• गुफा (कथा)

  •  

     

    मानव मस्तिष्क स्मृतिहरूको विशाल गुफा हो । कला र साहित्य यही गुफाबाट निस्किन्छन् । हरेक कला र साहित्य नयाँ र मौलिक जस्तो लाग्छन् तर ती स्मृतिहरू हुन् । हरेक लेखक, कलाकार, कवि क्रीप्टोम्नेसियाको रोगी हुन्छन् । तर, यो रोग होइन । यो मानव विकासक्रमको स्वाभाविक प्रक्रिया हो ।

    तेस्तै, केहीबेर अगाडि फुर्फुर पानी परेको थियो । फेरि स्वाट्टै घाम लाग्यो । अहिले चाहिँ घाम पनि लाग्यो, पानी पनि पर्यो । तब नौमती बाजासँग बिहेको जन्ती हामी क्यारेमबोर्ड खेल्दै गरेको दोकानतिर मोडियो । टक्की तानेर रातो गोट्टी छिराउनु थियो, मैले बाजी जित्थें तर खेल भाँडेर रमिता हेर्नु दगुरिहाले साथीहरू ।

    ‘घामपानी घामपानी स्यालको बिहे ! कुक्कुर जन्ती बिरालो बाहुन !’ मनमा गुन्जियो । घामपानी हुँदा उहिले भुराभुरी हामीहरू यसो भन्दै आँगनमा दगुर्थ्यौं ।

    ‘बेउलोले कराई चाटेजस्तो छ !’ तिमिल्सिना साहु यसो भन्दै उक्लियो छतमा ।

    हेन्डपकेटको रातो रानी पचाउनु मात्रै बाँकी थियो । जितिसकेको बाजी भाँडिएकोमा मन अँध्यारो बनाउँदै रमिता हेर्न म पनि साथीहरूसँग छतमा उक्लें । एकतले पक्की घर, बिस्तारै अर्को तला थपौंला भनेर पिलरका लागि फलामका छडहरू छतको भुइँबाट उभ्याइएका ।

    दोकान अगाडि आइपुग्यो जन्ती । बेहुलाले टाइसुट, ढाका टोपी, चामलको रातो टीका, कालो चस्मा र दुबोको माला लगाएको थियो । बेहुली घाममा टिल्टिल टल्किने रातो घुम्टो ओढी भुइँतिर घोप्टेर बेहुलाको पछिपछि हिँड्दै थिइन् । जन्तीको अगाडि भारपेनी माइली र जीवन लाटा नाच्दै थिए । बिहे भोजमा यी दुई नहुँदा त खल्लो हुन्थ्यो ।

    मैले दाहिने हात कम्मरमा लगाएँ । र, देब्रे हातले फलामको रड समातेँ । त्यसपछि मलाई थाहा भएन कसरी एकैचोटि जन्तीहरू मलामी भए । मसँग क्यारेमबोर्ड खेल्ने भगते, मसिने, सोमे अनि तिमिल्सिना साहुले मेरो लास बोकेका थिए ।

    मेरा हत्केलाका रेखाहरू बोरिकको सेतो धुलोले पुरिएका थिए । देब्रे हातमा फलामको रड समातेको दाग थियो ।

    माथिल्लो गाउँको कल्पनाको तोङ्बा दोकानमा भगतेले भन्यो- ‘हाउ ! करेन्ट लाग्दा त बा ! ठ्याक्कै गोबिन्दले डान्स गरेजस्तो हुँदोरछ नि ।’

    मैले हाँस्दै भनें – ‘हहह ! ह र !?’

    सोमेले भन्यो – ‘भाटाले यस्को हातमा नहानेको भए यतिबेला यमराजसँग डान्स गर्दै हुन्थ्यो यो राँपे ।’

    मसिनेले पनि मुसाको जस्तो दाँत देखायो । युवा मेलामा लाप्पा खेल्दा कचेटले लागेर टुक्रिएको थियो उसको अगाडिको एउटा दाँत ।

    कति वर्षसम्म मैले उनीहरूको कुरा बुझिनँ । तोङ्बा तान्दै गएपछि उनीहरूले यो कुरा बिना सन्दर्भ कोट्याउँथे । करेन्टको कुरा गर्थे ।

    एकदिन मैले सोमेलाई कल्पनाको दोकानमा तोङ्बा तान्न एक्लै डाकें । एकचोटि तोङ्बामा पानी फेरेपछि मैले सोधें- ‘हाउ सोमे ! त्यो भगतेले खालि किन करेन्ट र गोबिन्दको डान्सको कुरा झिक्छ ? म हुँदा मात्रै करेन्टको कुरा गर्छ कि म नहुँदा पनि गर्छ ?’

