• बिर्सिइएका* जुनकिरी अर्थात रेख ब्लोन

  • हाम्रो टोलबाट एक जना दाइ हराए, कता गए कता ? पढेलेखेका, हट्टाकट्टा व्यक्तित्वशाली यी दाइको कुनै खुटखबर थिएन । मलाई पनि चिन्ता लाग्थ्यो, कहाँ गए होलान् यी दाइ ?

    अरु पनि प्रसंगहरु थिए, ती दाइसंगका । तर ती दाइले गुच्चा खेलिरहेका हामीलाई हातगोडा धुन लगाएर सबैलाई भेडाबाख्राको बथानजस्तै गराएर विद्यालयमा नाम लेखाइदिएको सन्दर्भले पनि ती दाइको सम्झना आइरहन्थ्यो । कक्षा १बाट माथिल्लो कक्षामा पुग्दै गर्दा म राम्रो विद्यार्थीका रुपमा विद्यालयको गन्तीमा परिसकेको थिएँ । मलाई विद्यालय भर्ना गरिदिने दाइ चाहिँ विगत एक वर्षदेखि बेपत्ता । मलाई ती दाइको सम्झना विशेष रुपले आइरहन्थ्यो । तत्कालिन शैक्षिक सत्र ०३५-३६मा म कक्षा १ मा भर्ना भएँ, हाम्रै टोलको गणेश प्राथमिक विद्यालयमा ।

    गाउँलेहरु भन्थे, “…कहाँ गयो होला नि ? कुनै खुटखबर छैन !”

    म दिदीहरुको साथ लागेर ओरालो झर्दै थिएँ, धनकुटा बजारमा निशान भगवती मन्दिरतिर । त्यहाँ मेरा बुबाले नेपाली सेनाको कप्तान हुँदादेखि नै एक जोर परेवा चढाउने गर्नु भएको रहेछ, हरेक वर्षको दशैँमा । बुबाले दिदीहरुलाई जिम्मा दिनुभयो, म उनीहरुको पछि लागेर जाँदै थिएँ ।“ऊ …दाइ !” एक जना दिदी चिच्याइन् । त्यसपछि म पनि चिच्याएँ,“…दाइ !”

    यो २०३६ सालको दशैंको महानवमीको क्षण ।उहाँले विनम्र शैलीमा हामी भाइ–बैनीहरुलाई मायालु पाराले हेर्नु भो र सोध्नुभयो, “तिमीहरुलाई राम्रै छ ?”“हे…हे…”, हामी हाँस्यौँ, खुसी हुँदै । सायद दिदीहरुभन्दा अलि बढि म नै खुसी थिएँ कि त्यो बेला !

    वास्तवमा ती दाइलाई उहाँका आमाबुवाले लाहुर गएको देख्न चाहन्थे । तर ती दाइ जब फर्के, तब हाम्रो टोलमा यस्तो गीत पो गुन्जन थाल्यो,
    नजाऊ अंग्रेजी पल्टनमा
    नमार गरीबलाई
    मलायाका जनता हुन् हामी दुःखी
    उनीहरुले चाहेका छन् हुनलाई सुखी…

    जनकवि गोकुल जोशीका शब्दहरु हुन्, यी । यस्ता गीतहरु त उनै अंग्रेजी पल्टनमा गएर, दोस्रो विश्वयुद्ध लडेर छातीमा बर्मा स्टारको तक्मा थापी पेन्सन पकाई नेपाल फर्केर नेपाली सेनामा समेत काम गरेका कप्तान आशबहादुर लिम्बुको एउटा घरमा पो गुन्जन लाग्यो ।

    तरङ्ग छायो टोलमा

    हँसिला, रसिला ती दाइको पुनरागमनपछि त हाम्रो टोलमा उभार छायो । तरङ्ग आयो । गानाबजाना, नाराजुलुश, पोस्टरिङ, भित्ते लेखन आदि । वरपरका मानिसहरुको जमघट । नौला नौला मानिसहरुको गोप्य रुपमा आगमन । उनीहरुको अनौठा अनौठा लाग्ने कुराकानी । अनौठा बानी करप्प हात मिलाएर जुरुक्क मुट्ठी उचाल्नु पर्ने शैली । किताब र पत्रपत्रिकाको थुप्रो । यस्ता गतिविधि हाम्रो दुई घरमध्ये एउटामा हुने गरेको थियो । गोप्य रुपमा आउने मानिसलाई हाम्रो परिवारले पाहुना भन्ने गरेको थियो । पाहुनाहरु चाहिँ मूलघरमै आउँथे खाना खान ।

