रेख दाइ जेल पर्दा
एक वर्ष जतिको बेखबरीपछि टुप्लुक्क रेख दाइ (रेखबहादुर ब्लोन) घर फर्कनुभयो । मास्टर्स डिग्री पढ्न घरबाट बिदा भएको मानिस बेखबर । उहाँ घर फर्केपछि हाम्रो टोलमा एक प्रकारको परिवर्तन आयो ।
त्यो समय ‘रेसम फिरीरी…’ गीत लोकप्रिय थियो, तर हाम्रो टोलमा ‘सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष हो…’ गाउन थालियो । टोलको साँस्कृतिक गतिले नयाँ धार समात्यो । हाम्रो एउटा घर नयाँ खालका सँस्कृतिकर्मीहरुको जमघटको स्थल थियो । कलाकारहरु गाउने, बजाउने, टोलभरिकाहरु जम्मा हुने र गाना बजाना सुन्ने ।
रेख दाइको पुनरागमनसँगै एउटा बाघको छालाजस्तो रङ भएको गिटार पनि हाम्रो टोलमा भित्रियो । पहेलो भुइँमा बाघको छालाको पाटाहरुजस्तो भएको कालो रङका पाटाहरु थिए गिटारमा ।
एक साँझ टोलका युवाहरुको राम्रो जमघट थियो । देब्रेबासका नेवार टोल, स्याउले, कागते, निगाले, पात्ले र सिक्तिमका युवाहरु जम्मा भएका थिए । रेख दाइ गिटारका तार टाइँटाईँ टुइँटुईँ…गर्दै मिलाउँदै हुनुहुन्थ्यो । एउटा गीत गाउने सुरमा हुनुहुन्थ्यो । म फुच्चे पनि त्यो कोठामा पुगेको थिएँ । सम्भवतः गिटारका तारहरुले सही स्वरुप लिए क्यार । उहाँले गीत गाउनु भन्दा अघि केही भन्नुभयो । मेरो अहिलेको बुझाईमा त्यो गाउन लागिएको गीतबारे भूमिका थियो ।
उहाँले भन्नुभयो–
एउटा गाउँमा एक जना युवक थिए । गरीब थिए, उनले ऋण काढे । जसले उनलाई ऋण दिएको थियो, ऋण दिने साहु गाउँका शोषक थिए । ती साहुले उनको घरबारी जम्मै खाइदियो । त्यसपछि घरबारी उकास्न ती युवक लाहुर हिँडे । उनी फर्केर आएनन् ।
तिहारको समय थियो । उनलाई सम्झदै उनकी चेलीले यस्तो गीत गाइन्ः
एउटा माइती दूरदेश
आँखाको यो आँसु सुकि जाइजाला
गोदावरी फूल ओइलिइ जाइजाला
रनैमा परे कि
बनैमा परे कि
मेरो माइती राजाको खबर भन्देऊ न कसैले…
त्यहाँ उपस्थित युवाहरु भावुक भए गीत सुनेर । म फुच्चेले के बुझेँ, के बुझिनँ, तर लुकेर आँसु पुछेँ ।
यो गीत घनश्याम किरातको सङ्कलन र सीमा पोखरेलको स्वर भनी रेडियो नेपालबाट कहिलेकाहिँ बजेको सुन्थेँ, बहुदल आएपछि । तर यो जनताको गीत भनेरै गाइन्थ्यो ।
यस्ता गीतलाई ‘जनवादी गीत’ भनिन्थ्यो । वरपरकाले हाम्रो टोललाई ‘जनवादी टोल’ भन्थे ।
मैले सुनेको पहिलो जनवादी गीत पनि यही हो ।
रेख दाइले गिटार भित्र्याउनु भयो हाम्रो टोलमा । हारमोनियम र अरु वाद्यवादनहरु पनि भित्रिए । मेरा दुई दाइ डम्बर र मानबहादुर सारङ्गी वादनमा पोख्त । यिनै सारङ्गीको धुनमा त्यो बेला यस्तो गीत पनि गाइन्थ्योः
सारङ्गी बजाउँदै गाउँदै गीत सुनाउँदै
आइपुगेँ मुगलानमा मनको बह बिसाउँदै
घरबारी खोसिएका गाउँबाट खेदिएका
मुगलानमा बसाईँ सरी देश सम्झी रोइरहेका
आफ्नो गरीब दाजु भाइको झुप्रो नियाल्दै…
यस्ता धुन मात्र हाम्रो टोलमा आएन, सपनाहरु पनि आए । त्यही सपनाको परिणाम हो, यो लेखकको अहिलेको अवस्था । अढाई दशक शिर नझुकाइकन पत्रकारिता गरियो, सँगै आठ वर्ष कलेज पढाइयो । लेखकको चिनारी निर्माण भइ नै रहेको छ ।
