• अब अलिपेबाट पनि एमटीआरको क्युआर कोड पेमेन्ट हुने

  • एन्ट फाईनान्सियल सर्भिसेसको स्थानीय मोबाईल भुक्तान साझेदार अलिपेएचकेले हङकङ एमटीआर रेल सेवा प्रणालीको लागी क्युआर कोड मोबाईल भुक्तान सेवा उपलब्ध गराउने ठेक्का पाएको बिहीबार जनाएको छ ।

    अलिपेएचके र एमटीआर कर्पोरेसनबीच भएको सम्झौता अनुसार यात्रुवर्गले उनीहरुको अलिपेएचके खातालाई एमटीआर एपसँग जोडेर एमटीआर स्टेशनमा जडान गरिएका रिडरमा उनीहरुको स्मार्टफोनमा भएको एउटा क्युआर कोड स्क्यान गरेर स्टेशन प्रवेश गर्ने सुविधा पाउनेछन् ।

    अबदेखि यात्रुवर्गले नयाँ क्युआर कोड भुक्तान सेवा र अक्टोपस कार्ड दुवै विधिबाट एमटीआर सेवा लिन पाउनेछन् । सन् १९९७ देखि अक्टोपस कार्ड हङकङको सार्वजनिक रेल यातायात सेवाको मुख्य भुक्तान विधि रहँदै आएको छ । जानकारहरुका अनुसार मुलभूमीका अलिपे वालेट प्रयोगकर्ताहरुले पनि एमटीआर एपसँग आफ्नो खाता जोडेर सेवाको भुक्तान गर्न सक्नेछन् ।

    नयाँ मोबाईल भुक्तान प्रणाली सन् २०२० को मध्यसम्म शहरका ९१ वटा एमटीआर स्टेशनमा लागु गरिने अलिपेएचकेले जनाएको छ । एमटीआर र एयरपोर्ट एक्सप्रेस सञ्जालमा जम्मा ९३ वटा स्टेशन छन् र दैनिक करिक ५८ लाख यात्रुलाई सेवा पुर्‍याउँदै आएका छन् । विश्वकै सबैभन्दा नाफामुलक मेट्रो प्रणालीमध्ये एकको सञ्चालक एमटीआर कर्पोरेशनले सन् २०१७ मा ५५ अर्ब ४० करोड हङकङ डलर राजस्व संकलन गरेको थियो ।

    “एमटीआरको क्युआर कोड भुक्तान सेवाप्रदायक बन्ने ठेक्का पाउँदा अलिपेएचके अत्यन्तै उत्साही छ । यो अलिपेएचकेको प्राविधीक स्थिरताको सूचक मात्रै नभएर, क्युआर कोड ट्रान्जिट प्रविधी अझ धेरै क्षेत्रमा सफलतापूर्वक विस्तार हुनेमा हामी विश्वस्त छौं,” अलिपेएचकेकी कार्यकारी प्रमुख जेनिफर तानले बताईन् ।

    अलिपेएचके हङकङका टाईकुन ली का-शिङको सीके हचिन्सन होल्डिङ्स कंग्लोमरेट र अलिबाबा ग्रुप होल्डिङ सम्बद्ध एन्ट फाईनान्सियलको जोईन्ट भेञ्चर हो । अलिबाबा न्युयोर्क स्टक एक्सचेञ्जमा सूचीकृत ई-कमर्श सम्बन्धी कारोबार गर्ने कम्पनी हो ।

    अलिपेएचकेले “स्मार्ट मोबिलिटी” का लागी अझ धेरै सम्भावनाको खोजी गरिरहेको तानले बताईन् । कम्पनीले हङकङेलीमाझ लोकप्रिय यात्रा गन्तव्यबाट शुरु गरेर बाह्य यात्रामा पनि हात हाल्ने उनले बताएकी छिन् ।

    मे महिनामा गरिएको टेन्डर प्रकृयामा कति कम्पनी संलग्न थिए भन्नेबारे एमटीआरले खुलाएको छैन । एमटीआरकी कमर्शियल डायरेक्टर जेनी योङले बोलपत्र बुझाउने थुप्रै कम्पनीमध्ये प्रविधी र गतिको आधारमा अलिपेएचके छनोट गरिएको बताईन् ।

