• कार्यकारी प्रमुखद्वारा १४ हप्ते सुत्केरी विदा घोषणा

  • लामो सुत्केरी विदा र स्तनपान सहयोगी नयाँ अभियान लगायत परिवारको हितमा, बुधबार थुप्रै नीति सार्वजनिक गरेपछि हङकङकी नेतृले महिला समुदायबाट दुर्लभ प्रशंसा बटुलेकी छिन् ।

    विभिन्न समूहले क्यारी लाम चेङ युएत-ङोरलाई शहरको बालस्याहार सेवा व्यवस्थापनलाई बढावा दिन प्रष्ट रोडम्याप ल्याउन पनि आग्रह गरेका छन् । सुदृढ बालस्याहार सेवाले रोजगारलाई निरन्तरता दिन आमाहरुलाई महत्वपूर्ण सहयोग गर्ने उनीहरुको भनाई छ ।

    “आजभोली पुरुषभन्दा धेरै महिलाहरुले उच्च शिक्षा हासिल गरे पनि, पुरुषको तुलनामा महिला श्रमशक्ति सहभागीता एकदमै न्युन छ,” शहरकी प्रमथ महिला कार्यकारी प्रमुख लामले आफ्नो दोश्रो नीति सम्बोधन गर्दै भनिन् ।

    सुत्केरी विदामा गरिएको वृद्धि सबैभन्दा आकर्षक रह्यो । हाल १० साता मात्रै दिईने सुत्केरी विदा बढाएर १४ साता पुर्‍याईएको छ । यो निर्णयसँगै हङकङले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले निर्दिष्ट गरेको न्युनतम मापदण्ड पूरा गरेको छ ।

    सुत्केरी विदामा रहेका आमाहरुलाई हाल उनीहरुको पारिश्रमिकको ८० प्रतिशत भुक्तान गर्ने गरिएको छ । नयाँ प्रस्ताव अनुसार, थपिएको चार साताको सुत्केरी विदाको खर्चको लागि सरकार पूर्णतया जिम्मेवार हुनेछ । यद्यपि, पुरानै फोर-फिफ्थ्स (पाँच भागको एक भाग) सुत्रका आधारमा खर्चको सीमा प्रति कर्मचारी ३६ हजार ८ सय २२ हङकङ डलर कायम गरिनेछ ।

    अर्थात् मासिक ५० हजार हङकङ डलरभन्दा बढी आम्दानी गर्ने कर्मचारीले आफ्नो पारिश्रमिकको पाँच भागको चार भाग रकम पूरा पाउने छैनन् । यद्यपि, यो व्यवस्थाले हङकङको पाँच प्रतिशत कर्मचारीलाई मात्रै प्रभाव पार्ने सरकारले जनाएको छ ।

    एक सरकारी श्रोतका अनुसार कर्मचारीलाई सहुलियत दिन सरकारले वार्षिक ४७ करोड ९० लाख हङकङ डलरको व्यय भार उठाउनु पर्नेछ । निजामति कर्मचारीलाई तत्काल लागु हुने गरी यो अभियान शुरु गरिएको छ । एक श्रोतले जनाए अनुसार सन् २०१९ को अन्त्यसम्म खर्चहरु पेश गर्ने र जुलाई २०२० अघि स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।

    स्तनपानको प्रवर्द्धन गर्न, भविष्यमा जमिनको बिक्री गर्ने शर्त स्वरुप निर्माण कम्पनीहरुले शिशु स्याहार सेवा र स्तनपान कक्षहरु उपलब्ध गराउने व्यवस्था गरिने लामले बताईन् । बालस्याहार सेवाको चर्को अभाव भईरहेको बेला यस्को प्रबन्ध वृद्धि गर्ने उनले संकल्प गरेकी छिन् ।

    हङकङ फेडेरेशन अफ वुमेन्स सेन्टर्स र हङकङ कन्फेडेरेसन अफ ट्रेड युनियन्स (एचकेसीटीयु) दुवैले परिवारमैत्री नीतिहरुको स्वागत गरेका छन् । उनीहरुले सुत्केरी विदा बढाउन वर्षौंदेखि संघर्ष गर्दै आएका थिए । तर कार्यकारी प्रमुखको नीति सम्बोधनमा बालस्याहार सेवा वृद्धि गर्ने संकल्प प्रष्ट नभएको उनीहरुले बताएका छन् ।

