• उबर विरूद्ध आन्दोलन गर्ने ट्याक्सी चालकहरूको चेतावनी

  • उबरप्रति असन्तुष्ट ट्याक्सी चालकहरूले श्रृंखलाबद्ध रूपमा विरोध कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् । अवैधानिक रूपमा गाडी भाडा लगाईएको ८ सय घटनाबारे जानकारी संकलन गरेको उनीहरूले दाबी गरेका छन् ।

    मोटर ट्रान्सपोर्ट वर्कर्स जेनरल युनियन र ट्याक्सी ड्राईभर्स एन्ड अपरेटर्स एसोसिएसनले संयुक्त रूपमा वक्तव्य जारी गर्दै जनवरी १५ मा एडमिराल्टीस्थित कार्यकारी प्रमुखको कार्यालयमा विरोध कार्यक्रम आयोजना गर्ने योजना बनाएको जनाएका छन् । उनीहरूले शहरका ३ सय ट्याक्सी चालकहरूलाई उक्त कार्यक्रममा सहभागी हुन आव्हान गरेका छन् ।

    दुई ट्याक्सी समूहले केही महिनादेखि गोप्य रूपमा सूचना संकलन गरिरहेको बताएका छन् । यस क्रममा उबर चालकहरूको ८ सय वटा अवैधानिक गतिविधि पत्ता लगाएको र तीमध्ये सय वटाबारे प्रहरीलाई जानकारी गराएको बताएका छन् ।

    दुई संस्थाले पत्ता लगाएका ८ सय वटा घटना सम्बन्धि जानकारी कार्यकारी प्रमुख र कार्यकारी परिषद्लाई बुझाउने योजना बनाईएको छ । त्यसपछि उजुरी गरिएका सय वटा घटना विरूद्ध तत्काल कारवाही अघि बढाउन र बाँकी घटनामा पनि अनुसन्धान गर्न माग गर्दै उनीहरू डिपार्टमेन्ट अफ जस्टिस जानेछन् ।

    उनीहरूको मागलाई सरकारले एक सातासम्म सम्बोधन नगरे शहरव्यापी विरोध प्रदर्शन गर्ने धम्की दिएका छन् ।

    “उबर हङकङ प्रवेश गरेदेखि, ट्याक्सी चालकहरूको आम्दानी व्यापक घटेको छ । उबरलाई हङकङबाट खेदाउने समय आएको छ,” वक्तव्यमा लेखिएको छ ।

    “कार्यकारी प्रमुखबाट हामीलाई एक साताभित्र प्रतिक्रिया आओस् भन्ने हाम्रो माग हो…त्यसपछि पनि कुनै प्रतिक्रिया आएन भने, ट्याक्सी उद्योगको घाँटी निमोठ्ने यो गतिविधि विरूद्ध सरकारको निष्क्रियताको विरोधमा हामी समग्र उद्योगमै आन्दोलन चर्काउनेछौं ।”

    एसोसिएसनका अध्यक्ष वोङ यात-फुङले आफ्ना गतिविधिको पूर्ण विवरण सहित केही समयपछि प्रेस सम्मेलन गरिने बताएका छन् ।

    “अवैधानिक रूपमा सञ्चालन गरिएका सवारी भाडामा लिने कम्पनीहरू सडक सुरक्षाको टाईम बमजस्तै हुन् किनभने यिनीहरूको नियमन गरिएको छैन, उनीहरूसँग कार भाडामा लगाउने अनुमति छैन,” उनले भने ।

    “ट्याक्सी उद्योगले कठिन चुनौतीको सामना गरिरहेको छ किनभने धेरै ट्याक्सी चालकहरूले यस्ता गैरकानुनी कम्पनीका लागि काम गर्न थालेका छन्…हामीले यो समस्याको सम्बोधन गर्नैपर्छ ।”

    भाडा वा कुनै लाभका लागि सवारी साधनले गैरकानुनी रूपमा यात्रु बोकेको करिब सय वटा घटना सम्बन्धमा यातायात उद्योगका संघसंस्था गरेको गुनासो उपर प्रहरीले छानविन गरिरहेको एक प्रहरी अधिकारीले बताएकी छिन् ।

    “प्रहरीले अनुसन्धान गरिरहेको छ र पर्याप्त प्रमाण भेटिए दोषीलाई कारवाही पनि हुनेछ,” उनले भनिन् ।

    उबरले हङकङमा सेवा सञ्चालन गर्न निकै संघर्ष गरेको छ । शहरको ७० लाखभन्दा धेरै जनसंख्यालाई अनुमतिप्राप्त १८ हजार १ सय ६३ ट्याक्सी र करिब ४० हजार ट्याक्सी चालकले सेवा दिईरहेका छन् । कन्ज्युमर काउन्सिलले सवारी भाडामा लिने सेवालाई वैधानिक बनाउन माग गर्दै आए पनि सरकारले कुनै ठोस गतिविधि सञ्चालन गरेको छैन ।

    गत वर्ष जुलाईमा, २८ जना उबर चालकलाई दोषी करार गर्दै जरिवाना गराईएको थियो । मार्च २०१७ मा उबर चालक र स्थानीयहरूले पाक पाई भन्ने लुटेरा ट्याक्सीबीच कुनै उल्लेखनीय भिन्नता नभएको अदालतले फैसला सुनाएको थियो । पाँच अन्य चालकलाई १० हजार हङकङ डलर जरिवाना सहित एक वर्षसम्म सवारी चलाउन प्रतिबन्ध गरिएको थियो ।

    ट्याक्सी उद्योग चालकले बढी शुल्क लिने, अनावश्यक रूपमा लामो बाटो यात्रा गराउने र छानी–छानी यात्रु लिने वा यात्रु सवारी अस्वीकार गर्ने जस्ता बढ्दो गुनासो र बुढो जनशक्तिले आक्रान्त छ ।

    परिस्थितीसँग परिचित एक श्रोतले पछिल्ला महिनाहरूमा केही उबर चालकहरूलाई प्रहरीले अनुसन्धानका लागि बोलाए पनि उनीहरू विरूद्ध थप कारवाही नगरिएको बताएका छन् ।

    “उबर चालकहरू प्रहरीको अनुसन्धान वा उद्योगले गर्ने गोप्य गतिविधिबाट सजिलै विचलित होलान् जस्तो मलाई लाग्दैन । कम्पनीका लागि काम गर्नु अगावै यसमा हुनसक्ने कानुनी जोखिमबारे उनीहरू सचेत छन्,” श्रोतले भने ।

  • कमेन्ट गर्नुहोस्