• हङकङको एक मात्र भेटेरिनरी स्कूलमा दोब्बर विद्यार्थी भर्ना गर्ने तयारी

  • शहरको एक मात्र भेटेरिनरी स्कूलले आउने शैक्षिक वर्षदेखि दोब्बर विद्यार्थी भर्ना गर्ने तयारी थालेको छ । स्थानीय स्तरमै तालिम लिएका पशु चिकित्सकको रोजगारको सम्भावना उज्जवल रहेको पनि विद्यालयले बताएको छ ।

    ब्याचलर अफ भेटेरिनरी मेडिसिन कार्यक्रमले सरकारी लगानी पाएपछि सिटी युनिभर्सिटीले आउने वर्ष ३० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ । यो वर्ष १७ जना विद्यार्थी पशु चिकित्सा अध्ययन गरिरहेका छन् ।

    विश्वविद्यालयको जक्की क्लब कलेज अफ भेटेरिनरी मेडिसिन एन्ड लाईफ साईन्सेसका डिन प्रोफेसर माईकल रायचलले स्थानीय माग बढ्गै गर्दै गएकोले पशुचिकित्सकको रोजगारको सम्भावना राम्रो रहेको बताए ।

    “विश्वमा पशुचिकित्सकका लागी धेरैभन्दा धेरै काम भएको सामान्यतया अपेक्षा, र प्रमाण पनि छन् । तर स्थानीय रुपमा पशुचिकित्सकको रोजगार पनि बढ्ने प्रवृत्तिमा छ । बितेको २० वर्षमा यो कहिले पनि ओरालो गएको छैन,” रायचलले भने । प्रत्येक वर्ष ५० नयाँ रोजगार खुल्ने गरेको पनि उनले बताए ।

    चार वर्षपछि विद्यालयबाट अध्ययन पूरा गर्ने १२ जना विद्यार्थीका लागी,“पर्याप्त अवसर हुने” उनले बताए ।

    तर हङकङ भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. टम म्यान्गनको भने अर्कै तर्क छ । “पशुको संख्या घट्दै गएको र पशुचिकित्सको संख्या वास्तवमै बढ्दै गएको” भनी भेटेरिनरी सर्जन्स बोर्डले सन् २०१६ मा गरेको एउटा अध्ययनलाई उनले उद्धृत गरेका छन् । अध्ययनमा हङकङका १८.७ प्रतिशत पशुचिकित्सकहरु आफ्नो सम्भावनालाई लिएर उत्साही भएको र २३.७ प्रतिशत निराश भएको पत्ता लागेको छ ।

    पशुपालन गर्नेहरु आफुले पालेका पशुको स्वास्थ्यमा बढी खर्च गर्न ईच्छुक रहेकोले पशुचिकित्सकले आफु आशावादी रहेको बताएका थिए । त्यसै गरी सम्भावना खासै नरहेको बताउने पशुचिकित्सकहरुले हङकङको बजार धेरै सानो भएको वा पशुचिकित्सको संख्या अत्यधिक रहेको बताएका थिए । हङकङमा ९ सय ७८ जना पशु शल्यचिकित्सक दर्ता भएका छन् ।

    सिटी युनिभर्सिटीले ६ वर्षे अध्ययन कोर्षका लागी सरकारबाट वार्षिक ३ करोड २० लाख हङकङ डलर पाउनेछ । विश्वविद्यालयले एक दशकदेखि सरकारको सहयोगका लागी लड्दै आएको छ ।

    कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत-ङोरले अगष्टमा सन् २०१९ देखि युनिभर्सिटी ग्रान्ट्स कमिटीको सरकारी लगानी गर्ने सुझावलाई सरकारले अनुमोदन गर्ने बताएकी थिईन् । तर यसलाई व्यवस्थापिका परिषदमा औपचारिकता दिन बाँकी नै छ ।

    पशुचिकित्सा अध्ययन पूरा गरेका विद्यार्थीहरुले जक्की क्लबको घोडा अस्पतालन लगायत नीजी पशु क्लिनिक र नियामक निकाय तथा खाद्य अनुगमन सम्बन्धी सरकारी एकाइ र कोङ्ह्वा, ग्वाङदोङमा नयाँ खोलिएको घोडा तालीम केन्द्रमा रोजगार पाउनसक्ने रायचलले बताए । कार्यक्रमलाई अष्ट्रेलेसियन भेटेरिनरी बोर्ड काउन्सिलले पनि अन्तर्राष्ट्रिय मान्यता दिएकोले विद्यार्थीहरुले अष्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत र दक्षिण अफ्रिकामा समेत रोजगार अवसरको खोजी गर्ने सक्ने उनले बताए ।

    दोश्रो वर्षमा अध्ययनरत विद्यार्थी जोय लामले उनी र उनका सहपाठीहरुको “वृहत र विविध रोजगार सम्भावना” रहेको बताउँछन् ।

    “पशु मित्रताको अभ्यासका साथै पशुचिकित्सकको विज्ञता आवश्यक पर्ने थुप्रै क्षेत्र हुनसक्छन् । उदाहरणका लागी, खाद्य सुरक्षा र सार्वजनिक स्वास्थ्य सुनिश्चित गर्न पशुचिकित्सकले महत्वपूर्ण भूमिका खेल्दछन् । पशुबाट मानिसमा सर्ने रोग नियन्त्रण गर्न हामी वधशाला वा सरकारी विभागमा काम गर्नसक्छौं,” लामले भने ।

  • कमेन्ट गर्नुहोस्