    “धेरै जसो आमाबाबुसँग बच्चा जन्मिएपछि काम छोड्ने, उनीहरुको वृद्ध आमाबाबुको सहयोग लिने वा विदेशी घरेलु कामदार नियुक्त गर्नेभन्दा अरु विकल्प नै छैन । हङकङमा बालस्याहार सेवा पाउनु असम्भवजस्तै छ,” एचकेसीटीयुको महिला मामिला समितिकी संयोजक लाम यिङ-हिङले बताईन् । सन् १९९५ मा दुई वर्षभन्दा कम उमेरका बालबालिकाको दिवा स्याहार सेवा १ हजार ५ सय ३० रहेकोमा अहिले घटेर ७ सय ४७ पुगेको छ ।

    “घरेलु कामदारमाथि भर पर्नुभन्दा यस्तो सेवाको माग र आपुर्तिबीचको भिन्नतालाई सरकारले गहन रुपम अध्ययन र पहिचान गर्नु अत्यन्तै आवश्यक छ ।”

    हङकङ फेडेरेसन अफ वुमेन्स सेन्टर्सकी निर्देशक सिसि लिउ पुई-शानले पनि यसमा सहमति जनाएकी छिन् ।

    “नीति सम्बोधनले अझै पनि बालस्याहार केन्द्रहरुको योजना अनुपात तयार गर्ने बताईरहेको छ – तर हामी सबैले वर्षौंदेखि यसको प्रतिक्षा गरिरहेका छौं,” उनले भनिन्, “हामी अझ ठोस विवरण चाहन्छौं तर खाँका भने प्रष्ट छैन ।”

    लिउले बालस्याहार सेवा र स्तनपान कक्ष मात्रै नभएर, निर्माण कम्पनीहरुले नयाँ बन्ने पूर्वाधारहरुमा बालस्याहार केन्द्र पनि अनिवार्य स्थापना गर्नुपर्ने व्यवस्था गरी अझ सक्रिय कार्यपद्धती अवलम्बन गर्न लामलाई आग्रह गरेकी छिन् । विशेष गरी, यस्ता सेवाका लागि जमिनको पहिचान गर्न सरकारलाई कठिनाई भईरहेको बेला यस्तो व्यवस्था प्रभावकारी हुने उनको विचार छ ।

    वुमेन्स फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत फियोना नटले सरकारलाई यथाशिघ्र नयाँ नीति कार्यान्वयन गर्न आव्हान गरेकी छिन् । बालस्याहार सेवा सुदृढ गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य भएको पनि उनले बताईन् ।

    “कामकाजी आमबाबुका लागि हङकङमा बालस्याहार विकल्पको गम्भिर अभाव छ र बालबच्चा स्याहार्नु पर्ने जिम्मेवारीकै कारण ३० प्रतिशत महिला श्रमशक्तिबाट बाहिरिन्छन्,” उनले भनिन् ।

    यसैबीच, थप चार साताको सुत्केरी विदाबारे अपेक्षा गरिएभन्दा उच्च सहुलियत सीमा प्रस्ताव गरेर लामले व्यावसायिक क्षेत्रको चिन्ता समाधान गर्ने प्रयास गरेकी छिन् । हङकङ स्मल एन्ड मिडियम ईन्टरप्राईजेज एसोसिएसनका मानार्थ अध्यक्ष ड्यानी लाउ तात-पोङले यो व्यवस्था “स्वीकार्य” भएको बताएका छन् ।

    “साना तथा मझौला उद्योगहरुमा मासिक ५० हजार हङकङ डलर पारिश्रमिक लिने एकाध कर्मचारी होलान्, र तीमध्ये सबै जना गर्भवती पनि नहोलान्,” उनले भने ।

    जुन लाम, ३७

    लामले प्रणय दिवस वरपर पहिलो सन्तानलाई जन्म दिदैछिन् । वैधानिक सुत्केरी विदालाई १० साताबाट बढाएर १४ बनाउने सरकारको निर्णयबाट उनी उत्साहित छिन् । उनको चाहना भने २० साताको सुत्केरी विदा छ ।

