गजुरगाने माइलाको कथा
म आफ्नो कपाल आफै काट्ने गर्छु । तर धेरै वर्षपछि अस्तिको साता चैं म सैलुन छिरें । ‘सरको कपाल कति पातलो ? हामीसँग स्पेसल सेम्पु छ त्यो प्रयोग गर्नुस् । दुईवटाको तीनसय डलर मात्रै !’ भन्दै चिनियाँ हजामले मेरो कपाल बिस्तारै काट्नु थालिन् । म ऐनाभित्र छिरें ।
गजुरगाने माइलालाई मैले पहिलोचोटि मकै झुत्याउने बेला राम्रोसँग चिन्न पाएको थिएँ । हाम्रो घरदेखि अलिपर डाँडामा थियो उसको घर । उस्का चारजना थिए छोराछोरी । फुचिङ्गी माइली उसको जहानको नाम । दिनभरि मकै भाँच्ने खेताला आउँथ्यो ऊ सपरिवार र साँझको भात खाएपछि मकै झुत्याउन पनि सघाउँथ्यो ।
मकै झुत्याउन खुब रमाइलो लाग्थ्यो मलाई । टुकी बालेर गाउँखाने कथा भन्दै मकै झुत्याउँथे ठूला मान्छेहरू । ‘ऐचन ढुङ्ग्रो, पैचन टार, क्या हो ?’ यो मेरो आमाको लोकप्रिय गाउँखाने कथा । गजुरगाने माइलाका गाउँखाने कथाहरू गजबका हुन्थे- ‘सेतो गाई,पानी खान गै, पानी खाएपछि रातो भै, क्या हो ?’ ‘बिहान चार खुट्टा, दिउँसो दुई खुट्टा, बेलुकी तीन खुट्टा, क्या हो ?’ म गाउँखाने कथाको उत्तर खोज्न कल्पना गर्थें । र, आफूलाई लागेका उत्तरहरू भन्थें ।
म उनीहरूको बीचमा पसेर थोते मकै खोज्थें । सानो पुन्टे थोते मकै पोलेर खानु कम्ता त स्वाद लाग्दैन थियो । मकैको जुङ्गा पनि म एकमुठि बोक्थें । सिँगान चुहिरहने नाकमुनि मकैको जुँगा टाँसेर मान्छेहरू तर्साउँथें ।
गजुरगाने माइलालाई पनि मकैको जुँगा लगाएर तर्साएँ । ऊ तर्से जस्तो गर्थ्यो- ‘आप्पुइ, बा झान्नैले मेरो सातो खाइस् बिर्सुते !’ म हाँस्थें मरिमरी । तेतिबेलै आमाले मकैको जुँगासङ्गै नाकको सिँगान पुछेर फ्यालिदिनु हुन्थ्यो ।
गजुरगाने माइलाको घाँटीमा गानो थियो । खासमा गलगाँड थियो त्यो । आयोडिनयुक्त नुन खायो भने गलगाँड आउँदैन भनेर रेडियोले फुकिरहन्थ्यो । गजुरगाने माइला हेल्थपोष्टको छेउसम्म पनि गएन ।
‘हाउ ! माइला ! तेरो घाँटीको गानोको उपचार हुन्छ । हेल्थपोष्ट जा, भिटामिन औषधि खा, निको भैहाल्छ त ।’ बाउले उसलाई भन्थ्यो ।
‘हाउ काका ! मलाई सुईसँग सारै डर लाग्छ नात्र त नर्स्नी भेट्न जान्थें नि, ह्याह्याह्या ।’ भन्दै हाँस्थ्यो ऊ । ऊ हाँस्दा गानो पनि हल्लिन्थ्यो ।
एकदिन मकै झुत्याउँदा गाउँखाने कथा सकियो । चुपचाप सबैले मकै झुत्याउँदै गए । मैले हाइ काढेँ । सबै चुपचाप भएको देखेर गजुरगाने माइलाले भन्यो- ‘हाउ भूतको कथा सुन्छौ तिमेरु ?’
