• अस्पताल हो कि चाईनिज रेस्टुरेन्ट ?

  • शीतकालीन ज्वरोबाट पीडित बिरामीको चाप बढेपछि सरकारी अस्पतालका करिडोरमा समेत शय्या लगाउनुपरेको चिकित्सक तथा नर्सहरूले बताएका छन् । वार्डमा स्थान बनाउन उनीहरूले टेलिफोन मार्फत् पनि परामर्श दिन थालेका छन् ।

    नीजि अस्पतालहरूको अवस्था पनि उस्तै छ । बिहीबार शा तीनस्थित एउटा नीजि अस्पतालको बालबालिका राख्ने वार्ड पुरै भरिएको थियो । नयाँ बिरामी भर्ना हुन २४ घण्टासम्म पर्खिनुपर्ने अवस्था छ ।

    हस्पिटल अथोरिटीको तथ्याङ्क अनुसार सरकारी अस्पतालका मेडिकल वार्ड ११० प्रतिशत भरिएका थिए । यसले पनि हाल प्रयोगमा रहेका शय्याका बीचमा र करिडोरमा समेत थप शय्या लगाउनुपर्ने अवस्था आएको देखाउँछ ।

    अत्यधिक कार्यभारबाट असन्तुष्ट चिकित्सकहरूको दुई समूह तथा चिकित्सा क्षेत्रका विधायक डा. पियर च्यानले याउ मा तेईस्थित क्विन एलिजाबेथ हस्पिटलमा शनिबार एउटा कार्यक्रम गर्ने भएका छन् । जनशक्ति अभावको विरोधमा एसोसिएसन अफ हङकङ नर्सिङ स्टाफले आईतबार विरोध कार्यक्रम गरेको थियो ।

    “ती वार्डहरूमा थप शय्याहरू राखिएका छन् तर नर्सिङका जनशक्ति वृद्धि गरिएको छैन,” हङकङ नर्सेस जेनरल युनियनकी अध्यक्ष सेसिलिया चुई–क्वेनले भनिन ।

    ३४ शय्याको वार्डमा अहिले ४० देखि ५० वटासम्म शय्या राखिएका छन् भने ४५ शय्याको वार्डमा ६० वटा शय्या राखिएका छन् । सामान्यतया एउटा वार्डमा पाँच जना नर्स हुने गरेको उनले बताईन् ।

    “वार्डमा एक–एक गरी नयाँ बिरामी भर्ना भए ठिकै हुन्थ्यो, तर एकै पटक तीन वा चार जना सारिए, व्यवस्थापन गर्न एकदमै कठिन हुन्छ,” सोले भनिन् ।

    शीतकालीन ज्वरोको महामारीले हङकङका शैक्षिक संस्थाहरू गम्भिर रूपले प्रभावित छन् । बिहीबारसम्म ३ सय ८४ को हाराहारीमा किन्डरगार्टेन र बालस्याहार केन्द्रहरू प्रभावित भएको बताईएको छ । रोग फैलन नदिन सरकारले चीनियाँ नयाँ वर्षको विदा अघि सारेको छ ।

    बालबालिकाको वार्डको ‘अक्युपेन्सी रेट’ झण्डै शतप्रतिशत भएपछि थप शय्याहरू पनि राखिएका छन् । ५ शय्याका केही वार्डहरूमा १० जनासम्म बिरामी बालबालिकाहरू राखिएको केही चिकित्सकहरूले बताएका छन् ।

    सरकारी बाल अस्पतालका एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा ३० वर्षयता कुनै सुधार नगरिएकाले चिकित्सक र नर्सहरू निराश भएको बताए ।

    “चाईनिज रेस्टुरेन्टका कर्मचारीले सकेसम्म धेरै टेबल राखेजस्तै अवस्था छ,” उनले भने ।

    “प्रत्येक वर्ष एउटै अवस्था दोहोरिन दिनुहुँदैन । यो हामीलाई स्वीकार्य छैन । हामी चिकित्सहरू पनि लज्जित भएका छौं ।”

    शीतकालीन ज्वरोको मौसममा चिकित्सकहरूले १४ घण्टासम्म काम गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

    त्योभन्दा पनि दयनीय अवस्था त के छ भने, कहिलेकाही वार्डमा अत्यधिक भीडभाड हुदाँ चिकित्सकहरू बिरामी बालबालिकालाई भर्ना गराउन मान्दैनन् । अस्पतालका कर्मचारीहरू बिरामीको अवस्थाबारे बुझ्न भोलीपल्ट फोन गर्ने गर्छन् ।

    वार्डमा अत्यधिक भीड भएमा बिरामी हेरचार गर्ने कर्मचारी अभाव हुँदा बिरामीको स्वास्थ्यमा उच्च जोखिम हुने सरकारी अस्पतालका अर्का एक चिकित्सकले बताए । शहरको सरकारी अस्पतालका पेडियाट्रिक र नियोनेटल वार्डमा १५ सय भन्दा धेरै शय्याहरू उपलब्ध छन् ।

    शा तीनस्थित नीजि अस्पताल युनियन हस्पिटलले आफ्नो पेडियाट्रिक वार्ड शतप्रतिशत भरिएको बिहीबार जनाएको छ । भर्ना हुन चाहने बिरामीहरूले २४ घण्टासम्म पर्खिनुपर्ने अवस्था छ । काउलुन तोङस्थित ब्याप्टिस्ट हस्पिटलमा भने ८८ प्रतिशत शय्या मात्रै भरिएको बताईएको छ ।

    प्यासेन्ट्स राईट एसोसिएसनका प्रवक्ता हो हेई–वाहले प्राथमिक स्वास्थ्य स्याहारको कमजोर विकास नै समस्याको मूल कारण भएको बताएका छन् ।

    “नयाँ अस्पतालहरू निर्माण भए पनि, सरकारले पर्याप्त मात्रामा स्वास्थकर्मी नियुक्त गर्न सकेको छैन,” उनले बताए ।

  • कमेन्ट गर्नुहोस्