परिणाममुखी पत्रकारिता
“ज्ञान शक्ति हो ।”
अँग्रेजी निवन्धका पिता फ्रान्सिस बेकन (सन् १५६१–१६२६) को भनाई हो यो । उनले ज्ञानलाई शक्तिको स्रोत मानेका छन् । हामी आमसञ्चार तथा पत्रकारिताका विद्यार्थीहरु चाहिँ जसरी ज्ञान शक्तिको स्रोत हो, त्यस्तै ज्ञानको स्रोत चाहिँ सूचनालाई मान्छौँ । त्यसैले हामीले फ्रान्सिस बेकनलाई समर्थन गर्दै भन्ने गरेका छौँ, “सूचना ज्ञान हो र ज्ञान शक्ति हो ।
यसलाई सजिलोसँग यसरी बुझाँ, सूचनाले ज्ञान दिन्छ, त्यो शक्तिमा परिणत हुन्छ ।
ज्याकोव र वेकेन्स्टीनले सूचनालाई कुनै प्रकारको चेतनास्पद जानकारी मानेका छन् । उनीहरु भन्छन्,“जब स्नायू प्रणाली सहितको आकृतिले एउटा जानकारी ग्रहण गर्दछ, यसले त्यो जानकारीलाई विद्युतीय संकेतमा परिवर्तन गर्छ ।”
उनीहरुको भनाईको सोझो अर्थ हो, सूचनाले मानिसमा तरङ्ग उत्पन्न गरिदिन्छ । चेतना ल्याइदिन्छ । त्यहीँ तरङ्गबाट उत्पन्न भएको चेतनालाई नै हामी ज्ञान भन्न सक्छौँ ।
सूचना, जानकारी, चेतना वा ज्ञानको आदान प्रदानको प्रक्रियानै सञ्चार हो भन्छन्, सञ्चारविज्ञहरु आहुजा र छाब्रा ।
यिनै सञ्चार प्रक्रियालाई ब्यापक रुपमा प्रवाह गर्ने माध्यम चाहिँ आमसञ्चार माध्यम हो । प्रख्यात सञ्चारविज्ञ डेनिस मक्वीलको शब्द सापट लिएर भन्नुपर्दा “आमसञ्चार माध्यम शब्दले छोटो समयावधिमा लामो दूरीसम्म तथा धेरै प्रापकहरुसँग सञ्चार गर्न सकिने संगठीत साधनहरुलाई जनाउँछ ।”
यो लेखक पनि एउटा पेशेवारको रुपमा दुई दशकभन्दा बढि सक्रियतापूर्वक विभिन्न आमसञ्चार माध्यममा आवद्ध रहेर सूचना सङ्कलन, लेखन, सम्प्रेषण, सम्पादन आदिमा सक्रिय रह्यो । आठ वर्ष त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रममा आधारित रहेर कलेज पढायो । त्यो अवधिलाई अहिले फर्केर हेर्दा आफूले गरेको सञ्चारकर्मले समाजलाई शक्तिशाली बनाउन सहयोग ग¥यो कि गरेन ? एकपटक त्यतातिर फर्कन चाहन्छ, यो लेखक ।
सोझासिधा सचेत बने
इतिहासको अध्ययन यो लेखकको अहिलेको अभिष्ट भएको छ । संशोधन मण्डलले छाप्ने गरेको इतिहासप्रधान पत्रिका “पूर्णिमा”का पुराना अङ्कहरु पढिरहेको थिएँ । त्यसै क्रममा यसको पूर्णाङ्क ६४ मा दिनेशराज पन्तको “श्री ५ रणबहादुर शाहले कालु पाँडेलाई वि.सं. १८५० मा लेखेको अप्रकाशित पत्र” शिर्षकको लेखमा आँखा गयो । त्यो पत्रमा एउटा डरलाग्दो ऐतिहासिक तथ्य उल्लेख रहेछ । त्यस पत्रमा नालदुम पश्चिम वेत्रावती पूर्व, शिखरवेँशी, ताम्वेसतार, नर्जा र कविलास आदि ठाउँबाट तामाङहरुले विद्रोह मच्चाएको र उनीहरुको विद्रोह दबाउँदा एक हजार तामाङलाई काटिएको तथ्य रहेछ, त्यो पत्रमा ।
यस सम्बन्धी उत्सुकता जाग्दै जाँदा बचेखुचेका तामाङहरुलाई उनीहरुको जग्गा जमिनको हकभोग थामिदिएको रुक्काहरु पनि पढ्न पाइयो ।
