• ग्रेटर बे एरियाको ब्लुप्रिन्ट अनुमोदन

  • दक्षिणी चीनमा सूचना तथा प्रविधि नेतृत्वको आर्थिक ‘पावरहाउस’ बनाउने ‘ब्लुप्रिन्ट’ बेईजिङले अनुमोदन गरेको छ । जटिल प्रतिस्पर्धा र प्राविधिक मुद्दाहरू समाधान गरिएको छ  । योजनाको पूर्ण विवरण फेब्रुअरी अन्तिमसम्म सार्वजनिक गरिनेछ ।

    स्थानीय सरकारसँग वृहत छलफल गरेपछि चीनका प्रथम भाईस–प्रिमियर हान झेङले “ग्रेटर बे एरिया” को औपचारिक दस्तावेजलाई हरियो झण्डा देखाएको बेईजिङ निकट एक अधिकारीले बताएका छन् । हङकङ र मकाउ सम्बन्धि मामिला पनि झेङले नै हेर्छन् ।

    “यो सर्व–समावेशी ब्लुप्रिन्टले वातावरणीय सुरक्षा लगायत कुनै पनि एजेण्डा वा पार्टीलाई पछि छाड्ने छैन,” ती अधिकारीले भने ।

    अर्का श्रोतले फेब्रुअरी २१ नभए मार्च ५ मा “टु सेसन्स” भनेर चिनिने चीनको शीर्ष व्यवस्थापिका र सल्लाहकार अंगहरूको वार्षिक भेला हुनुअघि पनि योजनाको विस्तृत विवरण सार्वजनिक हुनसक्ने अपेक्षा गरेका छन् ।

    हङकङ एन्ड मकाउ अफेयर्स अफिसका निर्देशक झाङ स्याओमिङले गत वर्ष “ठूलो प्रगित” गरेसँगै ब्लुप्रिन्ट पनि पूरा भएको शनिबार राती खुलाएका छन् ।

    ग्रेटर बे एरिया योजना तीन वर्षभन्दा लामो समय लगाएर बनाईएको हो । आर्थिक योजना, वाणिज्य र विदेश मामिला सम्बन्धि चीनका शीर्ष अधिकारीहरूले संयुक्त रूपमा तयार गरेको एउटा विकास कार्ययोजनामा योजनाबारे पहिलो पटक उल्लेख गरिएको थियो । हङकङ, मकाउ र छिमेकी ग्वाङदोङ प्रान्तका नौ शहर एकत्रित गरेर आर्थिक वृद्धिको एउटा नयाँ ईन्जिन सिर्जना गर्ने ग्रेटर बे एरिया योजनाको उद्देश्य हो ।

    योजनामा ५६ हजार ५ सय वर्ग किलोमीटर क्षेत्रफल समावेश छ । यसको संयुक्त जनसंख्या करिब ६ करोड ७६ लाख छ । सन् २०१६ मा देशको कुल ग्राहस्थ उत्पादनमा यो क्षेत्रको करिब १२.५ प्रतिशत योगदान छ ।

    चीनको स्टेट काउन्सिल अन्तर्गतको शीर्ष समूहमा सहभागी हुने हङकङको पहिलो कार्यकारी प्रमुख बनेकी क्यारी लाम चेङ युएत–ङोर गत वर्ष अगष्ट अन्तिमदेखि योजना सम्बन्धि छलफलहरूमा सहभागी हुन थालेकी हुन् । सीसीटिभीले शनिबार राती प्रसारण गरेको एउटा अन्तर्वार्तामा अधिकारीहरूले कार्यान्वयनको योजनामा काम गरिरहेको झाङले बताए ।

    बे एरियामा हङकङ, मकाउ, ग्वाङझाउ र शेन्जेन केन्द्रीय शहर हुने र प्रत्येकको आफ्नै विशिष्ट स्थान भएको उनले बताए ।

    हङकङ यातायातको केन्द्रका साथै अन्तर्राष्ट्रिय वित्त, परिवहन र व्यापारिक केन्द्र हुनेछ । यसले वित्त, व्यापार र पेशागत सेवालाई जोड दिनेछ ।

    मकाउ एउटा अन्तर्राष्ट्रय पर्यटन शहर हुनेछ र पोर्चुगिज भाषा बोल्ने देशका लागि व्यापारिक मञ्च हुनेछ । ग्वाङझाउले राष्ट्रिय केन्द्रको रूपमा नेतृत्व गर्नेछ भने शेन्जेनले विशेष आर्थिक क्षेत्रको भूमिका खेल्नेछ ।

    यी चारै वटा शहरले पाउने लाभ एकअर्काको परिपूरक हुने र कानुनी तथा आर्थिक प्रणालीको अन्तरले ल्याउने चुनौतीको समाधान हुने योजनाविद्हरूले आशा गरेका छन् ।

    ग्वाङझाउले फाईदा लिईरहेको विशाल क्षेत्र र बजारसँग संयोजन भए  हङकङ र मकाउको अन्तर्राष्ट्रिय सञ्जाल र परिपक्व बजार अर्थतन्त्रको ठूलो सम्भावना हुनसक्ने उनले बताए ।

    “नयाँ परिस्थिती अन्तर्गत, हङकङ र मकाउको विशिष्ट स्थान र लाभहरू छन् जसलाई स्थानान्तरण गर्न सकिदैंन,” झाङले भने ।

    मूलभूमीमा सामाजिक तथा सार्वजनिक सेवाको व्यापक क्षेत्रमा पहुँच दिलाउने नयाँ परिचयपत्रका लागि झण्डै एक लाख हङकङवासी र करिब २० हजार मकाउवासीले आवेदन दिएको उनले खुलाएका छन् । यो व्यवस्थालाई गत वर्ष सेप्टेम्बर १ देखि लागु गरिएको थियो ।

    प्रधानमन्त्री ली खस्याङले गत वर्ष मार्चमा चाँडै एउटा घोषणा हुने बताएपछि बेईजिङले ब्लुप्रिन्ट सार्वजनिक गर्ने अत्यधिक अपेक्षा गरिएको थियो । तर त्यसयता केन्द्र सरकार आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार संयुक्त राज्य अमेरिकासँग व्यापारिक युद्धमा फसेको छ ।

    ग्रेटर बे एरियाका पक्षबीच राजनीतिक स्वार्थ र प्रभुत्व सम्बन्धमा भएका खिचातानी नै ढिलाईको कारण भएको र संयोजनका लागि केन्द्र सरकारले हस्तक्षेप गर्नुपरेको श्रोतहरूले बताएका छन् ।

    “कसको मोडेल कार्यान्वयन गर्ने र हङकङले मूलभूमीका शहरलाई वा तिनीहरूले हङकङलाई परिवर्तन गर्ने, के विषयमा खिचातानी भएको हो त्यो नै सबैभन्दा महत्वपूर्ण प्रश्न हो,” ब्लुप्रिन्टको योजनाबारे प्रत्यक्ष ज्ञान भएका एक प्राज्ञले बताए ।

    “औपचारिक शक्ति गुमाए मूलभूमीका शहर हङकङको मोडेल कार्यान्वयन गर्न हिच्किचाईरहेका छन् ।”

    एउटा थिङ्क ट्याङ्कले गरेको आन्तरिक अध्ययनमा ग्रेटर बे एरियाले “एक देश, दुई प्रणाली” लाई अभ्यासमा ल्याउन चाहे पनि हङकङ र मकाउको उच्च तहको स्वायत्तता सुनिश्चित गर्ने आर्थिक, कर, भन्सार र कानुनी प्रणालीमा भएको भिन्नता प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्