    सोमेले त्यो दिन मलाई सत्य कुरा बतायो । ‘बिहेको रमिता हेर्दा त्यो फलामको रड समात्दा तँलाई करेन्ट लागेको थियो नि च्याँट्ठा । त्यो भगतेले भाटाले तेरो हातमा नहानेको भए तँ मर्थिस् ।’

    ‘हाउ ! ह र !?’ म अचम्मित भएँ ।

    ‘तैंले दाहिने हात कम्मरमा राखेर देब्रे हातले रड समातेको थिइस् । काम्न थालिहालिस् । हामीले सोच्यौं तँ नाचेको होला । तर भगतेको दिमागमा कताबाट तँलाई करेन्ट लाग्यो भन्ने कुरा आयो कुन्नि !? कुनामा भाटा थियो, त्यो टिपेर तेरो हातमा हान्यो र फलामको रडबाट तेरो हात छुट्यो ।’ सोमेले भन्यो ।

    ‘साहुनी ! फेरि आधा प्लेट सिकुटी दिउङ दिउङ ! अनि त्यसपछि !?’

    ‘त्यसपछि तैंले भगतेलाई कराँते देखाइस् नि ! अनि बेहोस् भइस् ।’

    सोमेले यति भन्दा मैले सम्झें त्यो दिन मलाई करेन्ट लागेको थियो । त्यही घटना पश्चात् मैले अनौठा सपनाहरू देख्न थालेको थिएँ । तब प्रष्टसँग बुझें मलाई छतमा फलामको रड समात्दा करेन्ट लागेको रहेछ र भगतेले मेरो हातमा भाटाले हानेर बचाएको रहेछ । त्यही कारण भगतेले करेन्ट र गोबिन्दfको डान्सको कुरो झिक्दो रहेछ । सोचें- मेरो प्राण बचाउने भगतेले मलाई गिल्ला गर्ने अधिकार राख्दछ ।

    त्यो शुक्रबारको दिन स्कुलबाट भागेर हामी जंगलमा कालिजको गुँड खोज्न गएका थियौं । स्कुलको छेउमा ठूलो उत्तिसको रूख थियो, अघिल्लो हप्ता हामीले त्यहाँ कालिज बसेको देखेका थियौं । त्यो उडेर पारि भस्मे जंगलमा गएको थियो । हामीले सल्लाह गर्यौं अर्को शुक्रबार भस्मे जंगल गएर कालिज समात्ने ।

    ‘कालिजलाई समात्नु जाँडको छोक्रा चाहिन्छ । त्यसको गुँडको छेउमा छोक्रा छर्नु पर्छ, छोक्रा खाएर मातेपछि उड्न सक्दैन । अनि जिउँदै कालिज समात्नु पर्छ ।’ मंगलेले भन्यो ।

    ‘जाँडको छोक्रा म बोक्छु ।’ पंचमायाले भनिन् ।

    ‘तँ नजा, छोरीमान्छे भएर शिकार खेल्नु सुहाउँदैन ।’ हामीले भन्यौं ।

    ‘तिमेरुभन्दा सुरो छु म । गुलेलीले चीललाई आकाशदेखि झारेको छु । के ठानेको ?’ पंचमाया रिसाइन् । उसलाई पनि कालिज समात्ने कति रहर होला ! मैले सोचें अनि उसलाई भनें – ‘लु तँ जाँडको छोक्रा लिएर आइज तर कसैलाई नभन् है ।’ उसका साना आँखा खुसीले चम्किए ।

    ‘ग्याँटिस म बोक्छु ।’ रिसानेले सुरिदै भन्यो ।

    ‘झुलो र चकमक म बोक्छु ।’ मैले बाउको इस्टकोटको खल्ती सम्झिदै भनें ।

    भस्मे जंगलमा पुगेर हामीले कालिजको गुँड खोज्यौं । गुँड खोज्दाखोज्दा थकित भयौं । भोक लाग्यो, तिर्खा लाग्यो । पंचमायाले उन्युको जस्तो पात भएको एउटा बुट्टा भित्ताबाट उखेलिन् । त्यो पानी अमला रहेछ । पानी अमला खाएपछि तिर्खा त हरायो तर भोकले आन्द्रा बटारिनु थाल्यो ।

    ‘छोक्रा खङ ! कालिज अर्कै जंगलमा गयो जस्तो छ ।’ मंगलेले भन्यो । जाँडको छोक्राको बास्ना हरहर चल्न थाल्यो । एउटा चप्लेटी ढुङ्गामा बसेर हामीले ग्वाम् कि ग्वाम् जाँडको छोक्रा खायौं ।

    त्यसपछि के भयो मलाई सम्झना छैन । ब्युँझिदा एउटा गुफाभित्र थियौं हामी । हातखुट्टा लहराले बाँधिएको थियो ।

