• जग्गाधनीलाई जानकारी नदिई चिनियाँ सीमा सुरक्षा बलद्वारा हङकङको नीजि जग्गामा बगैंचा निर्माण

  • जग्गाधनी वा सरकारलाई जानकारी नदिई चीनियाँ सीमा सुरक्षा बलले हङकङको नीजि जग्गालाई २१ हजार वर्ग फिटको बगैंचामा रुपान्तरण गरेको फ्याक्टवायर न्युज एजेन्सीको एउटा समाचारले दाबी गरेको छ ।

    ग्वाङदोङ बोर्डर डिफेन्स कर्प्सका सदस्यहरुले ओगटेको उक्त जमिन शा ताउ कोकस्थित शा ताउ कोक नदी नजिकै न्यु टेरिटोरिजमा पर्दछ । नजिकै मुलभूमी चीनको शेन्जेनस्थित यान्तियान डिस्ट्रिक्टको सीमा छ । यो जमिन हङकङ सरकारले निषेधित बताएको क्षेत्रमा शा ताउ कोक ईमिग्रेसन कन्ट्रोल प्वाईन्टभन्दा ९ सय मीटर उत्तरपश्चिममा पर्दछ ।

    फ्याक्टवायरले गरेको अनुसन्धान अनुसार, उक्त जमिन कर्प्सको छैठौं डिट्याच्मेन्टको १३औं कम्पनी बसेको सैनिक इलाका छेवैमा पर्दछ र नवनिर्मित पुलबाट मुलभूमीसँग जोडिएको छ ।

    सरकारी अभिलेखको खोजी गर्दा सो जमिन दुई हङकङेलीको नीजि स्वामित्वमा रहेको पोस्टले पत्ता लगाएको छ । यस क्रममा सिन्ह्वा न्युज एजेन्सीले सन् २०१५ मा खिचेको एउटा तस्बिर पनि फेला परेको छ जसमा मुलभूमीका अधिकारीहरुले बगैंचाको निरीक्षण गरिरहेका छन् ।

    जमिनको अभिलेखहरुले हङकङ-शेन्जेन सीमा पुलको बीच भागमा पर्ने देखाए पनि सैनिक पोशाकमा ठाँटिएका अधिकारीहरु सैनिक इलाका र बगैंचाबीचको पुल वारीपारी गर्ने गरेको देखिन्छ । तर त्यस क्षेत्रको तस्बिरमा अध्यागमन सुरक्षानाका भने देखिदैंन ।

    ‘वरिष्ठ अधिकारी, यान्तियान डिस्ट्रिक्टको शातुजियाउ कार्यालय र सिभिल अफेयर्स डिपार्टमेन्ट’ को सहयोगमा माछापालन, कुखुरापालन र तरकारी खेती गर्न उक्त जमिनलाई सुरक्षा गार्डहरुले सन् २०१२ मा बगैंचामा रुपान्तरण गरेको जानकारी उल्लेख गरिएको एउटा बोर्ड सैनिक इलाका र जमिनबीचको एउटा गेटबाहिर फेला परेको फ्याक्टवायरको समाचारले उल्लेख गरेको छ ।

    ल्यान्ड्स डिपार्टमेन्टका अधिकारीहरुले घटनाको अनुसन्धान भईरहेको जनाएका छन् । “परिस्थितीबारे नर्थ डिस्ट्रिक्ट ल्यान्ड्स डिपार्टमेन्टले जानकारी लिईरहेको छ,” एक प्रवक्ताले भने । स्थानीय प्रहरी र सेक्युरिटी ब्युरोले फ्याक्टवायरको समाचारबारे अनुसन्धान गर्ने बताएका छन् ।

    नर्थ डिस्ट्रिक्ट ल्यान्ड्स अफिसमा कार्यरत वोङ च्योक-क्योङले फ्याक्टवायरलाई भने: “मुलभूमी सरकारले हङकङको जमिनमा निर्माण कार्य गर्न सक्दैन । यदि यो कुनै नीजि कम्पनीले गरेको काम भए, जग्गाधनीलाई सम्पर्क गर्नुपर्थ्यो ।

