महासंघको दशौं महाधिवेशनका झाँकी
हङकङ नेपाली महासंघको दशौं महाधिवेशनको खुल्ला सत्रका लागि विशेष अतिथिको रुपमा निमन्त्रणा गरिए अनुरुप सहभागी बनेको थिएँ । उक्त समारोहमा व्यक्त उपाध्यक्ष टंक रानाको स्वागत, सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीप थापाको शुभकामना र अध्यक्ष रीता गुरुङको समापन मन्तव्यबाट अबको नेतृत्व कसले गर्दैछ र निवर्तमान अध्यक्षको भूमिका के रहने छ भन्ने अनुमान लगाउन सकिने अवस्था सिर्जना भएको थियो । स्वागत मन्तव्यमा उपाध्यक्षले महासंघका लागि खर्चेका समय र पुर्याएको योगदानको बेलिबिस्तार लाउनु नै उनले नेतृत्व सम्हाल्दैछन् भन्ने स्पष्ट भएको थियो । सल्लाहकारको मन्तव्य त मुटु नै छुने थियो, ‘रीताजीले घरबार नभनी महासंघको लागि यत्रो वर्ष लाग्नु भो, अब उहाँले कमाउनु पर्छ ।’ अध्यक्ष स्वयंले पनि हङकङ आउनुको कारण नै कमाउनु हो भनेर घोषणा गरिन् । तीनैजनाको मन्तव्यबाट सीएसटीएन प्रोजेक्टको तालाचाबी चाहिँ रीता गुरुङले लिने कुरा लख काटिएको थियो ।
आसन ग्रहणको क्रममा यो भन्दा अघि कहिल्यै नसुनिएको आलंकारिक शब्दले कानुनकर्मी जसबहादुर ओख्राबोलाई आभूषण गरिएको थियो । नभन्दै उनको शुभकामना मन्तव्यमा विधान परिमार्जनका कुरा आएको थियो । अर्को कार्यक्रममा सहभागी बन्नु पर्ने थियो र बन्दसत्रमा बस्न सकिन । उक्त कार्यक्रममा मपछि आइपुगेको एक बहिनीले टंक रानाको अध्यक्षता नयाँ नेतृत्व चयन भएको खबर ल्याइपुर्याएको थियो ।
फेसबुकमा नयाँ अध्यक्ष लगायत पाँच कार्यकारी पदाधिकारीका तस्बिरसहित नाम देखिएपछि कार्यसमितिको विषयमा थाहा भयो । समाचार वरिष्ठ संवाददाता टोपबहादुर याक्खाले पठाइसकेका थिए । समाचारमा आएको बाहेक केही भयो कि भन्ने लाग्यो र संशोधित विधान र प्रतिवेदनहरु खोज्न लागेँ । निकै जनालाई सोधखोज गरेपछि हात लाग्यो र हेरेपछि थाहा भो, महासंघ त गिरोहको हातमा पुगिसकेको रहेछ । किन कि अबको महासंघ केही सिमित व्यक्तिको निर्देशनमा सञ्चालन हुने योजना रहेछ ।
महासंघको विधानको प्रस्तावनामा लेखिएको छ, ………अस्तित्वमा रहेका र आगामी दिनहरुमा स्थापना हुने विभिन्न संस्थाका आदर्शहरु र उद्देश्यहरुको अस्तित्व स्वीकार गर्दै सबै संस्थाको प्रतिनिधित्व गर्न…….. महासंघ गठन गरिएको छ । महासंघमा व्यक्ति नभएर संस्था प्रमुख हो । तर विधानको भाग ६ मा संरक्षक परिषद् भनेर राखिएछ । त्यहाँ उल्लेख भए अनुसार भूतपूर्व अध्यक्षहरु उक्त परिषद्मा रहने रहेछन् र उनीहरुले महासंघलाई संरक्षण प्रदान गर्ने छ । परिषद्ले महत्वपूर्ण विषयमा महासंघलाई समय–समयमा लिखित वा मौखिक राय सुझाव दिने रे ! यो भाग थप्न सुझाव दिने महाशयले सोही विधानको अन्य भाग र धारा चाहिँ हेरेनन् कि, त्यसको भाव बुझेनन् ?
