• डुंगा जीवनको सजिलो र अप्ठ्याराहरु

  • हङकङको महँगो सम्पत्ति मुल्य हेरेर, एयरलाइन कर्मचारी डेभिड जोन्स (नाम परिवर्तन) ले एउटा गज्जबको सम्झौता गरे ।

    तीन वर्ष अघि, २० लाख हङकङ डलर खर्चेर उनले एबरडिनमा छाना र बाल्कोनी भएको १ हजार ५ सय वर्ग फुटको सम्पत्ति खरिद गरे । तर ४२ वर्षे जोन्स, उनकी पत्नि र दुई सन्तानको घर पानीमा तैरिने चीनियाँ रद्दी हो । उनले यही पैसा जमिनमा खर्च गरेको भए त्यही क्षेत्रमा ३ सय वर्ग फुटको एउटा स्टुडियो फ्ल्याट किन्न सक्थे ।

    पानीमा बस्नु केहीलाई आकर्षक लाग्न सक्छ, तर यसको वैधानिकता प्रष्ट छैन । केही वकिलहरु यसरी बस्न पाईन्छ भन्ने नै प्रष्ट नभएको बताउँछन् । त्यसैले, अन्तर्वार्ता लिईएका जोन्स र अन्य थुप्रैले आफ्नो पहिचान नखुलाउन आग्रह गरेका थिए ।

    कुनै आधिकारिक तथ्याङ्क नभए पनि, १ देखि २ हजार मानिसहरु डुंगामा बस्ने गरेको विज्ञहरुको अनुमान छ । तीमध्ये अधिकांश विदेशी नागरिक छन् जो हङकङको महँगा फ्ल्याटको मुल्य खप्नुभन्दा एउटा आरामदायी स्थान चाहन्छन् ।

    डुंगा बाँध्ने स्थानको अभाव छ । सफा पानी, बिजुली र सरसफाइ सेवा पाउन पनि उत्तिकै कठिन छ । अझ धेरै मानिसहरुले बसोबासको यही विकल्प रोजे डुंगावासी कहाँ जालान्, त्यो अनिश्चित छ ।

    उष्णप्रदेशीय आँधीले बारम्बार आक्रमण गर्ने स्थानमा डुंगामा बस्नु त्यत्तिकै जोखिमपूर्ण छ । सन् १९४६ मा अभिलेख राख्न शुरु गरेयताकै सबैभन्दा शक्तिशाली टाईफुन मेङखुतले सेप्टेम्बरमा सयौं डुंगा नष्ट गर्‍यो ।

    “यो सबैका लागि होईन,” ११ वर्षदेखि हङकङमा कार्यरत जोन्सले भने । “धेरै मानिसहरुलाई यो जीवनशैली मनपर्दैन किनभने यसका धेरै बाधाहरु छन् । तर हामी केहीलाई मनपर्छ । हामी सबै नकारात्मक पक्षहरु स्वीकार गर्दछौं र सकारात्मक पक्षहरुको आनन्द लिन्छौं ।”

    आठ वर्षसम्म भाडाको फ्ल्याटमा बसेपछि तीन वर्षअघि, उनी र उनकी पत्निले कम्तिमा पनि एक हजार वर्ग फुटको एउटा घर किन्ने निर्णय गरे । तर सबैभन्दा सस्तो घरको मुल्य नै एक करोड हङकङ डलर थियो । यसका लागि डाउन पेमेन्ट स्वरुप ५० लाख हङकङ डलर बुझाउनुपर्थ्यो । उनीहरुसँग लगानी गर्ने त्यत्रो क्षमता थिएन ।

    त्यही बेला उनीहरुले एउटा डुंगामा बस्ने निधो गरे । उनीहरुले २० लाख हङकङ डलरमा १ हजार ५ सय वर्ग फुटको १५ वर्ष पुरानो चीनियाँ रद्दी माल किने । त्यसमा एउटा टप डेक र बाल्कोनी पनि थियो जसले थप ८ सय वर्ग फुट स्थान उपलब्ध गरायो । उनीहरुले एबरडिन टाईफुन शेल्टरमा डुंगा बाँध्ने स्थान पनि पाए ।

