• गोरखाली राजासँग घले राजाको युद्ध

  •  

    गोरखाको बारपाक पछिल्लो समय भूकम्पको केन्द्रविन्दु भएका कारण चर्चामा आयो । तर बारपाक इतिहासका विभिन्न प्रसङ्गमा पनि चर्चित भएको पाइन्छ । कुनै समय यो ठाउँमा घलेहरुले राज्य गर्थे । त्यो बेला बारपाकले चाहे गोरखा राज्यमा नुनको हाहाकार बनाउन सक्थ्यो । समय समयमा बारपाकी घले राजाको गोरखा राज्यसँग द्वन्द्व, युद्ध र मित्रता गाँसिदै रह्यो । यसै सम्बन्धमा चार सय वर्ष पुरानो इतिहासलाई संक्षिप्त रुपमा प्रस्तुत गर्ने प्रयास यस लेखमार्फत् गरिएको छ ।

    द्रब्य शाहको मृत्युपछि उनका छोरा पूर्ण शाह (कतै पुरन्दर शाह) गोरखाका राजा भए । उनको समयमा बारपाकीसँग गोरखाको लडाइँ चल्यो । बारपाकको हर्ताकर्ता त्यसबेला चाग्या घले थिए । उनको भाइ सुर्तान पनि दाजुसँगै सक्रिय थिए । बारपाकीसँग गोरखाको लडाइँ चलेपछि चाग्या र सुर्तानले गोरखामा नुन रोकिदिए । गोरखामा नुनको हाहाकार भयो । त्यस समयमा लमजुङ र तनहुँले पनि गोरखालाई दुःख दिइरहन्थ्यो । चाग्या र सुर्तानलाई मार्न वा हराउन नसकिएपछि गोरखाका राजा पूर्ण शाहले उनीहरुसँग मित्रता कायम गर्नुपर्ने निष्कर्ष निकाले । ‘गोरखा र बारपाकबीच मित्रता भए अरुले केही गर्न सक्दैन’ भन्ने प्रस्ताव राजा पूर्ण शाहले चाग्या र सुर्तानलाई पठाए । गोरखाको यस्तो प्रस्तावले चाग्या र सुर्तानको चित्त बुझ्यो । त्यसपछि उनीहरु मित्रता गाँस्न गोरखा आइपुगे । त्यतिबेला तनहुँबाट गोरखामा उपहार आएको हात्ती देखाइयो चाग्या र सुर्तानलाई । हात्ति देखाएर उनीहरुलाई भनियो, ‘पहाडमा नहुने यसले नुन खान्छ ।’

    त्यसपछि बारपाक र गोरखाबीच मित्रता गाँसियो । चाग्या र सुर्तानले हरेक वर्ष २१ मुरी नुन गोरखा पठाउन थाले । यसले गोरखामा रहेको नुनको समस्या तत्काललाई टर्यो । साथै चाग्या र सुर्तानले भोटबाट नुन ल्याउने बाटो पनि खुलाइदिएको पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को संख्या २८ मा प्रकाशित गोरखा वंशावली (श्रावण २०३१ः३)मा उल्लेख छ । यसरी राजा पूर्ण शाहको समयमा गोरखा र बारपाकबीच मित्रता गाँसियो ।

    पूर्ण शाहपछि गोरखामा उनका छोरा छत्र शाह राजा भए । छत्र शाह राजा भएको सात महिनापछि परलोक भए । पूर्ण शाह कहिले परलोक भए भन्ने विषयमा मतक्यैता छैन । इतिहासकार दिनेशराज पन्तले ‘गोरखाको इतिहास’ पहिलो भाग (२०४१ः७०)मा इतिहासको विभिन्न स्रोतहरु उधृत गर्दै पूर्ण शाहको मृत्यु वर्ष वि.सं. १६५७, १६६२ र १६६६ लेखिएको उल्लेख गरेका छन् । पूर्ण शाहको पालाको प्रामाणिक सामग्री उपलब्ध नभएकोले उनको मृत्यु वर्ष कुन हो, यसै भनिहाल्न सकिने अवस्था नरहेको भन्दै यस प्रसङ्गमा पन्त निष्कर्षमा पुग्न सकेका छैनन् ।

