पीडक रोजगारदातालाई चाँडै रिहा गर्नुको कारण जान्न चाहन्छिन् एर्वियाना
ईन्डोनेशियाकी घरेलु कामदार एर्वियाना सुलिस्त्यानिङ्सीहलाई यातना दिने महिला जेलबाट चाँडै रिहा गरिनुको कारण खुलाउन हङकङ कारागारका अधिकारीलाई बिहीबार भ्याईनभ्याई भयो ।
जनवरी २०१४ मा एक जना ईन्डोनेशियाली कामदारले एर्वियानाको शरिरभरी घाउ भएको देखेकी थिईन् । रोजगारदाता ल वान-तुङले उनलाई ८ महिनासम्म शारीरिक र भावनात्मक शोषण गरेका थिए । त्यसपछि लले उनलाई ईन्डोनेशिया फिर्ता पठाउन खोजेकी थिईन् । अदालतमा सुनुवाईको क्रममा एर्वियानालाई बारम्बार कुटपीट गर्ने गरिएको, एक पटक बेहोश बनाएको र धातुको भ्याकुम क्लिनर मुखमा घुसारिएको खुलेको थियो ।
ल वान-तुङलाई फेब्रुअरी २०१५ मा दोषी करार गरिएको थियो । उनलाई ६ वर्षको जेलसजाय भए पनि झण्डै तीन वर्षपछि नै कैदमुक्त गरिएको छ । एर्वियाना जस्तै ईन्डोनेशियाकी तुतीक लेस्तारी निङ्सीह पनि लको शोषणमा परेकी थिईन् । अदालतको आदेश बमोजिम उनले क्षतिपूर्ति वापत एर्वियानालाई ८ लाख ९ हजार ४ सय ३० हङकङ डलर र तुतीकलाई १ लाख ७० हजार हङकङ डलर बुझाउन बाँकी नै छ ।
एर्वियाना र तुतीक करेक्सनल सर्भिसेस डिपार्टमेन्टबाट स्पष्टिकरण माग गर्दै विरोध प्रदर्शन गर्ने समर्थकलाई साथ दिन उपस्थित थिए । ललाई सुनाईएको ६ वर्षको जेलसजाय “उनले गरेको अपराधका लागि पर्याप्त नभएको” एर्वियानाले बिहीबार बताईन् । सजाय अवधिभन्दा चाँडै रिहा गरिएकोमा आफुलाई कमजोर अनुभव गरेको उनले बताईन् ।
एर्वियानाले लबाट क्षमायाचना र यस्तो “कुकृत्य” कहिले नगर्ने वाचा गर्नुपर्ने माग गरेकी छिन् ।
“ल जेलबाट छुटेको थाहा पाउँदा म एकदमै दुखी र निराश भएँ,” प्रवासी समूहहरूले आयोजना गरेको एउटा प्रेस सम्मेलनमा बजाईएको अडियो रेकर्डमा एर्वियानाले भन्दै थिईन् । उनले भनिन्,“जेल आफुले गरेको अपराधको लागि पछुतो गर्ने एक मात्र ठाउँ नहुनसक्छ, तर जेलसजायले कम्तिमा उनलाई एउटा पाठ त पढाउँछ ।”
सजाय अवधि सकिनु केहि महिना बाँकी रहँदै ललाई लो वु करेक्सनल ईन्स्टिच्युसनबाट रिहा गरिएकोबारे न्यायिक विभागकी वकिल इभोन च्योङले हाई कोर्टलाई बुधबार जानकारी गराएकी थिईन् । बेग्लै मुद्दामा उनले लबाट २ लाख हङकङ डलर जरिवाना गराउने प्रयास गरिरहेकी छिन् । च्योङले “लको ठेगाना पत्ता लगाउन नसकेको” बताएकी छिन् ।
असल व्यवहार प्रदर्शन गरेमा कैदीहरुको एक तिहाई सजाय घटाईन्छ, तर लले चार वर्षभन्दा थोरै समय किन बिताईन् भन्ने प्रष्ट छैन ।
“ल वान-तुङले आफ्नो गल्ती स्वीकारून्, पीडितसँग माफी मागुन् र अबदेखि कहिले पनि कसैलाई यस्तो नगर्ने वाचा गरून् भन्ने मेरो आशा हो । उनले म र अन्य पीडितहरुलाई दिन बाँकी क्षतिपूर्ती पनि दिनुपर्छ,” एर्वियानाले अडियो रेकर्डमा भनिन् ।
