• बेलायतको विभेदविरुद्ध कानुनी उपचार खोज्ने नेपाली मूलका बेलायती नागरिकको धम्की

  • हङकङ बस्ने बेलायती गोर्खा मूलका बेलायती नागरिक चेवाङ भुटियाले राहदानी नविकरण आवेदनका क्रममा बेहोर्नुपरेको “राज्यद्वारा प्रायोजित विभेद” विरुद्ध बेलायती सरकारलाई अदालत पुर्‍याउने धम्की दिएका छन् । उनले “वाहियात” झमेला बाट आफूले अपमानित अनुभव गरेको बताएका छन् ।

    एक रोजगार कम्पनीका ४३ वर्षिय निर्देशक भुटियाले राहदानी नविकरणका लागि गत महिना आवेदन दिएका थिए । प्रकृया पूरा हुन तीनदेखि चार साता लाग्ने उनले अपेक्षा गरेका थिए । पासपोर्ट अफिसले उनलाई थप १३ वटा कागजपत्र बुझाउन भन्दै पत्र लेखेपछि उनको झमेला शुरू भयो । उनले यसलाई “वाहियात” बताएका छन् ।

    विद्यालयका पुरानाभन्दा पुराना अभिलेखहरू; हजुरबुवासम्मको पारिवारिक वंशावली; आमबाबुसँग जन्मेदेखि खिचिएका तस्बिरहरू; बुवाको ब्रिटिश आर्मी सर्भिस (लाल)बुक; र बुवा सेवानिवृत्त हुँदा आर्मी क्याम्पले दिएको पत्र लगायतका कागजपत्रहरू पासपोर्ट अफिसले मागेको छ ।

    “म त छक्क परेँ । त्यो सूची हेर्दा, छाँगाबाट खसेजस्तै भएँ । के हो यो ?,” उनले भने,“म यसको कानुनी उपचार खोज्नेछु ।”

    बेलायती अधिकारी विरूद्ध मुद्दा लड्नलाई व्यक्तिगत वा वर्गीय कुन रूपमा कानुनी प्रकृया अघि बढाउने हो, त्यसबारे निर्णय नगरेको उनले बताएका छन् ।

    “हामीले कानुनी प्रकृया अघि बढायौं भने, हामीले नै जित्ने बलियो सम्भावना छ किनभने यो विभेद भएको प्रष्ट छ । संयुक्त अधिराज्यका अन्य कुनै पनि नागरिक, र अन्य कुनै पनि जातिय समूहबाट यस्ता कागजपत्रहरू माग्दैनन् । अनि किन एक्कासी नेपालीलाई मात्रै मागेको ?”

    गोर्खालीहरू बेलायती सेनामा कार्यरत नेपाली हुन् । उनीहरूलाई संयुक्त अधिराज्य सरकारले नागरिकताको अधिकार दिएको छ । हङकङमा बेलायती उपनिवेशको समयमा, गोर्खालीहरू सेनाको ब्यारेकमा समाजबाट अलग्गै बस्थे । सन् १९९७ मा बेलायती शासन अन्त्य भएपछि उनीहरु चीनियाँ बाहुल्य समुदायमा बस्ने गरेका छन् ।

    मे महिनामा, राहदानी पाउन ढिलाई भएको गुनासो सहित हङकङस्थित बेलायती दूताबासबाहिर बेलायती गोर्खा सैनिकका करिब सय जना सन्ततिले विरोध प्रदर्शन गरे । केहीले आवेदनको प्रकृया पूरा हुन चार वर्षसम्म लाग्ने गरेको बताए । विरोधको क्रममा, बेलायती दूतावासले पासपोर्ट कार्यालयका महानिर्देशक मार्क थम्सनको एउटा पत्र प्रदर्शनकारीलाई थमाईयो । सो पत्रमा थम्सनले भईरहेको ढिलाईबारे “तत्काल” समीक्षा गर्ने वाचा गरेका थिए । गोर्खालीसँग नक्कली सम्बन्ध कायम गर्ने व्यक्तिका कारण पनि ढिलाई भएको उनले बताएका थिए ।