त्यो समय मेरो लागि ठूलो स्कूल थियो । यस्तो लाग्छ, त्यो समयलाई फर्केर हेर्दा । म भर्खरै कक्षा १ उत्तीर्ण गरी कक्षा २ मा प्रवेश गरेको थिएँ । गणेश प्राथमिक विद्यालयमा एक खालको शिक्षा लिइरहेको थिएँ, तर रेख दाइहरुबाट अर्को खालको स्कूल पनि पढिरहेको रहेछु, त्यो समय ।
एकाएक चकमन्नता
खासगरी २०३९ सालपछि हाम्रो घरमा पहिलेजस्तो गतिविधि हुन छाड्यो । २०४१ सालसम्म त डम्बर सुब्बा, भक्त थापा, राजेन्द्र दाहाल, मोती सुब्बाहरु त्यहाँ छलफल गरिरहेको देख्थेँ । तर पुरानो रौनक थिएन । जब तत्कालिन राजाको भ्रमण धनकुटामा हुन्थ्यो, हाम्रो घरमा पनि अनेक किसिमका मानिस डेरा गरी बस्न आउँथे । मूलघरको भुइँतला पनि डेरामा लाग्थ्यो । त्यहाँ परालै ओछ्याएर भएर पनि बस्छौँ भन्ने पनि आउँथ, बसे पनि । ती त सादा पोशाकका प्रहरीहरु पो रहेछन् । त्यस्तो बेला जनवादी गीत गाउनेहरु लाखापाखा हुन्थे ।
२०३९ सालमा सीपी मैनाली र मदन भण्डारीको दुई लाइनको सङ्घर्षको प्रभाव पनि हाम्रो घरको चकमन्नताको अर्को कारण थियो । सीपी मैनालीको ‘पार्टी स्वतन्त्रता’ र मदन भण्डारीको ‘राजनीतिक स्वतन्त्रत’बीचको सङ्घर्ष पनि अर्को कारक थियो । त्यसैले पार्टीको सेल्टरहरु अदलबदल भएको हुनु पर्छ भन्ने त्यो बेलाको म बालकलाई लाग्छ ।
त्यहीँ समय रेख दाइ जागिरतिर लाग्नुभयो । जीवप्रसाद पोखरेल, डम्बर सुब्बा, राजेन्द्र दाहाल, भक्त थापा, मोती सुब्बा लगायत पत्रिका पसल चलाउन थाले । उनीहरु खुसुखुसु पार्टीको काम पनि गर्दै रहेको म देखिरहेको थिएँ ।
रेख दाइको गिरफ्तारी
रेख दाइ एक जना मेधावी मानिस । उहाँको प्रतिभालाई छेक्न सक्ने सामथ्र्य कसैको थिएन, त्यही बेला उहाँले माध्यमिक विद्यालय निरीक्षक (माविनि) पदमा शाखा अधिकृत स्तरमा नाम निकाल्नुभयो र जानुभयो पाँचथर जिल्लातिर ।
मेरा पुराना एक साथी, जो अहिले पनि जिल्ला शिक्षा कार्यालय, पाँचथरमा काम गर्छन्, उनी मलाई बेला बेलामा मेसेज गरिरहन्छन् । नारायण निरौला नामका ती साथीले रेख दाइको बारेमा दुई पटक मेसेज गरे, “याङ्नाम क्षेत्रमा म पनि विद्यालय निरीक्षण गर्न गएको थिएँ, त्यो बेला रेख ब्लोनले लेख्नुभएको प्रतिक्रिया पुस्तिकामा पनि पढेँ । जस जसकोमा बास बस्नुभएको थियो, उहाँहरु सबैले उहाँ एउटा राम्रो मान्छे भनेको सुन्न पाएँ ।”
एकातिर सरकारी अधिकृतको जागिर खानुछ, अर्कातिर देशको परिवर्तनका लागि काम गर्नुछ । अचम्मका ब्यवहार, रेख दाईको । उहाँ माविनि हुँदा केवल २३ वर्षको हुनुहुन्थ्यो ।
उहाँ पाँचथरमा कार्यरत भइरहेको बेला इलाम आउनुभयो । त्यहीँ पक्राउ पर्नुभयो । धनकुटा जिल्लाका बामपन्थीमध्ये एकै पटकको गिरफ्तारीमा राजकाज मुद्दामा लामो समय जेल जीवन बिताउने रेख दाइ हुनुहुन्छ ।
उहाँलाई कसरी पक्राउ गरियो, मैले कहिले पनि उहाँसँग सोधिनँ । उहाँकी आमा हाम्रो घरमा आएर रुनुहुन्थ्यो, “नि नि लैलै मेरो छोरा कैदी भएको छ रे !”
