कालरात्रीका जुनकिरी अर्थात् राजेन्द्र राई
लामो समयपछि भेट भयो, मेरा हितैषी नरभूपाल राईसंग, लिस्वनस्थित उहाँकै रेस्टुरेन्टमा । डायस्पोरामा रहेर समाजसेवा र व्यवसायलाई सँगसँगै अगाडी बढाइरहनुभएका उहाँ नेपाल आदिवासी जनजाति महासंघ, पोर्तुगलका तत्कालिन अध्यक्ष हुनुहुन्थ्यो ।
डायस्पोराको जहाँसुकै रहे पनि स्वदेशको समकालिन राजनीतिबारे चासो नराख्ने नेपाली कमै छन् । नरजी र म पनि केही सुखदुःख र व्यवहारिक कुराकानीपछि समकालिन राजनीतिक सन्दर्भतिर मोडिइहाल्यौँ । नरजीले केही सम्झेँझै गरेर भन्नुभयो,“ए ! साँच्चै राजेन्द्र राईलाई मन्त्री देलान् त ?”
राजेन्द्र राई अर्थात मेरो जिल्ला धनकुटाबाट विजयी प्रतिनिधि सभा सदस्य । उहाँ मन्त्री हुने वा नहुने कुनै सूचना थिएन, मसँग । त्यस सम्बन्धी सूचनाको स्रोतसम्म पहुँच राख्न पनि असमर्थ व्यक्ति परेँ म । नरजीको जिज्ञासालाई शान्त पार्ने मसँग कुनै भरपर्दाे सूचना नभएपछि यतिमात्र भनेँ,“राजेन्द्र दाइलाई मन्त्री दिने नदिने विषयमा मसँगै त्यस्तो कुनै भरपर्दाे सूचना नभएकोले म अहिले केही भन्न सक्दिनँ, तर यति हो, उहाँकै नेतृत्वमा धनकुटामा एमालेले क्लीन स्वीप गरेपछि चाहिँ उहाँको केन्द्रसम्म राम्रो पहुँच छ भन्ने लाग्छ, फेरि यो मेरो निजी बुझाई मात्र हो ।”
दुःखको कुरा नरभूपालजी अहिले यो संसारमा हुनुहुन्न । नरजीसँगको यो नै मेरो अन्तिम संवाद हुन पुग्यो ।
हड्ताले दाइ
नरजीसँगको छोटो भेटमा भएका यी टुक्राटुक्री राजनीतिक प्रसङ्गमा जब राजेन्द्र दाइको पनि प्रसङ्ग चल्यो, त्यसपछि म उहाँकै सन्दर्भलाई लिएर रुमलिन लागेँ । राजेन्द्र दाइकै फ्ल्यासब्याकहरु आँखाभरि नाच्न थाले ।
सानोमा हामी राजेन्द्र दाइलाई “हड्ताले दाइ”का नामले सम्बोधन गथ्र्यौँ । “हड्ताल” शब्दमा पनि एकलखे लगाएर सम्बोधन गर्दा रिसाउलान् कि जस्तो लाग्थ्यो । तर यस्तो सम्बोधनबाट उहाँमा त गौरव अनुभूति हुँदोरहेछ । अनि हाम्रो गाला चिमोटेर भन्नुहुन्थ्यो, “ल तिमीहरु राम्ररी पढ्नु है ।”
“अनि तिमीहरु हड्ताल गर्न आउँछौ, कसरी राम्ररी पढ्नु नि ?” मैले त्यतिखेर कक्षामा पढाउने शिक्षक शिक्षिका बाहेक कसैप्रति आदरार्थी शब्द प्रयोग गर्न जानेकै थिइनँ ।
“हा.. हा.. हा..” उहाँ हाँस्नुमात्र हुन्थ्यो ।
