• घरेलु कामदारका लागि २४ घण्टे हटलाईन सेवा

  • हङकङका ३ लाख ८० हजारभन्दा धेरै विदेशी घरेलु कामदारका लागि २४ घण्टे हटलाईन सेवा बुधबारदेखि शुरू भएको छ । यस बाहेक प्रत्येक दिन बिहान ८ बजेदेखि राती १० बजेसम्म सात वटा भाषामा अनुवाद सेवा पनि उपलब्ध हुने लेबर डिपार्टमेन्टले जनाएको छ । सार्वजनिक विदाका दिन भने सेवा बन्द हुनेछ ।

    हटलाईनले घरेलु कामदारलाई उनीहरूको अधिकार र कर्तव्यबारे सल्लाह दिने, र सहयोगको अनुरोधलाई प्रेषण गर्ने, शोषण वा शारीरिक दुर्व्यवहार भएको अवस्थामा सम्पर्क राख्नुपर्ने कानुन कार्यान्वयन निकायबारे सल्लाह दिने डिपार्टमेन्टले जनाएको छ ।

    अंग्रेजी, क्यान्टोनिज र म्यान्डरिनका साथै – तागालोग, बहासा ईन्डोनेशिया, थाई, नेपाली, हिन्दी, पञ्जाबी र उर्दु – गरी सात अन्य भाषामा सेवा उपलब्ध हुनुका साथै कामदारहरूले ईमेल मार्फत् सोधपुछ समेत गर्न सक्ने डिपार्टमेन्टले जनाएको छ । व्यक्तिगत सुरक्षाको जोखिममा भएका कामदारहरूले आकस्मिक प्रहरी सेवाका लागि ९९९ मा सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ ।

    एशियन माईग्रेन्ट्स कोअर्डिनेटिङ बडीका ईमान भिल्लानुयभाले यो कार्यलाई स्वागत गरेका छन् । चौबिसै घण्टा सेवा दिने प्रकृतिको हटलाईनले रोजगारदाताले फोनको प्रयोग बन्देज गरेका कामदारलाई सहयोग गर्नसक्ने भिल्लानुयभाले बताए ।

    “व्यक्तिगत रूपमा डिपार्टमेन्टसम्म जान नसक्ने कामदारका लागि यो उपयोगी हुनेछ,” उनले भने ।

    पहिले डिपार्टमेन्टका कार्यालयहरू आईतबार, अधिकांश घरेलु कामदारहरूले विदा पाउने दिन, बन्द हुने भएकाले कामदारहरूलाई उजुरी फारम र अन्य दस्तावेज बुझाउन कठिनाइ हुने गरेको उनले बताए । कामदारहरूले आफ्नै भाषामा कुरा गरे उनीहरूलाई सजिलो अनुभव हुने उनले बताए ।

    लेबर डिपार्टमेन्टका केही कार्यालयहरू आईतबार पनि खुला राख्नेबारे विचार गर्न भिल्लानुयभाले सरकारलाई आग्रह गरेका छन् ।

    “यो एउटा संरचनागत ढाँचा हुनसक्छ…कामदारहरूले व्यक्तिगत रूपमै उजुरी गर्नसक्नेछन्,” उनले भने ।

    लेबर पार्टीका विधायक फर्नान्डो च्योङ चिउ–हुङले नयाँ हटलाईन सेवा सही दिशातर्फ सानो पाईला भएको बताए । हटलाईन सेवा एउटा सुधार भए पनि यो विशुद्ध जानकारीमूलक भएको र कामदारहरूले कहिलेकाहीं सामना गर्ने मुद्दाहरूको समाधान गर्न नसक्ने च्योङले बताएका छन् ।

    रोजगारदातासँग हुने द्वन्द्व समाधानमा सहयोग गर्न, र दुर्व्यवहार व्यवस्थापन गर्न अझै पनि गैरसरकारी संस्थाहरूले नै काम गरिरहेको उनले बताए । घरेलु कामदारलाई आकस्मिक आश्रयजस्ता अन्य सेवाहरू प्रदान गर्न पनि च्योङले सरकारलाई आग्रह गरेका छन् ।

    “हामी उनीहरूलाई औजारका रूपमा प्रयोग गर्न सक्दैनौं, उनीहरू मानव हुन्,” च्योङले भने ।

    आश्रयस्थलले सम्झौता सकिएका र रोजगारदातासँग कानुनी विवादमा अल्झिएका कामदारहरूलाई सहयोग गर्नसक्ने उनले बताए ।

    कानुन अनुसार, विदेशी घरेलु कामदारले सम्झौता सकिएको दुई साताभित्र हङकङ छाडिसक्नुपर्छ ।

    सरोकारवाला समूहका अनुसार यो व्यवस्थाले कामदारहरूलाई लेबर ट्राईब्युनलको अदालती सत्रमा उपस्थित हुन कठिनाइ भएको छ ।

    हटलाईन टेलिफोन सम्पर्क नम्बर २१५७ ९५३७ हो ।

  • कमेन्ट गर्नुहोस्