रेख दाइ जेल परेको बेला म कक्षा ७ मा पढिरहेको थिएँ । उहाँले गाउनु भएको गीत अझै पनि सम्झनामा छ,
सात कक्षामा पढ्ने भाइले भन्यो मसित
गाइ देऊन दाइ मलाई राजबन्दीको गीत…
दाइले काराबास पूरा गर्नुभयो, झुक्नु भएन । उहाँ जेलजीवनपछि घर फर्कदा लामो दाह«ी पालेर फर्कनु भएको थियो । मलाई कक्षा १ मा भर्ना गरिदिने यी दाइ देशको परिवर्तनका खातिर जेल जीवन भोगेर घर फर्कदा म कक्षा ८ मा पढ्दै थिएँ । उहाँको सरकारी अधिकृतको जागिर रहने कुरै भएन । उहाँ कसरी गिरफ्तारीमा पर्नु भयो, उहाँसँग मैले कहिल्यै पनि सोधिनँ ।
यस्तो रहेछ घटना
‘वीरेन्द्र शिल्ड’ नामको त्यो समयको जिल्लास्तरीय खेलकुद प्रतियोगिताको चलिरहेको थियो सदरमुकाम इलाममा । त्यही मौका पारेर रेख दाइ इलाम आउनुभयो पाँचथरबाट । इलाम आई एउटा सेल्टरमा उहाँले बास लिनुभयो । त्यही ठाउँबाट उहाँ पक्राउ पर्नु भयो । यसबारे अलिकतिले पक्राउ पर्नबाट जोगिएका नन्दु उप्रेतीको भनाई जस्ताको तस्तै–
वीरेन्द्र शिल्ड चलिरहेको थियो, सदरमुकाममा चहलहपल थियो । अखिलका पनि अगुवा कार्यकर्तामा खासखुस चल्यो । सेल्टरमा पार्टीका एक जना जिम्मेवार मानिस आएका छन्, उनलाई भेट्न जाने कुरा थियो, त्यो खासखुसमा । मोहन शंकर बसेको कोठामा भेटघाटको तारतम्य मिलाइएको थियो । मोहनले आफ्नो कोठालाई पहिल्यैदेखि नै पार्टीका भूमिगत नेताहरुका लागि सेल्टर प्रदान गर्र्दै आएका थिए ।
भेटघाटमा गोपाल नेपाल, रामबहादुर राना, दिलिप साउदेन, दिपकिशोर लिङ्दम, चैतन्य शर्मा, चन्द्र अधिकारी, मोहन शंकर, रेख ब्लोनर म थियौँ । त्यो समय इलाम अखिलका नेता गोपाल नेपाल हुनुहुन्थ्यो ।
पहिले गीत गाउने कुरा भयो । रेख ब्लोनले गिटार बजाउँदै गीत गाउनुभएको थियो, छिन्ताङ काण्डबारेः
गड्याङ र गुडुङ मेघ पनि होइन आकासै सफा छ
छिर्काका र छिर्की पानी त होइन, रगतको टाटा छ
सूर्तीबारीमा आमाको लाशै देखेर
पातालघारीमा बाबाको लाशै देखेर…
यो गीत उहाँले लेख्नुभएको रहेछ ।
सामान्य कुराकानी भए । उहाँले पार्टीको गोप्य कुरा त गर्नु भएन, तर विद्यार्थी कार्यकर्ताहरुलाई उत्प्रेरित हुने खालको कुरा गर्नु भयो । त्यसपछि चैतन्य, चन्द्र र म घरनजिकै भएकोले सुत्न आआफ्नो घर आयौँ ।
राती १०ः३० तिरै सेल्टरभित्रबाट बाहिर करीब दुई किलोमिटर दूरीमा बडो टहक भएको टर्चलाइट पालाक र पिलिक बलिरहेको देख्यौँ । तर हामीलाई त्यसबारे ठूलो चासो भएन, न कुनै शङ्का नै । बिहान हेर्दा त हाम्रो घरको बारी पनि पुरै पुलिसको बुटले माडिएको ।