    यी सबैको चाँजोपाँजो मिलाउन ती दाइ अर्थात् रेख ब्लोन र मेरा दाजु डम्बर सुब्बाको विशेष जिम्मेवारी भित्रमा परेको थियो, त्यो मेरो बाल्यकालको स्मृतिले भ्याएसम्मको दृश्य र उनीहरुबीचको संवाद सम्झँदा । स्पष्ट छ, त्यो तत्कालिन मालेको गतिविधि थियो । यस्ता गतिविधिमा मसुक्क हाँस्दै आउनुहुन्थ्यो, गोपाल सर अर्थात् गोपाल गुरागाईँ ।

    हामीले दिएको सेल्टरमा नियमित रुपमा आउने पार्टीका सङ्गठकमध्ये धेरैजसो चाहिँ चित्र निरौला हुनुहुन्थ्यो । उहाँपछि रमेश खनाल आउनुहुन्थ्यो । खुनारायण श्रेष्ठ पनि आउनुहुन्थ्यो । तर आफैले बताए अनुसार राजेश बान्तवा पनि धेरै पटक त्यो सेल्टरमा आउनुभएको रहेछ । उहाँहरुको नाम त मैले बहुदल आएपछि मात्र थाहा पाएको हुँ ।

    पुलिस प्रशासन र सेना नजिकै भएकोले हाम्रो टोलको सुरक्षा संवेदनशीलतामा विशेष ध्यान पु¥याउनु पथ्र्यो । त्यसैले त्यहाँ विशेष मानिसहरु आएका छन् भन्ने सूचना अनुसार चार दिन हाम्रो छिमेकीको घरमा उहाँहरुको खानाको प्रवन्ध गरिएको थियो । आगन जोडिएको त्यो घरमा खान जानेहरु आफै खाएको थाल माझ्थे । खाना खाइसकेपछि एकापसमा हात मिलाउँथे लालसलाम गर्थे । त्यो बेला आउनुभएको रहेछ मदन भण्डारी त्यहाँ । एउटा लामो बैठक बसेको रहेछ । यो कुरा तत्कालिन धनकुटाका सचिव राजेश बान्तवाले मलाई भनेर पुष्टि गर्नु भएको सन्दर्भ हो यो । त्यो बेला हाल धनकुटा नगरपालिकाको साविकको वडा नम्बर २ स्थित कुलकेशर वाग्लेको घर पनि पार्टीका लागि ठूलो सेल्टर थियो । त्यहाँ मदनले प्रशिक्षण दिनुभएको रहेछ । यो कुरा मलाई धनकुटाका पुराना नेता जीवप्रसाद पोखरेलले दिनुभएको हो । बैठक हाम्रो घरले दिएको सेल्टरमा बसेछ, प्रशिक्षण चाहिँ कुलकेशर वाग्लेको घरमा भएको रहेछ ।

    त्यो बैठकअघि मेरा दाजु डम्बरले उनीभन्दा कनिष्ठहरुलाई निर्देशन शैलीमा भनिरहेको सम्झन्छु । त्यो बेला उनीहरुलाई बैठकस्थललाई सुरक्षा घेरामा राख्ने योजना थियो, त्यो सायद ।

    मलाई त्यस्ता गतिविधि हेर्ने छुट थियो । सम्भवत म त्यतिखेर बाल कमरेडको रुपमा विकसित भइसकेको थिएँ । दाजु डम्बरले चिनियाँ क्रान्तिकी बालसेना ल्यू हुलानको कथा पढाएकोले होला, म पनि यस्ता गतिविधिहरुमा सक्रिय भएको ।यसरी हराएका दाई रेख ब्लोनको टोलमा पुनरागमन भएपछि तरङ्ग फैलियो । त्यो बेलाको त्यहीँ तरङ्ग मेरो जीवनकै ठूलो वैचारिक स्कूल हो ।

    कहाँ गएछन् ती दाइ ?

    रेख ब्लोन धनकुटा फर्कनुअघिको मेरो मनमा उत्पन्न एउटा जिज्ञासा थियो, कहाँ गए होलान् ती ? बहुदल आएपछि मात्र थाहा पाएँ, उहाँ त्यो बेला गोरखा जानुभएको रहेछ । छिमेकीको हैसियतले उहाँको उमेर थाहा नहुने कुरै भएन, मलाई । उहाँ त गोरखा जानुभएको रहेछ २० वर्षको उमेरमा पार्टीको सङ्गठन गर्न शिक्षकको रुपमा । ओहो, कत्रो जोश !