लच्याङकै तामाङहरुको अध्ययन गर्दा सयौँ वर्षदेखि हरेक वर्षको बैशाख पूर्णिमाको आसपासमा उनीहरुले नुवाकोटको भैरवी देवीको जात्रामा खट तान्ने गरेको पनि थाहा पाएँ । लच्याङबाटै सुरु भएको तामाङ विद्रोहमा एक हजार तामाङ काटिनु र उनीहरुले नै सैयौँ वर्षदेखि भैरवीको जात्रामा खट तान्नुपर्ने बाध्यतालाई जोडेर मैले “जनआस्था” साप्ताहिकको २०७३ सालको वैशाख १५ गतेको अङ्कमा लेखेँ, “हजार तामाङको एकै चिहान ।”
यो लेख केही अनलाइनहरुले पनि साभार गरे । तामाङ अभियन्ताहरुले शेयर गरे । केही अभियन्ताहरुले शीर्षकलाई कण्ठस्थ गरेर भाषण गरेको पनि सुन्न पाइयो । त्यसको अर्को वर्षदेखि लच्याङका तामाङहरुले भैरवीको खट बोक्नै छाडेछन् । अहिले नेपाली सेनाले खट तान्ने गरेका छन् ।
यस सम्बन्धमा कुराकानी हुँदा तामाङ अभियन्ता तथा भाषाशास्त्री अमृत योञ्जनले भन्नुभयो,“यो त हजार तामाङको एकै चिहान शीर्षकको लेखको परिणाम नै हो ।”
उहाँको भनाई पछि लाग्यो, परिणाममुखी पत्रकारिताको एक बूँद पसिना खर्च गर्न सकेछु ।
छात्रावासको बन्द ढोका खोलियो
२०६२ साल माघ ७ गतेको अन्नपूर्ण पोस्ट् दैनिकमा एउटा समाचार प्रकाशित भयो, “छात्रावासमा बस्न बटुक हुनु नपर्ने” शीर्षकमा ।
यो समाचारको शीर्षकले नेपाली समाजमा कायम रहँदै आएको जातीय र लैङ्गीक विभेदको अन्त्यको एउटा सामान्य सुरुआत हुन खोजेको जनाउँछ । २०६२ साल माघ ६ गते सर्वोच्च अदालतले एउटा महत्वपूर्ण निर्णय ग¥यो । समाचारको सार यस्तो छ, “नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११ द्वारा प्रत्याभूत समानताको हक विपरित भएको भनी दायर रिटमा न्यायाधीशहरु मीनबहादुर रायमाझी, शारदाप्रसाद पण्डित र कल्याण श्रेष्ठको विशेष इजलाशले तीनधारा सँस्कृत छात्रावास विनियमावली, २०४८ को नियम १४ मा रहेको “ब्रतवन्ध” र “वटुक” भन्ने शब्द खारेज गर्ने निर्णय सर्वोच्च अदालतले सुनायो विनियमावलीमा रहेको ब्रतवन्ध र वटुक भन्ने शब्द कुनै जात, जातिको संस्कार बुझिने र संविधानको धारा विपरित भएको भनी खारेज गरिएको छ ।”
महेन्द्र सँस्कृत विश्वविद्यालय ऐन २०४३ अन्तरगत बनेको विनियमावलीमा सँस्कृत छात्रावासको स्थापनाको उद्देश्य, परम्परा र मर्यादा अनुरुप व्रतवन्ध गरेको र २४ वर्ष ननाघेको वटुक हुनुपर्ने ब्यवस्था थियो । ती दुई शब्दले कुनै जात, जाति वा संस्कारलाई संरक्षण दिने भेदभावपूर्ण व्यवस्था रहेको हुँदा नेपाल अधिराज्यको संविधान २०४७को धारा ११(२)को समानता विपरित भएको ठहर सर्वोच्च अदालतले गरेको थाहा हुन्छ, त्यो समाचार पढेपछि । समाचार अनुसार सर्वोच्च अदालतले यस्तो निर्णय ग¥यो,“महेन्द्र संस्कृत विश्वविद्यालय ऐन, २०४३को दफा १२ को