    हाम्रो अगाडि शिविहाङ काका आफ्नो छेपारीको मासु कर्दाले आफै काट्दै तराजुको एउटा पालामा राख्दै थियो, अर्को पालामा कालिज बसेको थियो । आफ्नो सबै मासु काट्दा पनि कालिजको वजन बराबर शिविहाङको मासु भएन । छेउमा बसेको हुचीलले भन्यो- ‘शिविहाङ ! तिमी साँच्चिकै दयालु रहेछौ । हामी त तिम्रो जाँच गर्न आएका थियौं । तिमी जाँचमा पास भयौ, तिमीलाई दुनियाँले पछिपछिसम्म सम्झिरहनेछ । म इन्द्र हुँ र यो कालिज अग्नि हुन् ।

    यो गुफाभित्र पंचतन्त्रको कथा कसरी आयो ? यो देखेर हामी विस्मित भयौं ।

    शिविहाङ काकाको घर खोल्साको छेउमा थियो । बिहान घामको किरण उत्तिसका रूखहरूले छेकिदिन्थे । घाम ढल्किदै जाँदा मात्रै उसको घरमा पहेँलो घाम आइपुग्थ्यो । पाकेको कोदोको झुप्पा पहेँलो घामले सुनजस्तै देखिन्थ्यो । अनि असार-साउनको झाडापखालाले भर्खरै तङ्ग्रीएको शिविहाङ पहेँलो घामको टकमा सुनको मूर्ति जस्तो सिकुवामा बसेर तलखोलातिर हेरेर बस्थ्यो, ‘स्ट्याचु अफ थिङ्कर’ जस्तो ।

    मैले लहराले बाँधेको आफ्ना हातखुट्टा फुत्काउन बल गरेँ । तर मेरो प्रयास निरर्थक भयो । देब्रे कानमा मंगले फुस्फुसायो- ‘हाउ ! मासु काटेर जोख्ने मान्छे त मेरो बाउ जस्तो छ नि !’

    म डरले केही बोल्न सकिनँ । यतिन्जेल शिविहाङ, कालिज र चील गुफाको दृश्यपटबाट बिलाइसकेका थिए । अँध्यारोको बर्कोले हामीलाई छोपिसकेको थियो ।

    पंचमाया अँध्यारो चिर्दै बोलिन्- ‘कसरी निस्किने अब यो गुफाबाट ? सास थुन्न आँट्यो ।’

    रिसाने जोडले चिच्यायो । उसको चिच्याहट गुफाभित्र बिलायो ।

    मैले भनें- ‘तिमेरलाई थाहा छ हामी कसरी यो गुफाभित्र आयौं ?’

    पंचमाया बोलिन्- ‘सायद वनझँक्रीले ल्यायो कि !?’

    ‘मंगलेको बाउले ल्याएको होला । अघि मंगलेको बाउ थियो हैन त ? ….हाउ शिविहाङ काका ! हामीलाई बाहिर निकाल न हाउ ! अबदेखि स्कुलबाट भाग्दुङ न ।’ रिसाने करायो ।

    मैले भने- ‘शिविहाङ काकाले हामीलाई यहाँ कसरी ल्याउँछ ? ऊ आफै आफ्नो मासु काट्दै तराजुमा जोख्दैथ्यो ।’ ‘हामी कसरी यो गुफाभित्र आयौं त्यो थाहा नपाई बाहिर निस्किनु सकिँदैन ।’ मैले थपें ।

    ‘म भोट माग्दै थिएँ । आठ, नौ र दस वडा सक्काएर सात नम्बर वडामा दिउँसो तीन बजेतिर झर्दै थिएँ । राति कोदोको खोले, गुन्द्रुकको झोल र पोलेको खोर्सानी खाएको थिएँ । पेट दुखेर आयो । बाटो छेउबाट कालिझार मुट्याएर म जङ्गलतिर छिरेको थिएँ । भुइँमा बसेर राति खाएको फ्याँकें, गुन्द्रुकको पुच्छर झुन्डिएको अझै याद छ । त्यतिबेलै परतिर एउटा गुफा देखें । त्यसपछि त थाहै भएन । एकैचोटि यस्तो हालमा ब्युँझिएँ ।’ रिसानेले भन्यो ।

    ‘हाउ म त इस्कूसको जरा पो खन्दै थिएँ । ठूल्ठूलो खुम्ले किरा निस्किदै थ्यो । खुम्ले किरा टिप्दै छिर्बिरे भालेलाई दिदै थिएँ । त्यतिबेलै बाटो मास्तिर खुम्ले तुम्बा लट्ठी टेक्दै आइपुग्यो । कति निकालिस् हाउ इस्कूसको जरा भनेर सोध्यो तुम्बाले । सप्पै खुम्ले किराले सक्काएछ तुम्बा भनेको थिएँ । के भनिस् रे चाँट्ठा भनेर खुम्ले तुम्बाले लौरोको झटारो हान्यो । लट्ठीले मेरो टाउकोमा लागेको याद छ । त्यसपछि एकैचोटि यो गुफामा ब्युँझिएँ ।’ मंगलेले भन्यो ।

