• ब्रुस लीको निवासलाई चीनियाँ अध्ययन केन्द्र बनाईने

  • कुङ फुका हस्ती ब्रुस लीको निवासलाई चीनियाँ अध्ययन केन्द्र बनाईने भएको छ । म्यान्डरिन र संगीत अध्ययनका लागी आगामी वर्षदेखि यसको प्रयोग हुनेछ ।

    घरको स्वामित्व भएको अर्बपति परोपकारी व्यक्तित्व यु पाङ-लिनद्वारा स्थापित ट्रस्टका एक्ला ट्रस्टी पाङ ची-पीङले ४१ कम्बरल्यान्ड रोड, काउलुन तोङस्थित उक्त घरको बाहिरी भाग जिर्णोद्धारपछि जस्ताको तस्तै राखिने बताएका छन् ।

    युका नाती पाङले भने,“हामी यो घरलाई आउने वर्ष चीनियाँ अध्ययन केन्द्रमा रुपान्तरण गर्नेछौं जहाँ बालबालिकालाई म्यान्डरिन र चीनियाँ संगीत सिकाईनेछ ।”

    पाङ ची-पीङ

    चीनियाँ नयाँ वर्ष सके लगत्तै ५ हजार ६ सय ९९ वर्ग फुट क्षेत्रफलको उक्त घरको मर्मतसम्भार गरिने र आगामी वर्षको सेप्टेम्बरदेखि कक्षाहरु सञ्चालन गरिने अपेक्षा गरेको उनले बताए । नयाँ बन्ने केन्द्रमा प्रत्येक वर्ष किन्डरगार्टेनदेखि माध्यमिक तहसम्मका करिब ४ सय बालबालिकालाई प्रशिक्षण दिईनेछ ।

    उनले भने,“घरको पर्खालमा ब्रुस लीले राखेको मोजाइकलाई हामी जस्ताको तस्तै राख्नेछौं ।”

    केन्द्रले भविष्यमा मार्शल आर्ट्सका कक्षाहरु पनि सञ्चालन गर्नसक्छ । तर ब्रुस लीको तस्बिर प्रयोग गर्ने अधिकार नभएकोले जिर्णोद्धार गरिएको घरको प्रचारप्रसारमा ट्रस्टले उनको नाम प्रयोग नगर्ने पाङले बताए ।

    अमेरिकामा जन्मिएका ब्रुस लीले आफ्नो बाल्यकाल हङकङमा बिताएका थिए । उनी १८ वर्षको उमेरमा अमेरिका फर्किएका थिए । उनले मार्शल आर्ट सिकाए र मार्शल आर्ट सम्बन्धी धेरै चलचित्रमा पनि अभिनय गरेका छन् । उनले जीवनको अन्तिम समय परिवारसँग काउलुन तोङको घरमा बिताएका थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा जुलाई २०, १९७३ मा भएको थियो ।

    यु पाङ-लीनले ब्रुस लीको घर सन् १९७० को दशकको प्रारम्भमा १० लाख हङकङ डलरमा किनेका थिए । पछि सन् २००८ मा सिचुआन भूकम्प पीडितका लागी सहयोग संकलन गर्न उनले घर बेच्ने योजना बनाए । तर ब्रुस लीका फ्यानहरुले घर जिर्णोद्धार र संरक्षण गर्न आग्रह गरेपछि, उनले यो विचार त्यागेका थिए । घरलाई लीले प्रेमपूर्वक ‘क्रेन्स नेस्ट’ अर्थात् सारसको गुँड भन्ने गर्थे । त्यो समयमा उक्त घर छोटो बसाईंको ‘लभ होटेल’ को रुपमा प्रयोग गरिदैं आएको थियो ।

    कुल सम्पत्ति १० अर्ब अनुमान गरिएको ट्रस्टले हङकङका विश्वविद्यालयहरुमा छात्रवृत्ति र गरिब परिवारका विद्यार्थीहरुलाई नगद सहयोग गर्नेबारे पनि विचार गरिरहेको छ ।

    “सहुलियतको क्षेत्रलाई भविष्यमा माध्यमिक र प्राथमिक तहका विद्यार्थीसम्म विस्तार गर्नेबारे पनि हामी विचार गर्नेछौं,” पाङले बताए ।

    हजुरबुवाको सम्पत्तिको कानुनी प्रकृयाहरु यो वर्षको अन्त्यसम्म पूरा गरेपछि विपन्न वर्गलाई लक्षित गर्दै ट्रस्टले अन्य परियोजनाहरु पनि शुरु गर्ने उनले बताए । अर्को महिना वान चाईका वृद्ध र विपन्न परिवारलाई बिस्कुट, तौलिया र छाता भएको ६० हजार प्याकेज वितरण गरेर ट्रस्टले आफ्नो पहिलो अभियानको थालनी गर्नेछ । अभियानको कुल लागत ३० लाख हङकङ डलर रहनेछ ।

    यु पाङ-लीन

    युको मृत्यु सन् २०१५ मा शेन्जेन, मुलभूमी चीनमा ९२ वर्षको उमेरमा भएको थियो । उनलाई लागेको रोग खुलाईएको छैन । सोही वर्ष, युले जुलाई २१, २०११ मा बनाएको बकसपत्र सार्वजनिक गर्न पाङले हाई कोर्टसँग आग्रह गरेका थिए । बकसपत्र अनुसार उनको सम्पूर्ण सम्पत्ति च्यारिटीलाई दिईएको छ । उनले युका छोरा पाङ आह-फान र नाती पाङ सान-होनले उठाईएको दुई विरोधपत्र रद्द गर्न पनि पाङले अदालतसँग आग्रह गरेका थिए । अदालतले बकसपत्रलाई मार्चमा प्रमाणीकरण गरेको थियो । उक्त मुद्दाले “मानविय व्यक्तित्वको असल पाटो” प्रस्तुत गरेको न्यायाधिशले बताएका छन् ।

    हुनान प्रान्तका स्थानीय यु, सन् १९५८ मा हङकङ सरेका थिए । होटेल र सम्पत्ति व्यवसायमा प्रशस्त धन आर्जन गर्नु अघि उनले शौचालय सफाइकर्मीको काम पनि गरेका थिए । टाईम पत्रिकाले उनलाई विश्वका शीर्ष १४ परोपकारी व्यक्तित्वको सूचीमा समावेश गरेको छ ।

    “मेरो हजुरबुवाले आफ्नो सबै सम्पत्ति परोपकारी संस्थालाई अनुदान दिने वाचा गर्नुभएको थियो । उहाँको ईच्छा पूरा नभए उहाँलाई ठगको रुपमा हेरिनेछ,” पाङ ची-पीङले भने,”उहाँप्रति सन्ततीको कर्तव्य पूरा गर्न मैले अदालतलाई हजुरबुवाको बकसपत्र प्रमाणीकरण गर्न आग्रह गरेको छु ।”

  • कमेन्ट गर्नुहोस्