धर्म, जाति, वर्ण, लिङ्ग वा मतका आधारमा भेदभाव नगरिने र यिनै आधारमा विश्वविद्यालयको कुनै पद वा कुनै स्नातकोत्तर, स्नातक, प्रमाणपत्र वा अन्य शैक्षिक उपाधि हासिल गर्न वा अध्ययन गर्न वा सुविधा पाउनबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था विपरित देखिँदा आजैका मिति (२०६२÷१०÷६) देखि ब्रतवन्ध र वटुक भन्ने शब्द नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२)बमोजिम अमान्य घोषित गरिएको छ ।”
सर्वोच्च अदालतको यो निर्णयको पृष्ठभूमीतिर जाऊँ ।
एक दिन मैले अखिल नेतृ रामकुमारी झाँक्री (हालःप्रतिनिधि सभा सदस्य)लाई फोन गरेँ । त्यस्तो काम विशेष त थिएन, मात्रै हाई–हेलोका लागि । तर त्यो दिनको उहाँसँगको त्यो टेलिफोन वार्ता निक्कै उपलब्धीमूलक रह्यो । उहाँले भन्नुभयो, “हाम्रा साथीहरुले बाल्मीकि क्याम्पसमा विभिन्न मागहरु राखी आन्दोलन गरिरहनुभएको छ, लौन न्यूज कभर गरिदिन प¥यो ।”
बाल्मिकी क्याम्पसमा पहिल्यैदेखि अखिलको प्रभाव फिका रहेको विषयमा म जानकार नै थिएँ । नेपाल विद्यार्थी संघको चर्को दवदवाको अगाडी विचरो अखिलको आन्दोलन कस्तो होला ः यस्तो सोच्दै आन्दोलनकारीहरुलाई भेट्न गएँ, समाचारका लागि । उनीहरुले २०५९ साल चैत १६ गतेदेखि आन्दोलन सुरु गरेका रहेछन्, तत्कालिन महेन्द्र सँस्कृत विश्वविद्यालय (हालःनेपाल सँस्कृत विश्वविद्यालय)को सुधारका लागि ३६ सूत्रीय माग राखेर । भुवनेश्व उपाध्यय, सुदर्शन ढुङ्गाना, नवराज खतिवडा, सागर रिजाल र शेषनारायण मरासिनी स्थानीय आन्दोलनकारी देखिए । आन्दोलनको योजनाकार र परिचालक चाहिँ वेदराज ज्ञवालीलाई पाइयो ।
यो विद्यार्थी आन्दोलन आत्मदाह गर्ने घोषणासम्म पुग्यो । आफ्नो चिता आफै बनाएर भष्म हुने प्रतिज्ञाका साथ चारजना विद्यार्थी नेता अघिसरा भए । ती चारजनामा ज्ञवाली, उपाध्याय, रिजाल र मरासिनी थिए । क्रमशः आन्दोलनकारी र विश्वविद्यालय प्रशासनबीच सहमति भयो, ती विद्यार्थीहरुले आत्मदाह गरी भष्म हुनु परेन ।
उनीहरुले उठाएको विषयमा समाचार सङ्कलन र सम्प्रेषणका लागि कलमको मसी सकिएन । उनीहरुको ३६ सूत्रीय मागमध्ये एउटा सूत्र यस्तो पनि थियो, “महेन्द्र सँस्कृत विश्वविद्यालयको केन्द्रीय छात्रावास अनियमित, अब्यवस्थित र पक्षपातपूर्ण रहदै आएको छ । निश्चित जातिको पुरुषले मात्र बस्ने ब्यवस्था हुँदै आएकोमा सबै जातजाति र महिलाले पनि छात्रावासको सुविधा पाउनुपर्छ ।”