    ‘म त मेरो बोजुसँग घुर्यानबारीमा खुर्सानीको बोटमा खरानी छर्किदै थिएँ । बोजुले कथा भन्दै हुनुहुन्थ्यो । उहिले नै बारीको बीचमा रूखको ठुटा थियो रे । एकदिन जिजु बाजे आलु रोप्नुलाई बारी खन्दै हुनुहुन्थ्यो रे । दिउँसो चियाखाजा खान बारी मास्तिरको कट्मेरोको रूखको फेदमा उक्लिनु भएछ । तेतिबेला जङ्गलबाट एउटा दुम्सी कुद्दै आएर बारीको बीचमा भएको रूखको फेदमा ठोक्किमरेछ । जिजु बाजेले दुम्सी पोलेर एक छाक टार्नु भएछ । त्यसपछि जिजु बाजेले भोलिबाट बारी खन्नु छाडेछ र दुम्सीलाई पर्खेर बस्नु थालेछ । युग बित्यो दुम्सी आएन । जिजु बाजे भोकै मर्नु भएछ । यो कथा सुनेपछि मलाई के भो ? थाहा भएन । यो गुफाभित्र ब्युँझिएको मात्रै थाहा छ ।’ मैले भनें ।

    पंचमायाले भनिन् – ‘मेरो आमाले भन्यो ‘चीलले चल्ला टिप्छ डोकोले छोप् !’ मैले आँगनमा आकाशतिर हेरें । चील घुम्दै रहेछ । मैले मकैको च्याँख्ला आँगनमा छर्केर माउ र चल्लाहरू बोलाएँ अनि डोकोले छोपें । त्यसपछि एकैचोटि यो गुफाभित्र यस्तो अवस्थामा ब्युँझिनँ पुगें ।’

    खुम्ले तुम्बाको छाति र ढाड डल्लो थियो । बृहस्पतिहाङ लिम्बू उसको खास नाम । तर, छाती र ढाडमा डल्लो भएको कारण सबैले खुम्ले भनेर डाक्थे । मेरो बाउभन्दा जेठो भएकोले म खुम्ले तुम्बा भन्थें । हामी केटाकेटीहरूले ‘खुम्ले’ भन्दा रिसाउँथ्यो । हाम्रो गाउँको स्कुलमा घण्टी बजाउने काम गर्थ्यो ऊ ।

    हेडसर भन्नुहुन्थ्यो – ‘तिमेरु सिँगानेसिँगानेनीहरू घरको काम नगरी आयौ भने तिमेरु पनि खुम्ले तुम्बाजस्तै हुन्छौ ।’

    घरको काम नगरी आउने पअंचमाया थिइन् । बेन्चमा उभ्याएर हेडसर सोध्नुहुन्थ्यो- ‘तँ ध्वाँसीले सधैँ घरको काम किन गर्दैनस् ? तँलाई स्कुलबाट निकादिऊँ कि भोलिबाट घरको काम गर्छेस् ! हँ ?’

    पंचमाया मजेत्रो टोक्दै घोप्टो परेर भन्थिन्- ‘घरको काम गरेर आको सर ।’

    ‘केके गरिस् ?’

    ‘इस्कूस ताछेको, सिकुवा बढारेको, सुँगुरलाई चारो देको, पानी ओसारेको, धन्दा गरेको !’

    ‘तेरो सुँगुर कत्रो भयो ? यो दशैंमा काट्छेस् ?’

    ‘ठूलो भो सर । दाँसैमा नाकाट्ने, तिहारमा काट्ने ।’

    ‘लु मलाई एक धार्नी राखिदे !’ हेडसरले यसो भन्दा सप्पै खितिती गरेर हाँस्थे । पंचमाया लाजले अनुहार छोप्थिन् ।

    पंचमायाले मलाई उसको घरमा फलेको आलुबखडा ल्याइदिन्थिन् । म उसलाई हेडसर कक्षाबाट निस्केपछि भन्थें- ‘घरको काम भनेको गृहकार्य हाउ, अङ्ग्रेजी सरले भन्छ नि होमवर्क ! त्यो भनेको पो त । तैंले जस्तो घरको काम त म गर्दिनँ । कुखुराको खोर त खोल्दिनँ म, मेरो आमाले कति गाली गर्छ र पनि खोल्दिनँ । खरेटो लगा भन्छ लगाउँदिनँ । दाउरा ल्याइदे भन्छ ल्याउँदिनँ म त ।’

    ‘अनि मलाई त थाहै छैन । के गर्ने घरको काम ?’

