• बुद्ध पनि अराजक थिए


  • विश्वको इतिहास शान्तिको इतिहास होइन, युद्धको इतिहास हो ।
    तीसौं हजार वर्ष अगाडि गुफाका भित्ताहरूमा भेटिएका अधिकांश चित्रहरूमा भालाले जंगली जनावरहरू मार्दै गरेका दृश्यहरू देख्न पाइन्छ । जतिबेला मान्छेले हतियारले शिकार गर्दै थिए त्यतिबेला कन्दमूल खोज्दै गरेका मान्छेहरू पनि थिए । तर, कन्दमूल खोज्दै गरेका मान्छेको चित्र गुफाका भित्ताहरूमा उतिसारो भेटिदैन । यसका धेरै कारण हुनसक्छन् । एउटा कारण ‘शिकारी मान्छे’हरू कन्दमूल खोजिखाने मान्छेभन्दा शक्तिशाली थिए । यसकारण शिकारी मान्छेहरूको चित्र बनाउन लगाइयो ।

    आजभन्दा करिब साढे चार हजार वर्ष अगाडि पेरु, मेक्सिकोतिर विकास भएको ‘माया सभ्यता’ रहस्यमय तरिकाले लोप भएर गयो । त्यो सभ्यताले निर्माण गरेका पिरामिडहरूमा उनीहरूको संस्कृति र परम्परा बारे उल्लेख गरेको पाइन्छ । तेस्ता पिरामिडहरू मानव बलिका निम्ति बनाइएका थिए । अचानक आक्रमण गरेर बन्दी बनाएका मान्छेहरूको उनीहरू बलि दिन्थे ।

    माया सभ्यताभन्दा अलि अगाडि इराकमा सुमेरियन सभ्यता थियो । यो सभ्यताले साहित्यको लेखन शुरु गरेको थियो, ‘गिलगमेशको कथा’ विश्वकै पहिलो साहित्य मानिन्छ । गिलगमेशको कथामा युद्धको वर्णन छ, कसरी राजा गिलगमेशले आफ्ना शत्रुहरूलाई मारेर आफ्नो राज्यको सुरक्षा र विस्तार गरे भनेर लेखिएको छ ।

    विश्वका चार महान् महाकाव्य महाभारत, रामायण, इलियाड र ओडिसी युद्धको वृतान्त नै हो । महाभारत अन्तर्गत गीताले युद्धको पक्षमा वकालत गरेको छ, युद्धलाई वैधानिकता प्रदान गरेको छ । युद्ध ठीक होइन भन्ने अर्जुनलाई श्रीकृष्णले युद्ध गर्नु धर्म हो भन्छन् र कुरुक्षेत्रमा युद्ध हुन्छ । मान्छेहरू मर्छन् । भनिन्छ हिटलरले यहुदीहरूमाथि गरेको ‘जातिहत्या’ गीताबाट अभिप्रेरित थियो, हिटलर गीता पढ्थे । विश्वेश्वरप्रसाद कोइरालाले ‘हिटलर र यहुदी’ उपन्यासमा यो कुरा उल्लेख गरेका छन् ।

    गीताको युद्धदर्शनसँग असहमति राख्दै बुद्धले ‘अहिंसा र शान्ति’को दर्शन प्रतिपादन गरे । त्यतिबेला विश्वभरि युद्ध ठीक हो भनिएको बेला बुद्धले बेठीक भने । राज्यसत्ताले भन्दा उनले ठीक विपरीत सोचे, बोले । यस अर्थमा बुद्ध अराजक दार्शनिक थिए । उनले मानव जीवनबाट युद्धलाई उन्मुलन गर्ने विधिहरू पनि बताए । उनले युद्धका विरुद्ध अहिंसा र शान्तिलाई अपनाए ।

    विश्वका आधुनिक राष्ट्रहरू युद्धले निर्माण भएका हुन् । युद्ध जित्ने राष्ट्रहरू समृद्ध भएका छन् । युरोप र अमेरिका युद्धले समृद्ध भएका हुन् । अमेरिका नयाँ राष्ट्र हो । अमेरिका आफ्नो स्थापनाकालदेखि युद्धमा छ । बेलायत, फ्रान्स, पोर्चुगल, नेदरल्यान्डले अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै राष्ट्रहरूलाई आफ्नो उपवेश बनाए । उनीहरूले आफ्ना उपनिवेशहरू युद्धले स्थापित गरे । यो त प्रष्टै छ । कम्युनिस्ट पाठशालाको एउटा प्रमुख सेलेबल नै हो यो ।

    पृथ्वीनारायण शाहले युद्धद्वारा ‘नेपाल’को स्थापना गरे । सात सालमा राणा शासनको अन्त्य युद्धले गर्‍यो । छयालीस सालमा पन्चायत सशस्त्र आन्दोलनले ढल्यो । दस वर्षे जनयुद्धद्वारा प्रचण्डहरू राज्यसत्तामा पुगे । इतिहास उनीहरूकै लेखिने रहेछ जसले युद्ध जित्यो । युद्ध अपरिहार्य रहेछ । तर, युद्ध जितिसकेपछि ‘युद्ध’ ठीक होइन भन्नछ्न् विजेताहरू । हार्नेहरूले युद्ध गरिरहनुपर्छ, जित्ने प्रयास गरिरहनुपर्छ । नत्र हार्नेहरूले विजेताहरूको दासत्व स्वीकार गर्नुपर्ने हुन्छ । उनीहरूलाई शासक मानिदिनुपर्ने हुन्छ ।

    प्राचीन युनानी दार्शनिक प्लेटोलाई युद्धले जन्माएको हो । उनले ‘रिपब्लिक’ नामको राजनीतिक दर्शनशास्त्रको पुस्तक युद्धले ध्वस्त भएको युनान राज्यलाई शक्तिशाली बनाउन लेखे । नेपालमा भएका आन्दोलन र युद्धहरूले मात्र ‘पार्टीका झोले दार्शनिक’हरू जन्माए । आफ्नो पार्टीको लाइनभन्दा बाहिर गएर सोच्नै सक्दैनन् उनीहरू । अहिले हामीलाई चाहिएको छ एउटा स्वतन्त्र दार्शनिक(पार्टीको झोला नबोक्ने) जसले नेपालको वास्तविक समृद्धि बारे एउटा राष्ट्रिय धारणा निर्माण गरोस्, सत्ताका हरेक तुच्छताहरूलाई चिर्न सकोस् । हामीलाई फेरि अर्को बुद्ध चाहिएको छ ।

     

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad