• कार्यकारी प्रमुखलाई एचकेयुको कुलपतिबाट हटाउनुपर्ने माग

  • हङकङको सबैभन्दा पुरानो विश्वविद्यालयका विद्यार्थी र कर्मचारीले आफ्नो शासकिय परिषद् समक्ष सदस्य नियुक्त गर्ने कुलपतिको अधिकार हटाउन र बन्द ढोकाभित्र त्यसको अध्यक्ष छनोट गर्न संयुक्त अपिल गर्दै नयाँ वर्षको आरम्भ गरेका छन् ।

    युनिभर्सिटी अफ हङकङ स्टुडेन्ट युनियन, एकेडेमिक स्टाफ एसोसिएन र आलुम्नाई कन्सर्न ग्रुपले विश्वविद्यालयको विधान संशोधन गर्नु नै सुशासनमा अत्यावश्यक परिवर्तन ल्याउने सजिलो बाटो भएको बताएका छन् । यसो गरे व्यवस्थापिकामा संशोधन गर्ने आवश्यकता नपर्ने उनीहरू बताउँछन् ।

    विवादमा मुछिएका सरकारका सल्लाहकार आर्थर ली क्वोक–च्योङले मंगलबारदेखि परिषद् अध्यक्षको दोश्रो कार्यकाल शुरू गरेसँगै यस्तो माग गरिएको हो । आर्थरलाई कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत–ङोरले अघिल्लो महिना परिषद् अध्यक्ष नियुक्त गरेकी थिईन् । कार्यकारी प्रमुखको यो निर्णयलाई विरोध गरिरहेका समूहले “गम्भिर गल्ती” भनेका छन् ।

    विश्वविद्यालयको १०८ वर्ष पुरानो विधान अनुसार, शहरको कार्यकारी प्रमुख नै स्वत: कुलपति हुने व्यवस्था छ । ‘सेरेमोनियल’ पद भए पनि कुलपतिले अध्यक्ष सहित  सात जना गैर–विद्यार्थी वा कर्मचारी सदस्य नियुक्त गर्न पाउने अधिकार छ । परिषद्मा २४ जना सदस्य हुन्छन् ।

    यस्तो व्यवस्थाले संस्थागत स्वातयत्ततामा सम्झौता गर्दै आन्तरिक मामिलामा बाह्य राजनीतिक प्रभाव पर्ने गुनासो लामो समयदेखि रहँदै आएको छ ।

    “बहुमतको सहमति बेवास्ता गर्दै आर्थरलाई परिषद्को अध्यक्षमा नियुक्त गर्नु कुलपतिबाट अधिकारको दुरूपयोग भएको हो,” विद्यार्थी युनियनका अध्यक्ष डेभिन केनेथ वोङले भने । उनी परिषद् सदस्य पनि हुन् ।

    “प्रत्येक दिन प्रणाली एउटै रहन्छ, युनिभर्सिटी अफ हङकङ प्रति वास्तवमै उत्तरदायी परिषद् अध्यक्ष हामीले पाउने छैनौं ।”

    युनियनमा १६ हजार ६ सय सदस्य आबद्ध छन् । उनीहरू अधिकांश अन्डरग्राजुएट हुन् ।

    कार्यकारी प्रमुखबाट कुलपतिको भूमिका अलग्याउने अन्तिम लक्ष्य भए पनि, विश्वविद्यालयको विधानको “अधिनियम अठार” संशोधन गर्नु पहिलो काम हुने समूहले बताएको छ । उक्त अधिनियमनले परिषद्को संरचना र अध्यक्षको नियुक्ती प्रकृयाको खाँका तयार गरेको छ ।

    समूहले यस्तो अधिकार “सम्पूर्ण सरोकारवालहरूको” सहभागीताबाट परिषद् आफैंमा निहीत हुनुपर्ने बताएको छ ।

    आलुम्नाई कन्सर्न ग्रुपका उपसंयोजक माक तुङ–विङले भने,“कानुनहरू परिमार्जन गर्नुपर्दैन । विश्वविद्यालयको अदालत मार्फत् (विश्वविद्यालयको व्यवस्थापिका निकाय) परिषद्ले कुलपतिबाट स्वीकृति लिदाँ मात्रै हुन्छ ।”

    सन् २०१७ मा पुनरावलोकन टोलीले दिएको सुझाव अनुसार कुलपतिको आलंकारिक हैसियत कायम गर्नुपर्ने र मानार्थ मात्रै राख्नुपर्नेमा समूहले जोड दिएको छ ।