‘सुन्ने सुन्ने ! लु चाँडो भन माइल्दाइ !’ मैले गजुरगाने माइलाको इस्टकोट तान्दै भनें ।
टुकीको सलेदोमा आँखा पर्दा उज्यालो मधुरो हुँदै थियो । मकैको झुत्ता फ्याल्दा टुकीको उज्यालो हल्लिन्थ्यो । तब आँगनको अँध्यारोले सिकुवासम्म हात लम्क्याउन खोज्थ्यो ।
‘हाउ माथि भञ्ज्याङको पाटी छ नि ! त्याहाँ उइले नै परदेशीहरू बास बस्थे । राति धाननाच हुन्थ्यो । गाउँमा दुई दिदीबहिनी थिए । उनीहरू परदेशीहरूसँग धान नाच्नु त्यो पाटीमा जान्थे । पाटीदेखि माथि डाँडामा देखिने भत्केको घर छ नि, हो त्यो घर तै दिदीबहिनीको घर अरे ।’
‘एकदिन दिदीबहिनीहरू गाउँबाट हराए । परदेशीहरूसँग फच्चा (पोइल) गए उता सुखिम देखतिर भन्थे ।’
‘अनि त्यसपछि के भो त माल्दाइ ?’
‘अनि त्यसपछि एउटा परदेशी युवक पाटीमा बास बस्न आइपुगेछ । भात खाएर सुत्ने बेला ती दुई दिदिबहिनी टुप्लुक्क आए अरे ।’
दिदीबहिनी – ‘सेवारो आलुङे ! शुभनाम र थर के पर्यो होला ? कति नदि तर्नु भो, कति डाँडा काट्नु भो होला ? हाम्रो गाउँमा बास बस्न आइपुग्नु भो, साइनोसम्बन्ध लागेन भने धान पो नाचुङ होला ।’
परदेशी पनि झलझल वैंशले बलेको के कम ? तीनजना धाननाच्नु थालेछ्न् । तर, पालाम त दिदीबहिनीले भनेन छन् । तब परदेशीलाई निन्द्रा लागेछ र भनेछ- ‘लु अब तपाईंहरू पनि फर्किनु होस् । भोलि बिहानै उठेर बाटो लाग्नु छ म पनि ।’
‘परदेशी युवकले यसो भन्दा त दिदीबहिनी रुनु थालेछ्न् । रुँदारुँदै धाननाच्दा समाएको हात चिसो हुन थालेछ । त्यतिकैमा दिदीबहिनी बिलाएछ्न् । परदेशीले दुईवटा हातको टुक्रा मात्रै समातिरहेको रहेछ । उसले तर्सेर आफूले समाएका दुईवटा हात फ्यालेछ । भुइँमा झरेर ती दुई हात त रुखको मक्किएको हाँगा भएछ । तब त्यो परदेशी युवक राति नै त्यो पाटीबाट भागेछ । त्यो परदेशीलाई आधा बाटोसम्म दिदीबहिनी रोएको आवाजले पछ्यायो अरे ।’
गजुरगाने माइलाले यो कथा भन्दा डरले म काँपिरहेको थिएँ । तर पनि म उसलाई सोध्थें- ‘अनि माल्दाइ, कसरी भूत भयो त दिदीबहिनी ?’
