हङकङ-झुहाई-मकाउ पुलबाट कार र बसहरु पार हुन थाले
हङकङ-झुहाई-मकाउ पुल बुधबार बिहान खुल्दा उत्साही यात्रुहरुले सेल्फी खिचें, कोच सञ्चालकहरु तँछाडमछाड गरी तयार भए र लजिस्टिक कम्पनीहरु निकै जोशिला देखिन्थे । राष्ट्रपति सि जिन्पिङले मंगलबार झुहाईमा भएको एक कार्यक्रममा विश्वकै सबैभन्दा लामो, ५५ किलोमिटर, समुद्री पुलको उद्घाटन गरेका थिए ।
हङकङको अध्यागमन परिसरमा पर्खिरहेकाहरु भवनको वास्तुकला देखेर आश्चर्यचकित थिए जसको लहरा-स्वरुपको छानो मानिसहरुको बहावको प्रतिक हो ।
“एकदमै सुन्दर,” मकाउ र झुहाईको एक दिने यात्रामा आएका ६६ वर्षिय अवकाशप्राप्त कर्मचारी रिक्की फुङ क्वान-वाहले भने ।
सीमा पारी उत्तरपश्चिमी न्यु टेरिटोरिजसँग जोड्ने तुयन मुन-चेक लाप कोक लिंकमा कार्यरत निर्माण कामदार, ५५ वर्षिय ल चित-क्वोङले पनि यो ऐतिहासिक क्षणको साक्षी बन्न एक दिनको विदा लिएका थिए ।
“निश्चय पनि म खुशी छु – मैले यो पुल बनाउन पाँच वर्ष बिताएको छु,” उनले बताए ।
समुद्र पारी मकाउ अध्यागमन परिसरमा पनि, पुल राम्ररी सञ्चालन भईरहेको थियो तर अधिकारीहरुले यात्रुहरुलाई सेल्फी लिनबाट रोक्दै सिठ्ठी बजाईरहेका थिए । एमी वोङले दुख लागेको अनुभव सुनाईन् ।
“मैले फोन झिकें, तर उनीहरुले मलाई फोटो खिंच्न दिएनन्,” ५८ वर्षिया गृहिणी वोङले भनिन् । हङकङपट्टि चाँहि फोटो खिंच्न पाएको उनले सुनाईन् ।
बस सञ्चालहरुका लागि भने, एक साता अघि मात्रै पुल खुल्ने सूचना पाएकोले अन्तिम तयारी गर्ने निकै चटारो थियो । क्वुन तोङ र जुवाको केन्द्र मकाउबीच १९ वटा कोच सञ्चालन गर्ने वान बस हङकङ मकाउका प्रवक्ता च्यान मान-क्योङले कम्पनीले बुधबार मात्रै परिक्षण यात्रा गर्न सकेको बताए ।
“टिकट बिक्रीको तयारी गर्दा कम्प्युटर प्रणालीमा केही गडबडी भएको थियो । अक्टोबर २५ देखि मात्रै हामीले औपचारिक रुपमा सेवा शुरु गर्न सक्छौं,” उनले बताए ।
यद्यपि, क्वुन तोङबाट मकाउका लागि छुटेको पहिलो कोच बिहान ११:४० बजे गन्तव्यमा पुगेको थियो । अवकाशप्राप्त कर्मचारी ७५ वर्षिया वोङ चोर-श्योङले यात्रा आरामदायी भएको बताईन् ।
“तर अध्यागमनको प्रकृया पुरा गर्न मैले धेरै हिड्नुपर्यो, त्यसैले म एकदमै थाकें,” उनले बताईन् ।
२६ वर्षिय शिक्षक जेसन वोङ ताक-चाकले यात्रा आरामदायी रहे पनि सिट साँघुरो भएको गुनासो गरे ।
ढुवानी उद्योगको नेतृत्वले व्यावसायिक दृष्टिकोणले पुल आकर्षक भए पनि, पुलको प्रयोग गर्न हतार नगर्ने बताएको छ । लोक मा चाउ चाईना-हङकङ फ्राईट एसोसिएसनका अध्यक्ष स्ट्यान्ली चियाङ ची-वाईले हङकङका १३ हजार अन्तरसीमा ट्रकमध्ये भविष्यमा कति वटाले पुल प्रयोग गर्ने हुन् अनुमान गर्न कठिन हुने बताए ।