    छत्र शाहपछि गोरखाको गद्दिमा बसेका उनका भाइ राम शाहको राज्यकालका विषयमा भने इतिहासकार पन्त निष्कर्षमा पुगेका छन् । उनले ‘कैलाश’को वर्ष १, अंक १ (सन् १९७३ः७९)मा एक लेख प्रकाशमा ल्याएका छन् । ‘राम शाहको राज्यकाल–एक चर्चा’ शीर्षकको उक्त लेखमा राम शाहको राज्यकाल वि.सं. १६७१ देखि १६९३ रहेको स्पष्ट हुन आएको उल्लेख गरे पनि उनले यो लेखमा राजा राम शाहको राज्यकालको निश्चित मिति भेट्टाउन अरु बढी अन्वेषणको खाँचो रहेको औल्याएका छन् ।

    इतिहास शिरोमणि बाबुराम आचार्यले भने ‘पूर्णिमा’को पूर्णाङ्क २७ (आश्विन २०२९ः१६२)मा राम शाहको समय वि.सं. १६६३ देखि १६९० उल्लेख गरेका छन् ।

    गोरखाका प्रशिद्ध राजा राम शाहको समयमा गोरखा र बारपाकबीच निक्कै ठूलो द्वन्द्व थियो । ‘प्राचीन नेपाल’ संख्या २८(श्रावण २०३१ः१८–२१)मा प्रकाशित ‘गोरखा वंशावली’को राम शाह प्रकरणमा लामो गरेर रोचक पाराले यस सम्बन्धमा बर्णन ले गरिएको छ । यसको सारसंक्षेप यस्तो छ-
    गोरखा र लमजुङबीच राम्रो सम्बन्ध थिएन । एकापसमा लड्न र लडाउन त्यसबेला बिभिन्न दाउपेचहरु भइरहन्थे । यसैक्रममा लमजुङ र बारपाकबीचको सल्लाहपछि चाग्या र सुर्तानले गोरखामा जासुसी गर्न आफ्ना मानिस पठाए । त्यहाँ मानिस पठाउनुको उद्देश्य तालमेल मिलाएर राम शाहको हत्या गर्नु थियो ।

    राम शाहमाथि जासुसी र आक्रमण
    चाग्या र सुर्तानको आदेश अनुसार २÷४ घलेहरु गोरखा दरबारमा आए । उनीहरुले राम शाहसमक्ष बिन्ति चढाउँदै भने, ‘हामी बारपाकबाट फुटेर आएका हौँ, हाम्रा राजाले हामीलाई बिनासित्ति दुःख दिए । हजुरको न्याय निसाफ राम्रो छ भन्ने सुनेर आएका हौँ ।’
    उनीहरु गोरखामा आई डेरा जमाएर बस्न लागे । तर राम शाहका ६ थरका भारदारहरुले भने यी घलेहरुमाथि शंकाको नजरले हेर्न लागे । त्यसबेला गोरखाको ६ थर भन्नाले पाँडे, पन्त, अज्र्याल, खनाल, राना र बोहरा पर्थे । उनीहरुले राजा राम शाहलाई ‘यी घलेहरु आफ्ना मूलुकबाट अन्यत्र जाने खालका होइनन्’ भन्ने बिन्ति गरे । राम शाहले उनीहरुमाथि जाँचबुझ गर्न आफ्ना मानिस खटाए ।

    गोरखाली भारदारहरुले आफूहरुमाथि शंकाले हेर्न थालेको उनीहरुले चाल पाए । उनीहरुले यस विषयमा आफ्ना राजालाई खबर पठाउँदै सोधे, ‘यी गोरखालीहरु बहुत चतुर रहेछन्, के गर्ने होला ।’

