• ईन्डोनेशियामा फेरी अर्को सुनामीको खतरा

  • शनिबारको विपद्का कारण ज्यान गुमाउनेहरूको संख्या ४ सय २९ पुग्दै गर्दा ईन्डोनेशियाको आनाक क्राकातोआ ज्वालामुखी वरपरको कठोर मौसमले अर्को विनाशकारी सुनामी ल्याउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

    ईन्डोनेशियाको सबैभन्दा धेरै जनसंख्या भएको दुई द्विप जाभा र सुमात्राबीच अवस्थित साँघुरो सुन्डा स्ट्रेट वरपरको तटिय क्षेत्रमा गएको उक्त सुनामीका कारण १ सय ५४ जना अझै बेपत्ता छन् भने १ हजार ४ सय ८५ जना घाइते भएका छन् । आनाक क्राकातोआ ज्वालामुखी विस्फोटनले सुनामी आएको विज्ञहरूको प्रारम्भिक निष्कर्ष छ ।

    “हामीले आनाक क्राकातोआ पर्वतमा, विशेष गरी अहिलेको कठोर मौसम र उच्च छाल आईरहेको समयमा, कम्पनका गतिविधीहरू अनुगमन गरिरहेका छौं किनभने यस्तो अवस्थामा ज्वालामुखीको छेउ भत्किने, समुद्रमा खस्ने र सुनामी आउने सम्भावना हुन्छ,” मिटियोरोलोजिकल, क्लाईमेटोलोजी एन्ड जियोफिजिक्स एजेन्सीका प्रमुख ड्विकोरिटा कर्णावाटीले मंगलबार मध्यरात अघि आयोजना गरिएको प्रेस सम्मेलनममा भनिन् ।

    बुधबार अपरान्हसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएकोले पहिरो जानसक्ने र विनाशकारी परिणाम हुनेमा उनी चिन्तित छिन् ।

    “ज्वालामुखीको कुण्डका भित्ताहरू कमजोर बन्दै गएका छन्, विशेष गरी भारी वर्षा भएमा खतरा अझ बढ्न सक्छ,” उनले भनिन् ।

    पानीमुनी पहिरो जाने सम्भावना र सुनामीका कारण, ड्विकोरिटा कर्णावाटीले सर्वसाधारणलाई होसियार रहन र “समुद्रतटबाट कम्तिमा पनि ५ सय मीटरदेखि १ किलोमीटर टाढा रहन” आग्रह गरेकी छिन् ।

    मंगलबार, नेशनल डिजास्टर मिटिगेसन एजेन्सीका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले विपद्का कारण ज्यान गुमाउने र जीवितहरूको खोजी कार्य हाल विपद्का कारण सम्पर्क विच्छेद भएका वरपरका क्षेत्रहरूमा विस्तार भईरहेको जनाएका छन् ।

    “विपद्का प्रभावितहरूको संख्या बढ्न सक्छ…किनभने क्षतिग्रस्त सडक र पुलहरू भत्किएकाले केही डिस्ट्रिक्टसम्म पुग्न सकिएको छैन,” सुतोपोले भने । सुनामीले १६ हजारभन्दा धेरैलाई विस्थापित गरेको र थुप्रै होटेलसहित हजारौं भवनहरुमा क्षति पुर्‍याएको उनले बताएका छन् ।

    प्रत्यक्षदर्शीको बयान र विज्ञहरूको प्रारम्भिक विश्लेषणका आधारमा, जाभाको पश्चिम छेउको बान्तेन प्रान्तका पान्देग्लाङ र सेराङमा शनिबार राती आएको सुनामी ७ देखि १६ मीटरसम्म अग्लो भएको सुतोपोले बताए । सुमात्राको दक्षिणी शिरानमा रहेको लाम्पुङ प्रान्तका तीन रिजेन्सी पनि प्रभावित भएका छन् ।

    “त्यसैले पान्देग्लाङका अधिकांश होटेल र भवनहरू ध्वस्त भए । यदि त्यो सुनामी ३ देखि १० फिटसम्म मात्रै अग्लो भएको भए, तिनीहरू त्यसरी ध्वस्त हुदैन थिए,” सुतोपोले प्रेस सम्मेलनमा भने । भग्नावशेषमुनि अझ धेरै मानिसहरू पुरिएको हुनसक्ने पनि उनले बताएका छन् ।

    “पीडितहरू खोज्न हामीलाई अझ धेरै भारी उपकरण आवश्यक छ,” उनले भने ।

    भारी यन्त्र लैजान नसकिने केही क्षेत्रमा, मुसलधार मनसुन वर्षाका बावजुद उद्धारकर्मीहरू साना औजार वा खाली हातले भग्नावशेष हटाईरहेका छन् ।

