विश्वविद्यालयका चारमध्ये एक विद्यार्थी यौन दुर्व्यवहार पीडित
हङकङमा विश्वविद्यालय तहका झण्डै चारमध्ये एक विद्यार्थी यौन दुर्व्यवहारमा पर्ने गरेका छन् । इक्वाल अपर्च्युनिटिज कमिशनले हालै गरेको एक सर्वेक्षण अनुसार यौन दुर्व्यवहारको परिभाषा नबुझेरै पीडितमध्ये ३ प्रतिशतभन्दा थोरैले मात्र उजुरी गर्ने गरेका छन् ।
कमिशनले शहरव्यापी रूपमा गरेको सर्वेक्षणमा प्राथमिक र माध्यमिक विद्यालयमा यौन शिक्षाको अभावले युवायुवती विरूद्ध हुने दुर्व्यवहारको जोखिम अझ बढाएको पत्ता लागेको छ । सर्वेक्षणमा विश्वविद्यालय अध्ययनरत १४ हजार ४ सय ४२ जना विद्यार्थी सहभागी थिए । सहपाठी, शिक्षक, लेक्चरर र प्रोफेसर लगायतका व्यक्ति पीडक हुने गरेको अधिकांश पीडितले बताएका छन् । मार्चदेखि अप्रिल २०१८ मा गरिएको सो सर्वेक्षणमा सहभागी २३ प्रतिशत विद्यार्थी अघिल्लो १२ महिनामा यौन दुर्व्यवहारमा परेको खुलेको छ ।
यौन सम्बन्धि प्रतिक्रिया जनाउनु वा ठट्टा सुनाउनु सबैभन्दा सामान्य प्रकारको दुर्व्यवहार भएको पीडितहरूले बताएका छन् । अन्डरग्राजुएट तहकी एक विद्यार्थीलाई एक पुरूष प्राध्यापकले छोटो स्कर्ट लगाए अलि धेरै अंक पाउने संकेत गरेका थिए । अर्का पुरूष प्रोफेसरले अन्डरग्राजुएट तह अध्ययनरत एक छात्रलाई सबै खर्च बेहोरेर विदेश भ्रमण लैजाने निरन्तर प्रस्ताव गरेका थिए ।
“त्यस्ता घटनाहरू विरलै हुने गरेकाले खासै शंका नलागेको केही विद्यार्थीहरूले बताए,” कमिशनकी वरिष्ठ अधिकृत किट्टी लाम कित-यीले भनिन् ।
“पीडकहरू अख्तियारप्राप्त व्यक्तित्व भएकाले, विद्यालयमा उनीहरूको छवि वा अंक प्रभावित हुने डर थियो ।”
कमिशनका कार्यवाहक चिफ अपरेसन अफिसर डा. फेर्रिक चु चुङ-मानले यस्तो चिन्ताजनक तथ्याङ्क पछाडि यौन शिक्षाको अभाव नै प्रमुख कारण रहेको बताए ।
“सचेतना महत्वपूर्ण छ तर धेरै विद्यार्थीहरूलाई यौन दुर्व्यवहारबारे थाहा नभएको र लैंगिक समानता र सम्बन्धहरूलाई उनीहरूले गम्भिर रूपमा नलिने हाम्रो अध्ययनले पत्ता लगाएको छ,” चुले भने ।
“उत्तरदायी नठहरिने भएकाले पीडकहरू परिस्थितीलाई हल्का रूपमा लिनुपर्छ भन्ने सोंच्छन् भने पीडितलाई अरूले पुरातनवादी भन्लान् वा आवश्यकताभन्दा बढी प्रतिक्रिया जनाएको डर हुन्छ । उनीहरू त्यही सोंच लिएर विश्वविद्यालय आउँछन् जहाँ उनीहरूलाई मन लागेको गर्ने बढी स्वतन्त्रता हुन्छ ।”
कमिशनका नीति, अनुसन्धान र नीति समितिका उपसंयोजक रिज्वान उल्लाह पनि चुको विचारसँग सहमत छन् ।
“वर्तमान यौन शिक्षाले यौन के हो भन्ने मात्रै सिकाउँछ । व्यवहार समावेश गरिएको छैन । यसले अस्पष्टता निम्त्याउँछ र बालबालिकाले यौन दुर्व्यवहार के हो थाहा पाउँदैनन् । गहन शिक्षा दिनुपर्छ…सम्मान गर्न सिकाउनुपर्छ,” उल्लाहले भने ।
अधिकांश दुर्व्यवहार विभिन्न क्रियाकलाप गरिने कक्ष, डर्मिटरीका लाउञ्ज, क्यान्टिनमा हुने गरेका छन् । पछिल्ला वर्षहरूमा अभिमुखिकरण क्याम्पमा पनि दुर्व्यवहार हुने गरेको गुनासो आउन थालेको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा धेरै विद्यार्थी यौन दुर्व्यवहार विरूद्ध आफु अध्ययनरत विश्वविद्यालयको नीतिबारे अनभिज्ञ थिए ।
उच्च शिक्षा लिने यस्ता संस्थाहरूको उजुरी प्रणालीमा कमीकमजोरी भएको चु बताउँछन् । विश्वविद्यालयहरूलाई पर्याप्त मात्रामा पीडित केन्द्रित उजुरी प्रणाली स्थापना गर्न उनले आव्हान गरेका छन् ।
“कुन विभागले यस्ता घटना व्यवस्थापन गर्ने हो विश्वविद्यालयले प्रष्ट पार्नुपर्छ । यसो गरे कर्मचारीले पीडितलाई सहि कार्यालय पठाउन सक्छन् र एउटा स्थानदेखि अर्को स्थान भौंतारिनबाट जोगाउन सक्छन् ।”