त्यो बेला म मेरै टोलमा रहेको गणेश प्राथमिक विद्यालयको कक्षा–१ को विद्यार्थी थिएँ । कलेज वा माध्यमिक विद्यालय तहमा पढ्ने विद्यार्थी दाइहरु र सेनासँग असाध्यै डर लाग्थ्यो । एक दिन कक्षा कोठाको झ्यालबाट पुलुक्क चिहाएको मात्र केही थियौँ १०–१२ जनाको सेनाको समूह हाम्रै स्कूलको आगनको डिलमा आड बनाएर हामीतिरै पो राइफल ताकिरहेका ।
अब खत्तम हुने भो ! “ए धने अब के हुन्छ हँ ?” हाम्रो टोलदेखि नजिकै आर्मी क्याम्प रहेको र त्यहाँ उनको बुवा पनि बहालवाला सैनिक भएकोले मैले सहपाठी धनबहादुर गोलेलाई सोधेँ । उनको जवाफले झन खङ्ग्रङ्ग बनायो । उनले भने,“यिनीहरु हामीलाई मार्न आएको, अब हामी लुक्नुपर्छ ।”
उनैले सिकाए अनुसार हामी टाउको लुकाएर बेन्चभित्र छि¥यौँ । अनि सास रोकेर बस्यौँ । राइफल ताक्ने सेना गयो भन्ने थाहा पाएपछि बल्ल बेन्चभित्रबाट हामी निस्क्यौँ । लाग्यो, धन्न बाँचियो !
दाइ विद्यार्थीहरुसँगको डर यस अर्थमा कि उनीहरुले पढ्न दिदैनन् । हाम्रो बालमष्तिष्कमा हड्तालमा उत्रने दाइ विद्यार्थीहरुप्रति यस्तो धारणा थियो, उनीहरु स्कूलमा आउँछन्, पढाउन दिदैनन् । लखेट्छन्, पिट्छन् ।
समय पनि कस्तो परेको, एकातिर स्कूल बन्द गर्दै हिड्ने हड्ताले दाइहरु अर्कातिर हाम्रै स्कूलको आगनमा आएर राइफल ताक्ने सेना ।
“तिमी अलि पछि बुझ्छौ भाइ ।”, हड्ताले दाइ राजेन्द्र भन्नुहुन्थ्यो ।
२०३६ सालको राजनीतिक आँधीहुरीको समयका यी हड्ताले दाइका कुरा एक वर्षपछि मैले बुझि पनि हालेँ, जब हाम्रो दुई घरमध्ये एउटा घरमा राजनीतिक र साँस्कृतिक जमघट हुन थाल्यो ।
२०३७ साल अर्थात् म कक्षा–२ मा पढिरहेको बेलै मैले केही कुरा बुझिहालेँ, हड्ताले दाइहरु राम्रो कामका लागि हड्तालमा उत्रिएका रहेछन् । हाम्रो स्कूलको डिलमा आड कसेर बन्दुक ताकिरहेका सेना पनि देशको रक्षाका लागि तालिम लिइरहेका रहेछन्, यो पनि मैले बुझिहालेँ ।
त्यहीँ समय मेरा दाजु डम्बर सुब्बाले चिनियाँ क्रान्ति ताकाकी चर्चित बालसेना ल्यू हू लानको संघर्षमा आधारित सचित्र कथा पढ्न दिएको मात्रै होइन, त्यसको सप्रसङ्ग व्याख्या समेत गरिदिएपछि मलाई हड्ताले दाइहरु प्यारो लाग्न थाल्यो, जस्तो कि राजेन्द्र राई ।
उहाँले एक दिन मलाई एउटा एक फूट जति लामो पाइप दिनुभयो र भन्नुहुन्थ्यो, “ल भाई यो माइक हो, यसमा बोल्दा ठूलो सुनिन्छ, अनि निलो रङमा भोट दिनुहोस, बहुदललाई जिताउनुहोस् भन्दै फुक्दै हिड्नू है ।”
उहाँले जसो भन्नुभयो, मैले पनि त्यसै गरेँ ।
