• जातीय अल्पसंख्यकलाई शिक्षा प्रणालीबारे जानकारी दिने नेपाली, अंग्रेजी र हिन्दी भिडियो

  • हङकङको शिक्षा प्रणालीबारे जातीय अल्पसंख्यकहरुलाई सुसूचित गर्न युनिसनले तीन भाषामा जानकारीमूलक भिडियो निर्माण गरेको छ । शहरका धेरै जातीय अल्पसंख्यकहरु चीनियाँ भाषामा दक्ष नभएकोले उच्च अध्ययन, रोजगार र सामाजिक सेवाहरुको पहुँचमा बाधा उत्पन्न भएको युनिसनले जनाएको छ ।

    “जातीय अल्पसंख्यकहरुसँगको आउटरिच र दैनिक सम्पर्कबाट, उनीहरुमध्ये केही स्थानीय शिक्षा प्रणाली वा विद्यालयको आवेदन प्रकृयाबारे अनभिज्ञ रहेको हामीले पत्ता लगाएका छौं,” युनिसनले जनाएको छ । “भाषिक बाधा र जानकारी पाउने कठिनाईका कारण अल्पसंख्यक आमाबाबुहरुलाई प्रणालीबारे जानकारी लिन कठिन हुने गरेको छ ।”

    सन्तानको शिक्षाबारे सुसूचित निर्णय गर्नलाई आमाबाबुको सशक्तिकरण गर्न, युनिसनले बिहीबार भिडियोको पहिलो श्रृंखला सार्वजनिक गरेको छ । “यु, योर चाईल्ड एन्ड स्कूल” शीर्षक राखिएको उक्त भिडियो श्रृंखलामा नेपाली, अंग्रेजी र उर्दु/हिन्दी गरी तीन भाषाका ६ वटा भिडियो समावेश गरिएको छ ।

    उक्त श्रृंखलाले आमाबाबुलाई हङकङको शिक्षा प्रणालीका साथै किन्डरगार्टेन र प्राथमिक तहका विद्यालयमा आवेदनको प्रकृयाबारे आधारभूत जानकारी दिनेछ ।

    “यो विद्यालयको खोजी गर्ने समय पनि हो,” कार्यकारी निर्देशक फिलिस च्योङ फुङ-मेईले भनिन्,”यो समयमै ल्याईएको र आमाबाबुले पनि कहाँबाट जानकारी पाउने भन्ने थाहा पाउने हामीले आशा गरेका छौं ।”

    यी भिडियोहरुले सन्तानको लागी उपयुक्त विद्यालयको छनोट र किन्डरगार्टेन तथा प्राथमिक तहमा कसरी सिट सुरक्षित गर्नेबारे जानकारी दिनेछन् ।

    “हङकङमा विद्यालयबारे जातीय अल्पसंख्यक समुदायका आमाबाबुहरुले जानकारी पाउने कुनै तरिका नभएको हामीले पत्ता लगाएका छौं,” च्योङले बताईन् ।

    भिडियोमा विद्यालयको प्रोफाईल हेर्ने तरिका र जातीय अल्पसंख्यक समुदायका विद्यार्थीहरुलाई उपलब्ध सहयोग सम्बन्धी जानकारी पनि समावेश गरिएको छ । उनीहरुले “गैर-चीनियाँ विद्यार्थीहरुलाई कुन विद्यालयले कस्तो सहयोग उपलब्ध गराउँछ भनेर हेर्न पाउनेछन् ।” विद्यालयले विद्यालयपछि अध्यापन गराउने सुविधा र विद्यार्थीलाई पढाउने विधिबारे पनि जानकारी उपलब्ध भएको च्योङले बताईन् ।

    ती भिडियोहरु युनिसनको वेबसाईट www.unison.org.hk/parentsresources.php र युट्युब च्यानल “HKUnison” मा उपलब्ध छन् ।

    युनिसनले भिडियोहरु व्हाट्सएप मार्फत् पनि जारी गरेको छ । यसले आमाबाबुलाई आफ्नो मोबाईल फोनमा भिडियो गर्न सहज हुनेछ । च्योङले “एक हजारभन्दा धेरै मानिसहरुले” बिहीबार बिहानसम्म ती भिडियोहरु प्राप्त गरेको बताईन् । भिडियोको पटकथा “आमाबाबुले के जान्न चाहन्छन्” भन्ने आधारमा लेखिएको युनिसनले जनाएको छ ।

    शिक्षा ब्युरोले आफ्ना पर्चाहरुलाई सात भिन्न भाषामा अनुवाद गरे पनि विस्तृत जानकारी नभएको च्योङले बताईन् । ती पर्चाहरुमा शिक्षा प्रणालीबारे सामान्य जानकारी मात्रै दिईएको उनले बताईन् ।

    “केही आमाबाबुले ती अनुवादहरु बुझ्न गाह्रो भएको हामीलाई बताएका छन्,” उनले बताईन् । “दैनिक कुराकानीको भाषा प्रयोग गरे उनीहरुले राम्रो बुझ्नेछन् भन्ने हामीले विचार गर्‍यौं ।” अर्को पटक माध्यमिक तहका विद्यालयमा स्थान सुरक्षित गर्ने सम्बन्धमा भिडियो बनाउने युनिसनले तयारी गरिरहेको छ । यसका साथै जातीय अल्पसंख्यकका लागी सरकारी नीति पनि बुझाउने उनीहरुको योजना छ ।

  • कमेन्ट गर्नुहोस्