    चाग्या र सुर्तानले यो खबर पाएपछि ‘त्यहाँ (गोरखामा) नबस्न र यता (बारपाक)बाट ८०÷१०० मानिस पठाएका छौं । त्यहाँ सामेल हुनका लागि कोही शिकार खेल्ने र तरुल भ्याकुर खोज्नेजस्तो भएर बनमा पस्नू । कोही माग्ने अनि कोही व्यापारीजस्तो भएर राजाको हालखबर बुझ्दै गर्न ।’

    च्याग्या र सुर्तानको यस्तो आदेश आएको लगात्तै १००-८० जना बारपाकीहरु पनि गोरखा आइपुगे ।

    एक दिन राम शाह शिकार खेल्न बालुवाबेसी गए । उनीसँग १०÷१२ जना सहयोगी थिए । यहीँ मौकामा बारपाकबाट आएका घले गुरुङहरुले उनीमाथि धनुकाँड प्रहार गरे । राम शाहले पनि शस्त्र विद्या जानेका थिए । ढाल तरबारको प्रयोग भयो । कोही गोरखाली गुहार माग्न गए । राम शाहको रणकुशलता र शस्त्रविद्यासामु बारपाकी झुक्न बाध्य भए । उनले ती बारपाकीहरुसँग केरकार गर्दा आफूहरुलाई लमजुङले यस्तो गर्न उकासेको हो भन्ने जवाफ दिए । राम शाहले फेरि उनीहरुलाई भने, ‘चाग्या–सुर्तानसँग हाम्रो मित्रता थियो, यो कुरा भन्छौ कि भन्दैनौँ ?’ बारपाकीहरुले आफ्ना राजालाई यो कुरा भन्ने बताए । बारपाकी राजासँग आफूहरुको पुरानो मित्रता रहेको त्यो कायमै गराउन आदेश दिएर ती बारपाकीहरुलाई राम शाहले छाडिदिए ।

    मितेरीको बाहनामा चाग्याको हत्या
    आफ्ना मानिसलाई पक्रिएर पनि नमारेकोले राम शाह धर्मात्मा रहेछन् भन्ने लाग्यो चाग्या र सुर्तानलाई । उनीहरुले मित्रताकै मनसुवा राखी राम शाहलाई पत्र पठाए । यसबारे राम शाहले ६थर प्रभृति भारदारहरुलाई सुनाए । भारदारहरुले चाग्या र सुर्तानको फौज धेरै भएको, उनीहरु शारीरिक बलमा पनि बलियो भएकोले उनीहरुलाई हराउन कठीन हुने भएकोले छल गरी मार्नुपर्ने सुझाव राम शाहलाई दिए । यसका लागि चाग्या–सुर्तानलाई हतियार नलिई बालुवाबेसीमा मीत लगाउन बोलाए । यता गोरखालीहरुले भने मित लगाउने अघिल्लो दिन नै बालुवाबेसीमा गई खँुडा, खुकुरी, तरवार आदि लुकाइराखे ।
    ती भारदारहरु राम शाहजस्तै अनुहार परेका ‘चुहान’ नामका व्यक्तिलाई राम शाहजस्तो तुल्याएर राम शाहको दर्शन गरी विदा भएर बालुवाबेसी गए । चाग्या र सुर्तान पनि पूर्वसर्त अनुसार हात हतियार नलिई लावा-लस्करका साथ बालुवाबेसी आइपुगे ।गोरखालीहरुले आफ्नो अनुकूल ठाउँमा उनीहरुलाई राखे । दुवैतर्फ आराम कुशल विषयमा कुराकानी भए । मितेरी लगाउने काम सुरु भयो । त्यहाँ आएका निशस्त्र घले तथा भोटेहरु निशंका मितेरी समारोह हेर्न लागे । त्यतिबेलै गोरखालीहरुले बालुवामा लुकाएर राखिएको हतियार झिकी चाग्या र सुर्तानमाथि प्रहार गरे । चाग्या त्यही मारिए । सुर्तान भाग्न सफल भए । १२-१५ जना घलेहरुलाई पक्रिइयो । बाँकीलाई काटियो । पक्राउ परेका बारपाकीहरुलाई सोधियो, ‘तिम्रा राजा त मारिए, के भन्छौ ?’

