• हङकङ-झुहाई-मकाउ पुल उद्घाटन

  • दुई वर्षको ढिलासुस्ती र अर्बौं डलरको लगानी वृद्धिपछि, अन्तत: राष्ट्रपति सि जिन्पिङले हङकङ-झुहाई-मकाउ पुलको मंगलबार उद्घाटन गरेका छन् । झुहाईस्थित अध्यामगन परिसरमा आयोजना गरिएको विश्वकै लामो समुद्री पुलको उद्घाटन समारोहमा झण्डै सात सय अतिथी उपस्थित थिए ।

    चीनका भाईस-प्रिमियर हान झेङले पुलले आर्थिक र व्यापारिक गतिविधीको सवालमा हङकङ र मुलभूमि चीनलाई अझ नजिक ल्याउने बताए । हान सहित नेशनल डिभेलोप्मेन्ट एन्ड रिफर्म कमिशनका अध्यक्ष हे लिफेङ र ग्वाङदोङ पार्टी सचिव ली सि लगायतका अन्य अधिकारीहरु कार्यक्रममा सहभागी भएका थिए ।

    मुलभूमि चीन, हङकङ र मकाउबीचको सफल सहकार्य र चीनको उत्कृष्ट ईन्जिनियरिङ क्षमताको प्रदर्शन भनी यो मेगा-प्रोजेक्टले कार्यक्रममा निकै प्रशंसा बटुल्यो । पुलले टाईफुन मेङखुतजस्ता खतराको सामना गर्न सक्ने र तीन स्थानका मानिसहरुले देखेको सपना साकार भएको लीले बताए ।

    “ग्रेटर बे एरियाको योजना र खाका राष्ट्रपति सि जिन्पिङले व्यक्तिगत रुपमा बनाएका हुन् । उनले व्यक्तिगत रुपमा जोड दिएको यो एउटा महत्वपूर्ण राष्ट्रिय रणनीति हो । यसले ग्वाङदोङ, हङकङ र मकाउका लागि महत्वपूर्ण अवसरहरु प्रदान गर्नेछ,” उनले भने ।

    क्षेत्रीय आर्थिक समायोजनका लागि बेईजिङका प्रमुख जिम्मेवार व्यक्ति हानले ५५ किलोमिटर लामो उक्त पुलले “एक देश, दुई प्रणाली” को विकासमा सहजीकरण गर्ने बताए । यो यस्तो संरचना हो जसले हङकङ र मकाउलाई स्वायत्तताको निश्चित सीमा प्रदान गर्दछ । तीन पक्षले कुनै महत्वपूर्ण परियोजनामा सँगै काम गरेको यो पहिलो घटना भएको पनि उनले दाबी गरे ।

    “अर्थतन्त्र र व्यापारमा अझ विशाल विनिमयका लागि यसले सबै तीन स्थानलाई खोल्दछ,” हानले भने,” यसले पर्ल रिभर डेल्टाको प्रतिस्पर्धालाई पनि बढाउनेछ ।” पुलले हङकङ र मकाउलाई मुलभूमि चीनसँग समायोजन हुन सहयोग गर्ने उनले बताए ।

    पाँच मिनेटको भाषणमा, कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत-ङोरले खुला चीनको ४०औं वार्षिकोत्सवलाई हङकङले भूमिका खेलेको र त्यसबाट फाईदा लिएको एउटा रुपान्तरण बताईन् ।

    लामले – ग्वाङझु-शेन्जेन-हङकङ एक्स्प्रेस रेल लिंक, हङकङ-झुहाई-मकाउ पुल र अर्को वर्ष खुल्ने लियान्ताङ/ह्योङ युएन वाईन सीमा नियन्त्रण नाका – तीन अन्तरसीमा पूर्वाधार परियोजनामाथि प्रकाश पार्दै प्रत्येकले हङकङ, मकाउ र मुलभूमि चीनबीचको समायोजन सुदृढ गर्न सहयोग गर्ने बताईन् ।

    “ग्रेटर बे एरिया” को विकासका लागि पुलले राम्रो जग बसालेको लामले बताईन् । ग्रेटर बे एरिया क्यालिफोर्निया, अमेरिकाको सिलिकन भ्यालीलाई चुनौती दिने उद्देश्यले हङकङ, मकाउ र मुलभूमि चीनका नौ शहर सम्मिलित प्राविधीक नेतृत्वको आर्थिक केन्द्र हो ।

    “ग्रेटर बे एरियाले चाँडै राष्ट्रिय शक्ति प्राप्त गर्ने… र विश्वव्यापी रुपमै एउटा प्रतिस्पर्धी र प्रथम श्रेणीको बे एरिया बन्नेछ भन्ने मैले आशा गरेकी छु,” उनले भनिन् ।

    कार्यक्रममा लामले आफ्नो दोश्रो नीति सम्बोधनका क्रममा सार्वजनिक गरेको विवादास्पद “ल्यान्ड रिक्लेमेसन” परियोजना “लान्ताउ टुमरो भिजन” को मुद्दा पनि उठाईन् । नयाँ बनेको पुल र नजिकै रहेको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले लान्ताउ आइल्यान्ड विश्व र ग्रेटर बे एरियाका लागि “दोहोरो द्वार” बन्ने लामले बताईन् ।

    “हङकङलाई राम्रो भविष्य दिने अवसर सरकारले सदुपयोग गरेको छ,” लामले भनिन् ।

    ५५ किलोमिटर लामो यो पुलले एक घण्टाको दुरीमा यी तीन शहरलाई जोड्दछ । हङकङभित्रका सम्पर्क सडक र फ्लाईओभर सहित परियोजनामा हङकङले १ खर्ब २० अर्ब हङकङ डलर लगानी गरेको छ । यसले हङकङको आर्थिक विकास र पर्यटन विस्तार गर्ने अपेक्षा गरिएको छ । परियोजनाको निर्माण सन् २००९ देखि शुरु भएको थियो र सन् २०१६ मै खुल्ने भनिएको थियो ।