    एक दिन मैले एक जना झापाली मित्र गोविन्द पराजुलीलाई भेटेँ । उहाँ तत्कालिन धुलाबारी गाविसको उपाध्यक्ष हुनुहुँदो रहेछ । चिनापर्चीका क्रममा मैले भनेँ, “म धनकुटाको ।”

    त्यसपछि उहाँ बडो उत्साहित हुनुभयो र सोध्नुभयो, “त्यसो भए तपाईँ रेख ब्लोनलाई चिन्नुहुन्छ ?”

    “राम्ररी चिन्छु, उहाँको बारेमा केके बताऊँ तपाईलाई ?” मेरो प्रतिप्रश्न ।

    रेख ब्लोन धुलाबारी माध्यमिक विद्यालयमा शिक्षण अभ्यासका लागि जानुभएको रहेछ, २०३४-०३५ सालमा । त्यसबेलाका कक्षा १० का विद्यार्थी गोविन्द पराजुलीलाई यो गीतले असाध्यै छोएछ,

    हाम्रा गीत सुनिरहने ससाना भाइ बैनी हो
    आजैदेखि सोच भोलि तिमी के के हुने हो ?

    खेतीपाती राम्रो गर्ने किसान हुन्छौ कि
    कारखानामा काम गर्ने मजदुर हुन्छौ कि
    विरामीलाई निको पार्ने डाक्टर हुन्छौ कि
    चेतनाको दियो बाल्ने शिक्षक हुन्छौ कि
    आजैदेखि सोच भोलि तिमी के के हुने हो ?

    “उहाँ हातमा गिटार लिएर हामीलाई यस्तै गीत सुनाउनुहुन्थ्यो हरेक शुक्रबार”, गोविन्दले भन्नुभएको अझै याद छ, “उहाँ टिचिङ प्राक्टिसमा आउनुभएको रहेछ, हामीलाई त बामपन्थी बनाइहाल्नु भयो नि ! उहाँले पढाउँदा पीन ड्रप साइलेन्ट हुन्थ्यो”

    रेख दाइ त्यो बेला मात्र १८ वर्षको हुनुहुन्थ्यो, कक्षा १० लाई पीन ड्रप साइलेन्ट हुने गरी पढाइरहेको बेला ।

    उहाँसँग २० वर्षपछि भेट भयो मेरो । उहाँलाई सोधेँ, “दाइ, तपाईं हराउनुभएको थियो नि त्यो बेला, कता जानुभएको थियो ?”

    उहाँ गोरखा जानुभएको मलाई थाहा भइसकेको थियो । तै पनि सोधेँ ।

    उहाँले गोरखामा जाँदा तत्कालिन पार्टी गतिविधि र जनमत सिर्जना गरेर कार्यक्षेत्र परिवर्तन गर्दै धनकुटा फर्कदै गर्दाकोे क्षण सम्झँदै उहाँले भन्नुभएको कुरा यतिखेर म सम्झिरहेको छु । उहाँकै शब्दमा, “मैले गोरखा छाडेर हिडिरहेको बेला २०÷२२ जना मेरा विद्यार्थीको समूह मलाई पछ्याउँदै आए । केही छाँटिदै आफ्नो घर फर्के । उनीहरुलाई चिया खुवाएर पठाएँ । फेरि केही विद्याथी पछि लागेकै थिए, उनीहरुलाई गाउँको पसलमा खाना खुवाएँ । केही फर्के । तर चार जनाले मेरो साथ छाडेनन् । उनीहरुलाई सम्झाएँ, ‘भाइहरु, तपाईँहरु कहाँसम्म जाने ?’ भाइहरुले उत्तर दिए, ‘तपाईँ जहाँसम्म जानुहुन्छ, हामी त्यहीँसम्म जान्छौँ ।’ त्यसपछि मैले भाइहरुलाई राम्ररी सम्झाएँ र घर फर्काएँ । बडो मुस्किल परेको थियो । उनीहरु मलाई छाड्न चाहिरहेका थिएनन् ।”

    रेख दाइसँग यस्तो संवाद भइरहेको बेला म पत्रकारिता बाहेक एउटा कलेजमा प्राध्यापन गरिरहेको थिएँ । उहाँसँगको यस्तो संवादपछि झन् मलाई एउटा राम्रो शिक्षक हुने प्रेरणा मिल्यो । मज्जाले पढाउँन थाले, हाँस्दै, नाच्दै रमाउँदै ज्ञान भर्दै ।