    बारपाकीहरुले भने, ‘हाम्रा राजा मरिगए । एउटा राजालाई हामीले मान्नै पर्छ । हाम्रा राजाका भारदार पनि हामी नै हौँ । बारपाक तिमीहरुको भयो । अरु मुलुक तिमीहरुको भएको छैन । अरु मूलुक जित्न हामीलाई पनि अघि सार ।’

    यो कुरा राम शाहलाई जाहेर भयो । उनले भारदारहरुलाई आदेश दिए, ‘च्याग्यालाई मारेछौ । बारपाक हात लागेछ । बाँकी रहेका हाम्रा सेवक भए । उनीहरुलाई अघि सारेर अठारसयखोला जित्न अघि बढ ।’
    त्यसपछि गोरखालीहरु अठारसयखोला क्षेत्र जित्न अघि बढे ।

    सुर्तानको हत्या
    बारपाकी राजा चाग्या मारिए पनि उनको भाइ सुर्तान जिवितै थिए । गोरखा राज्य विस्तार गर्दै हिडेका गोरखालीहरु सुर्तानको खोजी पनि गर्दै थिए । सुर्तान बालुवाबेसीबाट भागेर बस्याहारी (बसेरी) आई घर बनाइ बसिरहेका सूचना गोरखालीहरुले पाए । राम शाहबाट सुर्तानलाई मार्न हुकुम भयो । गोरखालीहरु सल्यान (सल्यानटार) जित्न अघि बढेका थिए । त्यो फौज बस्याहारीतिर बढ्यो र उनीहरुले सुर्तानको पनि हत्या गरे । बसेरी र सल्यानटार दुवै अहिले धादिङ जिल्लामा पर्छ ।

    हत्या भएको अनुमानित मिति
    चाग्या र सुर्तानको हत्या भएको मिति खुल्न सकेको छैन । तर यसमा केही अनुमान भने गर्न सकिने अवस्था छ । गोरखा वंशावलीमा राम शाहको कचहरीमा सम्मिलित हुँदा सिद्ध लखन थापा (प्रथम)ले चमत्कार देखाएका थिए । ‘प्राचीन नेपाल’को संख्या २८ (श्रावण २०३१ः१४)अनुसार लखन थापाको यस्तो सहभागिता र चमत्कार देखाएको केहीपछि राम शाह राज्य विस्तार अभियानमा लागेका देखिन्छन् । लखन थापा राम शाहको समयको अन्तिमतिर रहेको अनुमान ‘पूर्णिमा’ पूर्णाङ्क २७ (आश्विन २०२९ः१६२)मा इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका छन् । राम शाहको राज्यकाल बाबुराम आचार्यले वि.सं. १६६३ देखि १६९०सम्म भनेका र दिनेशराज पन्तले वि.सं.१६७१ देखि १६९३ भएको निष्कर्ष निकालेको प्रसँग माथि परिसकेको छ । गोरखा वंशावली अनुसार तपस्या गर्दै, विद्या सिक्दै र कचहरीमा न्याय निसाफ गर्दै राम शाहको अघिल्लो समय बितेको र पछिल्लो समय मात्र राज्य विस्तार अभियानमा उनी लागेको देखिन्छ । राज्य विस्तार अभियानको प्रारम्भिक चरणमा बारपाक हात पार्ने क्रममा च्याग्या र सुर्तानको हत्या गरिएको भन्ने देखिदा चाग्याको हत्या वि.सं. १६९० देखि १६९३ भित्र भएको हुनसक्छ । राम शाहकै आदेशमा चाग्याका भाइ सुर्तानको पनि हत्या गरिएको हुँदा चाग्याको हत्या भएको केही महिनापछि सुर्तान हत्या भएको थियो ।

