ई-सिगरेट उद्योगमा संकट
मात्रै दुई वर्षको अवधिमा, थोमस म्याकरेको अनलाईन व्यवसाय काउलुन र हङकङ आईल्यान्डको तीन पसलसम्म फैलियो । उनी ई-सिगरेट बेच्छन् । पछिल्ला वर्षहरुमा हङकङ र विश्वभरी नै यसको लोकप्रियता चुलिएको छ ।
सन् २०१५ मा स्थापना भएको हङकङ भेप एसोसिएसनमा ई-सिगरेटका ५० पसल, २० थोक बिक्रेता र ३० उत्पादक लगायत हाल झण्डै सय जना सदस्य आबद्ध छन् । ई-सिगरेटको खुद्रा कारोबार वार्षिक २ देखि ३ करोड हङकङ डलर रहेको अनुमान गरिएको छ । हङकङले चीनमा बनेका ई-सिगरेट पुनर्निर्यात पनि गर्दछ जसको बजारमुल्य मासिक झण्डै १ करोड अमेरिकी डलर भएको बताईन्छ ।
व्यवसाय तिव्र रुपमा बढेको छ र निकै लाभदायक पनि छ । तर कार्यकारी प्रमुख क्यारी लाम चेङ चुएत-ङोरले ई-सिगरेट लगायत धुमपानका अन्य विकल्पहरुको आयात, उत्पादन, बिक्री, वितरण र विज्ञापन प्रतिबन्ध गर्ने प्रस्ताव अघि बढाए व्यवसाय ध्वस्त हुनसक्छ । अक्टोबरको नीति सम्बोधनमा, यी उत्पादनहरु चुरोटभन्दा कम हानिकारक भएको भन्दै धुमपान नगर्ने र युवा वर्गलाई लक्षित गरी बजार प्रवर्द्धन गरिने भए पनि, वास्तवमा यसले प्रयोगकर्तालाई धुमपान गर्न उक्साउने लामले बताएकी थिईन् । प्रतिबन्ध गर्ने उनको प्रस्ताव अनपेक्षित थियो किनभने जुन महिनासम्म सरकारले यस्ता उत्पादनको बिक्री नियमन गर्नेबारे मात्रै विचार गरिरहेको थियो ।
“साँच्चै भन्नुपर्दा उनीहरुले प्रतिबन्ध नै गर्लान् भनेर मैले विश्वासै गरेको थिईनँ,” सन् २०१५ मा अष्ट्रेलियाबाट हङकङ बसाईं सरेका २७ वर्षिय म्याकरेले भने ।
धुमपानविरोधी अभियन्ताहरुले ई-सिगरेट पनि चुरोट जत्तिकै हानिकारक हुने बताउँदै प्रतिबन्ध गर्न लामो समयदेखि माग गर्दे आएका छन् । विश्व स्वास्थ्य संगठन र अमेरिकी निकायहरुले ई-सिगरेटका खतरामाथि प्रकाश पारेका छन् । अलि कडा कदम चाल्दै, सिंगापुरले गत नोभेम्बरमा यी उत्पादनमाथि प्रतिबन्ध लगायो । ई-सिगरेट विश्वव्यापी रुपमा अरबौं डलरको उद्योग बनेको छ । यसका सयौं ब्रान्डहरु बजारमा छ्याप्छयाप्ती पाईन्छ भने ई-सिगरेटले स्वास्थ्यमा पार्नसक्ने जोखिम सम्बन्धी बहस निरन्तर चलिरहेको छ ।
“भेपिङ” अर्थात् ई-सिगरेट प्रयोग, धुमपानभन्दा कम हानिकारक हुने र धुमपानको अम्मल हटाउन सहयोग गर्ने भनी थुप्रैले दाबी पनि गरेका छन् । म्याकरे पनि चुरोट छोडेर भेपिङ शुरु गरेयता स्वास्थ्यमा सुधार भएको दाबी गर्छन् । शाम शुई पोमा मे महिनामा ई-सिगरेट पसल खोलेका डेक्लन काम पनि धुमपान गर्नेहरुलाई सहयोग गर्न चाहेकोमा जोड दिन्छन् ।