तुतीकले पनि उनी “एकदमै दुखी र निराश” भएको र लले माफीसम्म पनि नमागेको बताईन् । मिसन फर माइग्रेन्ट वर्कर्सकी महाप्रबन्धक सिन्थिया एब्दन-तेलेजले लले कुनै पश्चाताप नदेखाएको वा उनले बुझाउनुपर्ने क्षतिपूर्ति पनि नबुझाएको बताईन् ।
एशियन माइग्रेन्ट्स कोअर्डिनेटिङ बडीकी प्रवक्ता एनी लेस्तारीले समयभन्दा अघि नै उनको रिहाई अन्याय भएको र यसले रोजगारदातालाई गलत सन्देश दिएको बताईन् । लले क्षतिपूर्ति बुझाएको कसरी सुनिश्चित गर्नेबारे प्रवासी कामदारका समूहहरू छलफल गरिरहेका थिए ।
करेक्सनल सर्भिसेस डिपार्टमेन्टले बिहीबार पनि बुधबारकै प्रतिक्रिया दोहोर्याएको छ ।
“व्यक्तिगत गोपनीयताको सुरक्षा गर्न, हामी हिरासतमा रहेका व्यक्तिको व्यक्तिगत जानकारी खुलाउन सक्दैनौं ।”
यो मामिलाबारे जानकार एक श्रोतले जेल सजाय रिहा गर्ने योजनामा ल सहभागी भएको र जेलसजाय अवधि पूरा नहुञ्जेल निगरानीमा रहने बताए ।
हङकङ ३ लाख ८० हजार विदेशी घरेलु कामदारको घर हो । यो शहरको श्रमजिवि जनसंख्याको झण्डै १० प्रतिशत हो । श्रम सचिव डा. ल ची-क्वोङका अनुसार हङकङको बुढ्यौलीतिर ढल्किदों जनसंख्याको माग पूरा गर्न सन् २०४७ सम्म विदेशी घरेलु कामदारको जनसंख्या ६ लाख पुग्ने अनुमान गरिएको छ ।
हङकङको प्रिजनर्स (रिलिज अन्डर सुपरभिजन) अर्डिनेन्स अन्तर्गत, तीन वर्ष वा सोभन्दा लामो समय जेलसजाय काटिरहेका व्यक्तिले, आधा सजाय वा सजायको २० महिना काटेपछि, रिलिज अन्डर सुपरभिजन स्किम अन्तर्गत चाँडो रिहाईका लागि आवेदन दिनसक्छन् । दुई वर्ष वा सोभन्दा लामो सजाय सुनाईएको र जेलसजाय सकिनु ६ महिना बाँकी रहेका कैदीले प्रि-रिलिज ईम्प्ल्वाईमेन्ट स्किम अन्तर्गत चाँडो रिहाईका लागि आवेदन दिनसक्छन् । दुवै योजना समाजमा चाँडो पुनर्स्थापना सहजीकरण गर्न लक्षित छन् । एउटा निरीक्षण बोर्डले आवेदनबारे फैसला गर्दछ ।
गत अक्टोबरमा विधायक चेङ चुङ-ताईलाई सुरक्षा सचिव जोन ली का-चीउले लेखेको प्रत्युत्तरमा आवेदनबारे फैसला गर्ने क्रममा बोर्डले करेक्सनल सर्भिसेस डिपार्टमेन्ट र प्रहरीको प्रतिवेदनका साथै मेडिकल रिपोर्ट पनि ध्यानमा राख्ने गरेको बताएका थिए ।
“आवेदकको आपराधिक अभिलेख, कारागारमा कैदीको आचरण, र कर्तव्य पूरा गर्ने र जिम्मेवारी वहन गर्ने कैदीको क्षमता र ईच्छाजस्ता कारकबारे पनि बोर्डले विचार गर्दछ,” लीले लेखेका थिए । त्यसपछि बोर्डले फैसलाका लागि सुरक्षा सचिवलाई सिफारिश बुझाउने र सुरक्षा सचिवले निर्णय गर्ने विधेयक अन्तर्गत हङकङका कार्यकारी प्रमुखले प्रदान गरेको शक्ति प्रयोग गर्न सक्ने लीले बताए ।
सन् २०१२ देखि अघिल्लो वर्षको सेप्टेम्बरसम्म, बोर्डले दुई योजनाका लागि ५ सय ८९ आवेदनबारे फैसला गरेको थियो जसमध्ये २ सय ३७ लाई स्वीकृत गरिएको थियो ।