    “क्युरआर कोड भुक्तान सेवा प्रदायकले  अक्टोपसकै गतिमा भुक्तान सेवा प्रदान गरोस् भन्ने हामी चाहन्छौं । गत वर्ष भाडा वापत संकलन गरिएको वार्षिक १ अर्ब ७० करोड हङकङ डलरमध्ये ९० प्रतिशत अक्टोपस कार्डबाटै भुक्तान गरिएको थियो,” योङले बताईन् । “मोबाईल भुक्तान सेवा प्रयोग गर्न चाहने मानिसहरुको बढ्दो संख्याका कारण यो नयाँ कदमले यात्रुवर्गलाई भुक्तानका धेरै विकल्प प्रदान गरोस् भन्ने चाहन्छौं ।”

    क्युआरकोड भएको झण्डै एक हजार गेट जडान गरिने योङले बताईन् । अलिपेएचकेले आफ्नो क्युआर कोड सेटअपले “डुअल अफलाईन सोल्युसन” दिने जनाएको छ । त्यसैले ईन्टरनेट सेवा नभएको वा कमजोर भए पनि कारोबार सम्पन्न गर्न सकिनेछ ।

    क्युआर कोड भुक्तान सेवा सम्बन्धी अलिपेएचको विशेष अधिकार एक वर्षसम्म मात्रै रहने बताईएको छ । सन् २०२१ को मध्यमा थप तीन सेवा प्रदायक थपिनेछ । यही टेन्डरबाट अन्य तीन सेवाप्रदायक छनोट गरेको योङले बताए पनि उनीहरुको पहिचान भने खुलाईनन् ।

    चीनियाँ मोबाईल भुक्तान सेवा प्रदायक एन्ट फाईनान्सियल र टेन्सेन्ट होल्डिङ्सको वीच्याट पेले मुलभूमीबाहिर र हङकङको बजारमा सेवा विस्तार गरेसँगै यस्तो घोषणा भएको छ । वीच्याट पे एचके अक्टोपसको वैकल्पिक भुक्तान सेवा प्रदान गर्न एमटीआरसँग सहकार्य गर्ने पहिलो कम्पनी हो । गत वर्ष डिसेम्बरदेखि, यात्रु र पर्यटकलाई निश्चित स्टेशनमा स्मार्टफोनबाट एमटीआरको टिकट खरिद गर्ने सुविधा दिईएको थियो ।

    अलिपेएचके र वीच्याट पे एचके दुवैले आफ्नो मोबाईल भुक्तान सेवाको प्रयोग प्रोत्साहन गर्न प्रयोगकर्तालाई लाभ र छुट दिदैं आएका छन् । हाल, म्याकडोनाल्डजस्ता धेरै फास्ट-फुड चेन र थुप्रै सुपरमार्केटले अलिपेएचके र वीच्याट पे एचकेलाई मोबाईल भुक्तान विधिको रुपमा स्वीकार गरिसकेका छन् । अलिपेएचकेले हङकङको दुई वटा हरित मिनिबस सञ्चालकसँग पनि हात मिलाएको छ जसको सेवा लिए वापत यात्रुले क्युआर कोड स्क्यान गरेर बस भाडा बुझाउन सक्छन् ।

    सेप्टेम्बरमा, हङकङको वीच्याट पे एचके प्रयोगकर्ताहरुले हङकङ डलर मार्फत् बिल भुक्तान गर्दै मुलभूमीका व्यापारीबाट किनमेल गर्न सफल भए । यस्तो सेवा प्रदान गर्ने यो नै पहिलो चीनियाँ मोबईल वालेट हो । बेईजिङ, सांघाई र शेन्जेन लगायत चीनका प्रमुख शहरहरुमा रेल चढ्नलाई क्युआर कोड भुक्तान सेवाको प्रयोग सामान्य बनिसकेको छ । सांघाईमा यात्रुवर्गले अलिप र वीच्याट पेजस्ता मोबाईल वालेटबाटै रेलको टिकट खरिद गर्न सक्छन् । बेईजिङवासीले पनि यो वर्षको मेदेखि यस्तो सेवा प्रयोग गर्न थालेका छन् ।

    अलिबाबाको प्रधान कार्यालय रहेको हाङझु, ग्वाङझु र सियानजस्ता अन्य शहरमा पनि सबवे प्रवेशका लागी क्युआर कोड भुक्तान सेवा प्रयोग गरिन्छ । रेलवेलाई भुक्तान सेवा प्रदान गर्ने बाहेक, अलिपे र वीच्याट पे दुवैले मुलभूमीमा बस भाडा बुझाउने सेवा पनि प्रदान गर्दछन् ।

  • कमेन्ट गर्नुहोस्