    उक्त शेल्टर, शहरको व्यावसायिक केन्द्रभन्दा केही बिसौनी पर र बालबालिकाको विद्यालय नजिकै, वोङ चुक हाङ एमटिआर स्टेशनबाट १० मिनेटको पैदल दुरीमा छ ।

    “यो आरामदायी छ,” जोन्सले भने । “यति पैसामा हङकङमा एउटा फ्ल्याटभन्दा धेरै स्थान पाईन्छ । पानीमा तैरिने गाउँमा बसेजस्तो हुन्छ । एकदमै शान्त, तर शहर नजिकै ।”

    जीवनशैलीका सम्झौताहरु

    समुद्री जीवन सम्बन्धि अनुभवी वकिल क्रिस्टोफर पोट्सले डुंगा खरिद गर्नु खराब लगानी भएको बताए ।

    “यदि कसैले मसँग आएर डुंगा किन्ने कुरा गर्छ भने, म उसलाई त्यसो नगर्न सल्लहा दिनेछु,” उनले भने । “किनभने त्यो मुल्यह्रास भईरहेको सम्पत्ति हो ।”

    डुंगाको लागि स्थान अभावसँगै, नीजि मरिना बाहिर डुंगा बाँध्ने सेवामा अन्य दैनिक उपयोगिता सेवा, सुरक्षा नियमन वा प्रहरी सेवा पनि उपलब्ध नहुने उनले बताए । त्यसैले त्यहाँ बस्नेहरुले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने र स्वास्थ्य तथा आगलागीको जोखिम पनि आफैंले व्यवस्थापन गर्नुपर्ने उनी औंल्याउँछन् ।

    ग्राहकको सुरक्षाका लागि आफ्नो पहिचान नखुलाउने भन्दै एक डुंगा दलालले बताए अनुसार डुंगाको जीवनशैलीबाट आकर्षित हुनेहरु धेरैजसो पाइलट, शिक्षक, वकिल र कनिष्ठ बैंकरजस्ता आरामदायी रोजगार भएका विदेशी छन् ।

    “फ्रान्सेली, बेलायती, अष्ट्रेलियाली र अमेरिकीजस्ता धेरै पश्चिमेलीमाझ पानीमा बस्ने सँस्कृति छ,” उनले भने ।

    फ्राग्रेन्ट हार्बर नामक समुद्री जीवन सम्बन्धि पत्रिकाका मालिक डेभिड रबिन्सन, परम्परागत माझी अनि याक्ट र क्रुजरजस्ता विलासी जहाजमा बस्ने मध्यम-आय भएका विदेशी लगायत, करिब ५ सय परिवार डुंगामा बस्ने गरेको अनुमान गर्छन् ।

    माझीहरु विशेष गरी एबरडिन, च्योङ चाउ, याउ मा ते र शाउ के वानका टाईफुन शेल्टर वरपर भेटिन्छन् भने, आधुनिक डुंगाहरु दुई नीजि मरिनाका साथै एबरडिन र साई कुङको हेबे ह्याभनमा छन् । स्थानको अभाव गम्भिर छ र अझ खस्किएर जाने अवस्थामा छ ।

    लान्ताउ आइल्यान्डस्थित नीजि डिस्कभरी बे मरिना क्लबले दुई सय डुंगा परिवारलाई यो वर्षको अन्त्यसम्म स्थान खाली गराउन जानकारी गराईसकेको छ । क्लबको मर्मतसम्भार कार्य हुँदैछ । उनीहरु फर्कन सक्ने वा नसक्नेबारे केहि बताईएको छैन ।

    तुयन मुनको गोल्ड कोस्ट नीजि मरिनाले नयाँ हाउसबोट बर्थिङ पर्मिट जारी गर्न र हाल विद्यमान डुंगा आवासको नवीकरण बन्द गरेको छ । टिप्पणी गर्ने अनुरोध गर्दा मरिनाले कुन प्रतिक्रिया दिएको छैन । ४४ वटा सरकारी टाईफुन शेल्टर र शेल्टर्ड एङ्कोरेजमध्ये तीन वटामा मात्रै डुंगाका लागि स्थान छ, र ती स्थानहरु शहर वा पूर्वाधारभन्दा टाढा छन् ।