    ‘त्यो आठौं पाठको एकपन्ना लेखेर ल्याउने भनेको छ आज । भरे घर जानेबित्तिकै खातामा त्यो लेखेर राख् ।’

    ‘अनि स्कुलबाट फर्किनेबित्तिकै म त घाँस काट्न जानुपर्छ । राति लेख्नुको लागि बत्ति छैना ।’

    ‘यहीँ लेखेर जा उसो भए । अनि भोलि पनि आलुबखडा ल्याइदे ल !’ म पंचमायालाई भन्थें ।

    यो गुफा जारिङ्गे गाउँको वडा नम्बर सात र आठको बीचको जङ्गलमा रहेछ । रिसानेको कुराले यति चैं अनुमान गर्यौं हामीले । यदि त्यही गुफा हो भने राति यो गुफाको छानामा तारामण्डल पनि देखिन्छ । २००७ सालमा बन्दुकेहरू यही गुफामा बसेका थिए । ३६ सालमा यो गुफाभित्र बहुदले नेताकार्यकर्ताहरू लुकेका थिए ।

    ४६ सालमा पनि राजनीतिक नेताकार्यकर्ताहरूले यही गुफामा लुकेर सशस्त्र आन्दोलन गरे । ५२ सालमा जनसेनाहरू पनि यही गुफामा लुकेर जनयुद्धमा सरिक भए । यदि यो जारिङ्गेको गुफा हो भने यो ऐतिहासिक गुफा हो । हामी ३६ र ४६ सालको बीचमा थियौं ।
    यो गुफामा वनमान्छे बस्छ भनेर तर्साउँथे हामीलाई ठूलाबढाले । लट्टे झाँक्री थियो हाम्रो गाउँमा एकजना । ऊ भन्थ्यो वनझाँक्रीले उसलाई यही गुफामा छ महिना राखेको अरे । बिहानबेलुकी गड्यालो मात्रै खान दिन्थ्यो रे ।

    मैले भनें- ‘हाउ ! यो गुफामा त लट्टे झाँक्रीलाई वनझाँक्रीले विद्या सिकाएको भन्थ्यो । हामीलाई पनि विद्या सिकाउन वनझाँक्रीले ल्याएको त हैन ?’

    हाम्रो अगाडि गुफाको भित्तामा फेरि आकृतिहरू सल्बलाउन थाले । हाम्रो पछिल्तिर कसैले आगो फुकेर छाँयाहरू प्रक्षेपण गरे झैँ लाग्थ्यो ।

    लुती बोजु आँगनमा घाम तापेर बसेकी थिइन् । ‘बोजु हाउ …!’ मैले जोडले बोजुलाई डाकें ।

    ‘छोराबुहारी, नातिनातिना सप्पै मधेस झरे । मलाई यो घर छोडेर जानू मन लागेन । अब कति पो बाँच्छु होला र !’ लुती बोजुले भनिन् ।

    ‘पिंडालु, सुटुनी उसिनी खान्छु । पानी ल्याउनु मत्र गाह्रो लाग्छ कि, अरु काम त सप्पै आफेक् गर्न सक्छु । बरु एक जर्किन पानी ल्याइदिराखेर जा है ।’ आँगनको छेउमा जुठेल्नो थियो, त्यहाँ पाँच लिटरे पहेँलो जर्किन थियो । जर्किनको खास रङ्ग सेतो थियो तर कुवाको धमिलो पानी बोक्दाबोक्दा पुरानो भएर पहेँलो देखिन्थ्यो । सुनकै जर्किन जस्तो देखिने ।

    ‘अनि कि बोजु तपैंलाई राति एक्लै यो घरमा सुत्नु डर लाग्दैन ?’ मैले सोधेँ ।

    ‘मसित सुनचाँदी, धन्दौलत भए पो डराउनु ? दुई बिटे चाँदीको एउटा मोहोर थियो तेरो बाजेले देको, त्यो पनि मधेस जानेहरूले लगे ।’

    ‘हैन हाउ, भूतको डर लाग्दैन कि भनेर सोधेको ?’

    ‘आफ्नो बाटो हिँड्छ्न् भूतप्रेत त, तिनेरुसित किन डराउनु ? तर, अस्तिको दिन दैलोमा टाउको ठक्किएदेखि आँखा धमिलोधमिलो हुन्देछ । मोतिबिन्दुले पो भेट्यो कि भन्छु ।’

    ‘बोजु दैलोमा टाउको ठोक्किदाँ तपाईंको मस्तिष्कको नसा च्यापियो होला । आँखा मस्तिष्कको झ्याल हो नि !’

    ‘मास्ति भनेको के ह ?’

    ‘मास्ति हैन, मस्तिष्क ! मस्तिष्क भनेको गिदी हाउ बोजु !’