“पुलबाट माल ढुवानी गर्दा एक तिहाईले सस्तो पर्नेछ, प्रति ट्रिप करिब ४ हजार हङकङ डलर,” चियाङले भने । यो शिप्पिङ सेवासँग प्रतिस्पर्धी वा सस्तो पनि हुनसक्ने उनले बताए ।
तर अन्तरसीमा ट्रक चालकहरुको सबैभन्दा साझा गन्तव्यहरु दोङग्वान वा हुईझुजस्ता हङकङको उत्तर र उत्तरपूर्वी शहरहरु भएको पनि उनले औंल्याए । अमेरिका-चीनको व्यापार युद्धको अनिश्चिततासँगै, कति ट्रकले सो पुल प्रयोग गर्नेछन् अहिले नै भन्न नसकिने उनले बताए ।
र, बस कम्पनीहरुजस्तै, चियाङको कम्पनी पनि छोटो समयमा आएको सूचनाको बन्दी बनेको थियो ।
“यति छोटो समयमा जानकारी आयी कि, हामीले अग्रिम तयारी केही गर्न सकेनौं,” चियाङले भने ।
च्याम्बर अफ हङकङ लजिस्टिक्स ईन्डष्ट्रीका स्थायी उपाध्यक्ष च्यान फु-चुएनले आफ्नो कम्पनीसँग १० वटाभन्दा धेरै अन्तरसीमा ट्रक भए पनि पुल खुलेको दिन कुनै पनि ट्रक उक्त पुलबाट पार नहुने बताए ।
“धेरै सञ्चालकहरुले भन्सार प्रकृया कसरी पूरा गर्ने भनेर अझै पत्ता लगाईरहेका छन्,” च्यानले बताए ।
ट्रान्सपोर्ट एन्ड हाउजिङका सचिव फ्र्याङ्क च्यान फानले सार्वजनिक सेवाको पहिलो दिनमै पुलमा ठूलो ट्राफिक परिमाण अपेक्षा नगरेको बताए ।
“प्रारम्भिक अवधिमा…यात्रु र ट्राफिक निकै कम हुनेछ । चाप वृद्धि हुन समय लाग्नेछ,” च्यानले भने ।
पुल दीर्घकालीन समयमा चालक र यात्रुबीच लोकप्रिय हुनेमा हङकङ सोसाईटी फर ट्रान्सपोर्टेसन स्टडिज सम्बद्ध हुङ विङ-तात निकै सकारात्मक थिए ।
“आउने महिना, सरकारले शुरुमा अनुमान गरेजस्तो दैनिक ९ देखि १४ हजार सवारी साधनले पुल प्रयोग गर्ने छैनन् । मेरो विचारमा, पहिलो महिनाको मुख्य उद्देश्य रेस्टुरेन्ट लगायत पुलको सञ्चालन परिक्षण गर्नु हो,” हुङले भने ।
यो पुलले तीन वटै शहरलाई एक अर्कासँग एक घण्टा नजिक ल्याएर – दक्षिण चीनका ११ वटा शहरलाई एउटै आर्थिक र व्यापारिक केन्द्रमा समायोजन गर्ने राष्ट्रिय योजना – “ग्रेटर बे एरिया” अन्तर्गत अवसर र लाभहरु सिर्जना गर्ने परियोजनाका समर्थकहरु बताउँछन् ।
पुलको हङकङ खण्डको निर्माण सन् २०११ मा शुरु भएको थियो, र सन् २०१६ मा पुल सञ्चालनमा आउने अपेक्षा गरिएको थियो । तर कार्यस्थलमा भएका दुर्घटना, भ्रष्टाचारको अनुसन्धान, प्राविधीक वाधाअड्चन र बजेट वृद्धिले यसमा ढिलाई उत्पन्न भयो ।
परियोजनामा सम्बन्धित पूर्वाधारको लागत सहित हङकङले कुल १ खर्ब २० अर्ब हङकङ डलर लगानी गरेको छ ।