माइल्दाइ भन्थ्यो- ‘चारपाँच जना परदेशीहरूले उनीहरूको ईज्जेतमा दाग लगाएर मारेर त्यै पाटीमा पुरेको रहेछ । त्यो पाटीमा एकचोटि एकजना बिजुवा बास बस्न आउँदा उसले थाहा पाएछ र गाउँलेहरूलाई बोलाएर भुइँ खनेर हाडखोर निकालेछ । अहिले त्यो पाटीको छेउमा दुईवटा पुरानो चिहान छ नि, हो त्यो हाडखोर निकालेर बिजुवाले दुईवटा चिहान बनाएर पुरेको ।’
त्यसपछि त त्यो पाटीमा परदेशीहरू बास बस्न छाडे । पाटी खण्डहर भयो । हिजोआज पनि त्यो पाटीको छेउछाउ मान्छे रोएको आवाज सुनिन्छ अरे कैलेकाहिँ ।
गजुरगाने माइलाको खास नाम चैं चक्मके हाङ्सरुम्बा हो ।
धेरै वर्षपछि मैले उसलाई झापाको सुरुङ्गा मेलामा भेटाएको थिएँ । ऊ बसाइँ सरेर झापा झरेको रहेछ । ‘सेवारो माइल्दाइ ! मलाई चिन्नु भो ? म बिर्सुते, माथि पहाड जारिङ्गे, पहलमानको छोरा !’
गजुरगानेले निधार खुम्च्यायो र सम्झियो । उसको दाहिने गालाको मुनि गलगाँड थिएन अहिले, त्यो ठाउँमा सानो दाग थियो ।
‘आन्त हाउ ! जारिङ्गे गाउँको के छ हाल्खबर ? पहलमान काकाकाकी के गर्दैछन् ?’ सोध्यो उसले ।
‘म त हिजोआज काठ्मान्डु बस्छु माल्दाइ । बुबाआमा त उहिले बितिसक्नु भो नि ।’ मैले भनें ।
‘एह ! नि मेरो काकाकाकीलाई एकचोटि नभेटी बित्नुभएछ । अनि हाउ म पनि अपर्झट झापा बसाइँ सर्नु पर्यो । भाग्यले बाँचेको पो त म ।’ माइखोलाको बगरको मानवसागरलाई छिचोल्दै हामी गफ गर्दै अलि भिडभाड कम भएको ठाउँतिर बढ्न थाल्यौं ।
‘के भो र माइल्दाइ ? बिरामी हुनुभो ?’
‘बिरामी त भएँ त एकमहिना । खेतमा पानी हाल्नु गाको थिएँ राति । त्यो कलुवाको घर पल्लोपट्टिको ओरालोबाटो थ्यो नि, ह त्याँ ! मुर्कुट्टाले बाटो छेकिहाल्यो त हाउ । एकमाना रक्सी खाएर हिँडेको थिएँ । तीन वर्षको नानीजत्रो थियो त्यो मुर्कुट्टा तर कालो न कालो ! टाउको थिएन । आँखा कुममा थियो ।’
‘बाटो छोड् च्याँठा माक्सोते ! कराएँ । हातमा कोदालो थियो । एत्रो ! बाटो त छोड्दै छोडेन ! मेरो पालो कोदालोले लुम्मै बजाएँ । हाउ ! अचम्म कोदालो त हातबाट चिप्लेर खोल्सातिर पसिगो । तबो त मलाई ल्याम्मै अँगालो हालेर पछार्नु थाल्यो त हाउ ! चिसो न चिसो थियो त्यो मुर्कुट्टा । मैले पनि बल निकालेर पछारें । हामी दुई लाप्पा खेल्दैखेल्दै खेतसम्म आइपुग्यौं । खोलाको मास्तिर पुगेपछि कसोकसो गर्दा तेसको खुट्टा समात्न पुगें । खुट्टामा समाएर फनफनी घुमाएर खोलातिर फ्याँकेँ । तर खोलामास्तिरको सरकारी कुलोसम्म मात्रै फ्याँक्न सकें । कुलोको पानी छप्लाङ गर्यो । केहीबेर मतिर फर्केर त्यो मुर्कुट्टा उभिरह्यो । मैले खेतको हिलो निकालेर मुतें अनि पिसाब मुछेको हिलोको डल्ला बनाएर त्यसलाई हानें । त्यसको छातीमै लुम् गरेर लाग्यो र खोलातिर गएर बिलायो ।’
‘घरमा आएर म बिरामी भएँ । हन्हन्ती ज्वरो आयो । फेदाङ्माले त्यो मुर्कुट्टासँग वाचा गर्यो । मैले गाउँ छोड्नु पर्ने भो ।’
मैले भनें- ‘हैन होला हाउ माइल्दाइ ! भूतप्रेतको अस्तित्व हुँदैन । हाम्रो भ्रम मात्रै हो ।’
माइल्दाइले भन्यो- ‘उसो भए मैले भ्रमसँग नै लाप्पा खेलेको हो त ? हैट् ! परेपछि मात्रै थाहा हुन्छ भूतप्रेत हुन्छ कि हुँदैन !’