    सेतै कपाल फुलेकी हड्डी र छाला मात्रै । तिगेनजोङ्ना यस्तै थिइन् कि त ! मैले जर्किन र बटुको उठाएँ । र, फर्दाल दगुरें कुवातिर । हाम्रो गाउँमा पानीको सारै दुक्ख । बिहान तीन बजेतिर मात्रै सङ्लो पानी भेटिन्छ । दिउँसो र बेलुकी त पानी भर्नेहरू र गाइबस्तुले धमिलो बनाइहाल्छ्न् । कुवा अलिपर्तिरको खोल्सा छेउमा थियो । कुवामा बटुकोले बिस्तारै पानी उघाएर भर्न थालेँ ।

    म पानी बोकेर ठाउँ ठाउँमा बिसाउँदै लुती बोजुको घरमा आइपुगेँ – ‘लु बोजु पानी । अनि कि तपैंलाई थाहा छ गुफाबाट कसरी निस्किने ? किनभने रिसाने, मंगले, पंचमाया र म गुफाभित्र फँसेका छौं । कसलेकसले हाम्रो हातखुट्टा बाँधेर हामीलाई गुफामा थुनेको छ ।’

    ‘भग्वान् पुकार नाति !’ बोजुले भन्नुभो ।

    ‘कुन भग्वान् पुकार्ने बोजु ?’ मैले सोधेँ ।

    ‘तेरो आफ्नो भग्वान् पुकार ।’

    ‘मेरो आफ्नो भग्वानै छैन ।’

    ‘भग्वानै बिनाको तँ कसरी मान्छे भैस् ? तेरो आमाको जे भग्वान तेरो पनि तेही भग्वान ।’ बोजुले यति भन्दा मैले कुरो बुझिहालें । यति भनेर लुती बोजु पनि बिलाउनु भयो । गुफामा फेरि अन्धकार छायो ।

    ‘हे आमा ! हामीलाई यो गुफाबाट निकाल्नुस् ।’ मैले आमालाई पुकारेँ । अनि रिसाने, मंगले र पंचमायालाई पनि भनें- ‘हाउ साथी हो, तिमेरु पनि आआफ्नो आमालाई पुकार्नु । हाम्रो आमाले हामीलाई यो गुफाबाट निकाल्नु हुन्छ ।’

    ‘मेरो आमा त मलाई थाहा छैन । म जन्मिनेबित्तिकै मरेको अरे ।’ रिसानेले भन्यो ।

    ‘मेरो आमा पनि पोहोर बित्नु भो ।’

    ‘मेरो आमा त कानै सुन्नु हुन्न ।’ मंगलेले भन्यो ।

    ‘आमा कहिले पनि मर्दैन । आमा कहिले पनि बहिरो र अन्धा हुँदैन । मनदेखि पुकार । आमा जहाँ भए पनि जस्तो अवस्थामा भए पनि आफ्नो सन्तानको पुकार सुन्नु हुन्छ । आमालाई पुकार ।’

    ‘आमा हाउ ! आमा हाउ !’ हामीले आमाको हजार पुकार गरिरह्यौं ।

    आमा प्रकट हुनुभो । हाम्रो अवस्था बारे उहाँ जानकार हुनुहुँदो रहेछ । दु:खी हुँदै भन्नू भो- ‘यो गुफामा ल्याएको मैले हो । यो गुफाबाट निस्किनु तिमीहरूले लामो यात्रा गर्नु पर्छ ।’

    ‘कस्तो लामो यात्रा आमा ?’ हामीले सोध्यौं ।

    ‘कुवाको भ्यागुतोले महासागरको यात्रा गरे जस्तै । त्यो कथा सुनेको छौ ?

    महासागरमा बस्ने भ्यागुतो र कुवामा बस्ने भ्यागुतोको दोस्तीको कथा ! एकदिन कुवामा बस्ने भ्यागुतोले महासागरमा बस्ने भ्यागुतोलाई भनेछ- हेर ! यो कुवाको एउटा कुनाबाट अर्को कुनामा पुग्दा म थकित हुन्छु । यो कुवा यत्ति ठूलो छ । अनि कत्ति गहिरो छ भने नि, कि म माथिदेखि हाम्फाल्दा पनि फेद भेट्टाउन सक्दिनँ । के तिम्रो महासागर मेरो कुवाजत्रो ठूलो र मेरो कुवाजस्तो गहिरो छ ? तब महासागरको भ्यागुतोले आफै आएर महासागर हेर्ने निम्तो दिएछ । एकदिन महासागर हेर्न कुवाबाट निस्केर खोल्सामा, खोल्साबाट निस्केर खोलामा, खोलाबाट निस्केर नदीमा पुगेछ । र, नदीलाई पछ्याउँदै कुवाको भ्यागुतो महासागर पुगेछ । महासागर देखेर कुवाको भ्यागुतो छक्कै परेर भुँडी फुटेर मरेछ । तिमीहरूले यस्तै यात्रा गर्नु पर्छ तर कुवाको भ्यागुतो जस्तो छक्कै परेर मर्नु हुँदैन ।’