सदस्य संस्थाले चाहेको खण्डमा महासंघको बहालवाला अध्यक्ष लगायत कुनै पनि पदाधिकारीलाई फिर्ता बोलाउन सक्ने छ । नेपाली जनसम्पर्क समितिको तत्कालिन संस्थाको प्रतिनिधित्व गर्दै महासचिव बनेका नेत्र पहराईलाई फिर्ता बोलाइएको थियो । उनको कू भएपछि प्रेम राई कार्यवाहक महासचिव बनेका थिए । कुनै पनि संस्थाले सदस्यता फिर्ता लिन पनि सक्छ । त्यही प्रावधान अनुसार किरात राई यायोक्खा, ब्रिटिश गोरखा भूपू सैनिक संघ, फियोना, लमजुङ सेवा समितिलगायतका संस्थाले सदस्यता फिर्ता लिइसकेका छन् । कतिपय महासंघका सदस्य संस्था विघटन पनि भइसकेका छन् । त्यसरी फिर्ता भइसकेका र विघटन भइसकेका संस्थाका प्रतिनिधित्व गर्दै अध्यक्ष बनिएकाहरुको के हैसियत रहन्छ र महासंघको संरक्षण गर्ने ? भूतपूर्व अध्यक्ष हेजेन राईकै सन्दर्भमा उनी यायोक्खाबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका थिए तर अहिले उक्त संस्था महासंघको सदस्य नरहेको सन्दर्भमा उनले कुन नैतिकताले महासंघको संरक्षकत्व प्रदान गर्छन् ?
विधानको भाग ११ त उदेक लाग्दै छ । भाग ११, धारा २९ मा च्यारिटेबल (गैरनाफामुखी) संस्थाः हङकङबासी समग्र नेपालीहरुलाई प्रभावकारी सेवा प्रदान गर्नको लागि एक च्यारिटेबल संस्था खडा गर्न अर्थात राख्न सक्नेछ र त्यस्तो संस्था सुचारु सञ्चालन गर्नको लागि छुट्टै विधान रहने छ र सोही बमोजिम आफ्नो काम कार्वाही तथा कार्यक्रमको संचालन एवं नियमन गर्ने छ, उल्लेख छ । उक्त संस्थाको प्रमुख वा अध्यक्षको नियुक्ती महासंघको अध्यक्ष, संरक्षक परिषद् र सल्लाहकार समेत रहेको बढीमा ३ जनाको एउटा समिति गठन गरी सो समितिले सिफारिस गर्ने र महासंघको बैठकले गर्ने रे ! सदस्य संस्थाको काम त ३ जनाको समितिले गरेको सिफारिसमा ल्याप्चे लगाउने मात्र । महासंघ आफै एक च्यारिटेबल संस्था हो । विडम्बना ! विधान संशोधनको खेस्रा गर्ने जेबी ओख्राबोजीले महासंघको स्टाटस त बुझ्न आवश्यक थियो ।
आर्थिक प्रतिवेदनको गाईजात्रा त कुन छेउबाट लेख्ने म आफै बिलखबन्दमा परेँ । महासंघले गृहमामिला विभागको प्रायोजनमा संचालन गरिरहेको परियोजनाको आम्दानी खर्चको विषयमा कर्मचारीहरु जिम्मेवार भनेर पन्छिएको छ । त्यसको विवरण सम्बन्धित निकायमा बुझाए पनि सदस्य संस्थालाई थाहा पाउने अधिकारबाट बन्चित गरिएको छ । दीप थापाको कार्यकालमा ‘नेपाली साझा घर खरिद अभियान’बाट संकलित २ लाख २५ हजार ६ सय ६८ महासंघले सापटी लिएको देखाइएको छ । अध्यक्ष रीता गुरुङबाट पटक पटक गरेर ८० हजार र उपाध्यक्ष टंक रानबाट ३० हजार सापटी लिइएको छ । जम्मा गरेर महासंघलाई रिन ६ लाख ७७ हजार ६ सय ९० हङकङ डलर रहेको छ ।
लाखौ रिन मध्य मिस नेपाल श्रृङ्खला खतिवडालाई निमन्त्रणा गर्दा २२ हजार ५ सय ६४ घाटा रहेको छ । महासंघलाई धन्यवाद भन्नै पर्ने हुन्छ, २४ हजार ६ सय २६ डलर घाटै सहेर भए पनि हङकङका नेपालीलाई मनोरञ्जनका लागि रमाइलो शरद साँझको आयोजना गरेकोमा । सबै भन्दा दानी चाहिँ इश्वर राई रहेछन्, उनले वर्षमा ५० हजार महासंघका लागि छुट्याउदा रहेछन् । पहिला पनि उनको नाममा ५० हजार देखाइएको थियो, यो पटक पनि त्यति नै दिएका रहेछन् । दुईटा खर्च चाहिँ घुमौरो पाराले मसंग जोडिएको रहेछ, देखेर आफैलाई लाज पनि लाग्यो र हास पनि उठ्यो । सांगठानिक प्रतिवेदन चाहिँ हात परेन, कोही प्रतिनिधिले उपलब्ध गराए हेर्न हुन्थ्यो । जनजाति महासंघको सातौं महाधिवेशन जस्तो त भएन होला नि ! न सांगठानिक न आर्थिक प्रतिवेदन ।