• जनशक्ति अभाव विरूद्ध नर्सहरूको प्रदर्शन

    दुख र तनावको अभिव्यक्ति स्वरूप कालो बेलुन बोकेर प्रदर्शन गरिरहेका नर्सहरू
  • एसोसिएसन अफ हङकङ नर्सिङ स्टाफले सार्वजनिक अस्पतालहरूमा भइरहेको जनशक्तिको संकट समाधान गर्न अझ धेरै नर्स नियुक्त गर्नुपर्ने माग गरेको छ ।

    एसोसिएसन हङकङमा कार्यरत नर्सहरूको सबैभन्दा ठूलो संस्था हो  । शहरका ५० हजार नर्समध्ये झण्डै ६० प्रतिशत संस्थासँग आबद्ध छन् । जनशक्ति अभावबारे असन्तुष्ट एसोसिएसनका सयभन्दा धेरै सदस्यहरूले सरकारी मुख्यालय बाहिर आईतबार विरोध प्रदर्शन गरे । विरोध कार्यक्रममा उपस्थित नर्स, केही चिकित्सक र पूर्व बिरामीहरूले दुख र तनावको प्रतीक स्वरूप कालो बेलुन ल्याएका थिए ।

    प्रदर्शनकारीलाई सम्बोधन गर्दै सेक्रेटरी फर फुड एन्ड हेल्थ सोफिया च्यान

    सेक्रेटरी फर फुड एन्ड हेल्थ प्रोफेसर सोफिया च्यान सिउ-चीले र्‍यालीका सहभागीसँग कुरा गरेकी थिईन् । सन् २०१२ मा सरकारमा जानु अघि उनले युनिभर्सिटी अफ हङकङको स्कूल अफ नर्सिङको नेतृत्व सम्हालेकी थिईन् । हस्पिटल अथोरिटीलाई समस्याको अनुसन्धान गर्न आग्रह गर्ने च्यानले प्रतिबद्धता जनाईन् । ‘एक्स्ट्रा सिफ्ट’ काम गर्ने अग्रपंक्तिका स्वास्थकर्मीलाई अथोरिटीले दिने पारिश्रमिक आउने महिनादेखि १० प्रतिशतले वृद्धि हुने पनि उनले बताईन् ।

    तर सार्वजनिक अस्पतालमा पैसा नभएर कर्मचारी आवश्यक भएको भन्दै प्रदर्शनकारीले उनको निन्दा गरे ।

    च्यान थर भएकी एक नर्सले भनिन्,“प्रत्येक नर्सले एकै समयमा २० भन्दा धेरै बिरामी स्याहार्नु पर्छ । सेवाको गुणस्तरमा प्रतिकूल प्रभाव पर्न सक्छ र हामीले गल्ती पनि गर्नसक्छौं ।”

    “डायपर फेर्ने वा एक कप पानी दिनेजस्ता सामान्य कामका लागि पनि धेरै बिरामीले पर्खिनुपर्छ,” चाउ थर भएकी अर्की नर्सले बताईन्  । सार्वजनिक अस्पतालहरूमा कागजी वा प्रशासकीय काम पनि अत्यधिक हुने गरेको नर्सहरूले बताएका छन् ।

    नर्सहरू अत्यधिक कागजी काम भएको बताउँछन्

    प्राणघातक शीतकालीन ज्वरोको मौसमबाट शहर आक्रान्त भएको बेला नर्सहरूले यस्तो विरोध कार्यक्रम गरेका हुन् । चिसोका कारण हुने ज्वरोबाट हालसम्म ४६ जनाको मृत्यु भइसकेको छ । उनीहरूमध्ये ४० जना ६५ वर्षमाथि उमेर समूहका छन् । हालसम्म १ सय २१ वटा गम्भिर प्रकृतीका ज्वरोका रोगी पहिचान गरिएका छन् ।

    अथोरिटीका अनुसार शनिबारसम्म सार्वजनिक अस्पतालका सबै मेडिकल वार्डमा १ सय ५ प्रतिशत शय्या बिरामीले भरिएका थिए । अर्थात् अस्पतालको करिडोर वा स्थिर शय्याबीचमा पनि अस्थायी शय्या लगाईएका थिए ।

    हाल चलिरहेको शीतकालीन ज्वरोको मौसम व्यवस्थापन गर्न हस्पिटल अथोरिटीले लाखौं हङकङ डलर छुट्याएको सोफिया च्यानले बताईन् ।

    “उनीहरूले नीति कार्यान्वयन र सञ्चारको सवालमा राम्रो काम गर्न सक्थे…चासोका मुख्य क्षेत्र के हुन् र के-कस्ता उपाय सहयोगी हुनसक्छन् भन्नेबारे हामीले नर्सको सुझाव लिनु अत्यन्तै महत्वपूर्ण हुन्छ,” उनले भनिन् ।

    एसोसिएसनका अध्यक्ष तथा विधायक जोसेफ ली कोक-लङले नर्सलाई थप रकम भुक्तान गर्नु समस्या समाधान गर्ने प्रभावकारी उपाय नभएको अतितका अनुभवले पुष्टि गरिसकेको बताए ।

    हङकङ शीतकालीन ज्वरोबाट आक्रान्त छ

    र्‍यालीपछि, प्रदर्शन गरिरहेका नर्सहरू नजिकै रहेको कार्यकारी प्रमुखको कार्यालयतर्फ गए । तर कार्यालयमा याचिका बुझ्ने कोही पनि उपस्थित नभएपछि, आफुसँगै ल्याएका काला बेलुनहरू उनीहरूले कार्यालयको पर्खालमा बाँधे र विरोध कार्यक्रम अन्त्य भएको घोषणा गरे ।

    हस्पिटल अथोरिटीले अग्रपंक्तिका कर्मचारीले भोग्नुपरेको अत्यधिक कार्यकभारबारे जानकार रहेको र हरसम्भव तरिकाले उनीहरूलाई सहयोग गर्न संस्था प्रतिबद्ध रहेको जनाएको छ ।

    सन् २०१८-१९ मा, अथोरिटीले सार्वजनिक अस्पतालमा ५ सय ७४ शय्या थप्यो । वृद्धि हुने कार्यभार व्यवस्थापन गर्न अस्पताललाई ५२ करोड हङकङ डलर विनियोजन पनि गर्‍यो ।

    १ हजार ४ सय नर्सले अथोरिटी छाडे पनि सन् २०१८-१९ मा २ हजार २ सय ३० जना नर्स नियुक्त गरियो । यसबाट जम्मा नर्सको संख्यामा ८ सय ३० जना थपिए । शीतकालीन कार्यभार व्यवस्थापन गर्नलाई सार्वजनिक अस्पतालहरूले करिब ८ सय जना पार्ट-टाईम र अस्थायी नर्स पनि नियुक्त गरेको अथोरिटीले जनाएको छ ।

  • कमेन्ट गर्नुहोस्