    अघिल्लो वर्ष यस्ता करिब १० हजार अनुमतिप्राप्त मनोरञ्जन जहाजहरु र डुंगा बाँध्ने करिब पाँच हजार सरकारी र नीजि स्थान भएको मरिन डिपार्टमेन्टको तथ्याङ्कले देखाउँछ । डुंगा बाँध्ने सरकारी स्थान पाउनलाई पाँच वर्षसम्म लाग्ने ती दलालले बताए ।

    डुंगाहरुको मर्मतसम्भार र सरसफाइ पनि गर्नुपर्छ । डुंगा मालिकहरुले बिजुली र पानी आपुर्तिका लागि जमिनका संरचनाभन्दा धेरै शुल्क तिर्नुपर्दछ । यो वापत मासिक २० हजार हङकङ डलरसम्म खर्च हुने जोन्सले बताए । डुंगा मालिकहरुले डुंगा बाँधे वापत मरिन डिपार्टमेन्टलाई मासिक शुल्क बुझाउँछन् । यस्ता स्थानहरुको कालोबजारी गर्नेहरुले चर्को भाडा असुल्छन् ।

    डुंगालाई ठेगानाको रुपमा प्रयोग गर्न सकिदैंन, त्यसैले औपचारिक सम्पर्कका लागि डुंगा मालिकहरुले जमिनमा भएको ठेगाना उपलब्ध गराउनु पर्दछ । उदाहरणका लागि, जोन्सले एक जना साथीसँग हङकङ ईन्टरनेशल एयरपोर्ट नजिकै तुङ चुङमा एउटा सानो फ्ल्याट भाडामा लिएका छन् । यसका लागि उनी मासिक पाँच हजार हङकङ डलर शुल्क बुझाउँछन् ।

    किनारसम्म आउजाउ गर्नलाई, उनको परिवारले एउटा सामपान प्रयोग गर्नुपर्दछ । यो तीन मिनेटको यात्राका लागि प्रति व्यक्ति सात हङकङ डलर शुल्क बुझाउनुपर्छ ।

    “किनार पुगेर चिनी बिर्सिएर आउन मिल्दैन । सबै कुराको योजना अग्रिम रुपमा गर्नुपर्दछ,”, उनले भने ।

    टाईफुन मेङखुत अघि, उनले आफ्नो डुंगा र त्यसमा भएका सम्पूर्ण सामग्री सुरक्षित राखे, र नजिकैको एउटा बोट क्लबमा परिवारले आश्रय लियो । अन्यको तुलनामा उनको डुंगामा सामान्य क्षति पुगेको थियो । एउटाको त छानै उडाएको थियो । खर्चहरु थुप्रै छन् तर यही आकारको फ्ल्याट भाडामा लिएभन्दा निकै कम खर्च भईरहेको जोन्स बताउँछन् ।

    “मासिक खर्च त उठ्दैन, तर बचत भएको पैसाले तपाईंको सम्पत्तिको मुल्य कायम राख्न सहयोग गर्दछ, र त्यसपछि जीवनशैलीमा खर्च हुन्छ,” उनले भने ।

    ४४ वर्षिय हुल्डा थोरी पनि पति र चार सन्तानसँग २०१६ सम्म चार वर्ष एउटा डुंगामा बसेकी थिईन् । उनीहरुको ६० फुट लामो क्याटमरेन धेरैजसो हेबे ह्याभनमा बाँधिएको हुन्थ्यो । मातृत्व क्लिनिक एन्नर्लीकी निर्देशक थोरीले विद्यालय वा काममा जानलाई उनको परिवारले एउटा सानो डिंगी चढ्ने गरेको बताईन् ।

    “कहिलेकाँही एकदमै चुनौतीपूर्ण हुन्थ्यो, तर त्यो एकदमै रोमाञ्चक हुन्थ्यो,” उनले भनिन् । “घर चाँहि अलि बढी अनुमान गर्न सकिने, बलियो र स्थिर हुन्छ ।”

    बिहान ब्युँझदा समुद्रतटमा देखिने झुल्के घामको दृश्यसामु खर्चको खासै वास्ता हुदैन थियो ।

    “त्यहाँ व्यस्तता भन्ने केही हुदैन,” उनले भनिन् । “तपाईं प्रकृतिमै लिप्त हुनुहुनेछ ।”

    सन् १९९० को दशकमा पाँच वर्ष पानीमा बसेका रबिन्सन भन्छन्,”जीवनमा यति धेरै आनन्द लिन सकिन्छ भने, हामी किन पुरै जिन्दगी घरबेटीलाई भाडा तिर्दै र आफ्नो सम्पत्तिबारे चिन्तित भएर बिताउनु ?”