    प्रतिक्रिया स्वरूप विश्वविद्यालयले ज्ञापनपत्र प्राप्त भएपछि त्यसबारे अध्ययन गर्ने मंगलबार जनाएको छ । यद्यपि, निर्वाचित परिषद् सदस्य ताई किन–मानले विश्वविद्यालयका अधिनियमहरू खासमा एचकेयु अध्यादेशको परिशिष्ट भएको बताएका छन् ।

    “१९९० को दशकमा, युनिभर्सिटी अफ हङकङको दीक्षान्तले आफ्नो चीनियाँ नाम परिवर्तन गर्ने चाहना गर्‍यो, र त्यसलाई पनि व्यवस्थापिका परिषदबाटै गर्नुपर्‍यो,” ताईले भने ।

    सरकारी लगानी प्राप्त अन्य विश्वविद्यालयले पनि कार्यकारी प्रमुखलाई कुलपतिबाट हटाउन अनुरोध गर्न सक्ने भएकाले विश्वविद्यालयलाई आफ्नो आशिर्वाद दिन र परिषदलाई अधिकार प्रत्यायोजन गर्न लाम हिच्किचाउन सक्ने उनले बताएका छन् ।

    यस अघि सार्वजनिक कार्यालयको जिम्मेवारी सम्हाल्दा प्रदर्शन गरेको लडाकु शैलीको शासनका कारण लामको कार्यकारी परिषद्का ७३ वर्षिय सदस्य लीलाई धेरैले “राजा आर्थर” र “जार” उपनाम दिएका छन् । उनी उदार विद्वान र युवाबारे आलोचनात्मक रहँदै आएका छन् ।

    उनलाई सन् २०१५ मा तत्कालीन कार्यकारी प्रमुख ल्योङ चुन–यिङले पहिलो पटक उक्त पदमा पदोन्नती गरेका थिए ।

    विश्वविद्यालयको १ हजार २ सय ५० शिक्षण कर्मचारीमध्ये आधाको प्रतिनिधित्व गर्ने एकेडेमिक स्टाफ एसोसिएसनका अध्यक्ष विलियम च्योङ सिङ–वाईले लीको पुनर्नियुक्ति र त्यस पछाडीको अपारदर्शी प्रकृयामाथि प्रश्न गरेका छन् ।

    एचकेयु काउन्सिलले यस अघि चार सदस्यीय सल्लाहकार प्यानल गठन गरेको थियो । प्यानलमा विश्वविद्यालयका अध्यक्ष र उपकुलपति झाङ सियाङ, सहकुलपति तथा आर्थरका दाजु डेभिड ली क्वोक–पो र अन्य दुई जना काउन्सिलर नियुक्त गरिएका थिए । कार्यकारी प्रमुखलाई सम्भावित उम्मेदवारबारे सुझाव दिनु उनीहरूको काम थियो । नियुक्ती सम्बन्धि अन्तिम निर्णय कार्यकारी प्रमुखले नै गर्दछन् ।

    सल्लाहकार प्यानलको निर्णय गोपनिय भएको उद्धृत गर्दै युनिभर्सिटी अफ हङकङ र सरकार दुवैले ली वा अन्य कुनै उम्मेदवारलाई उक्त पदका लागि सिफारिश गरिएको वा नियुक्त गर्नेबारे विचार गरेको सम्बन्धमा केही खुलाउन चाहेनन् । पूर्व परिषद् सदस्य जोसेफ च्यान चो–वाई र यो संयन्त्रका महत्वपूर्ण मस्यौदाकारले कार्यकारी प्रमुखका लागि विश्वविद्यालयले कति जनासम्म उम्मेदवारको विकल्प दिएको थियो भन्नेबारे प्रष्ट्याउन सक्ने बताएका थिए ।

    “निश्चय पनि आर्थर लीलाई नियुक्त गर्नबाट कार्यकारी प्रमुखलाई केहीले पनि रोक्न सक्दैन, तर परिषद् के चाहन्छ भन्ने उनलाई बुझाउनु आवश्यक छ,” उनले भने ।

    प्रतिवेदन तयार गरेर महिनाको अन्त्यमा हुने अर्को परिषद् बैठकमा छलफलका लागि प्रस्तुत गर्नु अघि सदस्यहरूबाट दृष्टिकोण संकलन गर्ने युनियनको योजना छ ।

  • कमेन्ट गर्नुहोस्