जातीय विभेद र पूर्वाग्रह विरुद्ध भिडियो अभियान
“धेरैजसो ईन्डोनेशियाली कामदार चोर हुन्छन्…माफ गर्नुहोला, हामी अफ्रिकीलाई घरमा राख्न सक्दैनौं…हामी पाकिस्तानीलाई घर भाडामा दिदैनौं ।”
यी अभिव्यक्तिहरु सुन्दा आश्चर्यजनक र दुखद लाग्न सक्छ । तर यो वास्तविकता हो । हङकङका धेरै गैर-चीनियाँ जातीय अल्पसंख्यकहरुका लागि जातीय विभेद कसरी एउटा कटु सत्य बनेको छ भन्ने देखाउन परोपकारी संस्था रिजल्भ फाउन्डेसनले सामाजिक सञ्जालमा एउटा भिडियो अभियान सञ्चालन गरेको छ ।
उक्त भिडियो अभियानमा, हङकङका घरबेटीले “माफ गर्नुहोला, हामीलाई अफ्रिकी चाहिएको छैन” भनेको सुनाउने पश्चिम अफ्रिकाको टोगोका कानुनका विद्यार्थी; विद्यार्थीबाट अपमानित अंग्रेजी विषयका बंगलादेशी शिक्षक र रेस्टुरेन्टमा अंग्रेजी मेन्यु माग्दा त्यहाँको कर्मचारीबाट हप्की-दप्की खाएकी एक जना ईन्डोनेशियाली कामदारजस्ता जातीय अल्पसंख्यकहरुको आवाज समावेश गरिएको छ ।
हङकङको ईक्वाल अपर्च्युनिटिज कमिशनले “स्टोरिज अफ एभ्रीडे रेसिजम इन हङकङ” शीर्षकको श्रृंखलाप्रति आफ्नो समर्थन जनाएको छ । यो श्रृंखला फेसबुक र युट्युबमा अंग्रेजी र क्यान्टोनिज दुवै भाषामा रिलिज भईरहेको छ । अभियान अन्तर्गत नोभेम्बर ६ सम्म प्रत्येक साता एउटा नयाँ भिडियो सार्वजनिक गरिनेछ भने क्यान्टोनिज बोल्ने श्रोता-दर्शकसँग एउटा प्रत्यक्ष प्यानल छलफल पनि गरिनेछ ।
कार्यक्रमका एक वक्ता पाकिस्तानका २८ वर्षिय यासिर नावेद “दिनहुँ हुने जातीय विभेद” बारे यस्तो भन्छन् : “एउटा प्रष्ट उदाहरण के हो भने म हङकङमा ट्याक्सी चढ्न पाउँदिनँ, र मेरो छालाको रंग नै यसको कारण हो । ९० प्रतिशत समय, उनीहरु ट्याक्सी रोक्दैनन् । लाममा बसेर कुनै ट्याक्सीमा बसिहालें भने पनि, ट्याक्सी चालक मलाई बाहिर निकाल्छन् ।”
यी वातावरण सम्बन्धि परामर्शदाता आजभोली ट्याक्सी चढ्ने झन्झट् नै गर्दैनन् । बरु राइड-शेयरिङ सेवा रोज्छन् ।
जाभा, ईन्डोनेशियाकी अरिस्ता देवी घरेलु कामदार बनेर सन् २००९ मा हङकङ आईन् । उनी एक लेखक पनि हुन् । उनले सन् २०१३ मा हङकङका प्रवासी कामदारबारे आफ्नो मातृभाषामा एउटा स्वयं-प्रकाशित पुस्तक सार्वजनिक गरिन् । हङकङेली समाजमा जातीय विभेदको समस्याले निकै व्यापक र गहिरो जरा गाढेको उनी बताउँछिन् ।
“पसलका कर्मचारीहरु हङकङेली र सम्भवत: पश्चिमेलीलाई राम्रो व्यवहार गर्छन्,” देवी भन्छिन्,”‘म तपाईंलाई केही सहयोग गर्न सक्छु कि ?’ भन्दै उनीहरुलाई सोध्छन्; उनीहरु पनि मुस्कुराउँछन् ।”
तर ईन्डोनेशियाली कामदारसँग यस्तो व्यवहार नहुने उनी बताउँछिन् । “उनीहरु हामीलाई हेयको दृष्टिले हेर्छन् र भन्छन् – तिमीहरुसँग पैसा नै हुँदैन ।”
देवीकी साथी ३८ वर्षिया हेई कोचो पनि ईन्डोनेशियाली नै हुन् । मोङ कोकको एउटा सानो ज्वेलरी पसलमा साथीहरुसँग शपिङ गरिरहेको बेला पसल मालिकले उनीहरुलाई एकाएक रोकेको घटना उनको स्मरणमा ताजै छ ।
“म क्यान्टोनिज बुझ्दिनँ जस्तो लाग्यो होला र उनले आफ्नो साथीहरुलाई भने: ‘उनीहरुको झोला हेर, ईन्डोनेशियालीहरु धेरैजसो चोर हुन्छन्,” कोचोले भनिन्, “उनीहरुले मेरो झोला भुईंमा राखेर खाली गर्न लगाए ।” पसलका कर्मचारी र ग्राहक सेवा कर्मचारीबाट यस्तो व्यवहार हुनु नियमितजस्तै भएको देवी र कोचोले बताईन् ।