यसबारेमा अलि विस्तृत रुपमा बुझ्न मन लाग्यो र यो जिज्ञासा मैले विद्यार्थी नेता वेदराज ज्ञवालीसमक्ष तेस्र्याएँ । उहाँले वडो जोशका साथ भन्नुभयो, “तीनधारा सँस्कृत छात्रावास पहिले जुनसुकै उद्देश्यले स्थापना वा सञ्चालन गरिएको भए पनि पछिल्लो समय त्यो महेन्द्र सँस्कृत विश्वविद्यालयको एउटा अङ्ग बन्न पुगेको छ । ऐनले विश्वविद्यालयको उद्देश्यमा सुविधाबाट कसैलाई पनि वञ्चित गरिने छैन भन्छ, र त्यहीँ ऐन अन्तरगत बनेको छात्रावास सम्बन्धी विनियमावलीले चाहिँ वटुक अर्थात् व्रतवन्ध गरेको उपाध्यय बाहुनको छोराले मात्र छात्रावासको सुविधा उपभोग गर्न पाउने भन्ने छ । यस्तो विभेदपूर्ण विनियमावली विरुद्घ पनि हाम्रो आन्दोलन हो ।”
मलाई ज्ञवालीले नै विश्वविद्यालय सम्बन्धी ऐन २०४३को फोटोकपि उपलब्ध गराउनुभयो । अब विनियमावली खोज्नतिर लागेँ । ज्ञवालीकै सुझाव अनुसार म पुगेँ, विश्वविद्यालयको बसन्तपुरस्थित सम्पर्क कार्यालयमा । त्यहाँ भेट हुनु भयो नगेन्द्रराज रेग्मी । उहाँलाई भेट्नासाथ मैले उहाँले विष्णु “आभुषण”सँग मिलेर सञ्चालन गर्नुभएको एउटा हवाई साहित्यिक पत्रिकाको बारेमा कुरा गरेँ । त्यो पत्रिका मकहाँ पनि आउने गथ्र्यो । त्यसपछि उहाँले हरिभक्त कटुवालको बारेमा रेडियो नाटक लेख्नुभएको र त्यो आफूले सुनेर निक्कै प्रभावित भएको पनि प्रसङ्ग झिकेँ । अनि उहाँसँग मागेँ, तीनधारा सँस्कृत छात्रावास सम्बन्धी विनियमावली । उहाँले त्यो उपलब्ध गराउनुभयो र मैले फोटोकपि गरेर लिएँ ।
विश्वविद्यालयको ऐन र सो अन्तरगतको छात्रावास सम्बन्धी विनियमावली अध्ययन गरिसकेपछि अन्नपूर्ण पोस्टको २०६० जेठ २७ गतेको अङ्कमा मैले बाइलाइन लिएर समाचार लेखेँ, “सँस्कृत छात्रावासको विनियम विश्वविद्यालयको उद्देश्य विपरित” शीर्षकमा ।
यसको भोलिपल्टै दलितहरु जुर्मुराइहाले । दलित गैरसरकारी संस्था महासंघले यस विभेदकारी ऐनविरुद्ध मुद्दा हाल्ने घोषणा गरिहाल्यो ।
महासंघमा कार्यरत अधिवक्ता र मेरा साथी राजन सुनार एक दिन मेरो कार्यालयमा आएर गम्भीर मुद्रामा प्रस्तुत भए । उनले भने,“तिमीले कुरा उठाइहाल्यौ, हामीले मुद्दा हाल्ने तयारी गरेका छौँ । मुद्दा हाल्दा ढङ्ग पुगेन र मुद्दा हारियो भने त बर्बादै हुन्छ । तिमीले हामीलाई के सहयोग गर्न सक्छौँ ।”
पेट पाल्न मात्रै होइन, समाज रुपान्तरणको पक्षमा पनि आफ्नो कलमलाई मुखरित गरेर सञ्चारकर्ममा जुटिरहेको यो लेखकलाई एउटा चुनौति आइलाग्यो र यसलाई अवसरको रुपमा लिएँ । राजनले भने अनुसार विश्वविद्यालय सम्बन्धी ऐन र छात्रावास सम्बन्धी विनियमावली उपलब्ध गराएँ । यी सम्पूर्ण प्रमाण जुटेपछि राजन उत्साहित हुँदै फर्के । उनीहरुले २०६० साल मंसिर १७ गते सर्वोच्च अदालनमा रिट दायर गरे ।
२०६२ साल माघ ६ गते साँझ राजन मलाई भेट्न मेरै कार्यालयमा आइपुगे उत्साहपूर्ण गाम्भीर्यका साथ । उनले भने,“मुद्दा जितियो यार । सहयोगका लागि तिमीलाई धन्यवाद ।”
कफि पिएर हामीले खुसी मनायौँ । न्यूज रुममा मेरा सञ्चारकर्मी मित्र हरिहर योगी त्यहीँ फैसलाबारे समाचार लेख्दैरहेछन्,“छात्रावासमा बस्न बटुक हुनु नपर्ने” शीर्षकमा ।