    अधिकांश ईन्डोनेशियालीजस्तै नामले मात्रै चिनिने प्रायोगो मंगलबार सेराङ रिजेन्सीको आन्येर समुद्रतटमा लाशहरू खोज्दै थिए ।

    “गए राती पानीको तह धेरै माथि थियो, त्यसैले पीडितहरूलाई आज बिहान समुद्रको पानीले किनारतिर ल्याएको हुनसक्छ,” जकार्ताका २१ वर्षिय उद्धारकर्मी प्रयोगोले भने ।

    खराब मौसम, भारी वर्षा र अग्ला छालहरूले सोमबार रातीदेखि शुरू भएको उनको खोजी कार्य प्रभावित भएको छ ।

    “हामी सतर्क र सावधान भएनौं भने हामीलाई छालहरूले समुद्रमा पुर्‍याउन सक्छ,” उनले भने ।

    ईन्डोनेशियामा विदाको सिजन भएकाले सुन्डा स्ट्रेटमा सुनामी आउँदा सेराङदेखि पान्देग्लाङसम्म समुद्रतटका सबै होटेलहरू भरिभराउ रहेको सुतोपोले बताए । बिना कुनै चेतावनी अकस्मात सुनामी आएको उनले बताए ।

    मिटियोरोलोजिकल, क्लाईमेटोलोजी एन्ड जियोफिजिक्स एजेन्सीका अनुसार, त्यही रात केही अघि विस्फोट भएको आनाक क्राकातोआ ज्वालामुखीको कुण्डको आंशिक भाग भत्किदाँ पानीमुनी गएको पहिरोका कारण सुनामी आएको हो । ईन्डोनेशियामा भूकम्पका कारण आउने सुनामीका लागि पूर्व चेतावनी प्रणाली स्थापना गरिए पनि, ज्वालामुखी विस्फोटपछि आउनसक्ने सम्भावित सुनामीको चेतावनी दिने प्रणाली स्थापना गरिएको छैन ।

    “आनाक क्राकातोआ पर्वत विस्फोट भए पानीमुनी पहिरो जान्छ र सुनामी आउँछ भनेर कसैले पनि अनुमान गरेका थिएनन् किनभने यो विस्फोट अहिलेसम्मकै ठूलो पनि हैन,” सुतोपोले भने । अक्टोबर र नोभेम्बरमा यही पर्वतमा भएको ज्वालामुखी विस्फोट यसपटकभन्दा ठूलो भएको र ज्वालामुखी विस्फोटका कारण उत्पन्न कम्पनको आवृत्ति पनि उच्च नभएको सुतोपोले बताए ।

    “ज्वालामुखीजन्य गतिविधीका लागि भविष्यमा पूर्व चेतावनी प्रणाली विकास गर्नु हाम्रो लागि एउटा चुनौती हुनेछ किनभने हामीसँग १ सय २७ वटा ज्वालामुखी छन् र विश्वका सक्रिय १३ प्रतिशत ज्वालामुखी ईन्डोनेशियामै पर्दछन्,” उनले भने ।

    स्थानीय ३२ वर्षिय जुनैदीले आफ्नो परिवार सुरक्षित रहे पनि यो घटनाले उनलाई यति आघात पुर्‍याएको बताउँछन् कि अब उनी समुद्रतटमा बस्नै चाहँदैनन् । उनले गाउँ छोड्ने निर्णय गरेका छन् ।

    “त्यो रात आकाश सफा थियो, पूर्णेको जून लागेको थियो, पानी परेको थिएन, मौसम राम्रो थियो । कति पनि चेतावनी नदिई, अकस्मात सुनामी आयो,” उनले भने ।

    जूनदेखि नै सानातिना विस्फोट भईरहेको उक्त ज्वालामुखी सन् १८८३ मा विस्फोट भएको क्राकातोआ ज्वालामुखीबाटै उत्पत्ति भएको हो । क्राकातोआ ज्वालामुखीले ३६ हजारभन्दा धेरैको ज्यान लिएको थियो । विस्फोटपछि एउटा भिमकाय खाल्डो बनेको थियो जसमा आनाक क्राकातोआ पर्वत वा “क्राकातोआको सन्तान” बन्यो ।

    सेप्टेम्बरसम्म ज्वालामुखीको उचाईं ३ सय ३८ मीटर थियो । शनिबार ज्वालामुखी कुण्डको आंशिक भाग भत्किएपछि, ज्वालामुखीको उचाईं घटेर ३ सय २९ मीटर पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्