“परम्परागत चुरोटभन्दा ई-सिगरेट कम हानिकारक हुने र धुमपान त्याग्न सहयोग गर्छ भनिएकोले नै मैले यो पसल खोल्ने निर्णय गरेको हुँ,” उनले बताए ।
सरकारले यी र यस्ता उत्पादनमा प्रतिबन्ध लगाउँछ वा लगाउँदैन भनेर उनी र उनीजस्ता उद्योगमा संलग्न धेरैले व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् । सन् २०१५ मा हङकङ सरकारले प्रस्ताव गरेदेखि नै ई-सिगरेटको प्रयोग निषेध गर्ने वा नगर्नेबारे बहस भईरहेको छ । सन् २०१६ मा पूर्ण प्रतिबन्ध लगाउने पक्षमा हुदाँहुदै पनि सम्बन्धित विभागको अध्ययन अनुसार कार्यान्वयनमा समस्या हुने देखिएपछि पूर्व स्वास्थ्य सचिव डा. को विङ-मानलाई निर्णय गरी अघि बढ्न निकै कठिन भएको थियो ।
अघिल्लो प्रशासनसँग नजिक एक श्रोतले सरोकारका दुई विषय रहेको बताए जसमध्ये खुद्रा व्यवसायीको जीविकामा पर्ने प्रभाव चिन्ताको प्रमुख विषय हो ।
“बलियो लब्बिङका बावजुद, ठूला सुर्ती कम्पनीसँग सरकारलाई डर छैन,” श्रोतले भने ।
परम्परागत चुरोटलाई चाँहि किन प्रतिबन्ध नगरेको भनेर प्रश्न उठ्छ कि भन्ने अर्को चिन्ता हो । लामो समयदेखि बानी बसेको, र यस्तो प्रतिबन्धले सुर्ती कम्पनी, धुमपान गर्नेहरु र विज्ञापन उद्योगको स्वार्थलाई प्रभावित गर्ने भएकाले कुनै पनि देशले धुमपान प्रतिबन्ध गर्न नसक्ने श्रोतले बताए ।
प्रोपलिन ग्लाईकोल, फ्लेभर, र कहिलकाँही निकोटिन समेत हुने एउटा मिश्रण तातेपछि ई-सिगरेटले काम गर्न थाल्छ । “हिट-नट-बर्न” उत्पादनमा, सुर्तीलाई जलाउनुको साटो एउटा विद्युतीय उपकरणले तताईन्छ । दुवै उत्पादनका प्रयोगकर्ताले उपकरण मार्फत् प्राप्त हुने एरोसोल सासबाट भित्र तान्दछन् ।
केही वर्ष अघिसम्म, मोङ कोक र कजवे बेजस्ता क्षेत्रका साना शपिङ मलमा मात्रै ई-सिगरेट पाईन्थ्यो जसको मुल्य सयदेखि ५ सय हङकङ डलरसम्म हुन्थ्यो । आजभोली, चीम चा चुई लगायत शहरका व्यस्त व्यापारिक क्षेत्रमा पनि “विशेषज्ञ” पसलहरु छन् ।
म्याकरेले ग्राहकमा निरन्तर वृद्धि भएको देखेका छन् । सेप्टेम्बरमा झण्डै १ हजार ७ सय ग्राहक उनको पसलमा आए । सन् २०१६ मा पहिलो पसल खोल्दा महिनामै ३ सय आउने गर्थे । सरकारले प्रतिबन्ध लगाए, सबै परिवर्तन हुनेछ ।
“कुनै पसल रहने छैन,” संगीतकार समेत रहिसकेका म्याकरेले भने,“हामी व्यवसाय बन्द गर्न बाध्य हुनेछौं ।”