त्यो समयको हाम्रो टोलको पक्का घर । खरिदार बखतवीर तामाङको घर । अहिले त्यो घर “हिरेको घर” भनेर चिनिन्छ । हिरे अर्थात् राजु तामाङ, मेरा अन्तरङ्ग बालसखा । राजेन्द्र दाइ त्यसबेला हाम्रो छिमेकको त्यहीँ घरमा डेरा गरेर गोकुण्डेश्वर माध्यमिक विद्यालयमा पढ्नुहुन्थ्यो । अनि त्यहीँ स्कूलको अखिलको नेता । राजनीतिक आँधीहुरीको त्यो समयदेखि नै म राजेन्द्र राईलाई जान्दछु र बुझ्दछु
जिल्ला पार्टीमा बागी
२०४६ सालको जनआन्दोलनताका धनकुटा अखिलको नेतृत्व धर्मराज पौड्यालले समाल्नु भएको थियो, र राजेन्द्र दाइ चाहिँ जिल्ला कमिटीको सदस्य हुनुहुन्थ्यो । २०४७ को परिवर्तन लगत्तै सम्पन्न अखिलको जिल्ला सम्मेलनले राजेन्द्र दाइलाई अध्यक्ष चुन्यो । मैले जतिखेर उहाँलाई भेटेँ, त्यतिखेर पनि उहाँ विद्यालय तहबाट अखिलको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो, त्यसबेला म कक्षा–१ मा पढ्थेँ । मेरो कलेज जीवन प्रारम्भ हुँदा ताका पनि उहाँ विद्यार्थी राजनीतिमै सक्रिय हुनुहुन्थ्यो ।
उहाँले विद्यार्थी राजनीतिबाट विदा लिएपछि अखिल धनकुटाको नेतृत्व लक्ष्मी निरौलाले सम्हाल्नुभयो, त्यो कमिटीमा म सहसचिव थिएँ । यो सामान्य सम्झना मेरो लागि किन महत्वपूर्ण छ भने यी हड्ताले दाइलाई जतिखेर मैले देखेँ वा भेटेँ, उनैले नेतृत्व हस्तान्तरण गरेको जिल्ला कमिटीमा म पनि एउटा पदाधिकारी हुन आइपुगेँ ।
सानैदेखि राजेन्द्र दाइको प्रभाव ममा थियो । एमालेको पाँचौँ महाधिवेशनमा प्रतिनिधि छनौटको लागि दुर्गा लिङ्खाको नेतृत्वमा गठीत तीन सदस्यीय निर्वाचन समितिको सदस्य थिएँ म । त्यो बेला बहुदलीय जनवाद पक्षधरमध्ये धनकुटाबाट रकम चेम्जोङ र दुर्गा दहालले मात्रै चुनाव जिते, अन्य जित्नेजति सबै नौलो जनवाद अर्थात सीपी मैनाली पक्षधर । त्यो बेला तत्कालिन सांसद गोपाल गुरागाई र जिल्ला विकास समिति सभापति धर्मराज पौड्यालसमेत महाधिवेशन प्रतिनिधि बन्नबाट चुक्नुभयो । उहाँहरुको बागी हुनुहुन्थ्यो, राजेन्द्र राई । उहाँकै नेतृत्वका पक्षधरहरु महाधिवेशन प्रतिनिधि छनौट भए ।
त्यसबेलाको धेरै आन्तरिक कुरा खोतल्नेतिर कहिल्यै गइनँ, म । मात्र यति हो, त्यो बेला धनकुटा, एमालेमा सत्तापक्षधर जस्तो देखिन्थे, गोपाल गुरागाईँ, रकम चेम्जोङ र धर्मराज पौड्यालहरु, अनि वागीजस्ता चाहिँ राजेन्द्र राई ।