    यस्तै राम शाहभन्दा अघि उनका दाजु छत्र शाह र त्यसअघि उनका बाबु पूर्ण शाहले शासन गरेका थिए । पूर्ण शाहको समयमै गोरखासँग युद्व गर्दै नुन रोक्ने र पछि गोरखासँग मित्रता गाँसी नुन पठाउने तथा नुनका लागि गोरखाको बाटो खुलाउने काम पनि चाग्या र सुर्तानले गरेका देखिदा हत्या भएको समयमा यी दुइ दाजु भाइको उमेर केही प्रौढावस्थामा पुगिसकेको थियो भन्ने अनुमान पनि गर्न सकिन्छ ।

    रामु घलेको ताम्रपत्र

    घलेहरुले यस किसिमबाट गोरखा राज्यसँग लड्दै भिड्दै रहेका थिए । तर राज्यले घलेहरुलाई केही न केही दिई फकाई फुल्याई गरेको देखिन्छ । यस सन्दर्भमा यस लेखकले प्राप्त गरेको एउटा पुरानो ताम्रपत्रको विषयमा चर्चा गरिनेछ ।
    गोरखा जिल्लाको मान्बु गाउँमा घलेको बाक्लै बस्ती छ । यहाँका घलेमध्ये एउटा खलक छ, जसलाई १७ भाइ खलक भनेर चिनिन्छ । करिब ३५ घरधुरीमा फैलिएको यो खलकले हरेक तीन वर्षमा लुङ्दार गाड्ने गर्छ । लुङ्दार भनेको बौद्ध मन्त्र उल्लेखित विभिन्न रङका कपडाका झल्लर हो । यो अवसरमा उनीहरूले एउटा ताम्रपत्र निकाल्ने गर्छन् । यसैगरी तिहारमा पूजा गर्दा पनि यो ताम्रपत्रको पूजा गर्न बिर्संदैनन् ।

    मान्बु–३ का गजे घलेको घरमा सुरक्षित रहेको यो ताम्रपत्रलाई उनीहरूले १७ भाइ खलकका ३५ घरमा छरिएर रहेकाहरूको सामूहिक सम्पत्तिका रूपमा लिइएको छ । ताम्रपत्रको लम्बाइ २२ सेन्टिमिटर र चौडाइ नौ सेन्टिमिटर रहेको छ ।

    यो ताम्रपत्रमा यस्तो लेखिएको छः

    स्वस्ति श्री गीरिराजा चक्रचुडामनी नरनरायायेणेत्या दिवीवीदवीधवलीवी राजामनमस्नोन्नत श्रीमन् माहाराजाधीराजा श्रीश्रीमंनरभुपाल सहादेवनां सदा समरवीजाइनम्

    आगे रामु घलेके लकुवाको सापोनापो मन्बुमाहा बीर्ता बकस् भयो. मानबुले उठायाको षडपुजा षोक्पा उलाक रामु घलेले उठाउनु. मानबुले मान्याको सरैले बाराथरि दुवारे मांनु. माहाभीरसमेत् बकस् भयो. साक्षी अग्नेस्वर जैसि लोहारि राना शिवराम बस्नेत् जसबु राना जोपु भडारि अहिवर्न थापा बीरभद्र थापा कर्दूमानंदु पाध्य जयेक्रीस्न जैसि. लिखतका साछि मोछेसोरा जैसि. इति संवत् १७९६ जेष्ठ बदि रोज १ शुभम्

    ताम्रपत्रको भाषा अनुसार यो ताम्रपत्र गोरखाका राजा नरभूपाल शाहले मान्बुका रामु घलेलाई दिएका हुन् । रामु घलेलाई मान्बुमा जग्गा बिर्ता दिइएको लिखतका रूपमा यो ताम्रपत्र नरभूपाल शाहले दिएको हुन् । मान्बु क्षेत्रको महभीरसमेत गोरखा राज्यले बकस् दिएको यस ताम्रपत्रमा उल्लेख छ । महभीर भनेको भीर मौरीले मह बनाउने ठाउँ हो ।

