• डिसेम्बर अन्तिमदेखि नयाँ स्मार्ट आईडी

  • डिसेम्बर २७ देखि करिब ८८ लाख हङकङवासीले नयाँ स्मार्ट हङकङ आईडी कार्ड पाउने भएका छन् ।

    स्मार्ट आईडी चरणबद्ध रुपमा जारी गरिने र सबैभन्दा पहिले कानुन नियामक र सरकारी अधिकारीले पाउने अध्यागमन विभागले जनाएको छ । अर्को चरणमा सन् १९८५ वा १९८६ मा जन्मिएका हङकङवासीले आउने वर्षको जनवरी २१ र मार्च ३० सम्म नयाँ स्मार्ट आईडी पाउनेछन् । हाल प्रयोगमा रहेको आईडी कार्ड पाउने यो नै पहिलो समूह थियो । कार्ड अन्तिम पटक सन् २००३ मा परिवर्तन गरिएको थियो । यही कारणले पनि उनीहरुको आईडी कार्ड बढी जोखिममा छ ।

    हङकङवासीले अक्टोबर २९ देखि अनलाईन मार्फत् समय लिन र अग्रिम रुपमा फारम भर्न सक्नेछन् । आईडी कार्ड फेर्ने कार्यक्रम चार वर्षमा सम्पन्न हुने अपेक्षा गरिएको छ । कार्डवाहकहरुलाई उनीहरुको जन्म मिति अनुसार कार्ड परिवर्तन गर्न बोलाईनेछ ।

    उपयुक्त कारण सहित तोकिएको समयसीमाभित्र उपस्थित नहुनेले कानुन उल्लंघन गरेको मानिने र सम्बन्धित व्यक्तिलाई ५ हजार हङकङ डलर जरिवाना गरिने अध्यागमन विभागले जनाएको छ ।

    “आईडी कार्ड परिवर्तन गर्नलाई बोलाउँदा तोकिएको उमेर समूहका कार्डवाहक हङकङमा नभएको खण्डमा, सम्बन्धित व्यक्ति शहर फर्किएको मितिले ३० दिनभित्र नयाँ कार्डका लागि आवेदन दिन सक्नेछन्,” विभागको सहायक निर्देशक तथा व्यक्तिगत अभिलेखालयका प्रमुख च्यान तिन-चीले बताए ।

    “अन्यथा, कार्ड परिवर्तन गर्नलाई तोकिएको समयमा उपस्थित हुन नसक्नुको कारण खुलाउनुपर्नेछ । हामी व्यक्तिगत घटनाका आधारमा निर्णय गर्नेछौं ।”

    सन् २०१५ देखि २०१७ बीचमा, सम्बन्धित नियमहरु उल्लंघन गरेकैले सात जनालाई २ हजार हङकङ डलरसम्म जरिवाना गराईएको छ । प्रमुख कार्यकारी, प्रमुख सरकारी अधिकारी, विधायक र कार्यकारी परिषद् सदस्यहरुको कार्ड सबैभन्दा पहिले फेरिने च्यानले बताए । आफ्नो कर्तव्य निर्वाह गर्न तथा कार्यप्रवाह र सञ्चालनको पुनरावलोकनमा सहयोग पुर्‍याउन उनीहरुलाई नयाँ स्मार्ट कार्डसँग परिचित गराउनु नै यसको उद्देश्य भएको उनले बताए ।

    नयाँ स्मार्ट कार्ड जारी गर्नलाई विभागले शहरभरी नौ वटा केन्द्रहरु स्थापना गरेको छ । त्यहाँ आफैं दर्ता गर्ने र संकलन गर्ने संयन्त्र पनि उपलब्ध हुनेछ । यी केन्द्रहरु डिसेम्बर २७ देखि काम गर्न थाल्नेछन् ।

    नयाँ स्मार्ट आईडीका लागि परम्परागत रुपमा काउन्टरमा गई दर्ता गराउने प्रकृयाभन्दा सेल्फ-सर्भिस कियोस्कमा दर्ता गराउदाँ करिब ३० मिनेट लाग्ने च्यानले बताए । कियोस्कमा, आवेदकले हाल प्रयोग गरिरहेको आईडी कार्ड बुझाउनु पर्नेछ । त्यसपछि, दुई औंलाको छाप र आवेदन रुजु गरि बुझाउनुपर्नेछ । मेशिनले आफैं एउटा फारम दिएपछि आवेदकले फोटो खिंच्न अघि बढ्नुपर्ने उनले बताए ।