हङकङको कुल जनसंख्यामध्ये ८ प्रतिशत जातीय अल्पसंख्यक छन् । यो जम्मा ७४ लाख जनसंख्यामध्ये ६ लाखभन्दा थोरै हो । तर जातीय विभेदको समस्या व्यापक रुपमा फैलिएको छ: एजुकेशन युनिभर्सिटी अफ हङकङले वर्षको शुरुमा गरेको एक सर्वेक्षणमा १० मध्ये ६ जना हङकङेलीले शहरका जातीय अल्पसंख्यकहरु पूर्वाग्रहबाट पीडित रहेको सोंच्ने गरेको पत्ता लागेको छ ।
यद्यपि, जातीय पूर्वाग्रहका घटनामाथि प्रकाश पार्नुभन्दा पनि जातीय अल्पसंख्यक समूहका व्यक्तिहरुको सशक्तिकरण गर्दै आफैं आवाज उठाउन र समुदायको नेतृत्व गर्न सक्ने बनाएर हङकङको समाजमा सकारात्मक योगदान पुर्याउन चाहेको रिजल्भ फाउन्डेसनले बताएको छ ।
अगष्टमा शुरु भएको संस्थाको फेलोशिप कार्यक्रममा १० देशबाट १९ देखि ५५ वर्षका १३ जना सहभागी छन् । समुदायको नेतृत्व बन्नलाई उनीहरु एउटा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् र पूर्वाग्रह विरुद्ध लड्नलाई विभिन्न सोंच र अवधारणाहरु ल्याउनेछन् । अरिस्ता देवी पनि कार्यक्रमकी सदस्य हुन्, जो प्रत्यक्ष कारवाहीको पक्षमा छिन् ।
“अब म पसलेहरुलाई सोध्छु : ‘तपाईंले मसँग यसरी कुरा गर्न मिल्छ ? म ईन्डोनेशियाली भएकैले यस्तो व्यवहार गर्न मिल्छ ?’,” उनले भनिन् । आफ्नो अडानमा उभिदाँ मानिसहरुले प्राय: माफी माग्ने गरेको देवी बताउँछिन् । “हामीहरु विभेद बुझ्दैनौं र त्यस विरुद्ध आवाज उठाउन सक्दैनौं भन्ने उनीहरुलाई लाग्दो हो ।”
प्रणालीगत जातीय विभेद सम्बोधन गर्न, हङकङका विद्यालयमा परिवर्तन ल्याउन आवश्यक रहेको नावेदले बताए । १३ वर्ष अघि आमाबाबुसँग हङकङ आएका नावेदलाई मेई फूको एउटा विद्यालय पठाईयो जहाँ बहुसंख्यक विद्यार्थी दक्षिण र दक्षिणपूर्वी एशियाली बालबालिका थिए ।
“त्यहाँ हामीलाई चीनियाँ सिकाउने कोही थिएन,” उनले बताए । “यो एउटा विशेष विद्यालय गएजस्तो थियो ।”
जातीय अल्पसंख्यक बालबालिकालाई केही विद्यालमा मात्रै केन्द्रित गर्ने वर्तमान प्रणालीले जातीय विभेदलाई अझ बढाउने उनको तर्क छ । “यदि स्थानीय चीनियाँलाई जातीय अल्पसंख्यकसँग घुलमिल हुन दिईएन भने, त्यसले गलत धारणाको विकास गर्दछ,” उनले भने । उनले बताए अनुसार विद्यालयमा विविधता बढी भएको सुनिश्चित गर्नु नै यसको समाधान हो । यसले विद्यार्थीहरुलाई एकअर्कासँग घुलमिल हुने वातावरण बनाउँछ तर यस्तो परिवर्तन कार्यान्वयन गर्न कानुन आवश्यक पर्नेछ ।
विभेद विरुद्धका कानुन प्रवर्द्धन गर्ने वैधानिक निकाय ईक्वाल अपर्च्युनिटिज कमिशनले अभियानलाई साथ दिएको छ ।
“रिजल्भको भिडियो अभियानले हामीलाई युवा जातीय अल्पसंख्यक हङकङेलीको आवाज सुन्ने अवसर दिएको छ, जो शहरको अंग भएर पनि, पराई भएको अनुभव गर्दछन्,” कमिशनका वरिष्ठ अधिकारी रेमन्ड होले भने ।
“सचेतना परिवर्तनको प्रारम्भिक बिन्दु हो र हङकङलाई आफ्नो घर भन्ने हाम्रा जातीय अल्पसंख्यक साथीहरुको संघर्ष र चुनौतीबारे मानिसहरुको प्रत्यक्ष सिकाईलाई सहयोग गर्न ईक्वाल अपर्च्युनिटीज कमिशन यो अभियानको पूर्ण समर्थन गर्दछ ।”