    “सबै आमाहरुका लागि यो सुखद समाचार हो,” कार्यकारी प्रमुखले बुधबार बिहान आफ्नो नीति सम्बोधनमा घोषणा गरे लगत्तै लामले भनिन् । एउटा आईटी कम्पनीकी जागिरे लामले १० साताको विदा र पारिश्रमिकको ८० प्रतिशत पाएकी छिन् । सुत्केरी विदा प्रसूतीपछिको समयका लागि वचत गर्दै लामले सकेसम्म घरबाटै काम गर्ने योजना बनाएकी थिईन् ।

    “थप विदाको लागि आवेदन दिनेबारे मैले सोंचेकी छैन किनभने भविष्यका लागि पनि केही विदा बचाउन चाहन्छु, बच्चा बिरामी हुने जस्तो कुनै अवाञ्छित परिस्थिती आए काम लाग्छ,” लामले भनिन्, “सुत्केरी विदालाई दोब्बर वृद्धि गर्दै २० साता पुर्‍याउँदा राम्रो हुन्छ जस्तो लाग्छ ।”

    यो वृद्धिलाई सहयोग गर्न सरकारले रोजगारदाताहरुलाई अझ धेरै सहुलियत दिनुपर्ने लामको विचार छ । “सबै कुरा पैसा मात्रै पनि हैन,” लाम भन्छिन्, “रोजगारदाताको दृष्टिकोणबाट, विदा वृद्धि भन्नाले थप चार साताको कर्मचारी अभाव हो ।”

    कार्यालयहरुमा दिवा स्याहार केन्द्र र बालबच्चा हेर्ने क्षेत्रको व्यवस्था भए हङकङ अझ बढी परिवारमैत्री हुने उनले बताईन् ।

    “रोजगारदाताले अझ धेरै सहयोग गर्नसक्छन्,” उनले भनिन्, “कामकाजी आमाहरुलाई स्तनपान गराउन वा दुध निकाल्न अझ धेरै समय दिने, वा ओभरटाईम कम गराउने हो भने, उनीहरुले काम छोडेर परिवारको स्याहार गर्ने विकल्प कमै रोज्नेछन् ।”

    ली मी, ३०

    लीको पहिलो सन्तान नोभेम्बरमा जन्मिनेछ । शाम शुई पोवासी ली सेक्युरिटी गार्डको काम गर्छिन् । उनी दैनिक बिहान साढे सात बजेदेखि अपरान्ह साढे चार बजेसम्म ड्युटी गर्छिन् । उनले बच्चा जन्मिनु दुई साता अघि र जन्मिएको आठ सातासम्म विदा लिने योजना बनाएकी छिन् । उनलाई पनि १० साताको सुत्केरी विदा एकदमै छोटो लाग्यो ।

    “काममा फर्किने बेलासम्म म स्वस्थ भईसकेको हुन्न कि भन्ने एकदमै चिन्ता लागेको छ किनभने मैले सिजरियन सेक्सन गराउनुपर्ला किन नपर्ला थाहा छैन । र म मेरो बच्चालाई लिएर पनि चिन्तित छु । बच्चालाई दुध पाउडर ख्वाउनुभन्दा स्तनपान गराउनु नै राम्रो हुन्छ,” लीले भनिन् ।

    उनले आफ्नो बच्चालाई तीन महिनासम्म स्तनपान गराउने योजना बनाएकी थिईन् । यसो गर्दा, सुत्केरी विदा लगत्तै उनले १४ दिने वार्षिक विदा पनि सबै खर्च गर्नुपर्ने हुन्छ ।

    “म काममा फर्किएँ भने, बच्चालाई स्तनपान गराउन सक्दिनँ । म एकदमै व्यस्त हुनेछु र दुध निकाल्ने समय पनि हुने छैन,” उनले भनिन्, “यो एकदमै छोटो छ । चीनमा सुत्केरी विदा धेरै हुन्छ । केही महिलाहरुले सय दिनभन्दा पनि धेरै विदा पाउँछन् ।”

    उनी काममा फर्किएपछि, बाजेबोजुले बच्चाको स्याहार गर्नेछन् ।

    “पक्कै पनि, सुत्केरी विदा वृद्धि भएकोले म एकदमै खुशी छु,” उनले भनिन् ।

  • कमेन्ट गर्नुहोस्