    “फोटोका लागि, आवेदकहरुले रोजेको नै प्रयोग गर्न सक्नेछन्,” च्यानले भने ।

    अनुहार प्रष्टसँग देखाउन आवेदकहरुलाई धेरै मेकअप नगर्न र गाढा रंगको कलर भएको लुगा लगाउन च्यानले सल्लाह दिएका छन् । चश्मा लगाउन पाईने भए पनि आँखा छोप्ने चश्माको फ्रेम प्रयोग गर्न नहुने उनले बताए । निशुल्क पाईने नयाँ स्मार्ट आईडी कार्ड १० दिनभित्र उपलब्ध हुने उनको अनुमान छ ।

    नोभेम्बर २६ मा शुरु हुने एउटा औपचारिक स्मार्टफोन एपबाट आवेदकहरुले समय लिन र फारम बुझाउन सक्ने विकल्प पनि प्रदान गरिनेछ । आवेदकहरुले ६५ वर्ष वा सोभन्दा माथिका दुई वृद्धलाई आफुसँगै ल्याएर उनीहरुको लागि पनि नयाँ स्मार्ट आईडी कार्डको आवेदन बुझाउन सक्नेछन् । यसो गरे उनीहरुले सन् २०२२ सम्म पर्खिनु पर्नेछैन ।

    शहरमा नयाँ आएका लगायत नोभेम्बर २६ देखि नयाँ स्मार्ट आईडीका लागि आवेदन दिने आवेदकहरुले नयाँ स्मार्ट आईडी कार्ड पाउनेछन् । उनीहरुसँगै आईडी कार्ड हराएको वा बिग्रिएकोले नयाँ आवेदन दिनेहरु वा ११ देखि १८ वर्ष पुगेका नाबालक वा वयस्कले पनि नयाँ स्मार्ट आईडी कार्ड पाउनेछन् ।

    सन् २००३ देखि २००७ सम्म जारी गरिएको तथा हाल प्रयोगमा रहेको आईडी कार्डले १० वर्षे म्याद पार गरिसकेको छ । त्यसैले ती कार्ड बिग्रिने वा काम नगर्ने सम्भावना बढी हुन्छ । नयाँ जारी हुने नेक्स्ट-जेनेरेसन कार्डमा बिल्ट-इन रेडियो फ्रिक्वेन्सी आईडेन्टिफिकेसन (आरएफआईडी) प्रविधी र अनुहार पहिचान गर्ने फेसियल रिकग्निसनका लागि हाईयर-रेजोल्युसनका तस्बिरजस्ता फिचर हुने भएकोले अझ बढी सुरक्षित पनि हुनेछ ।

    नयाँ स्मार्ट आईडी कार्ड गुलाबी, हल्का नीलो र हल्का हरियो रंगमा हुनेछ । कार्डवाहकको तस्बिर देब्रेपट्टि र त्यस्को सानो स्टेरियो लेजर तस्बिर दाहिने तर्फ हुनेछ । यस बाहेक, कार्डको दाहिनेतिर माथिल्लो कुनामा वारपार हेर्न सकिने स्थानमा कार्डको नम्बर हुनेछ । कार्डको पछाडीको भागलाई अल्ट्राभायोलेट प्रकाशमुनि राख्दा हङकङको आकाशवृत्त देखिनेछ । आरएफआईडी ट्रान्समिशन प्रविधीले सुरक्षा र डाटा झिक्ने गतिमा सुधार ल्याउनेछ ।

    कार्डले ताररहित प्रविधीमा पनि काम गर्नेछ र फेसियल रिकग्निसन प्रविधीका लागि हाई-रेजोल्युसन फोटो राख्नलाई थप स्टोरेज क्षमता पनि हुनेछ । यसले फिंगरप्रिन्ट भेरिफिकेसन वा औंला छापबाट गरिने पहिचानका साथै वैकल्पिक बायोमेट्रिक प्रमाणीकरण पनि सहज हुनेछ । फिंगरप्रिन्ट टेम्प्लेटलाई अझ सुरक्षित बनाउन र सटिक पहिचान प्रमाणीकरणका लागि अपग्रेड पनि गरिनेछ ।

  • कमेन्ट गर्नुहोस्