यो, सुमनराज प्याकुरेल ।
भेडेटारमा ठूलो सुरक्षा जाँच हुन्थ्यो । आर्मीका क्याप्टेनको कमाण्डिङमा सुरक्षाजाँच भइरहेको समयमा बसबाट फुत्त मदन निस्कनु भएछ पिसाव फेर्ने बहानामा । साथमा थियो, तत्कालिन मालेको मुखपत्र “वर्गसंघर्ष” । त्यसलाई जोगाउँदै आफू पनि जोगिनु पर्ने ठूलो चुनौति थियो ।
मदनले त्यो बेला दौरा सुरुवाल लगाउनुभएको थियो । उहाँले पिसाव फेर्ने बहानामा “वर्गसंघर्ष”का प्रतिहरु आफ्नो भूँडीतिर राखेर इजार दह«ोसँग कस्नुभएछ । त्यसपछि सुरक्षा जाँच गर्नेहरुतिर अघि सर्दै भन्नुभएछ,“भाइहरु, सुरक्षा अवस्था सबै ठीक छ नि ?”
सुरक्षाकर्मीहरुलाई लागेछ, यस्तो गरी सोध्ने मानिस कुनै माननीय वा मन्त्री हुनुपर्छ । त्यसपछि सुरक्षाकर्मीका कमाण्डरले हजुरका हजुर लगाएछन् । यो घटना हो, २०३९ साल हिउँदको ।
यसरी मदन सहज रुपमा सुरक्षाघेरा नाघेर धनकुटातिर प्रवेश गर्नुभएछ, त्यो समय । त्योभन्दा एक वर्षअघि त उहाँले वारीपात्लेमा प्रशिक्षण नै चलाउनुभयो र देब्रेवासस्थित हाम्रो घरमा बैठकनै बस्न भ्याउनुभयो ।
आस्थाको स्पन्दन
कुलकेशर सरको बुबा शिक्षक, उहाँ पनि शिक्षक । उहाँको बुबा झापा झर्नुभयो, र बाम आन्दोलनमा लाग्नुभयो । उहाँ पनि सानैबाट त्यो आन्दोलनमा लाग्नुभयो, जेल पर्नुभयो, यातना भोग्नुभयो । उहाँको एउटा कानले राम्ररी काम गर्दैन भन्ने कुरा मलाई त्यस बेलैदेखि थाहा छ । यातनाका कारण उहाँको एउटा कानको जालो फुट्यो । तर उहाँ आस्थाको आवाज सुनिरहनुहुन्छ, कुनै महत्वाकाँक्षा बिना, निष्ठापूर्वक ।
मलाई कमसेकम के थाहा छ भने त्यो पञ्चायती व्यवस्थाको अध्यारो युगमा जुनकिरीको भूमिका खेलिरहनुभएका कुलकेशर सर नातागोताबाट पनि कर्के नजरमा पर्नुभएको थियो ।
उहाँको एकजना नातेदारले म भाषा निमावि पढिरहेको बेला सोधेको याद आउँछ । उनले भने,“तिमीहरु त लिम्बू, सुँगुरको मासु खान्छौ होला, कुलकेशर दाइ पनि तिमीहरुको घरमा आइरहन्छन्, उनले पनि सुँगुरको मासु खान्छन् ?”
“हामी त कहिलेकाहिँ मात्र सुँगुरको मासु खान्छौँ, सरले कहाँबाट खान पाउनु ?” म यस्तो जवाफ दिन्थेँ ।
धनकुटा जिल्लाको लागि हालको नेकपा, तत्कालिन एमाले लामो दौडको घोडा हो । त्यो घोडालाई सङ्कटको समयमा सुरक्षित तबेला दिएर राम्रो दानापानीको व्यवस्था गर्ने कुलकेशर वाग्लेको घर पनि एउटा हो भन्ने बिर्सिइयो भने त्यो ठूलो घात हुनेछ ।
कुलकेशर सरको कुरा गरिरहँदा उहाँको घरमा कुनै बेला भूमिगत आश्रय लिनुहुने राष्ट्रपति विद्या भण्डारीको बाहुलीबाट केही व्यक्तिले यो वर्षको संविधान दिवसको अवसरमा तक्मा थापे । म आफू चाहिँ फित्ताले बाँधिएको छातीमा झुन्ड्याइने त्यो धातुको टुक्राको महत्व नबुझेर त्यसको अपेक्षा नगर्ने मान्छे । त्यो प्राप्तिको लागि मापदण्ड र प्रक्रियाका विषयमा पनि अनभिज्ञ मान्छे । तर म त कुलकेशर वाग्लेहरुको छातीभित्र धड्कने त्यो आस्थाको स्पन्दनको लयमा लहरिन चाहने मान्छे । त्यसैले मलाई जनकवि गोकुल जोशीका यी शब्दहरु, जसमा रामेश दाइको सङ्गीत छ । यसैमा धक खोलेर गाउन मन लाग्छः
रोक्ने को हो दूरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा ?
* गल्तिवश पर्न गएको घरको फोटो परिवर्तन गरिएको छ ।