यस क्षणलाई म मेरो पत्रकारिता यात्राको महत्वपूर्ण क्षण सम्झन्छु । कम्तिमा पनि परिणाममुखी पत्रकारितामा सानो इटा त थपियो ।
सडकको मानिस शिखरतिर
२०७३ को भदौ १५ गते प्रा.डा. टङ्कप्रसाद न्यौपानेको नागरिक अभिनन्दन गरियो, इटहरी र धरानमा । यी दुई ठाउँमा उहाँलाई भब्य साँस्कृतिक झाँकी र रथारोहणसहित अभिनन्दन गरियो । उहाँको अभिनन्दन ग्रन्थ “सडकदेखि शिखरसम्म” सोही अवसरमा विमोचन गरियो ।
यो ग्रन्थका लागि मसँग पनि एउटा लेख मागियो, ग्रन्थका सम्पादक अनिल पौडलमार्फत् प्रा.डा. न्यौपानेकै आग्रहमा । न्यौपानेले यस ग्रन्थमा मेरो लेख नराखी नहुने बताउनुभएपछि मैले पनि कान्छो लेखकको हैसियतमा एउटा लेख पठाएँ । राष्ट्रपतिको शुभकामना सन्देश आइपुगिसक्यो, मेरो लेख आइपुगेन । ग्रन्थ प्रेसमा पुगिसकेको अवस्थातिर मैले लेख पठाएँ ।
टङ्क सरको भब्य नागरिक अभिनन्दन भयो । अभिनन्दन ग्रन्थ सार्वजनिक भयो ।
पछिल्लो समय उहाँको साहित्यिक सक्रियता पूर्वी नेपालमा लोभलाग्दो गरी देखिन थालेको थियो । उहाँलाई पुरस्कृत वा सम्मान गर्ने तथा उहाँलाई कार्यक्रमको प्रमुख अतिथि बनाइन थालियो । “ज्ञानगुन प्रकाशन”ले उहाँको विषयमा दुई पटक “अक्षरको अभिवादन” प्रकाशित ग¥यो ।
एक दिन टङ्क सरसमक्ष जिज्ञासा राखेँ,“सरको सक्रियता त निक्कै लोभलाग्दो ढङ्गले अगाडि बढिरहेको छ नि !”
उहाँले भन्नुभयो, “यो सबै तपाईंको कारणले हो”, उहाँले मलाई नै आश्चर्य पार्ने गरी जवाफ दिनुभयो ।
उहाँको भनाई अनुसार मैले उहाँको सङ्घर्ष, विद्वता र समर्पणकाबारेमा लेखेँ, त्यो मानिसहरुले थाहा पाए र प्रतिभाको कदर गरे ।
एउटा भाषाशास्त्रीले सरल भाषामा यसो भन्नुभएपछि मैले २०६६ साल माघ ६ गते उहाँको बारेमा एउटा फिचर लेखेको थिएँ, “अन्नपूर्ण पोस्ट”मा “सँस्कृतबाट बाह«खरी आठपहरियामा विद्यावारिधि” शीर्षकमा।
हाल उच्च अदालत बागलुङका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले मसँग भन्नुभए अनुसार मैले यो फिचर लेखेको समय उहाँ तत्कालिन पुनरावेदन अदालत, धनकुटाका न्यायाधीश हुनुहुँदोरहेछ । “ज्ञानकुन प्रकाशन”को त्यहीँ फिचर पढेर प्रभावित भई उहाँले टङ्क सरको बारेमा दुई पटक “अक्षरको अभिवादन” प्रकाशित गर्नुभयो ।
र, सानैमा आमा गुमाएपछि अरु कसैको दूध पिएर हुर्किएका, एउटा अपाङ्ग र मगन्ते बुवाबाट पालिएका र हुर्किएका उहाँले प्राज्ञिक प्रतिभाको परख भयो । अनि मेरो परिणाममुखी पत्रकारिताले पनि सार्थक यात्राका लागि प्रेरणा पायो ।
प्रतिभाको पुनस्थापना
प्रणय लिम्बू निर्देशित निर्मित वृत्तचित्र “इतिहास जित्नेहरुका लागि”ले निक्कै चर्चा पायो । २०६० सालमा आयोजित साउथ एसियन फिल्म फेस्टिभलमा यो वृत्तचित्रले कुनै शीर्षकमा पुरस्कार नपाए पनि प्रशस्त चर्चा बटुल्यो ।
