• प्रेस स्वतन्त्रताको रक्षा गर्नेछु तर स्वतन्त्र हङकङको वकालत गर्न दिन्न : कार्यकारी प्रमुख

  • हङकङकी नेतृले प्रेस स्वतन्त्रताको रक्षा गर्ने, तर शहरलाई चीनबाट अलग्याउन वकालन गर्ने जोकोहीलाई नसहने मंगलबार बताएकी छिन् । एक बेलायती पत्रकारको भीसा नवीकरण नगरेकोमा सरकारको आलोचना भईरहेको बेला उनले यस्तो बताएकी हुन् ।

    गत साता भएको विवादमा पहिलो पटक प्रतिक्रिया दिदैं, कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत-ङोरले स्वतन्त्रता समर्थक अभियन्तासँग वार्ता गरेकोले नै भिक्टर मालेटलाई भीसा नदिईएको भन्ने कुरा “पूर्णतया अनुमान” मात्रै भएको बताईन् ।

    लन्डनस्थित फाईनान्सियल टाईम्सका एशिया सम्पादक मालेटलाई इमिग्रेसन डिपार्टमेन्टल भीसा दिन अस्वीकार गरेको शुक्रबार सार्वजनिक भएको थियो । यो निर्णयबारे व्यापारिक नेतृत्वले चासो लिदैं, यसले हङकङको प्रतिष्ठामा आँच आउने चेतावनी दिएका थिए ।

    सरकारले भीसा स्वीकृत नुहुनुको कारण खुलाएको छैन । हङकङ सरकार र बेईजिङको कडा विरोधका बावजुद, फोरेन करेस्पोन्डेन्ट्स क्लबका कार्यवाहक अध्यक्ष मालेटले हाल प्रतिबन्धित हङकङ नेशनल पार्टी (एचकेएनपी) का संयोजक एन्डी च्यान हो-तिनले अगष्टमा सञ्चालन गरेको छलफल कार्यक्रमको अध्यक्षता गरेकैले यस्तो गरिएको धेरैले शंका गरेका छन् ।

    मंगलबार पत्रकारहरुसँग कुरा गर्दै, व्यक्तिगत मामिलाका विवरणहरु “कहिले नखुलाउने”, वा “त्यस सम्बन्धि अनुमानको प्रतिक्रिया कहिले नदिने” लामले बताईन् । तर “यी अनुमानहरुमा पेश गरिएका बुँदाहरुको सामान्य प्रतिक्रिया” दिदैं उनले भनिन् – “हङकङको स्वतन्त्रता एउटा मुद्दा हो । अर्को अभिव्यक्तिको स्वतन्त्रता…हङकङ सरकारलाई स्वतन्त्र हङकङको वकालत सह्य छैन, यसले राष्ट्रिय सुरक्षा, क्षेत्रीय अखण्डता र विकासका सरोकारलाई खतरा निम्त्याउनेछ ।”

    संवाद कार्यक्रममा सहभागी भएकै आधारमा मालेटको भीसा नवीकरण नगर्नुको कारणबारे प्रश्न गर्दा लामले भनिन् – “तपाईंले भन्नु भएको पूर्णतया अनुमान हो…जहाँसम्म प्रवेश र प्रस्थानको कुरा छ, यी मामिलाहरु ‘एक देश, दुई प्रणाली’ अन्तर्गत हङकङको स्वायत्तताभित्र पर्दछन् ।”

    सन् १९९७ मा बेलायती शासनबाट फिर्ता आएपछि, चीनको विशेष प्रशासनिक क्षेत्रका रुपमा, एक देश, दुई प्रणाली अन्तर्गत हङकङलाई उच्च श्रेणीको स्वायत्तता ग्यारेन्टी गरिएको थियो ।

    “प्रत्येक व्यक्तिगत घटनामा, अध्यागमनका निर्देशकले कानुन अनुसार कार्य गर्नेछन्…नियमानुसार, घटना विशेष परिस्थितीहरु हामी कहिले पनि खुलाउने छैनौं – अध्यागमन विभागले पनि खुलाउने छैन,” लामले भनिन् । यसमा कुनै पनि अपवाद नहुने उनले बताईन् ।

    हङकङ प्रशासनसँग कुनै समस्या सिर्जना नगरी स्वतन्त्र हङकङको मुद्दा कसरी उठान गर्ने भन्ने सञ्चारकर्मीहरुको जिज्ञासाबारे लामले प्रष्ट्याउन मानिनन् ।

    “पत्रकारहरुले के भन्नुपर्छ, वा कस्तो कार्य गर्नुपर्छ, वा कस्तो अन्तर्वार्ता लिनुपर्छ भनेर म ठ्याक्कै भन्न सक्दिनँ, तर म तपाईंलाई विश्वास दिलाउन चाहन्छु कि…अभिव्यक्तिको स्वतन्त्रता, समाचार लेखनको स्वतन्त्रता, हङकङको मुख्य मुल्यमान्यता हुन्,” उनले भनिन् ।

    “कार्यकारी प्रमुखको हैसियतले, बेसिक लले स्थापना गरे अनुसार मैले र हङकङ सरकारले यी सबै अधिकारको सुरक्षा गर्नेछौं ।”

    यसैबीच, आईतबार हङकङ आएका मालेटले, भीसा नदिनुको कारण खुलाउन माग गर्दै हङकङ सरकारलाई आग्रह गरिएको दुई अनलाईन याचिकामा सहभागी सबैलाई धन्यवाद दिए ।

    “याचिकामा हस्ताक्षर गर्ने सबै, विशेष गरी सात वर्षभन्दा लामो समयदेखि हाम्रो परिवारको घर भएको हङकङका वासिन्दाप्रति म एकदमै आभारी छु,” मालेटले सामाजिक सञ्जालमा लेखेका छन् ।

    हङकङ जर्नालिस्ट एसोसिएसन (एचकेजेए) लगायत ६ वटा पत्रकार समूहका एक दर्जन प्रतिनिधिहरुले मंगलबार एडमिराल्टीस्थित सरकारको प्रधान कार्यालय बाहिर एउटा र्‍याली आयोजना गरे । १५ हजार हस्ताक्षर भएको याचिका बुझाउँदै, उनीहरुले घटनाको पूर्ण स्पष्टीकरण माग गरेका छन् । मंगलबार बिहान ११ बजेसम्म १८ हजारले याचिकामा हस्ताक्षर गरेका छन् ।

    टोनी च्योङ/ सुम लोक-केई

  • कमेन्ट गर्नुहोस्