नास्ता खान हामी एउटा होटलमा छिर्यौं ।
‘तपाईंलाई त उहिले गाउँमा सबैले गजुरगाने ! गजुरगाने भन्थ्यो । खासमा तपाईंको नाम त चक्मके रैछ नि ! हगि माल्दाइ ?’
‘हाउ ! गजुरगाने चैं तिम्रै बाउले राखिदिएको नाम है ! काकाले मलाई गजुरगाने भन्नुको कारण तिम्रो बाउ र मलाई मात्रै थाहा छ । तर अरुले सोच्थे, मेरो गलगाँडको कारण मलाई गजुरगाने भनेको होला ।’
‘खासमा कि तिम्रो बाउ सोक्पाको हड्डी, स्यालको सिङ्ग, सर्पको मणि, हनुमाने पैसा, कालो गजुरगानो, इत्यादि खोजिरहने । एकदिन काकाले मलाई भन्यो कि हाउ चक्मके ! तल त्यो ताक्मारे खोलाको छाँगातिर कालो गजुरगानो पाउँछ कि खोज्नु जा त, भेटेर ल्याइस् भने हरियो गैंडाको कट्कटे नोट दिन्छु ।’
‘कालो गजुरगानो कस्तो हुन्छ काका ?’
‘डिट्ठा भ्याकुर देखेको छस् ? तेस्तै हुन्छ तर अलिक कालो !’
ताक्मारेको छाँगामा गएँ । लहराहरूमा वनतरुलको कालो गेडाहरू मात्रै भेटें । फर्केर उकालो चढ्दै आउँदा प्रधान तुम्बाको मकैबारीमा काल्पोके लागेको रहेछ । त्यो काल्पोके चोरेर घर लगें त्यसलाई तेलले भिजाएर तिम्रो बाउलाई भनें – ‘हाउ काका तीनवटा फलेको रैछ कालो गजुरगानो । एउटा खोलाको उँधोतिर उडेर गयो, अर्को खोलाको उँभोतिर उडेर गयो । मुस्किलले एउटा समातेर ल्याएँ, यो पनि आकाशतिर उडेर जानू लाग्दैथ्यो टोपीले झ्याप्पै छोपिहालेँ ।’
‘काकाले सय रुपियाँ दिन्छ कि भनेको त लात्ती र गाली मात्रै दियो, ह्याह्याह्या ।’
‘कालो गजुरगानो खोज्दा आधा उमेर बिताइसकेको छु च्याँट्ठा ! मकैको काल्पोके पनि नचिन्ने ठान्छस् मलाई ? स्यालको सिङ खोज्ने पहलमान हुँ म, बुझिस् ? तिम्रो बाउले यसो भन्यो कि । अन्त त्याँबाट नै मेरो नाम गजुरगाने रहन गयो ।
‘गजुरगाने त मेरो बाउको नाम हुनुपर्ने हैन र ?’ मैले सोधेँ ।
गजुरगाने मुस्कुरायो । भन्यो- ‘यदि तिम्रो बाउको नाम गजुरगाने हुन्थ्यो भने मेरो नाम काल्पोके हुन्थ्यो । त्यसकारण काल्पोके भन्दा त गजुरगाने नै ठीक हो भन्ने लागेर चुप लागें ।’
यस्तैयस्तै गफगाफ गरेपछि सुरुङ्गा मेलाबाट हामी छुट्टियौं । हिजोआज म शिवगन्जतिर बस्छु भनेर गजुरगाने मान्छेहरूको भिडमा अलप भयो । माथि पुलमा निस्केको थिएँ पछाडिबाट कसैले बोलायो- ‘बिएम(बिर्सुते माइला) ! हाउ बिएम !’
