• जातिय अल्पसंख्यक समुदायको प्रथम विधायक बन्ने सपना

  • फरिहा सलमा दिया बकार क्यान्टोनिज, बंगाली, हिन्दी, अंग्रेजी र तागालोग भाषा बोल्न सक्छिन् । बकारको परिवार बंगलादेशबाट आएका हो । हङकङमै जन्मिएकी २० वर्षिया बकारको उद्देश्य पूरा भए उनी शहरकै पहिलो जातिय अल्पसंख्यक विधायक बन्न सक्छिन् । उनी हाल सिटी युनिभर्सिटीमा अध्ययनरत छिन् ।

    “म जातिय अल्पसंख्यक समुदायका धेरैभन्दा धेरै प्रतिनिधि सरकारमा भएको हेर्न चाहन्छु, र हङकङलाई जातिय अल्पसंख्यक समुदाय अनुकुल उत्कृष्ट स्थान बनाउन चाहन्छु,” बकारले भनिन् ।

    बकारले आफ्नो उद्देश्यतर्फ पाइला बढाईसकेकी छिन् । शहरको व्यवस्थापिका परिषद्मा भएका केही दक्षिण एशियाली अनुहारमध्ये उनी पनि एक हुन् । उनी परिषद्मा सहायक छिन् ।

    एउटा गार्मेन्ट र एक्सेसरी कम्पनीको स्थानीय शाखाको क्षेत्रीय प्रबन्धकका रूपमा उनका आमाबाबु २५ वर्षअघि बंगलादेशबाट हङकङ आए । सन्तानको उज्जवल भविष्यका लागि उनीहरू शहरमै बसे । बकारका १५ वर्षिय भाइसहित चार जनाको परिवार याउ मा तेईको एउटा फ्ल्याटमा बस्छन् । आफन्तजन भेट्न उनीहरू प्रत्येक दुई वर्षमा बंगलादेश पनि जाने गर्छन् ।

    दुई वर्षदेखि नै क्यान्टोनिज सिकेकी बकार स्थानीयभाषी सरह नै बोल्छिन् । शहरमा जीवन र भविष्य बनाउन भाषा महत्वपूर्ण भएको उनी बताउँछिन् ।

    “क्यान्टोनिज महत्वपूर्ण छ । यसमा दक्षता हासिल नगरे, डिग्री नै गरे पनि काम खोज्न मलाई धेरै कठिनाइ हुनसक्छ ।”

    “क्यान्टोनिज हङकङेली सँस्कृतिको एउटा अंग हो र यहाँ अपनत्वको अनुभूती गर्न यो निकै महत्वपूर्ण छ ।”

    विद्यालयको अनिवार्य विषयमा बकारले क्यान्टोनिज रोजिन् । अधिकांश जातिय अल्पसंख्यक सहपाठीले यसलाई दोश्रो भाषाको रूपमा अध्ययन गरे । विषयगत रूपमा अध्ययन गर्ने बाहेक, उनी टेलिभिजन श्रृंखलाहरू हेर्थिन र स्थानीय समाचारपत्रहरू पनि पढ्थिन् । अक्षरहरू याद गर्न समाचारपत्रमा प्रकाशित सामग्रीहरू कापीमा समेत सार्ने गरेको उनले बताईन् ।

    उनको मेहनतले फल दिएको छ । हङकङको समाजमा उनी सहजै घुलमिल भएकी छिन् । उनका साथीहरूमध्ये झण्डै ९० प्रतिशत स्थानीय छन् । उनी भन्छिन्,“मैले क्यान्टोनिज सिक्ने ईच्छा नगरेको भए, मसँग आज जे छ त्यो हुँदैन थियो ।”

    हङकङेली जीवनमा घुलमिल भएका थोरै जातिय अल्पसंख्यकमध्ये आफु पनि एक भएको चेत बकारमा छ ।

    “हङकङमा यति खुशीसाथ हुर्किन पाउने म भाग्यमानी हुँ । मेरै वरपरका केहीका लागि यो सम्भव भएन । उनीहरूले धेरै कठिनाइ भोग्नुपर्छ – किन्डरगार्टेनमा भर्ना हुनेदेखि, बैंक खाता खोल्ने र फ्ल्याट भाडामा लिनेसम्म,” उनी भन्छिन् ।

    एक जना पाकिस्तानी साथीले “अन्य जातिको मानिसलाई” भाडा दिन नचाहने घरबेटी भेटेको घटना उनी अझै सम्झिन्छिन् । सन् २०१६ को जनसंख्या तथ्याङ्क अनुसार, हङकङमा जम्मा ५ लाख ८४ हजार ३ सय ८३ जातिय अल्पसंख्यक बस्दछन् । यो शहरको कुल जनसंख्याको ८ प्रतिशत हो । घरेलु कामदार बाहेक, उनीहरूको जनसंख्या २ लाख ६३ हजार ५ सय ९३ हुन आउँछ जुन कुल जनसंख्याको ३.६ प्रतिशत हो ।