यो वृत्तचित्र एकजना प्रतिभाशाली कलाकारमाथि केन्द्रित छ, ती कलाकार हुन् कुवेर राई । जब वृत्तचित्रको प्रदर्शन भयो, त्यसपछि कलाकार कुवेर राईको खोजी हुन थाल्यो । हिमाल एशोसियसनले उहाँको एकल प्रस्तुतिको आयोजना गरिदियो । त्यो प्रस्तुतिमा म टिकट काटेर एउटा दर्शक वा स्रोताको रुपमा सहभागी थिएँ । त्यो कार्यक्रमको उद्घोषण डा. नोबलकिशोर राईले गर्दै भन्नुभएको थियो, “आज हामी कलाकार कुबेर राईलाई पुनस्थापित गर्दैछौँ ।”
कलाकार कुवेर राईको चर्चा चुलियो । उहाँको माग देशविदेशबाट हुन थाल्यो ।
२०५७ सालको एक दिन एउटा निम्तो आयो, मकहाँ । धरानमा साँस्कृतिक कार्यक्रमकोे आयोजना गरिरहने किसनचन्द्र राईले यस्तो निम्तो पठाएका थिए । उनको सक्रियतामा “कुवेर राई साँझ”को आयोजना गरिएको थियो । सुरुमा त मैले उनलाई भनेँ,“म आउन भ्याउँदिनँ ।”
“दाइ कम्तिमा पनि कुबेर राईलाई सुनिदिनुहोस् । उहाँलाई हामीले घाँस काट्दा काट्दैको अवस्थाबाट फुर्सद मिलाएर कार्यक्रमका लागि झिकाएका छौँ ।”, किसनचन्द्रजीको यो आग्रहले मलाई गम्भीर बनायो र पुगेँ, कार्यक्रममा कुबेर राईलाई सुन्न ।
स्वरको धनी भए पनि, रेडियो नेपालले आयोजना गर्ने राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भए पनि कुबेरले एउटा गीति एल्बम् निकाल्न सक्नु त कता हो कता, काठमाडौंबाट पलायन भएर इलामको आफ्नै गाउँमा फर्कि खेती–किसानी पो गर्दै हुनुहुँदोरहेछ । यो थाहा पाएपछि धरानका एक उदारचित्त पद्मसुन्दर राई उहाँको एक एल्बममा लगानी गर्न तयार हुनु भयो । यस सम्बन्धी एउटा फिचर लेखेँ, “गाउन जान्ने धाउन नजान्ने” शीर्षकमा “हिमाल” खबरपत्रिकाको २०५९ साल मंसिर १६–२९ गतेको अङ्कमा ।
यो फिचर पढेपछि मलाई धेरै पटक प्रणयजीले सोध्नुभयो,“कुबेरजीको बारेमा तपाईले लेख्नुभएको फिचरको शीर्षक तपाईं आफैले जुराउनुभएको हो ?”
मैले जुन शीर्षक निर्माण गरेर फिचर तयार पारेँ, त्यहीँ शीर्षकमा हिमालमा छापियो । मैले प्रणयजीलाई भनेँ,“मेरो रोजाईको शीर्षकलाई उपसम्पादनको कैचीले काटेनछ ।”
उहाँ त भित्रभित्रै कुबेर राईको विषयमा वृत्तचित्र निर्माण गर्न थाल्नुभए छ । जे होस् राम्रो भयो । एउटा प्रतिभा पुनस्थापित भए । मैले पनि त एउटा परिणाममुखी पत्रकारिता गरेछु ।
फ्रान्सिस बेकनले भनेजस्तै ज्ञान शक्ति हो । हामी आमसञ्चारका विद्यार्थीहरु भन्छौँ, सूचना भनेको ज्ञान हो र ज्ञान शक्ति हो । यहीँ सूचनाले सचेतना बढ्छ र सचेतना शक्तिमा परिणत हुन्छ । र त पत्रकारिताको परिणाम पनि आउँछ ।
साभारः नेपाल प्रेस काउन्सिलद्वारा प्रकाशित“संहिता” २०७५ असोज अङ्कबाट । -सम्पादक