• ईन्डोनेशियाको सुनामीमा परी ज्यान गुमाउनेको संख्या ३७० नाघ्यो

    ब्यान्तेन प्रान्तको चरितामा एउटा क्षतिग्रस्त कार
  • ईन्डोनेशियामा आएको सुनामीले कम्तिमा पनि ३ सय ७३ जनाको ज्यान लिएको छ । जीवितहरूको खोजी सोमबार भारी वर्षाबीच पनि जारी रह्यो । ज्वालामुखी विस्फोटका कारण सुनामी आएको अधिकारीहरूले विश्वास गरेका छन् ।

    ईन्डोनेशियाको नेशनल एजेन्सी फर डिजास्टर म्यानेजमेन्टले मृतकको संख्या अझै बढ्न सक्ने बताउँदै १ सय २८ जना अझै बेपत्ता भएको जनाएको छ । शनिबार साँझ आएको सुनामीमा परी १ हजार ४ सय भन्दा धेरै घाइते भएको बताईएको छ ।

    “पीडितको संख्या र क्षतिको परिमाण वृद्धिले निरन्तरता पाउनेछ,” एजेन्सीका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले बताए । उद्धार टोलीले सुन्डा स्ट्रेट वरपरको क्षेत्रमा थुप्रिएका भग्नावशेष हटाउनलाई भारी उपकरणहरू पनि प्रयोग गरेको थियो । प्रभावित क्षेत्रबाट हजारौं मानिसलाई उद्धार गरिएको छ ।

    “अझै धेरै पीडितहरू भेटिन्छन् कि भनेर सेना र प्रहरीले भग्नावशेषहरूमा खोजी कार्य गरिरहेको छ,” विपद् व्यवस्थापन निकायका वरिष्ठ अधिकारी डोडी रूस्वाण्डीले भने । उद्धार कार्य एक सातासम्म चल्नसक्ने उनले बताएका छन् ।

    दन्त्यकथाको क्राकातोआको “सन्तान” भनेर चिनिने एउटा ज्वालामुखी विस्फोट भएपछि शनिबार राती करिब साढे नौ बजेतिर जाभाको पश्चिमी छेऊ र दक्षिणी सुमात्राको समुद्रतटमा आएको छालले सयौं भवनहरू नष्ट गर्‍यो । क्षतिग्रस्त सुकारामे गाउँमा भत्किएको घरबाहिर घुँडासम्म आएको पानीमा आफ्नो सर–सामान खोजीरहेकी सुनार्ती सहयोग आईपुग्ने प्रतिक्षामा थिईन् ।

    “अहिलेसम्म कुनै सहयोग आईपुगेको छैन,” ६१ वर्षिया सुनार्तीले भनिन्,“केही मानिसहरू भोकै छन् ।”

    राष्ट्रपति जोको विडोडोले सोमबार सो क्षेत्रको भ्रमण गरेका छन् । मृतकहरूको संकलन र घाइतेहरूलाई बचाउने प्रयास भईरहेको छ । सुलावेसि टापुको पालु शहरमा भूकम्पीय–सुनामीले हजारौं मानिसको ज्यान लिएको तीन महिना नपुग्दै ज्वालामुखी विस्फोटले कसरी यस्तो त्रासदपूर्ण घटना भयो भनेर वैज्ञानिकहरूले प्रमाण संकलन पनि गरिरहेका छन् ।                                                                        

    द्विपहरूको समूहले बनेको ईन्डोनेशिया पृथ्वीमै विपद्को सबैभन्दा धेरै जोखिम भएको एउटा देश हो । टेक्टोनिक प्लेट ठोक्किरहने प्रशान्तको “रिङ अफ फायर” क्षेत्रमा पर्ने भएकोले यस्तो भएको हो । शनिबारको सुनामी ज्वालामुखीको पानीमुनिको केही भाग भासिएपछि यस्तो भएको हुनसक्ने विज्ञहरूले अनुमान गरेका छन् ।

    सन् १८८३ मा क्राकातोआ ज्वालामुखी विस्फोट भएको थियो । यसले ३६ हजारको ज्यान लिएको थियो भने वर्षौंसम्म विश्वव्यापी मौसमलाई प्रभावित गरेको थियो । जाभा र सुमात्राबीच अवस्थित सुन्डा स्ट्रेटमा एउटा सानो टापु बनाएको आनाक क्राकातोआ यही ज्वालामुखीको मुखमा सन् १९२८ तिर बनेको हो ।

    “आनाक क्राकातोआ ज्वालामुखी हालको सक्रिय चरणबाट गुज्रिरहेकोले सुन्डा स्ट्रेटमा थप ज्वालामुखी विस्फोट हुने उच्च सम्भावना छ किनभने यसले पानीमुनि थप पहिरो निम्त्याउनसक्छ,” बेलायतस्थित युनिभर्सिटी अफ पोर्ट्समथका रिचर्ड ट्युले भने ।

    सतर्कता प्रणालीलाई सक्रिय गराउन सक्ने भूकम्प विपरीत यस्ता सुनामीले हुनसक्ने खतराबारे स्थानीयलाई चेतावनी दिन सम्बन्धित अधिकारीहरूलाई एकदमै थोरै समय प्रदान गर्दछ ।

    “यो एकदमै छिटो भयो,” सुनामीबाट जोगिएका आदी जुनैदीले भने,“मेरी पत्निले ढोका खोलेर एक्कासी चिच्याउँदा म एकजना अतिथीसँग घरमा गफ गरिरहेको थिएँ । मैले त आगो लाग्यो कि भन्ने ठानें तर ढोकातिर जाँदा पानी आउँदै गरेको देखें ।”

    ईन्टरनेशनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रेसेन्ट सोसाईटिजले “शक्तिशाली लहरहरू” केही स्थानमा तीन फिटसम्म अग्लो भएको जनाएको छ । स्थानीय उद्धारकर्ताहरूले घाइतेहरूको उद्धार र आश्रयका लागि तारपोलिन खडा गर्दै–गर्दा अक्सफाम र अन्य अन्तर्राष्ट्रिय सहयोग निकायहरूले विपद्पछिको यो समयमा सहयोग गर्ने बताएका छन् ।

    “अहिले धेरै पानी परिरहेको छ र हावा पनि एकदमै चलिरहेको छ त्यसैले हामीसँग मानिसहरूको उद्धार गर्ने र सफाई गर्ने एकदमै छोटो समय छ,” ईन्डोनेशियाका पब्लिक वर्क्स मन्त्री बासुकी हाडीमुल्ह्योनोले भने ।

  • कमेन्ट गर्नुहोस्