    सरकारमा जातिय अल्पसंख्यकहरूको  न्युन-प्रतिनिधित्व भएको आलोचकहरू बताउँछन् । जुबिन फाउन्डेसन नामक गैरसरकारी संस्थाले सय वटा सार्वजनिक सल्लाहकार निकायमा कार्यरत करिब १ हजार ५ सय कर्मचारीमध्ये झण्डै २ प्रतिशत मात्रै जातिय अल्पसंख्यक समूहका व्यक्ति रहेको जनाएको छ ।

    जातिय अल्पसंख्यकका लागि निष्पक्ष र समान अवसर सम्बन्धि सचेतना अभिवृद्धि गराउने जिम्मेवारी आफुमाथि पनि भएजस्तो अनुभव गर्ने बकारले बताईन् ।

    “मैले गर्ने सबैको कार्यको केन्द्रमा यही हुन्छ ।”

    तीन वर्ष अघि उनी सिटी युनिभर्सिटीको प्रोजेक्ट एथ्निक माईनोरिटी ईम्पावरमेन्ट कार्यक्रममा संलग्न भईन् । समूहले माध्यमिक तहमा अध्ययनरत जातिय अल्पसंख्यक समुदायका  विद्यार्थीका लागि “मेन्टरशीप” कक्षाहरू सञ्चालन गर्दछ । यस अन्तर्गत हङकङमा सहज जीवन बाँच्नलाई विद्यार्थीहरूको मार्गनिर्देशन गरिन्छ ।

    बकारको महत्वाकांक्षा क्याम्पसबाहिर पनि विस्तार भएको छ । सन् २०१७ मा उनले डेमोक्रेटिक पार्टीको समर ईन्टर्न भएर काम गरिन् । सो अवधिमा उनले वृद्ध लक्षित कार्यक्रम र कार्यशाला आयोजना गर्न तथा पोस्टर र पर्चा डिजाईन गर्न सहयोग गरिन् ।

    सन् २०१८ मा अझ धेरै अवसरहरु आए । शुरूमा थियो डाईभर्सिटी लिस्ट । गत मार्चमा सरकारी समितिहरूमा सेवा गर्नलाई योग्य र प्रतिबद्ध जातिय अल्पसंख्यक सदस्यहरूको सूचीमा बकार मनोनित भईन् ।  उनी समूहको प्रतिनिधि युवा वक्ता बनिन् ।

    “मानिसलहरूले मेरो महत्वकांक्षा के हो भनेर प्रश्न गर्दा, हङकङलाई जातिय अल्पसंख्यक अनुकुल बनाउन म व्यवस्थापिका परिषद् सदस्य बन्न चाहन्छु भन्थें,” उनले भनिन् ।

    एउटा मञ्चमा भाषण गरिरहेकी बकारलाई विधायक डेनिस क्वोक विङ-हाङले देखे ।

    “उहाँले मलाई साोध्नुभयो:‘के तपाईं मेरो कार्यालयका लागि काम गर्न चाहनुहुन्छ ?’,” उनी स्मरण गर्छिन् ।

    यही भेटमार्फत् उनी व्यवस्थापिका परिषद्को सहायक बनेकी हुन् । उनी त्यहाँ पार्ट-टाईम काम गर्छिन् ।

    “मेरा सहकर्मीहरु छक्क परे किनभने म एउटा जातिय अल्पसंख्यक समुदायको सदस्य हुँ र मेरो उमेर मात्रै २० वर्ष छ ।”

    बकार गत वर्ष अगष्टदेखि लेजिस्लेटिभ काउन्सिल कम्प्लेक्सस्थित क्वोकको कार्यालयमा कार्यरत छिन् । उनी त्यहाँ सोमबार, बुधबार र बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काम गर्छिन् । उनी नीति सम्बन्धि अनुसन्धान गर्छिन् । यस बाहेक भाषण र प्रेस विज्ञप्तिको मस्यौदा तयार गर्ने र अनुवाद गर्ने तथा विशेष गरी जातिय अल्पसंख्यक समुदाय सम्बन्धि महत्वपूर्ण मुद्दाहरूको प्रगति अनुगमन गर्छिन् ।

    बकारले काम र अध्ययनबीच व्यस्त समय व्यवस्थापन गर्न सक्षम भएको बताएकी छिन् ।

    “यो गहिरो अभिरूचीका कारण सम्भव भएको हो,” उनले भनिन् । “मेरो विचारमा पर्याप्त समय भन्ने नै हुँदैन । उदाहरणका लागि तपाईंसँग ओछ्यानमा पल्टिएर फोनमा अलमलिने समय छ भने, अन्य धेरै अर्थपूर्ण कुराका लागि पनि तपाईंसँग समय छ ।”

    भविष्यका लागि, सम्भावनाको कुनै सीमा छैन । व्यवस्थापिका परिषद्को सपना बाहेक, वकिलदेखि पौडी प्रशिक्षक र अभिनेत्री बन्नेसम्मका विविध क्यारियरबारे बकार खुला छिन् । “हङकङको मनोरञ्जन उद्योगमा, जातिय अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने धेरै कामदार छैनन् । म टेलिभिजनमा अझ बढी विविधता हेर्न चाहन्छु ।”

  • कमेन्ट गर्नुहोस्