पछाडि फर्किएँ । विक्रम अपराधी रहेछ । ‘आज चैं पुराना मान्छेहरू भेट्ने जोग रहेछ ।’ मैले भनें ।
‘तितिम्ले को भेट्यौ ? मैले पनि आज बिबिहानैबाट पुरानो मान्छे भेटेको भेटेकै छु ।’ विक्रम अपराधीले भन्यो ।
‘गजुरगाने माइलालाई भेटेको थिएँ ।’
‘हाउ हावा कुरा चैं नगर ! चक्मके माइला उर्फ गजुरगाने मरेको दुई साल जति भो होला ।’
मनमा चिसो पसेर आयो । ‘हाउ के भएर मरेछ ?’
‘ताक्मारे खोलाको छाँगाबाट चिप्लेर मरेछ । उसको लास पनि लहरामा पो अल्झेको थियो रे हाउ । लास निकाल्नु कम्ता गाह्रो भएन रे हाउ ! के खोज्नु तेता गएछ कोनि ! काल खोज्नु गएछ कि ! तेस्तै भो !’
‘एह ! उसो भए म झुक्किएँ होला । मैले भेटेको मान्छे अर्कै होला ।’ मैले गजुरगाने माइलालाई भेटेको बारे धेरै दाबी गर्नु उचित लागेन ।
मैले विक्रम अपराधीलाई सोधेँ – ‘तँ त ज्युँदै छस् नि !?’
विक्रम अपराधीले मलाई राम्रोसँग तलदेखि माथिसम्म हेर्यो र ऊ आफ्नै बाटो लाग्यो ।
सुरुङ्गाको चोक बजारमा ‘रामजनम सैलुन’ थियो । म त्यहाँ छिरें । ऐनामा आफ्नो अनुहार हेरें र आफैलाई सोधेँ – ‘म पो मरिसकेको मान्छे हुँ कि !?’
सैलुनको ऐनामा देखेँ – बाहिर गजुरगाने माइला मलाई हेर्दै मुसुमुसु हाँस्दै चिया पिउँदै छ ।
‘टाउको धुनु उ: त्यहाँ जानुहोस् !’ चिनियाँ हजामले भन्दा मात्रै म झस्किएँ । पसिना निधारमा आएको रहेछ । ‘सैलुनमा आज पहिलोचोटि कपाल काट्नु भएको हो ?’ चिनियाँ हजामले ङिच्च हाँस्दै भनिन् ।
‘म टाउको घरमै गएर धुन्छु ।’ मैले अस्सी डलर काउन्टरमा दिएर कोठातिर दगुरें । कपाल काटेपछि आफैलाई पात बिनाको रूखजस्तो लागिरहेको थियो ।
जारिङ्गे गाउँमा गजुरगाने माइला भन्दा राम्रो चिरिच्याट्ट कपाल काट्न सक्ने कोही थिएन । बहिदार बाजे थियो अर्को मै हुँ भन्ने, उसले समेत खेतको गरा जस्तो कपाल काट्थ्यो । ‘बाजे ! खेतको गरा बनाइदिनु भएछ नि कपाल त !’ यसो भन्दा बहिदार बाजे भन्थ्यो- ‘जुम्रालाई अप्ठ्यारो बनाइदेको, च्याँठाहरू ! कुरा बुझ्नुसुझ्नु छैन !’
कोठा आएपछि मनमा कुरा खेल्न थाल्यो, एउटा प्रश्नको उत्तर भेटेजस्तो लाग्यो । मान्छे मरेपछि कता जान्छ ? मलाई लाग्यो- ‘मान्छे मरेपछि मान्छेकै स्मृतिमा जान्छ ।’