• हङकङको मानसिक स्वास्थ्य खस्कदों

  • हङकङेलीहरुको मानसिक स्वास्थ्य सात वर्षको अन्तरालमा घट्दै गएको एक सर्वेक्षणले पत्ता लगाएको छ । सोमबार सार्वजनिक गरिएको उक्त सर्वेक्षणले झण्डै आधाजति “सन्तोषजनक स्वास्थ्यको रेखामुनि” रहेको देखाएको छ ।

    यस्तो नतिजा ल्याउन कामको तनाव र कमसल सामाजिक भावनाले थोरै भूमिका खेले पनि, अघिल्ला सर्वेक्षणहरुले परिस्थितीलाई कम आँकलन गरेको हुनसक्ने अनुसन्धाताहरुले स्वीकार गरेका छन् । ती सर्वेक्षणहरुले दिउँसो गरिएका थिए जतिबेला धेरैजसो मानिसहरु काममा जाने गर्दछन् ।

    जुन १२ देखि २९ सम्म सञ्चालन गरिएको यो वर्षको सर्वेक्षणमा कम्तीमा १५ वर्षका १ हजार ७ जना सहभागीलाई टेलिफोन मार्फत् अन्तर्वार्ता लिईएको थियो । यस्ता टेलिफोन अन्तर्वार्ता सन्ध्याकालमा गरिएका थिए ।

    विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सूचकांक अवलम्बन गरी, सर्वेक्षणका सहभागीहरुलाई पछिल्ला पन्ध्र दिनमा उनीहरुले कतिको खुशी र उत्साहजनक अनुभव गरे भनि सोधिएको थियो । उनीहरुलाई “मलाई शान्त र आराम अनुभव भएको छ” र “मेरो दैनिक जीवन मेरा अभिरुचीका विषयहरुले भरिएका छन्” जस्ता अभिव्यक्तिहरुलाई शुन्यदेखि पाँचसम्मको अंकमा रेटिङ गर्न भनिएको थियो । पाँच अंकले “सम्पूर्ण समय अनुभव गरेको” र शुन्यले “कहिले अनभुव नगरेको” बुझाउँछ ।

    सय अंकले सम्भावित सबैभन्दा गुणस्तरीय जीवन बुझाउँछ भने ५२ अंकले सन्तोषजनक स्वास्थ्य रेखा जनाउँछ । यो वर्षका सहभागीहरुको औसत अंक ५०.२ रह्यो । सन् २०१७ मा यो ५९.७५ थियो । सन् २०१२ देखि सर्वेक्षण शुरु गरे यताकै कमजोर नतिजा यो वर्ष देखिएको छ । औसत अंक सन्तोषजनक रेखामुनि झरेको पनि यो नै पहिलो घटना हो ।

    सन् २०१२ मा सहभागीहरुको औसत अंक ५६.२५ थियो । अनुसन्धानका संयोजक डा. इभान माक विङ-चितले रातीको समयमा सहभागीहरुलाई सम्पर्क गर्ने नया विधिले “अंक उल्लेखनिय रुपले तल झरेको हुनसक्ने” बताएका छन् ।

    “तर हङकङेलीहरुको मानसिक स्वास्थ्यमा कुनै सुधार नभएको र पछिल्ला वर्षहरुमा अझ गम्भिर बन्दै गएको भन्नु उचित नै हुनेछ,” उनले भने ।

    यसो हुनुमा समाजमा व्याप्त राजनीतिक तनावको आंशिक दोष भएको विश्वास गर्दै यी मनोचिकित्सकले भने, “सामाजिक वैमनस्यता धेरै नै भएको छ ।”

    यो वर्ष करिब ४८ प्रतिशत सहभागीले ५२ भन्दा थोरै अंक ल्याएका छन् । मानसिक स्वास्थ्य “सन्तोषजनक” रहेको देखाउँदै ३८ प्रतिशतले ५२ देखि ६८ अंक ल्याएका छन् । त्यसैगरी, १४.१ प्रतिशतले ७२ अंक वा सोभन्दा माथि प्राप्त गरेका छन् । उनीहरुको मानसिक स्वास्थ्य राम्रो रहेको बुझ्न सकिन्छ ।

    सामान्यतया, अलि पाका, विवाहित, हेरविचार गर्नुपर्ने परिवार वा बालबालिका भएकाहरुको मानसिक स्वास्थ्य राम्रो देखिएको छ । उमेर समूहलाई हेर्दा, २५ देखि ३४ वर्ष उमेर समूहको मानसिक स्वास्थ्य सबैभन्दा खराब स्थितीमा रहेको पाईयो । उनीहरुको औसत अंक ४६.४९ रहेको छ ।

    व्यवस्थापकिय तहमा काम गर्नेहरुको मानसिक स्वास्थ्य सामान्यतया अग्रपंक्तिका कर्मचारी वा शारीरिक श्रम गर्नेहरुको तुलनामा निकै राम्रो भएको पाईएको छ । उनीहरुको औसत अंक क्रमश; ५२.८१ र ४३.३३ रहेको सर्वेक्षणले देखाएको छ ।

    पूर्णकालीन रोजगार भएका ४९ प्रतिशत सहभागीहरु औसत दैनिक ९.१४ घण्टा काम गर्ने गरेको देखिएको छ भने १८.४ प्रतिशतले दैनिक १० घण्टाभन्दा धेरै समय काम गर्ने गरेको बताएका छन् ।

    यो सर्वेक्षण मानसिक स्वास्थ्यबारे सर्वसाधारणको सचेतना वृद्धि गर्ने उद्देश्यले सरकारले नेतृत्व गरेको अभियानको एउटा अंश हो ।

  • कमेन्ट गर्नुहोस्