    परियोजनाको फाईदा देखाउने समर्थकसँगै यसलाई “सेतो हात्ती” र “रगत र पसिनाको परियोजना” बताउने आलोचकहरु पनि उत्तिकै छन् । परियोजना निर्माणको क्रममा १० जना कामदारको ज्यान गएको छ भने ६ सयभन्दा धेरै घाईते भएका छन् ।

    यो वर्षको प्रारम्भमा अधिकारीहरुले अपेक्षा गरिएको पुलको ट्राफिक कटौती गरिएको खुलाएपछि थप विवाद शुरु भएको छ । सन् २००८ मा गरिएको एउटा परामर्श अध्ययनमा, सन् २०३० सम्म ३३ हजार १ सय सवारी साधन र १ लाख ७१ हजार ८ सय यात्रुले दैनिक पुल पार गर्ने अनुमान गरिएको थियो । तर सन् २०१६ मा गरिएको अर्को अध्ययनमा यो अनुमान घटेर २९ हजार १ सय सवारी साधन र १ लाख २६ हजार यात्रुले दैनिक पुल पार गर्ने अनुमान गरिएको छ ।

    पुलले शहर र वेस्टर्न पर्ल रिभर डेल्टा, ग्वाङदोङ र ग्वाङसि प्रान्तहरुबीच कार्गो ढुवानीलाई सहज बनाउनेछ । यसले हङकङदेखि झुहाईसम्मको यात्रालाई पनि एकदमै छोटो बनाउनेछ । क्वाई चुङ कन्टेनर पोर्ट र झुहाईबीचको यात्रा समयमा साढे तीन घण्टाले छोटिएर अब करिब १ घण्टा १५ मिनेट मात्रै लाग्ने अनुमान गरिएको छ । यसका साथै हङकङ अन्तर्राष्ट्रिय विमानस्थलदेखि झुहाईसम्मको पुग्न करिब ४५ मिनेट मात्रै लाग्नेछ । हाल यो दुरी पुरा गर्न झण्डै ४ घण्टा लाग्ने गरेको छ ।

    परियोजनामा भ्रष्टाचार र डिजाईन सम्बन्धी स्क्यान्डलहरु

    सन् २०१७ मा, एउटा सरकारी कन्ट्रयाक्टरका लागि कार्यरत प्रयोगशालाका १९ कर्मचारीलाई पुलको नक्कली परिक्षण रिपोर्ट बनाएको अभियोग लगाईएको थियो । तीमध्ये एक जनालाई गत वर्ष ८ महिनाको जेल सजाय भएको छ । पुलको लागि तयार गरिएको कंक्रिट क्युबको परिक्षण रिपोर्ट बनाउन सन् २०१२ देखि २०१५ सम्म गलत उपकरण प्रयोग गरेकोमा उनी दोषी साबित भएका थिए ।

    अन्य १८ जनालाई, जनवरी २०१३ देखि जुलाई २०१६ सम्म कम्प्युटरको समय परिवर्तन गरेको वा परिक्षणमा प्रयोग गरिएका कंक्रिट क्युबका वास्तविक नमूनाहरु फेरबदल गरेको अभियोग लगाईएको छ । तीमध्ये दोषी ठहर भएका २ जनालाई क्रमश: ३२ महिना र २२ महिना जेल सजाय सुनाईएको छ । गल्ती स्वीकार गर्ने अर्का एक प्राविधीकले बाँकी १५ विरुद्ध बयान दिने अनुमान गरिएको छ । उनीहरुको सुनुवाई आउने वर्षको शुरुमा हुनेछ ।

    सन् २०१६ मा, प्राविधीक समस्याका कारण कृत्रिम टापु पानीमा बगेको अधिकारीहरुले खुलाएका थिए । टापुमा पुलका लागि आवश्यक सामग्री राखिएका थिए र त्यसको पुनर्संरचना गर्नुपर्ने भएको थियो ।

    सुरक्षा सम्बन्धि चासो अप्रिलमा फेरी शुरु भयो । आकाशबाट खिचिएका तस्बिरहरुले टापुको किनारमा राखिएका ईन्टरलकिङ कंक्रिट ब्लकहरु बगेको खुलाएका थिए । तर पुलका अधिकारीहरुले, डोलोस भनिने ती ब्लकहरु “पानीमा डुब्ने गरी” विशेष रुपले डिजाईन गरिएको बताएका थिए ।

    यसका साथै, विभिन्न हरित समूहहरुले पुलको निर्माणले लान्ताउ आइल्यान्ड वरपरको पर्यावरणमा पर्ने प्रभावलाई लिएर चिन्ता व्यक्त गरेका थिए । यो वर्षको प्रारम्भमा सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदन अनुसार, हङकङको समुद्रमा चीनियाँ सेतो डल्फिनको संख्या “अत्यन्तै न्युन” छ । अप्रिल २०१७ देखि मार्च २०१८ सम्म यस प्रजातिका ४७ वटा डल्फिन मात्रै देखा परेका थिए ।

    सन् २०१२ मा पुलको काम शुरु हुदाँ र विमानस्थलको स्काई पायरबाट तिव्र गतिका फेर्रीको ट्राफिक वृद्धि भएपछि, उत्तरपूर्वी लान्ताउबाट धेरै संख्यामा डल्फिनहरु गायब भएका थिए ।

    अङ्ग्रेजी भाषाका विभिन्न समाचारमा आधारित । तस्बिर: एससीएमपी ।

  • कमेन्ट गर्नुहोस्