    ‘आमा ! महासागरको कछुवाले आकाशको टाउको देखेर मुर्छा परेको कथा पनि सुनाउनुस् न । अनि हामी यो यात्रामा निस्किन्छौं ।’ हामीले भन्यौं । तर, आमा उज्यालोसँगै विलिन हुनुभयो ।

    मैले भनें- ‘हेर, मुन्धुममा सुसुवेन लालावैनले मृग खेद्दै गयो । त्यो सुनको मृग थिएन, एउटा सामान्य मृग थियो । मृगलाई भोकको लागि खेदेको थियो सुसुवेन लालावैनले । रामायणमा रामले खेदेको मृग सुनको मृग थियो, लालचको मृग थियो, छल र षड्यन्त्रको मृग थियो ।’

    ‘आम्भू ! मुन्धुम भोकको कथा हो त ?’

    ‘मुन्धुम भोक, रोग र शोकको कथा हो । हामी यहाँबाट हिँड्न सुरु गरौं ।’ मैले भनें ।

    ‘भोक, रोग र शोकको कुरा त बुद्धले नै भनिसकेको हो नि !’

    ‘मुन्धुमको कुरा बुद्धभन्दा धेरै हजार वर्ष अगाडिको कुरा हो ।’ मैले भनें ।

    ‘हाउ ! उहिले पृथ्वीमा बाह्रवटा घाम लागेको कुरा कसरी पत्याउने ? मुन्धुममा त यस्तो पनि लेखेको रहेछ ।’ मंगलेले सोध्यो ।

    ‘बाह्रवटा घाम त अहिले पनि लाग्छ अरब देशमा । उहिले पृथ्वी एकदमै तातो थियो भन्ने कुरा त विज्ञानले पनि भन्छ । मुन्धुम साहित्य हो, पृथ्वीमा अत्यधिक गर्मी थियो भन्नलाई मुन्धुमको रचयिताले ब्राह्रवटा घामको बिम्ब बुने ।’ मैले भनें ।

    ‘हेहेहे ! अनि दुम्सीले एघारवटा घाम बाँसको टुप्पोमा चढेर आफ्नो काँडाले फुटायो भनेको चैं के हो ?’ रिसानेले अनपत्यार मान्दै सोध्यो ।

    ‘घामको प्रचण्ड गर्मीबाट बाँच्न त्यो बेला मान्छेले बाँसघारीमा दुम्सीले जस्तै दुलो खनेर बसे भन्न खोजिएको हो । मुन्धुम, वेद, इलियाड, ओडिसी, रामायण, महाभारत, बाइबल, कुरान यी सप्पै साहित्य हुन्, मानव विकासक्रमको इतिहास पनि हुन् ।’ मैले भनें ।
    ‘अनि मुन्धुम चैं कसले रचना गर्यो त ?’ रिसानेले सोध्यो ।

    ‘प्रथम साम्बा हुन् मुन्धुमका रचनाकार । उनले कथा बुने, कथा फलाँके । उनले सिकाए फेदाङ्बा-फेदाङ्माहरूलाई । यो क्रम चल्दै आयो र मुन्धुमहरू स्मृतिमा मात्रै सङ्ग्रह भयो । स्मृतिमा मात्रै राख्दा यो लोप हुन्छ, लेखेर राखौं भन्ने साम्बाहरू निस्किएनन् । लेखेर राखेको भए मुन्धुमहरू पनि उपनिषद् जस्तो दर्शनशास्त्र हुन्थ्यो होला ।’ मैले भनें ।

    ‘जन्मिनुभन्दा अगाडि, जन्मिसकेपछि, बाँचुन्जेल र मरेपछि गरिने कर्मकाण्ड मात्रै हैन र मुन्धुम !? मुन्धुमलाई दर्शनशास्त्रतिर लान मिल्छ ? हैट् ! बौलाहा जस्तो कुरा नगर् है ।’ रिसानेले भन्यो ।

    ‘हेर् ! यो गुफाबाट जसरी पनि निस्किनु छ हामीले । यो गुफा त विश्वास र मान्यताहरूको पनि गुफा हो । जबतक पुरानै विश्वास र मान्यताहरूमा रहिरहन्छौं तबतक यो गुफाबाट मुक्ति सम्भव छैन । तेसोर मुन्धुममा दर्शन खोज्नुपर्छ हामीले । यो सृष्टि एकैदिनमा बनाएको भन्दैन मुन्धुमले । धेरै पुस्ताहरू खर्चेर बनेको भन्छ । बाइबलले सात दिनमा एउटै ईश्वरले बनाएको अरे, कुरानले आठ दिनमा बनाएको अरे ।’ मैले भनें ।