    त्यो राजवन्दीको गीत
    पार्टीसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र थिए, त्यो बेला हाम्रो घरमा । म लुकीलुकी पढ्थेँ । त्यसैबेलाको एउटा कागज पढेर थाहा भएको हो, मलाई रामसुन्दर यादवको नेतृत्वको तत्कालिन शिक्षक सङ्गठनमा गोपाल गुरागाईं कोषाध्यक्ष हुनुहुँदोरहेछ । रेख ब्लोनका माइला दाजु कृष्ण ब्लोन उपाध्यक्ष हुनुहुन्थ्यो । प्रगतिशील लेखक कलाकार संघको कोशी अञ्चल कमिटी चयन भएको पनि ती कागजपत्र पढेर थाहा पाएको थिएँ । बम देवान अध्यक्ष, जेवी टुहुरे उपाध्यक्ष, शेरबहादुर अम्बर सचिव र रेख ब्लोनले सहसचिवको जिम्मेवारी पाएको जानकारी ।

    रेख दाइको प्रतिभालाई कसैले पनि रोक्न सक्ने अवस्था रहेन । तत्कालिन व्यवस्था विरोधी आन्दोलनमा खुलेआम सक्रिय मानिसले २३ वर्षको उमेरमा नेपालको अफिसर पास गरेर देखाइदियो, माध्यमिक विद्यालय निरीक्षकको पदमा । उहाँको बहाली भयो, इलाममा । दिनभरि सरकारी काम गर्दै रातभरि पार्टीको काम गर्ने मानिसको पछाडी जासुस नलाग्ने कुरै भएन । पार्टीको एउटा महत्वपूर्ण बैठकमा सहभागी भइरहेको बेला उहाँ पक्राउ पर्नुभयो । साढे तीन वर्षको राजकाज मुद्दामा जेल पर्नुभयो ।

    समय पनि कस्तो भने उहाँले मलाई विद्यालय गराइदिनुभयो, त्यसपछि बेपत्ता हुनुभयो । फेरि गाउँ फर्केर जनजागरणमा लाग्नुभयो । जागरणका लागि उहाँहरुले गाउनुहुने गीतमध्ये एउटा टुक्रा यस्तो छः
    सात कक्षामा पढ्ने भाइले भन्यो मसित
    गाइदेऊ न दाइ मलाई राजबन्दीको गीत
    मैले सोधेँ किन चाहियो तिमीलाई यस्तो गीत
    उनले भने म खेल्छु उनकै सपनासित
    त्यसपछि गाएँ मैले राजवन्दीको गीत…

    यो गीत त मैले चार वर्षअघि नै सुनेको थिएँ, रेख दाईकै स्वरबाट । जतिखेर उहाँ राजवन्दी हुनुहुन्थ्यो, त्यो समय म सात कक्षामा पढ्थेँ, अर्थात् २०४२ सालमा ।

    एक दिन मैले अग्रज नेता गोपाल गुरागाईंलाई सोधेँ,“यदि रेख ब्लोन नेपालमै राजनीतिमा सक्रिय हुनुभइरहेको भए उहाँको हैसियत कहाँसम्म पुग्थ्यो ?” गोपाल सरले भन्नुभयो, “यहाँ नेपालमा रहेर राजनीतिमा सक्रिय भइरहेको भए पार्टीको केन्द्रीय सदस्य हुनुहुने थियो भने मन्त्री हुने सम्भावना पनि थियो ।”

    नेपाल आएको बेला रेख दाइलाई उहाँकी एक बहिनीले भनिछन्,“तपाईं त नेपालै बस्नुपर्ने मान्छे, यतिखेर मन्त्री भइसक्नुहुने थियो ।”

    “हा…हा…हा…। म मन्त्री भएको भए कति व्यस्त हुने थिएँ थाहा छ तिमीहरुलाई यसरी भेट्न आउन पनि सक्दिनथेँ”, दाइ मज्जाले हाँस्नुभएछ ।

    ती कालरात्रीका यी जुनकिरी अहिले जापानमा हुनुहुन्छ । उहाँकै भनाइ अनुसार पनि उहाँ ‘पलायन’ हुनु भएको अरे ! किन हो कुन्नि, जान्ने बुझ्नेहरुले नै जानून् ।

    *सच्चाइएको ।

  • कमेन्ट गर्नुहोस्