    कानुनी व्यवस्था, आगलागी र सरसफाइ

    डुंगामा बस्ने जीवनशैलीको आफ्नै आकर्षण होला, तर कानुनी रुपमा यो अपरिभाषित क्षेत्र हो । सन् १९८३ मा संस्थागत गरिएको एउटा कानुन अन्तर्गत, याक्ट, क्रुजर र ओपन क्रुजरलाई विशेष गरी मनोरञ्जनको प्रयोजनका लागि मात्रै प्रयोग गर्नुपर्ने र बासस्थानकै रुपमा यस्ता जहाजहरुको प्रयोग वैधानिक नभएको उल्लेख छ ।

    सन् २०१३ देखि यो वर्षको अगष्टसम्म, मनोरञ्जनका डुंगाहरुलाई मनोरञ्जनको प्रयोजनका लागि मात्रै प्रयोग नगरेको ६० वटा घटना दर्ता भएको मरिन डिपार्टमेन्टकी एक प्रवक्ताले बताईन् ।

    पोट्सजस्ता वकिलहरु “मनोरञ्जनको प्रयोजन” र “बासस्थानको जहाज” जस्ता परिभाषाहरु “अत्यन्तै उदार व्याख्या” का लागि खुला भएको तर्क गर्दछन् ।

    कुनै परिवार डुंगामा बसेको वा केही रात मात्रै बिताएको भन्ने निर्क्यौल गर्न कठिन भएकोले यातायात क्षेत्रका विधायक फ्राङ्की यिक चि-मिङले मरिन डिपार्टमेन्टका अधिकारीहरुले नियमनमा कठिनाई हुने गरेको आफुलाई बताएको सुनाए ।

    सन् १९५० को दशकमा, करिब एक लाख मानिसहरु एबरडिन, कजवे बे, चाई वान, शाउ केई वान, याउ मा ते र बाहिरी क्षेत्रका टापुमा समुद्रमा बस्ने गर्दथे । धेरैजना साना डुंगामा गरिबीमा बाँच्ने गर्थे । त्यही समयताका सरकारले यस्ता गरिब परिवारलाई निम्न शुल्क भएको सरकारी आवासमा सार्न थाल्यो । सुरक्षा र सरसफाइको जोखिमका कारण टाईफुन शेल्टरमा हाउसबोटको संख्या घटाउन यसो गरिएको थियो ।

    १९५० को मध्यदशकबाट १० वर्षसम्म ६३ वर्षिया एन्ना पोङ कित-होले एउटा माछा मार्ने डुंगामा जीवन बिताईन् । आठ जनाको उनको परिवार अर्को सात जनाको परिवारसँग कति मुश्किलले बाँचेको थियो भन्ने उनको स्मरणमा ताजा छ । उनीहरु याउ मा तेईको टाईफुन शेल्टरमा बस्दथे । यो त्यतिबेलैदेखि भरिदैं आएको छ ।

    प्रत्येक परिवारलाई करिब सय वर्ग फुट जतिको एउटा कोठा थियो । उनीहरु नुन पानीले नुहाउँथे र समुद्रलाई नै शौचालयका रुपमा प्रयोग गर्थे । सन् १९६६ मा उनको परिवारलाई स्थानान्तरण गरियो । पहिले उनीहरु एउटा सुकुम्बारी क्षेत्र र त्यसपछि पुनर्वास क्षेत्रमा बसे ।