    हामीलाई भोकतिर्खा लाग्यो । हामी खोला मास्तिर आइपुगेका थियौं । मंगलेले भन्यो- ‘हाउ ! खोला तरेपछि चिया दोकान आउँछ कि त्याँ खाजा खङ ल ! भुँडीमा मुसा कुद्नु थाल्यो हाउ ।’

    हामी चारजना खोपडीमा धारणाहरूको गुफा बोकेर हिँडिरहेका थियौं । पंचमायाले भनिन्- ‘मलाई त कस्तो चट्पटेको याद आयो ।’

    ‘चट्पटे त पाइन्दैन होला । तर चाउचाउ मोलेर खाँदा हुन्छ ।’ रिसानेले भन्यो ।

    चाउचाउ त थिएन दोकानमा । ग्लुकोज बिस्कुट थियो सडिन लागेको त्यही किन्यौं । बिस्कुटबाट मट्टीतेल र पसिनाको हल्का गन्ध आइरहेको थियो । तर पनि सारै नै मीठो रहेछ । हामीले फिका चियामा चोप्दै खायौं । मंगलेले गिजामा टाँसिएको बिस्कुट औंलाले सोरेर खायो ।

    ‘छ्या ! ‘ पंचमायाले भनिन् ।

    पंचमायाले छ्या भन्दा उसको नाकमा मुजा पर्यो । उसका फुटेका गालामा कालो मसिना टिक्टिके कोठीहरू थिए । ती कोठीहरू हेर्दा मलाई पंचमाया सारै राम्री लाग्थिन् । जाडोले गाला त हामी सप्पैको फुटेका हुन्थे तर उसका फुटेका गालाहरू बुट्टा भरे जस्तै लाग्थ्यो । छोउँछोउँ लाग्थ्यो । हामी स्कुल छुट्टी भएर गुराँसको फूल खान जान्थ्यौं । गुराँस खाइसकेपछि लाली गुराँसले रङ्गिएको उसका ओंठ छोउँछोउँ लाग्थ्यो । उसले मलाई घरको काम सिकाइमाग्थिन्, म उसलाई आरुबखडा ल्याइमाग्थें ।

    पंचमायाका साथीहरू थिए संचरानी, मुजिक्ना र हार्बेती । उनीहरूले मेरो र पंचमायाको कुरा काट्थे । सुरुमा त रिसाएँ, अलि पछि लाज लाग्न थाल्यो । एकसाल मदन मेला भर्न म आठराइको सङ्ग्राती पुगें, मेलामा मलाई पंचमायाको याद आयो र मैले कसैले थाहा नपाउने गरी नङ पालिस किनें उसको लागि । हार्बेतीले यो कुरा स्कुलभरि फिँजाएकी थिइन् ।

    हाम्रो उमेर छिप्पिदै थियो कि त ! पंचमायालाई नदेखेको दिन आकाश धुम्मिए झैं लाग्थ्यो । कति कुराहरू भन्छु भनेर रातभरि सोच्थें तर दिनमा ऊसँग भेट्दा सोचेका कुराहरू भन्नै सक्दिनँ थिएँ । राति रेडियोमा तेस्तै गीत बज्थ्यो- ‘मनको कुरालाई बाँधी नराख, गाँठो परिजाला झट्टै फुकाइदेऊ !’ यो गीत पंचमायाले नै गाएजस्तो लाग्थ्यो । कल्पना जस्तो मीठो त भोक पनि हुँदैन ।

    मंगले साउदी अरबमा मरेछ । रिसाने मोटरसाइकल दुर्घटनामा मरेछ ।

    मर्नु भनेको के ? सास फेर्न छोड्नु कि एउटा रूपबाट अर्को रूपमा जानु ? अजर, अमर र अविनाशी त ‘अणु’ पनि नहुँदो रहेछ । ब्लैकहोलमा छिरेपछि त्यो अणु पनि इलेक्ट्रोन र प्रोटोनहरूमा टुक्राटुक्रा भएर मर्दोरहेछ । प्रोटोन पनि क्वार्कहरूमा टुक्रैटुक्रा भएर मर्दोरहेछ । हामी मान्छे पनि टुक्रिदै जाँदा त्यही क्वार्क हुन्छौं । तब म इलाम झरें । पंचमायालाई ताप्लेजुङको केटाले बिहे गरेर लगेछ । ७२ सालको महाभूकम्पले पनि भत्काउन नसकेको जारिङ्गे गाउँको गुफा युगौंयुगदेखि हाम्रो मस्तिष्कमा छ । हामी यही गुफाभित्र बाँचिरहेका छौं, मरिरहेका छौं ।

  • कमेन्ट गर्नुहोस्