    तर भुटियाको यो पहिलो आवेदन नभएकाले उनले केही बुझ्न नसकेको बताएका छन् । यस अघि सन् २००८ मा उनले राहदानी नविकरण गरेका थिए । उनीसँग अहिले पनि बेलायती राहदानी नै छ ।

    “मैले राहदानीका लागि पहिलो पटक आवेदन दिदाँ, कुनै कठिनाइ बेहोर्नुपरेको थिएन,” उनले भने ।

    भुटियाको जन्म हङकङमै भएको हो र उनी हङकङमै हुर्किएका हुन् । उनले सन् २००५ मा ब्रिटिश नेशनल (ओभरसिज) अर्थात् बीएनओ राहदानी पाएका थिए । त्यसको तीन वर्षपछि उनले बेलायती राहदानी पाएका हुन् । उनले बेलायती महिलासँग विवाह गरेका छन् । उनीहरुबाट तीन सन्तानको जन्म भएको छ । उनीहरूको राहदानी आवेदन गर्दा कसैले पनि कुनै समस्या बेहोर्नु परेन ।

    “मार्क थम्सनले केही जालझेल भएको उल्लेख गरेका थिए । उनले कस्तो जालझेलको कुरा गरेका हुन् मलाई थाहा छैन । उनले नक्कली पहिचानको कुरा उठाएका होलान् । त्यसो हो भने, यो वाहियात पत्र दिएर हामी सबैलाई नै ठग घोषित गर्न खोजिएको छ ।” उनले भने ।

    ढिलाई भएकाले उनले यो महिना गर्नुपर्ने सिंगापुर र जकार्ताको भ्रमण रद्द गरेका छन् । आगामी महिनाहरूमा तय गरिएको दक्षिणपूर्वी एशिया भ्रमण पनि रद्द गरिएका छन् । उनले थुप्रै पारिवारिक भ्रमण पनि रद्द गरेका छन् ।

    “म जनसम्पर्क व्यवसायमा संलग्न छु । मैले थुप्रै मानिसहरू भेट्नुपर्छ,” उनले भने,“यदि मैले एक वर्षसम्म यात्रा गर्न पाईनँ भने, यसको गम्भिर प्रभाव पर्नेछ ।”

    भुटियाको मामिलाबारे सोधपुछ गर्दा, ब्रिटिश होम अफिसका एक अधिकारीले नविकरण लगायत बेलायती राहदानीका सबै आवेदनहरू उनीहरूको आफ्नै योग्यताको आधारमा गरिने बताए ।

    “राष्ट्रियता र पहिचान निर्धारण गर्ने सबै प्रकृया पूरा नगरेसम्म बडामहारानीको पासपोर्ट अफिसले राहदानी जारी गर्दैन ।” उनले भने ।

    पासपोर्ट अफिसले चेवाङ भुटियाबाट तल उल्लिखित कागजपत्र मागेको छ :

    • सम्भव भएसम्म विद्यालयका पुराना अभिलेखहरू
    • हङकङ जन्म दर्ता प्रमाणपत्र
    • हङकङको स्थायी परिचय पत्र
    • उनी र उनका आमाबाबुको नाताप्रमाणित गरिएको नेपाली प्रमाणपत्र
    • नेपाली नागरिकताको प्रमाणपत्र
    • नेपाली राहदानी (हरू)
    • विवाह दर्ता प्रमाणपत्र
    • हजुरबुवासम्मको वंशावली (घर र मावली दुवैपट्टिको)
    • जन्मिएदेखि आमाबाबुसँग खिचिएको उनका तस्बिरहरू (क्रमानुसार)
    • जन्मेदेखि उनको पहिलो बीएनओ पासपोर्ट जारी हुँदासम्मका पहिचान खुलाउने अनुक्रम अनुसारका दस्तावेजहरू
    • आमाबाबुको वर्तमान परिचय पत्र
    • बुवाको ब्रिटिश आर्मी सर्भिस बुक (लागु भए)
    • आर्मी क्याम्पले जारी गरेको पत्र (लागु भए)

    -फिला सिउ

  • कमेन्ट गर्नुहोस्