राजेन्द्र दाइ किन बागी ? त्यसबेला मेरो मनमा यो कुरा खेलिरह्यो । कसैलाई सोधेको थिइनँ । उहाँको नेतृत्वमा रहेको धनकुटा अखिलको सचिव विनोद लुइटेल (हालः सहप्राध्यापक डा. विनोद लुइटेल)को एक रात बास प¥यो मेरो घरमा । उहाँ मलाई धनकुटा अखिलको भावी कमिटीमा बस्न सम्झाई बुझाई गर्न आउनुभएको थियो ।
“किन राजेन्द्र दाइ पार्टीमा सधैँको बागी ?” मेरो जिज्ञासा ।
लुइटेलले भन्नुभयो,“मलाई पनि धेरै कुरा त थाहा छैन, तर उहाँले आफूलाई साथीहरुले कहिल्यै अगाडी बढ्न नदिएको भन्दै एक दिन त मेरो कोठामा आएर रुनु पनि भो ।”
सबै कुरा लुइटेलले भन्नुभएन, र मैले कोट्याएर सोधिनँ पनि ।
तर उहाँ धनकुटा एमालेको आन्तरिक बागीका रुपमा प्रस्तुत भइरहनुभयो । २०४७ को परिवर्तन पछि भएको धनकुटा एमालेको जिल्ला अधिवेशनमा त उहाँ पार्टी नेतृत्वकै लागि चुनाव लड्नुभयो । त्यो बेला गोपाल गुरागाईँको मत ११ र राजेन्द्रको ७ थियो । धनकुटाको कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता गोपाल गुरागाई हुनुहुन्छ । उहाँपछि सबैभन्दा जेलनेल खेप्ने चाहिँ राजेन्द्र दाइ नै हुनुहुन्छ ।
त्यसपछि हाई हाई
कुनै समय थियो, धनकुटा क्याम्पसमा अत्यधिक जनमत अखिलको हुँदाहुँदै अखिल कार्यकर्ताले नै नेबि संघबाट पिटाई खानुपर्ने । त्यसको एउटा भुक्तभोगी म आफै पनि हुँ । जब २०५३ सालतिर सुजन भाइ जोशीहरुको धनकुटा अखिलमा उदय भयो, तब नेवि संघले कुटाई खानुपर्ने दिन प्रारम्भ भयो ।
फेरि धनकुटामा एमाले संकटमा फस्यो । वाईसीएलको जगजगी भयो, धनकुटामा, २०६२÷६३ को जनआन्दोलन लगत्तै । काँग्रेस वा नेवि संघ झडपमा उत्रन छाडेको एक दशक भइसकेको थियो । अब जुध्ने पालो आयो, वाईसीएल र युथ फोर्सको । युथ फोर्सले क्लीन स्वीप बनाइहाल्यो । यसमा सुजन भाइ जोशीहरुको ठूलो हात छ र भूमिका चाहिँ राजेन्द्र राईको । त्यो बेलादेखि नै राजेन्द्र राईको धनकुटामा हाई हाई मच्चिहाल्यो ।
समय क्रममा मैले चिने जानेको राजेन्द्र राई स्थानीय निर्वाचनको परिणामपछि एमाले अध्यक्ष केपी ओलीद्वारा सम्बोधित हुनुभयो,“म्यान अफ् द म्याच ।”
यी म्यान अफ् द म्याच मन्त्री बनाइएनन् । सोचेको थिएँ, केन्द्रीय सदस्य देलान् । त्यो पनि दिएनन् । तर उहाँ प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । कुनै न कुनै भूमिका खेल्न सक्नु हुन्छ ।
त्यो पञ्चायतकालिन कालरात्रीमा चम्कने एउटा जुनकिरी हुनुहुन्छ, राजेन्द्र दाइ, जसलाई मैले उसबेलै देखेँ, जुनकिरीका रुपमा । आशा छ, उहाँले अरु समकालिन जुनकिरीहरुलाई पनि सम्झदै जानुहुनेछ ।