    “पुनर्वास क्षेत्रमा जीवन सजिलो बन्यो, किनभने त्यहाँ एउटा शौचालय, पानी र बिजुली थियो,” उनले भनिन् । “तर मेरो आमाबाबु डुंगामै बस्न रुचाउँथे । उनीहरुलाई बानी परिसकेको थियो ।”

    समुद्री जीवनबारे अवकाशप्राप्त प्रोफेसर जिम्मी ङ जिम-मिले, सरकारले वास्तवमै डुंगामा बस्नेहरुको जीवन सुधार्न चाहेको बताए ।

    “त्यो समयमा अत्यन्तै भीड भएको टाईफुन शेल्टरमा केही गम्भिर आगलागी पनि भएको थियो,” ङले भने । ” आगलागी हुँदा, आगो एकदमै छिटो गरी एउटादेखि अर्को डुंगामा सर्‍यो ।”

    १९८६ मा एबरडिन टाईफुन शेल्टरमा सयौं डुंगामा आगो लाग्यो । हजारभन्दा धेरै घरबारविहीन र कम्तिमा दुई जना घाईते भए । यहाँ आगलागी र सरसफाइ चुनौतीको विषय हो । केही डुंगामा जमिनबाट अवैधानिक रुपले पानी र बिजुली ल्याईएको छ ।

    पोट्सले भने,”जमिनमुनि तारबाट बिजुली ल्याउने व्यवस्थाले भार बढी हुँदा डुंगामा आगो लाग्नसक्छ ।”

    उनको कम्पनीले हेरेको एउटा घटनामा, अवैधानिक बिजुली आपुर्ति गरेकैले, एक जना डुंगा मालिकले आगलागीका कारण डुंगामा पुगेको क्षतिका लागि बीमा क्षतिपुर्ति दाबी लिन सकेनन् ।

    एयरलाईन कर्मचारी जोन्सले पनि सरसफाइको मुद्दा उठाए । अग्ला छालहरु आउँदा टाईफुन शेल्टरबाट मानव मलमुत्र बगेर आउने गरेको उनले बताए । समुद्रमा सिधै शौचालय फ्लश गर्नाले स्वास्थ्यको जोखिम वृद्धि हुने रबिन्सनले औंल्याए ।

    “सरसफाइ एउटा गम्भिर मुद्दा हो,” उनले भने । “होल्डिङ ट्याङ्क नराख्नु र सिधैं हार्बरमा फोहोर पठाउनु उचित हुँदैन । आजभोली हामी त्यसो गर्दैनौं ।”

    सरकारले डुंगामा बस्न वैधानिक बनाए आफु पूर्वाधार शुल्क बुझाउन तयार रहेको जोन्सले बताए । यसका साथै उपयोगिताका पूर्वाधार र सुरक्षा र सरसफाइका मापदण्ड लगायत डुंगा बाँध्ने पर्याप्त स्थान हुनुपर्ने उनको माग छ ।

    “अझ धेरै टावर बनाउनलाई जमिन खोज्नु सरकारको प्राथमिकता भएको मलाई थाहा छ तर हङकङमा…गज्जबको समुद्रीतट छ,” उनले भने,”मेरो विचारमा यहाँ डुंगामा बस्ने राम्रो सम्भावना छ ।”

    डुंगाको बसाईंलाई वैधानिकता दिनेबारे सम्भावना अध्ययन हुन्छ कि भन्ने प्रश्नमा मरिन डिपार्टमेन्टले प्रतिक्रिया दिन मानेन । दीर्घकालीन आवास र आर्थिक विकासका लागि १ हजार २ सय हेक्टर जमिनको अभावलाई कसरी समाधान गर्नेबारे हालै सम्पन्न पाँच महिने सावर्जनिक छलफलमा सरकारले समावेश गरेको १८ बुँदामा डुंगाको बसाईं समावेश गरिएको छैन ।

    डुंगाहरु शहरको आवासको विकल्प हुन नसक्ने पोट्स बताउँछन् ।

    “हङकङका औसत परिवारको पानीसँग आत्मियता छैन,” उनले भने । “उनीहरुलाई जमिनमा बस्ने विकल्प उपलब्ध भए उनीहरु पानीको साटो जमिनमै बस्नेछन् ।”

    शर्ली झाओ

  • कमेन्ट गर्नुहोस्