• लक्जमबर्ग सम्पूर्ण सार्वजनिक यातायात निशुल्क बनाउने पहिलो राष्ट्र बन्दै

  • लक्जमबर्ग सबै सार्वजनिक यातायात निशुल्क बनाउने पहिलो देश बन्ने तयारीमा छ ।

    दोश्रो कार्यकालका लागि बुधबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका जेभियर बेतेल नेतृत्वको पुनर्निवाचित गठबन्धन सरकारको योजना अन्तर्गत­­­­­­ अर्को गृष्म ऋतुदेखि ट्रेन, ट्राम र बसका भाडा हटाईनेछ ।

    बेतेलको डेमोक्रयाटिक पार्टीले वामपन्थी सोसलिस्ट वर्कर्स पार्टी र ग्रिन्ससँग गठबन्धन सरकार गठन गर्नेछ । पछिल्लो निर्वाचन अभियानमा उनले वातावरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए । यातायातको प्रतिबद्धता बाहेक, नयाँ सरकारले गाँजालाई वैधानिकता दिने र दुई नयाँ सार्वजनिक विदा लागु गर्नेबारे पनि विचार गरिरहेको छ ।

    जटिल ट्राफिक समस्याबाट पीडित विश्वका केही शहरमध्ये ग्रान्ड डचीको राजधानी लक्जमबर्ग सिटी पनि एक हो । यहाँको जनसंख्या करिब १ लाख १० हजार छ । करिब ४ लाख जति कामका लागि शहर यात्रा गर्ने गर्दछन् । सन् २०१६ को एक अध्ययन अनुसार राजधानीका सवारी चालक औसत ३३ घण्टा ट्राफिक जाममा पर्ने गरेका छन् । पुरा देशको जनसंख्या ६ लाख जति रहे पनि फ्रान्स, बेल्जियम र जर्मनीमा बस्ने करिब २ लाख मानिस लक्जमबर्गमा काम गर्न दैनिक सीमा पार गर्ने गर्दछन् ।

    यातायातको क्षेत्रमा लक्जमबर्गले निरन्तर प्रगतिशील सोंच प्रदर्शन गर्दै आएको छ । यो गृष्ममा, सरकारले प्रत्येक बालबालिका तथा २० वर्ष मुनिका युवाका लागि निशुल्क यातायात सेवा शुरू गरेको छ । माध्यमिक विद्यालय तहका विद्यार्थीहरूले विद्यालय र घर आउन-जानका लागि शटल सेवा नि:शुल्क प्रयोग गर्न पाउँछन् । लक्जमबर्गमा यात्रुवर्गले दुई घण्टाको यात्राका लागि मात्रै २ युरो भाडा बुझाउनुपर्छ । जम्मा २ हजार ५ सय ९० वर्ग किलोमीटर क्षेत्रफल भएको देशमा यतिले झण्डै सबैतिर यात्रा गर्न सकिन्छ ।

    अब सन् २०२० को प्रारम्भदेखि सबै टिकटहरू हटाईनेछ । यसले भाडा उठाउने र टिकट खरिद गरे-नगरेको जाँचबुझ गरिरहनु पर्ने छैन । यद्यपि, नीतिबारे पूर्ण छलफल हुन बाँकी नै छ । ट्रेनको प्रथम र द्वितिय श्रेणीका कम्पार्टमेन्टलाई के गर्ने भन्नेबारे निर्णय हुन पनि बाँकी नै छ ।

    अक्टोबरमा भएको निर्वाचन अघिको जनमत सर्वेक्षणले क्रिस्चियन सोसल पिपल्स पार्टी  (सिएसभी) बाट प्रधानमन्त्री निर्वाचित हुने संकेत गरेको थियो । युरोपेली संघका अध्यक्ष जन–क्लड युंकरले १९ वर्षदेखि पार्टीको नेतृत्व सम्हाल्दै आएका छन् । तर पार्टीले सीट गुमाउनु पर्‍यो भने ग्रिन्सले तीन सीट प्राप्त गर्‍यो । निर्वाचनको परिणामले ६० सीटको चेम्बरमा ३१ सीटको गठबन्धन ल्यायो ।

    यद्यपि, मनोरञ्जनका लागि गाँजा खरिद गर्ने, स्वामित्वमा राख्ने र उपभोग गर्ने कार्यलाई बैधानिकता दिने नयाँ सरकारको नीतिले  सबैभन्दा बढी बहस निम्त्याएको छ ।

  • कमेन्ट गर्नुहोस्