भेप एसोसिएसनका अध्यक्ष म्याक्स च्यान मान-फाई थोक व्यवसाय र अमेरिका र बेलायतजस्ता देशमा गरिने पुनर्निर्यातको तुलनामा शहरको खुद्रा बजार निकै सानो भएको बताउँछन् । प्रतिबन्ध लागु भए ई-सिगरेट पुनर्निर्यात पनि बन्द हुन्छ कि हुँदैन भनेर सरकारले प्रष्ट नपारेको उनले बताए ।
प्रतिबन्धले पुनर्निर्यातमा प्रभाव पर्छ कि पर्दैन भनेर जिज्ञासा राख्दा फुड एन्ड हेल्थ ब्युरोले सपष्टीकरण दिन सकेन । पुनर्निर्यातमा प्रतिबन्ध लगाईए अन्तर्राष्ट्रिय ई-सिगरेट कारोबारमा उल्लेखनीय प्रभाव पर्ने च्यानले बताए । शेन्जेन एक्लैले विश्वको ९० प्रतिशत ई-सिगरेट बनाउने र धेरै मुलभूमी उत्पादकहरु हङकङ मार्फत् निर्यात गर्न रुचाउने उनी बताउँछन् ।
शेन्जेनस्थित ई-सिगरेट उत्पादक ईन्नोकिन टेक्नोलोजीका निर्देशक चुई ताओ कम्पनीको ६० देखि ७० प्रतिशत निर्यात हङकङ मार्फत् अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता देशमा हुने गरेको बताउँछन् । मुलभूमीका बन्दरगाहबाट उत्पादन निर्यात गर्न महँगो र लामो समय लाग्ने भएकाले ई-सिगरेटको पुनर्निर्यातमा हङकङले प्रतिबन्ध लगाए शेन्जेनका उत्पादकलाई ठूलो धक्का लाग्ने चुईले बताए ।
उद्योगको पक्षमा वकालत गर्ने समूह, अमेरिकन भेपिङ एसोसिएसनका अध्यक्ष ग्रेगरी कोन्लीले मुलभूमी चीन र अमेरिकाबीच हुने ई-सिगरेट कारोबारमा हङकङको प्रमुख भूमिका रहेको बताएका छन् । युएस गभर्न्मेन्ट अकाउन्टेबिलिटी अफिसको एउटा दस्तावेज अनुसार सन् २०१६ मा अमेरिकाले हङकङ लगायत चीनबाट ३१ करोड अमेरिकी डलरभन्दा धेरै मुल्यको ई-सिगरेट आयात गर्यो । यो परिमाणा त्यो वर्ष अमेरिकामा आयात गरिएको कुल ई-सिगरेटको ९० प्रतिशतभन्दा धेरै हो । हङकङले यी उत्पादनको पुनर्निर्यात गर्न नसके, मुल्यवृद्धि हुने र अमेरिकी कम्पनीलाई ई-सिगरेट पाउन पनि धेरै समय लाग्ने कोन्लीले बताए ।
बेलायतमा पनि यस्तै समस्या हुने अपेक्षा गर्न सकिन्छ । बेलायतको भेपिङ बजारमुल्य ८० करोड पाउन्ड (१.०३ अर्ब अमेरिकी डलर ) बराबर छ भने झण्डै ३२ लाख भेपर छन् । युके भेपिङ ईन्डस्ट्री एसोसिएसनकी एक प्रवक्ताले भनिन्,“धेरैजसो हङकङबाटै आयात हुन्छ भन्ने हामीलाई थाहा छ ।”
तर ई-सिगरेटको जोखिम सम्बन्धी बहस निष्कर्षमा पुग्ने कुनै संकेत देखिदैंन ।
सुर्ती कम्पनीहरुले हिट-नट-बर्न उत्पादनहरु चुरोटको तुलनामा कम हानिकारक हुने भन्दै सक्रिय रुपमा बजार प्रवर्द्धन गरिरहेका छन् । हिट-नट-बर्न उत्पादन गर्ने फिलीप मोरिस एशियाले “अझ सुधारिएको र जलाउन नपर्ने विकल्प सहित चुरोट प्रतिस्थापन गर्नु” नै कम्पनीको अन्तिम लक्ष्य रहेको बताएको छ ।
बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयरको कार्यकारी निकाय पब्लिक हेल्य ईङ्ग्ल्यान्डले ई-सिगरेट धुमपानभन्दा ९५ प्रतिशतले कम हानिकारक भएको निष्कर्ष निकाल्दै सन् २०१५ मा एउटा प्रतिवेदन प्रकाशन गरेको थियो । उक्त अध्ययन प्रतिवेदन भेपिङ समर्थकहरुले प्राय: जसो उद्धृत गर्ने गर्दछन् ।
प्रतिबन्धको साटो नियमन गर्दा नै उचित हुने भन्दै हङकङ सरकारलाई मनाउने समय अझै रहेको म्याकरेले आशा गरेका छन् ।
“उनीहरुको मुख्य चिन्तालाई नियमनले समाधान गर्न सकिन्छ,” उनले भने ।
तर युनिभर्सिटी अफ हङकङको स्कुल अफ पब्लिक हेल्थका सहायक प्राध्यापक डा. ड्यानियल हो साई-यीनले धुमपानको विकल्प सम्बन्धी बहसहरुमा स्वास्थ्यविद्हरुले व्यवसायी तथ व्यापारीहरुको स्वार्थबारे विचार नगरेको बताए । पूर्ण प्रतिबन्ध लागु गरिए, पुनर्निर्यात पनि प्रतिबन्ध गर्नुपर्ने उनको तर्क छ । यसो गरे नीतिमा कुनै विरोधाभाष नहुने उनको भनाई छ ।
हङकङ एकेडेमी अफ मेडिसिन र मेडिकल एसोसिएसन लगायत केही मेडिकल समूहले ई-सिगरेट र धुमपानका अन्य विकल्पमा पूर्ण प्रतिबन्ध लगाउन लब्बिङ गर्दै आएका छन् । यस्ता उत्पादनले बालबालिका र युवामा नयाँ वा अज्ञात टक्सिन सहित उल्लेखनीय हानी पुर्याउने उनीहरुको दाबी छ ।
काउन्सिल अन स्मोकिङ एन्ड हेल्थका लागी हङकङ ब्याप्टिस्ट युनिभर्सिटीले गरेको एक अध्ययनमा ई-सिगरेटमा फोर्मलडिहाईड र पोलीब्रोमिनेटेड डाईफेनायल ईथरजस्ता हानीकारक रसायन भेटिएको बताईएको थियो । अध्ययनको प्रतिवेदन सन् २०१६ मा सार्वजनिक गरिएको थियो ।
युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले ई-सिगरेटको धुवाँ अहानिकारक पानीको वाफ नभएको बताएको छ । त्यसमा क्यान्सरको कारक रसायनजस्ता हानिकारक पदार्थ र निकल, टिन र लीडजस्ता गह्रौं धातु हुनसक्ने सेन्टरले जनाएको छ । विश्व स्वास्थ्य संगठनले “तताईएका सुर्तीजन्य उत्पादनहरु परम्परागत सुर्तीजन्य उत्पादनभन्दा कम हानिकारक भएको पुष्टि गर्ने कुनै प्रमाण नभएको” जनाएको छ ।
युनिभर्सिटी अफ हङकङका होले ई-सिगरेटले धुमपानको लत छुटाउन सहयोग नगर्ने तर हृदयघातको जोखिम वृद्धि गर्नेबारे अन्य अध्ययनहरुले पनि पुष्टि गरेको बताए ।
“सुर्ती कम्पनीहरुले अतितमा धेरै कमाएका छन्, र त्यसको मुल्य लाखौं मानिसले ज्यान गुमाएर चुकाएका छन् । हामीले ती कम्पनीबारे चिन्ता लिनुपर्दैन,” होले भने,“व्यापारभन्दा सर्वसाधारणको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्दछ ।”