    कब्जा गरिएको क्षेत्रमा १५ हजार वर्ग फिट जमिनको स्वामित्व भएका याउ क्वोक-मानले आफ्नो जमिन यसरी प्रयोग भएकोबारे केही थाहा नभएको, र उनको जमिन सीमा सुरक्षा बलले प्रयोग गर्न पाउनेबारे पनि हङकङ सरकारले केहि नसोधेको बताए ।

    त्यस क्षेत्रमा चार वटा नीजि जमिनका प्लट छन् । तीमध्ये एउटा प्लटको स्वामित्व भएको ईप तिङ यिङ त्सो ईन्डिजिनस ल्यान्ड ट्रस्टले पनि आफ्नो जमिन बगैंचामा रुपान्तरण गरिएको जानकारी नभएको बताएको छ । ट्रस्टका प्रबन्धक ईप चाउ-पिङले करिब १० वर्षअघि पहिरो गएपछि उक्त जमिनमा प्रहरीले तारबेरा गरेको, र सो क्षेत्र प्रवेश गर्दा अधिकारीको निगरानीमा गर्नुपर्ने व्यवस्था रहेको पनि बताए ।

    सन् १९९८ मा जमिन खरिद गरेका याउले ल्यान्ड्स डिपार्टमेन्टको प्रतिवेदन पर्खिने, तर कानुनी परामर्श लिनुपर्ने आवश्यकता पनि हुनसक्ने उनले बताए ।

    स्थानीय अधिकारीहरुले घटनाको अनुसन्धान गर्ने बताए पनि, ग्वाङदोङको सुरक्षा बलका एक अधिकारीले उक्त जमिन सीमा नजिकैको बफर जोन अर्थात् मध्यवर्ती क्षेत्रमा पर्ने, र यहाँ प्रवेश गर्न उनीहरुले कुनै अनुमति लिन नपर्ने बताए ।

    “उदाहरणका लागी, हामी यो क्षेत्रका तस्कर र गैरकानुनी आप्रवासी गिरफ्तार गर्नसक्छौं,” लियाङ नाम गरेका ती अधिकारीले भने । विषयवस्तुबारे छलफल गर्न हङकङ प्रहरीसँग सम्पर्क गर्ने उनले बताए ।

    हङकङ र शेन्जेनबीच ३५ किलोमीटर लामो सीमा उभिएको छ जहाँ शेन्जेन र शा ताउ कोक नदीहरु सँगसँगै बग्दछन् । नदीहरुको केन्द्रबिन्दुबाट दक्षिणी क्षेत्र हङकङ र उत्तरतिर शेन्जेनको नियन्त्रणमा पर्दछ । हङकङ सरकारको दस्तावेज अनुसार, यो निषेधित क्षेत्र हो र यसलाई बन्द सीमाना क्षेत्रमा वर्गीकरण गरिएको छ ।

    हङकङ सरकारको अनलाईन ल्यान्ड रजिष्ट्रीले सैनिक इलाका नजिकै रहेको शा ताउ कोक नदी छेवैमा नीजि जमिनको चार वटा प्लट भएको देखाउँछ । “डीडी ७२ १८५” सकेंत दिईएको एउटा प्लट याउको हो भने “डीडी ७२ १८६” ट्रस्टको स्वामित्वमा छ ।

    डेमोक्रयाटिक पार्टीका विधायक जेम्स तो कुन-सुनले अध्यागमन प्रकृया पूरा नगरी मुलभूमीका अधिकारीलाई हङकङ प्रवेश गर्ने अनुमति नभएको बताए । वकिल समेत रहेका तोले अनुमति नलिई जग्गा कब्जा गरेर बसेका विरुद्ध जग्गाधनीहरुले कानुनी रुपमा मुद्दा हाल्न सक्ने बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्