चन्द्र अधिकारीबाट कोही कसैलाई समातेर प्रहरीले लैजादैछन् भन्ने जानकारी पाउनासाथ दौडेर जिल्ला प्रहरी कार्यालयतिर जाने बाटोतिर चिहाउन पुगेको त ! राती कुराकानी गरी हात मिलाइवरि छुटिएका उनै साथीहरुलाई प्रहरीले गिरफ्गार गरेर लैजादै गरेको देखेँ । यसरी गिरफ्तारीमा पर्नेमा रेख ब्लोन, रामबहादुर राना, दिलिप साउदेन, दिपकिशोर लिङदम, गोपाल नेपाल र मोहन शंकर थिए । तीमध्ये मोहन शंकरलाई दुई–तीन दिनमा छाडि पनि हाले । उनी जासुसको काम गर्दा रहेछन् र उनैको कारण साथीहरु पक्राउ परे भन्ने पछि मात्र थाहा भयो ।
चारैतिर खोजेछन्, हामी हिँडेको १५ मिनेट जतिपछि त्यो सेल्टर घेरेछन् । साथीहरु समातिए । उहाँहरु लगत्तै इलाम क्याम्पसका प्राध्यापकहरु राजेश्वर निरौला र रामचन्द्र पराजुलीलाई पनि समातियो ।
लामो जेलयात्रा
धनकुटा नगरबाट त्यो बेला बामआन्दोलनमा लाग्दा जेलयात्रा गर्नेमा स्थानीयहरुमध्ये गोपाल गुरागाईँ, जीवप्रसाद पोखरेल र रेख ब्लोन हुनुहुन्छ । उहाँहरुमध्ये लामो समय राजकाज ऐन अन्तरगत जेल भुक्तान गर्ने चाहिँ रेख ब्लोन हुनुहुन्छ ।
उहाँको जीवनलाई पढ्दा यस्तो लाग्छ, उहाँ माग्नको लागि होइन, दिनको लागि जीवन समर्पण गर्ने व्यक्ति हुनुहुन्छ । थाहा छैन, उहाँले केही मागेको । उहाँ जतिखेर जेल पर्नुभयो, उहाँहरुको घर र बारी लिलाम हुने अवस्था थियो । एउटा व्यापार घाटापछि उहाँहरुले यस्तो अवस्था भोग्नु परेको प्रत्यक्षदर्शी हुँ म ।
जेलभुक्तानपछि केही समय एक आईएनजीओमा जागिर गर्नुभयो, उहाँले । र त्यसपछि उहाँ जापानतिर लाग्नुभयो, २०५० सालमा । त्यसको २० वर्षपछि काठमाडौंमा उहाँसँग करीव एक घण्टा कुराकानी गर्ने मौका पाएको थिएँ । हाँस्दै भन्नुभयो, “भाइ आसाम भासिएजस्तै पो भयो म त !”
मेरो जीवनको उत्प्रेरकमध्येका एक उहाँ, उहाँद्वारा उत्प्रेरितमध्येका एक म । संयोग पनि अनौठो । यी दुवै उत्प्रेरक र उत्प्रेरित दुवै प्रवासमा छौँ यतिखेर । यसमा कसैप्रति पनि हाम्रो गुनासो छैन, न कुनै पछुतो नै छ आफ्नो प्रवासी जीवनप्रति । तर विशेषगरी चाडपर्वको समयमा मनमा चाहिँ कहिलेकाहिँ यस्तो कुरा खेल्छ, सायद हाम्रा चेलीबेटीहरु पनि हामीलाई सम्झदै यस्तो गीत गाउँदा हुन्–
एउटा माइती दूर देश
आँखाको आँसु सुकि जाइजाला
गोदावरी फूल ओइलि जाइजाला…।