• दोश्रो विश्वयुद्धमा जापानको हार मनाउन विदाको माग गर्दै विधायकहरू

  •  

    दोश्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गरेको मिति सेप्टेम्बर ३ लाई वैधानिक विदा घोषणा गराउन विधायकहरूले एउटा प्रस्ताव पारित गरेका छन् ।

    यसका साथै अधिकारीहरूलाई १२ दिने वैधानिक विदा र थप पाँच दिनको सामान्य विदा मिलाएर सबै कामदारलाई लाभ दिन पनि आग्रह गरिएको छ ।

    युनियनिस्ट विधायक पून सिउ-पिङले बुधबार गैरबाध्यकारी प्रस्ताव पेश गरेका थिए । फेडेरेसन अफ हङकङ एन्ड काउलुन लेबर युनियन्सका सदस्य पूनले थप एक दिनको विदाले स्थानीय युवालाई देशको इतिहासबारे जान्ने अवसर दिने बताएका छन् ।

    “विशेष गरी आजको हङकङमा पृथक्तावाद फस्टाईरहेको छ । युद्धमा प्राप्त विजयलाई उत्सवका रूपमा मनाउँदा युवाले देशबारे जान्ने अर्को अवसर पाउनेछन्,” पूनले भने ।

    सेप्टेम्बर २, १९४५ मा दोश्रो विश्वयुद्धको वैरभाव अन्त्य गर्दै जापानले औपचारिक रूपमा आत्मसमर्पणमा हस्ताक्षर गरेको थियो र त्यसको भोलिपल्ट चीनले विजयोत्सव मनाएको थियो । यसले हङकङमा जापानको तीन वर्षे शासन पनि अन्त्य गरेको थियो ।

    आत्मसमर्पणको ७०औं वार्षिकोत्सव मनाउन सन् २०१५ देखि बेईजिङले सेप्टेम्बर ३ का दिन मूलभूमी चीनमा सार्वजनिक विदा घोषणा गरेको छ । हङकङ सरकारले पनि व्यवस्थापिका परिषद्को अनुमोदनपछि विदा स्वीकृत गरेको छ ।

    बुधबारको प्रस्तावमा मतदान हुनुअघि बोल्दै श्रम सचिव ल ची-क्वोङले दक्षिण कोरिया, जापान र ताईवानका कामदारले पनि हङकङका कामदारजस्तै थोरै पारिश्रमिक पाउने गरेको बताए । सेप्टेम्बर ३ लाई वैधानिक विदा बनाउने वा वैधानिक र साधारण विदाहरूलाई मिलान गर्नेबारे सरकारको कुनै योजना नरहेको पनि उनले बताए ।

    राजनीतिक विभाजनका दुवै पक्षको समर्थनपछि पूनको प्रस्ताव पारित भएको थियो ।

    डेमोक्रेटिक पार्टीका विधयाक एन्ड्रयु वान सिउ-किनले प्रस्तावको समर्थन गर्दै साधारण र वैधानिक विदा मिलान गर्न सरकारसँग आग्रह गरेका छन् ।

    हङकङमा सबै कामदारलाई १२ दिने वैधानिक विदा सुविधाको व्यवस्था छ तर गुड फ्राईडे र ईस्टरको सोमबार लगायत थप पाँच दिने साधारण विदा दिने वा नदिनेबारे रोजगारदाताले निर्णय गर्ने प्रावधान छ । साधारणतया पेशागत कामदारले मात्रै थप पाँच दिने विदा पाउने गरेका छन् ।

    “सर्वसाधारणका लागि, विदा भनेको विश्राम गर्ने दुर्लभ अवसर हो,” वानले भने ।

    विदा संख्याको भिन्नताले केही कामदारलाई फरक व्यवहार गरिएको अनुभव हुने उनले बताए ।

    फेडेरेसन अफ ट्रेड युनियन्सका विधायक हो काई-मिङले पनि बैठकमा यस्तै सुझाव दिएका थिए । उनले सरकारलाई आवश्यक परिवर्तन गर्न दर्ता गराएको संशोधन पनि पारित भएको थियो ।

    लिबरल पार्टीका विधायक टमी च्योङ यु-यानले जापानको आत्मसमर्पण मनाउन हाल विद्यमान कुनै वैधानिक विदासँग साटिए पार्टीले विरोध नजनाउने बताए ।

    “यसले व्यवसाय क्षेत्रको लागत वृद्धि गर्ने छैन,” च्योङले भने ।

    सन् २०११ मा थप एक दिनको विदाले रोजगारदातालाई वार्षिक १.८ अर्ब हङकङ डलर घाटा हुने अनुमान गरिएको थियो ।

    “मलाई सोध्नुहुन्छ भने…लेबर डेको विदासँग साट्नु उत्तम हुनेछ,” च्योङले भने ।

    उनको प्रस्तावलाई व्यवस्थापिका परिषद्को भौगोलिक र कार्यगत निर्वाचन क्षेत्र दुवैले पारित गर्नुपर्थ्यो । हात उठाएर मतदान गरिएको थियो ।

    चीन र जापानबीच आठ वर्ष, जुलाई १९३७ देखि सेप्टेम्बर १९४५ सम्म, युद्ध भएको थियो । युद्धको समयमा जापानले हङकङमा तीन वर्ष आठ महिना राज गरेको थियो ।

    –सुम लोक-केई

  • कमेन्ट गर्नुहोस्