    यो ताम्रपत्र प्रदान गरिँदा तत्कालीन गोरखा राज्यसँग सम्बन्ध राख्ने त्यहाँका १० जना अधिकारी अगुवाहरूलाई साक्षीका रूपमा प्रस्तुत गरिएको छ । उनीहरूमा अग्नेश्वर जैसी, लोहरी राना, शिवराम बस्नेत, जसबु राना, जोपु भण्डारी, अहिवर्ण थापा, वीरभद्र थापा, कर्दुमानदु पाध्य, जयकृष्ण जैसी तथा मोछेसोरा जैसी साक्षीका रूपमा प्रस्तुत भएका छन्।

    यो ताम्रपत्रको फोटो चाहिँ मलाई मेरी एक विद्यार्थी सिर्जना घलेले उपलब्ध गराएकी हुन् । उनी ताम्रपत्र सुरक्षित राख्ने गजे घलेकी सुपुत्री हुन् ।

    इतिहासकार प्राध्यापक दिनेशराज पन्तले आफ्नो पुस्तक ‘गोरखाको इतिहास’ भाग ३ को (२०४५ः७९५)मा मा यस पत्रका बारेमा उल्लेख गरेका छन् । प्राध्यापक पन्तले गोरखा जिल्लाको मान्बु बस्ने नारायण घलेले १९९६ साल साउन २२ गते पेस गरेको नक्कलबाट सारिएको भनी उल्लेख गरेका छन् । उनका अनुसार सारेर बुझाइएको यो पत्र धादिङको मालपोत कार्यालयमा रहेको छ )। हाल गोरखा जिल्लामा पर्ने मान्बुलाई पहिले धादिङ जिल्लाको मालपोतले हेर्ने गथ्र्याे ।

    ताम्रपत्रमा उल्लेख भए अनुसार यो ताम्रपत्र १७९६ साल जेष्ठ बदी ९ रोज १ मा जारी भएको हो । प्राध्यापक पन्तले तिथीलाई मितिमा उल्लेख गरे अनुसार यो ताम्रपत्र १७९६ साल जेठ २१ गते आइतबारका दिन जारी गरिएको हो । यस अनुसार गोरखा राज्यबाट ताम्रपत्र पाउने रामु घलेका सन्तान नारायण घलेले ताम्रपत्र जारी भएको दुई सय वर्षपछि ताम्रपत्र सारेर मालपोत कार्यालयमा बुझाएको स्पष्ट हुन आउँछ ।

    इतिहासका महत्वपूर्ण स्रोतमध्ये ताम्रपत्र पनि एक हो । यस ताम्रपत्रले गोरखा राज्यसँग घलेहरूको घनिष्ठ सम्बन्ध रहेको स्पष्ट पाछ । यो ताम्रपत्र सुरक्षित रूपमा राख्ने गजे घलेभन्दा नौ पुस्ताअघिका पुर्खा यस ताम्रपत्र प्राप्त गरेको देखिन्छ । इतिहासकारहरू महेशराज पन्त र दिनेशराज पन्तले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णाङ्क ४५ (२०३७ जेठः१–५) मा वंशावलीको विषयमा भगवानलाल इन्द्राजीको विचारलाई उद्धृत गरे अनुसार बिमा कम्पनीहरूको तथ्यांक सारिणीअनुसार एक पुस्ता र अर्का पुस्ताबीच २६ वर्षको अन्तर हुन्छ ।

    रामु घलेले पाएका यस ताम्रपत्रले घलेहरूलाई तत्कालीन राज्यले पहिचान गरेको र उनीहरूलाई जग्गा जमिन सम्बन्धी अधिकार र जिम्मेवारी दिएको थियो भन्नेसमेत प्रमाणित हुन्छ ।

    गोरखा राज्यका संस्थापक राजा द्रब्य शाहले लिगलिगकोटमा घले राजालाई दौडमा जितेर राज्य कब्जा गरेको विषय त इतिहास प्रशिद्ध छदैछ ।

  • कमेन्ट गर्नुहोस्